स्थानीयसँग सहकार्य गरेर काम गर्छु : निमित्त उपकुलपति डा. लामिछाने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त हुनुभएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष समेत रहनुभएका डा. लामिछानेलाई अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि उपकुलपतिको हैसियतले कामकाज गर्ने गरी निमित्तको जिम्मेवारी दिइएको हो ।
मन्त्रालयले निमित्त उपकुलपतिको जिम्मेवारी दिए लगत्तै चेतना अनलाइनका सम्पादक पाण्डव शर्माले डा. लामिछानेको कार्यकक्षमा पुगी गरेको संक्षिप्‍त कुराकानी

 

प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी पाउनुभएको छ । अब कसरी काम गर्नुहुन्छ ?


संस्था भित्रको सुशासन र अनुशासन मेरो पहिलो प्राथमिकता हो । प्रतिष्ठानमा सुविधा थप गर्नका लागि सबैभन्दा पहिले विशेषज्ञ डाक्टरहरू हुनुपर्छ । अहिले डाक्टरहरू आएपनि लामो समय नटिक्ने समस्या छ । यसको अन्त्यका लागि मैले विशेष पहल गर्छु ।

प्रतिष्ठानमा सुधार गर्नुपर्ने कुराहरू के छन् ?


प्रतिष्ठान भनेपछि हामीले दुई पाटोबाट हेर्नुपर्छ । एउटा स्वास्थ्य उपचार र अर्को शैक्षिक कार्यक्रम । प्रतिष्ठान बनेको यति लामो समयसम्म पनि हामीले शैक्षिक कार्यक्रमहरू शुरु गर्न सकेका छैनौ । म शैक्षिक कार्यक्रमहरू तत्काल सञ्चालनका लागि पहल गर्छु ।

हामीले दाङमै विशेषज्ञ डाक्टरहरू उत्पादन गर्नुपर्ने छ । शैक्षिक कार्यक्रम र तथा स्वास्थ्य सेवा विस्तारका लागि भौतिक पूर्वाधार निर्माणको काम गर्नुपर्ने छ । त्यसतर्फ मेरो विशेष ध्यान जान्छ ।

 

स्वास्थ्य उपचारको विषयमा तपाईंले क सोच्नुभएको छ ?


प्रतिष्ठान भनेको निकै ठूलो स्वास्थ्य संरचना हो । हामीले यहाँबाट सम्पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न सक्नुपर्छ  । अहिले पनि उपकरण तथा डाक्टरहरूको अभावमा हामीहरूले जटिल प्रकारका बिरामीहरूको रिफर गर्नुपर्ने बाध्यता छ । यसको अन्त्यका लागि हामीले द्रुत गतिमा काम गर्नुपर्ने छ ।

हुन त प्रतिष्ठान बनेपछि हामीले आईसीयू सेवा शुरु गरेका छौं । विगतमा भन्दा धेरै कुरा सुधार भएका छन् । तर, ती सुधारहरू हामीले चित्त बुझाउने अवस्था छैन । 

अस्पतालमा विशेषज्ञ डाक्टरहरूको संख्या कति छ र कति अपुग छ ?


अहिले हामीसँग २५ जना विशेषज्ञ डाक्टर हुनुहुन्छ । कति डाक्टर अपुग छ भन्ने कुरा त हामीले कति धेरै बिरामीलाई थप सेवा दिन्छौं भन्ने कुरासँग जोडिन्छ । हामीले धेरै सेवा सुविधा दिन सक्यौँ भने बिरामीको चाप पनि बढी हुन्छ । त्यहीँ अनुसार विशेष डाक्टरहरू थप्नुपर्छ  ।

 

प्रतिष्ठानको शुल्क निकै महँगो भयो भन्ने कुरा छ नि ?


हामीले प्रतिष्ठानको संरचना बुझ्नुपर्दछ । प्रतिष्ठान स्वायत्त निकाय भएकाले यसको सञ्चालनका लागि हामीले स्रोत पनि जुटाउनुपर्छ । त्यसका लागि केही शुल्क त लिनैपर्छ । तर, अति धेरै महँगो भएको अवस्थामा जनताले शुल्क तिर्न नसकेर उपचार नै नपाउने अवस्था सृजना हुन सकेन । हामीले शुल्कको अवस्था हेरेर पुनरबिचार गर्न पनि सक्छौं ।

 

प्रतिष्ठान धेरै समय विवादमा पनि आयो । यहाँको स्थानीय जनसमुदाय, राजनीतिक नेतृत्व र सञ्चारकर्मीहरुसँग प्रतिष्ठानको सम्बन्ध किन सुमधुर हुन सकेन ?


प्रतिष्ठान भनेको कुनै व्यक्ति होइन । यो एउटा संरचना हो । प्रतिष्ठानमा व्यक्तिहरु आउने जाने क्रमहरु भइरहन्छ । कहिलेकाहीँ व्यक्तिको स्वभावले पनि संस्थाको सम्बन्धहरुमा उतारचढाव आउँछ नै ।

म प्रतिष्ठान हामी सबैको सझा सम्पत्ति भएकाले यसलाई सफल बनाउन आम दाङबासी जनसमुदायलाई हार्दिक अनुरोध गर्दछु । म मेरो क्षमताले भ्याएसम्म यहाँका स्थानीय जनसमुदाय, राजनीतिक नेतृत्व, नागरिक समाज, सञ्चारकर्मी, यहाँका उद्योग व्यवसायी र आम सरोकारवाला पक्षहरुसँग सहकार्य गरेर काम गर्न चाहन्छु ।

हामी कसैले पनि आफ्नो व्यक्तित स्वार्थलाई केन्द्रमा नराखेर समग्र दाङबासीको स्वास्थ्य र शिक्षाको विषयमा चिन्तित हुने हो भने प्रतिष्ठानलाई हामीले छोटो समयमा स्थापित गर्न सक्छौं । हामी प्रतिष्ठानका पदाधिकारी, कर्मचारी र डाक्टरले मात्र चाहेर प्रतिष्ठान सुधार हुन सक्दैन ।

हामी एउटा जिम्मेवार पक्ष त हौं । तर, प्रतिष्ठानलाई सफल बनाउनका लागि सबैको सहयोग अनिवार्य चाहिन्छ । म सबै सरोकारवाला पक्षसँग सहकार्य गरेर काम गर्न चाहन्छु ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *