घोराही उपमहानगरपालिका–७ स्थित श्री माध्यमिक विद्यालय सौडियारमा विद्यालयको सभाहलसहितको भवन निर्माणका लागि यही मंसिर २१ गतेदेखि २८ गतेसम्म श्रीमद् भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ–२०८१ को आयोजना हुँदैछ। महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलिसँग महायज्ञबारे गरिएको कुराकानी तल प्रस्तुत छ।
श्रीमद् भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ २०८१ को तयारी कस्तो भइरहेको छ?
घोराही उपमहानगरपालिका–७ स्थित श्री माध्यमिक विद्यालय सौडियारमा श्रीमद् भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको तयारी व्यापक बनाएका छौँ। विद्यालयले पहिलो पटक यस्तो पुण्यकार्य गर्न लागेको हुँदा चुनौतीहरूसँगै यो हाम्रो लागि अवसर पनि हो। सभाहलसहितको भवन निर्माणका लागि मंसिर २१ देखि २८ सम्म विद्यालयको प्राङ्गणमा महायज्ञको आयोजना गर्दैछौँ।
विद्यालयका भौतिक पूर्वाधारसँगै कला र संस्कृतिको जागरणको रूपमा पनि महायज्ञलाई लिएका छौँ। महायज्ञका लागि २७ वटा उपसमिति बनाएर कामलाई तीव्रता दिएका छौँ। यज्ञ मण्डप निर्माणदेखि मञ्च निर्माणसम्मका काम तीव्र रूपमा भइरहेको छ। स्थानीय समुदाय, शिक्षक, र शिक्षिकाहरू मेहेनतका साथ खटिरहनुभएको छ। महायज्ञलाई सफल बनाउन सबै मिलेर लाग्ने अठोट लिएका छौँ।
महायज्ञ नै किन गर्नुपर्यो?
मावि सौडियार सामुदायिक विद्यालय हो। विद्यालयको आर्थिक अवस्था कमजोर छ। विद्यालय व्यवस्थापन समितिले मलाई प्रधानाध्यापकको जिम्मेवारी दिएपछि शैक्षिक सुधारका प्रयास गरेका छौँ।
शैक्षिक गुणस्तर माथि उठाउन गरिएका गतिविधिहरूलाई अभिभावक र सरोकारवालाहरूबीच शैक्षिक जागरणकै रूपमा अघि बढाउन महायज्ञ उपयुक्त ठानेका छौँ। धार्मिक कामलाई समुदायको हितसँग जोड्न सकिए विद्यालयका भौतिक पूर्वाधार निर्माणमा टेवा पुग्ने विश्वास लिएका छौँ।
विद्यालयमा सभाहलको खाँचो धेरै महसुस भएको छ। साना तथा ठूला कार्यक्रमहरू सभाहल अभावकै कारण विथोलिएका छन्। विद्यालयका कार्यक्रम व्यवस्थित गर्न ४–५ सय जनालाई अटाउन सक्ने सभाहलसहितको भवन बनाउनु आवश्यक रहेको ठानेका छौँ।
यस विषयमा वडा अध्यक्ष खोपीराम चौधरीसहित सर्वपक्षीय सहमति जुटाएर महायज्ञको आयोजना गर्न सफल भएका छौँ। महायज्ञले स्थानीय समुदायलाई एकताबद्ध बनाएको छ। जनस्तरबाट सहयोग जुटाएर यो पुण्यकार्य पूरा गर्ने लक्ष्य छ।
स्थानीय, प्रदेश र संघीय सरकारसँग बजेट मागेर सभाहल बनाउन सकिन्थ्यो। त्यो किन गर्नुभएन?
सभाहलसहितको भवन निर्माणका लागि तीनै तहका सरकारसँग सहयोग मागेका थियौँ। तर, ठूलो मात्रामा बजेट आवश्यक पर्ने भएकाले त्यसको सम्भावना नदेखिएपछि महायज्ञ गर्ने निर्णयमा पुगेका हौँ।
महायज्ञको तयारीका लागि प्रचार–प्रसार र फील्डको काम भइरहेका छन्। स्थानीय जनसमुदायको सहयोगले महायज्ञ सफल हुने विश्वास लिएका छौँ।
बनाइने सभाहल विद्यालयकै लागि मात्र हुनेछ कि सबैले उपयोग गर्न पाउनेछन्?
सभाहल सबैले उपयोग गर्न मिल्ने खालको हुनेछ। विद्यालय त्यहाँका समुदायको साझा सम्पत्ति हो। विद्यालयमा बन्ने संरचनाको पहिलो हक सबैको हुनेछ।
विद्यालयका कार्यक्रम, पार्टीका गतिविधि, टोल र मतौंका बैठकजस्ता कार्यका लागि सभाहल उपयोग गर्न सकिनेछ। यसले स्थानीय संघ–संस्था, ठूला–ठूला सामाजिक कार्यक्रम सञ्चालनमा पनि सहजता ल्याउनेछ।
महायज्ञका दाताहरू कसरी पहिचान गरिन्छन्?
महायज्ञका दाता विद्यालयलाई माया गर्ने व्यक्ति र समूह हुन्। यसमा अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी, समाजसेवी, सहकारी संस्था, वन समूह, शिक्षा प्रेमी, र अन्य सरोकारवाला व्यक्ति तथा संस्थाहरू छन्।
दाताहरूको पहिचानका लागि समाजसेवी भूपबहादुर डाँगीको संयोजकत्वमा समिति बनाइएको छ। दाताहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
महायज्ञ सफल बनाउन स्थानीय समुदायको सहयोग कस्तो छ?
स्थानीय समुदायको सहयोग अतुलनीय छ। महायज्ञका विभिन्न उपसमितिमा स्थानीय अगुवाहरूले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन्।
२०३० सालमा स्थापना भएको विद्यालय अहिले सामाजिक नेतृत्वकर्ता संस्थाका रूपमा स्थापित छ। सात दिनको महायज्ञमा धेरैभन्दा धेरै भक्तजनलाई सहभागी हुन आग्रह गर्दछौँ।
महायज्ञबाट कति दान संकलन हुन्छ भन्ने लक्ष्य छ?
महायज्ञबाट धेरैभन्दा धेरै दान संकलन हुने अपेक्षा छ। महायज्ञले धार्मिक गतिविधिसँगै शैक्षिक जागरण र सांस्कृतिक चेतना फैलाउनेछ।
धान संकलनका लागि पनि टोली परिचालन गरिएको छ।
विद्यालय सुधारका लागि कस्ता प्रयास भइरहेका छन्?
विद्यालयको शैक्षिक सुधारका लागि प्ले ग्रुपदेखि कक्षा ६ सम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेका छौँ। विज्ञान प्रदर्शनी, कला प्रदर्शन, र अन्य गतिविधिहरूले विद्यालयको वातावरण शैक्षिकमैत्री बनाएको छ।
शिक्षक–शिक्षिकाले इमानदारीपूर्वक मेहनत गरे विद्यार्थी संख्या बढ्ने विश्वास छ।
तपाईँले भन्न छुटाएको तर भन्न चाहनुभएको केही कुरा छ?
महायज्ञ सफल बनाउन स्थानीय समुदायको ठूलो भूमिका छ। सबै भक्तजनलाई महायज्ञमा उपस्थितिका लागि विशेष आग्रह गर्दछौँ।
महायज्ञ हाम्रो क्षेत्रको साझा सम्पत्ति हो। यो कार्यलाई सफल बनाउन सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ।