मानसिंह घर्ति मगर
प्रधानाध्यापक
गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल
घोराही, दाङ
मानसिंह घर्ति मगर शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत हुनुहुन्छ । साढे दुई दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहनुभएका घर्ति हाल दाङको घोराहीस्थित गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलको प्रधानाध्यापक हुनुहुन्छ । शिक्षा क्षेत्रको विकासका लागि शिक्षण पद्धतिमा सुधार गर्नुपर्ने उहाँको भनाइ छ । शिक्षा क्षेत्रका विभिन्न विषयमा केन्द्रित रही घर्तिसँग चेतना अनलाइनका सम्पादक पाण्डव शर्माले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
गोरखा स्कूलमा अहिले कुन–कुन विषयहरू अध्यापन गराइरहेका छन् ?
हामीले नर्सरी कक्षादेखि १० कक्षासम्म विगतमा जस्तै नियमित विषयहरू पठनपाठन गराइरहेका छौं । त्यसैगरी, कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायका विषयहरू अध्यापन गराइरहेका छौं । यस वर्षदेखि व्यवस्थापनअन्तर्गत होटल म्यानेजमेन्ट विषय पनि थपिएको छ । होटल म्यानेजमेन्ट विषयप्रति विद्यार्थीहरूको आकर्षण धेरै भएका कारण सञ्चालन भएको पहिलो वर्षदेखि नै हामीले दुई ओटा सेक्सन पढाइरहेका छौं । घोराहीको गोरखा स्कूलमा मात्रै कक्षा १० सम्म साढे दुई हजार विद्यार्थी रहेका छन् । कक्षा ११ र १२ मा सबै विषय गरेर ८ सय जना विद्यार्थी छन् ।
अहिले घोराहीको गोरखामा मात्रै दुई हजार ८ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । गोरखा समूहअन्तर्गत तुलसीपुर, लमही र भालुवाङमा पनि विद्यालयहरू सञ्चालन भइरहेका छन् । घोराहीसहित यी विद्यालयमा कुल ९ हजार विद्यार्थीले अध्ययन गरिरहेका छन् । गोरखा समूहले घोराहीमा भिक्टोरिया कलेजमार्फत बीबीए पढाइ सञ्चालन गरिरहेको छ । यस वर्षदेखि हामीले बीएचएम र एमबीए कार्यक्रम सञ्चालन गर्न थालेका छौं । तुलसीपुरमा गोरखा मोडेल कलेजमार्फत बीबीएस पढाइ भइरहेको छ । लमहीमा देउखुरी स्वर्णिम कलेजमार्फत बीबीएस पढाइ भइरहेको छ ।
पछिल्ला वर्षहरूमा गोरखा समूहले जिल्लाका विभिन्न स्थानमा शिक्षा क्षेत्रमा लगानी थप गरिरहेको छ । शिक्षा क्षेत्रमा तपाईंहरूको यो विस्तारलाई हामीले कसरी लिन सक्छौं ?
२०५५ सालमा हामीले घोराहीमा गोरखा स्कूल स्थापना गरेका हौं । लामो समयसम्म हामीले घोराहीमै मात्र सेवा प्रवाह गर्ने काम गरेका थियौं । तर पछिल्लो समयमा जिल्लाका विभिन्न ठाउँहरूमा हाम्रा अभिभावकज्यूहरूले आफ्ना सन्तानलाई गोरखा स्कूलमा नै पढाउन चाह्नुभयो । सबैलाई घोराहीमै ल्याएर पढाउन सम्भव भएन ।
अभिभावकहरूको चाहना र विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै हामीले अन्य ठाउँमा पनि शिक्षालयहरू खोलेका हौं । सुरुमा हामीले माध्यमिक तहसम्म मात्र पढाइ सञ्चालन गरिरहेका थियौं । दाङमै नेपालका मुख्य शहरहरू काठमाडौं, पोखरा लगायतका स्थानमा रहेका कलेजहरूजत्तिकै गुणस्तरको शिक्षा प्रदान गर्न आवश्यक थियो । त्यसलाई पूर्ति गर्न हामीले उच्च शिक्षा अध्यापनका लागि कलेजहरू स्थापना गरेका हौं ।
तपाईं लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आउनुभएको छ । तपाईंको दृष्टिकोणमा वर्तमान अवस्थामा नेपालमा कस्तो शिक्षा आवश्यक छ ?
मानव सभ्यताको विकाससँगै अनौपचारिक शिक्षाको विकास भयो । औपचारिक शिक्षाको विकास भएको त्यति धेरै भएको छैन । केही शताब्दीदेखि मात्र औपचारिक शिक्षाको सुरुवात भएको हो । संसारका विकसित मुलुकहरूले शिक्षा क्षेत्रमा निकै फड्को मार्दा समेत हाम्रो मुलुकमा औपचारिक शिक्षा प्रारम्भ भएको थिएन । तर पछिल्लो समयमा नेपालमा पनि शिक्षा क्षेत्रमा राम्रो प्रगति भएको छ । यसलाई हामीले सकारात्मक मान्नुपर्छ । अब हामीले परम्परागत शिक्षा मात्र दिएर पुग्दैन ।
हामीले उत्पादन गरेको जनशक्तिले विश्वबजारसँग प्रतिस्पर्धा गर्नसक्नुपर्छ । सूचना–प्रविधिको विकासले अहिले विश्व एउटा गाउँजस्तै सानो भएको अनुभूति भएको छ । अब हामीले हाम्रा सन्तानलाई विश्वका उत्कृष्ट शिक्षालय र विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न लायक बनाउन जरुरी छ । अहिलेसम्म नेपालमा परीक्षामुखी शिक्षा प्रदान गर्ने काम भयो । हामीले हाम्रा विद्यार्थीहरूको मूल्यांकन पनि एसईईमा कति अंक ल्यायो भन्ने कुरालाई मात्र मूल्यांकनको अन्तिम विन्दु मानेका छौं । अब परीक्षामा ल्याउने अंकले मात्र हाम्रो जनशक्तिले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन । हामीले व्यावहारिक र जीवनउपयोगी शिक्षा प्रदान गर्न जरुरी छ ।
विश्वविद्यालयबाट सर्टिफिकेट ल्याउन तर बजारमा कुनै पनि प्रतिस्पर्धामा सहभागि हुन नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ । हामीले अब विद्यालय तहदेखि नै हाम्रा सन्तानलाई खोज तथा अनुसन्धान, सामूहिक कार्य, नयाँ अन्वेषण गर्नसक्नुपर्छ । अब हाम्रा विद्यार्थीहरूले औपचारिक शिक्षा लिइसकेपछि समस्या सिर्जना गर्ने मात्र होइन, समस्याको समाधान गर्न सक्ने खालको हुनुपर्छ । सबै विद्यार्थीहरूले विश्वविद्यालय तहको शिक्षा लिनुपर्छ भन्ने छैन । उनीहरूको रुचि, अवस्था र आवश्यकताका आधारमा सीपमूलक शिक्षा पनि लिन सक्छन् । तर, जे शिक्षा लिइन्छ त्यो शिक्षा व्यवहारमा लागू हुने र उत्पादनमा जोडिन सक्ने खालको हुनुपर्छ ।
अहिले विद्यार्थीहरूको सिकाइ शैलीको विषयमा पनि धेरै चर्चा हुने गरेको छ । विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन के गर्नुपर्छ ?
विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न विभिन्न पक्षहरूको भूमिका महत्वपूर्ण हुन्छ । यसमा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयको आ–आफ्नो भूमिका हुन्छ । शिक्षकको दृष्टिकोणबाट हेर्दा हाम्रा विद्यार्थीहरूको सिकाइ उपलब्धि कसरी सुधार गर्ने भनेर विशेष ख्याल गर्नुपर्छ । हामीले कक्षा कोठामा गएपछि विद्यार्थीका सक्रिय सहभागितामा ध्यान दिनैपर्छ । अहिलेसम्म शिक्षक सक्रिय हुने र विद्यार्थीले एकोहोरो सुन्ने चलन छ । यसले विद्यार्थीहरूमा थप अध्ययनका लागि या जान्ने जिज्ञासाका लागि उत्साहित नबनाउन सक्छ ।
अब शिक्षकले आफूलाई सहजकर्ताको रूपमा बुझेर विद्यार्थीहरूको छलफल र सक्रियतालाई बढवा दिनुपर्छ । अर्को कुरा, निरन्तर दैनिक मूल्यांकन विधि स्थापित गर्नुपर्छ । शिक्षकले पनि विद्यार्थीहरूको समस्यालाई बुझेर समाधानका लागि पहल गर्नुपर्छ । जसरी कुनै बिरामी भएमा ल्याब परीक्षण गरेर रोगको पत्ता लगाएर उपचार गरिन्छ । मुख्य कुरा उनीहरूको समस्या बुझेर मात्र समाधान निस्कन्छ । अहिले हामीले विद्यार्थीमा के समस्या छ ? उसको समस्या के हो भनेर नबुझेर एकोहोरो तरिकाले पढाइरहेका छौं । यसले सिकाइ उपलब्धि हासिल हुन सकेको छैन । अहिले नेपाल सरकारले आन्तरिक मूल्यांकनलाई विशेष जोड दिएको छ । कक्षा ८ सम्म त झन् ५० प्रतिशत आन्तरिक मूल्यांकनलाई जोड दिएको छ । तर, अहिले पनि व्यवहारीक रूपमा लागू गर्न सकेका छैनौं ।
हामीले यसलाई व्यवहारीक रूपमा लागू गर्न सकेको खण्डमा धेरै सुधार गर्न सक्छौं । अहिले पनि धेरै शिक्षकहरूले विद्यालयले गर्ने त्रैमासिक परीक्षाको नतिजाको आधारमा विद्यार्थीको मूल्यांकन गर्ने सोच रहेको छ । त्यसको अन्त्य गरेर निरन्तर मूल्यांकनको विधि स्थापित गर्नैपर्छ ।
तपाईंको विचारमा विद्यार्थीहरूको ज्ञानको प्रमुख स्रोत के हो ?
हामीले लामो समयसम्म विद्यार्थीहरूको ज्ञानको प्रमुख स्रोत शिक्षक र पाठ्यपुस्तक मात्र हो भन्ने कुरा स्थापित गरेका थियौं । तर, विद्यार्थीको ज्ञानका स्रोतहरू धेरै छन् । शिक्षक र पाठ्यपुस्तक पनि ज्ञानको स्रोत त हुन् तर त्यसले मात्र हाम्रा विद्यार्थीहरूको सिकाइ उपलब्धि हासिल हुन सक्दैन । एउटा विद्यार्थीका लागि परिवार, गाउँ–टोल, छिमेकी या समग्र समाज ज्ञानको स्रोत हुन सक्छ । अर्को कुरा अहिले संसारमा सूचना प्रविधिको निकै विकास भइसकेको छ ।
विद्यार्थीहरूले इन्टरनेटको माध्यमबाट आफ्नो रुचि र आवश्यकता अनुसार संसारभरका नयाँ कुराहरू थाहा पाउन सक्छन् । विद्यार्थीहरूले पनि अब शिक्षक र पाठ्यपुस्तकमा मात्र भर पर्नुहुँदैन । नयाँ खोज र अनुसन्धानका लागि विभिन्न स्रोतहरूको प्रयोग गर्नसक्नुपर्छ ।
र, अन्त्यमा आम विद्यार्थी र अभिभावकलाई के भन्न चाहनुहुन्छ ?
हरेक मान्छेमा राम्रो र नराम्रो गुण हुन्छ । हामीले नराम्रा गुणहरूको न्यूनीकरण गर्दै उसमा भएको राम्रो गुणलाई चिनेर त्यसलाई स्थापित गर्दै अघि बढ्नुपर्छ । हामीले हाम्रा विद्यार्थीलाई जान्ने र नजान्ने भनेर विभेद गर्नुहुँदैन ।
कुनै विद्यार्थी कमजोर छ भनेर उसलाई निरुत्साहित गर्ने र जान्नेलाई मात्र बढी प्रोत्साहन गर्ने काम बन्द गर्नुपर्छ । कमजोर भनिएको विद्यार्थीमा पनि केही न केही राम्रो क्षमता हुन सक्छ । हामीले त्यो क्षमतालाई चिनेर त्यसैको जगमा उसलाई हौसला दिनुपर्छ