नेपालमा ‘पपुलिजम’ फ्रस्टेशनको बाइप्रडक्ट हो, समस्याको समाधान होइन

शंकर पोखरेल

महासचिव
नेकपा (एमाले)

नेकपा (एकाले) का महासचिव शंकर पाेखरेल लाेकतन्त्र, स्थिरता, समृद्धिका लागि नेपालमा बलिया राजनीतिक दलहरूकाे आवश्यकता भएकाे बताउनुहुन्छ । पपुलिजम लाेकतन्त्रका लागि खतरा भएकाे उहाँको भनाइ छ । यी लगायत समसामयिक विषयमा केन्द्रित रहेर चेतना अनलाइनका सम्पादक पाण्डव शर्माले पाेखरेलसँग गरेकाे कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ ।

तपाईंहरूले सरकारको नेतृत्व गरिरहनुभएको छ । फेरि काठमाडौंमा बृहत् जनप्रदर्शन पनि गर्न थाल्नुभएको छ । एकै पटक सरकार र सडकको मोर्चामा आउनुपर्ने परिस्थिति निर्माण भयो ?

पहिलो कुरा त सरकारमा भएका मान्छेहरू जनतामा जानुहुन्न भन्ने बुझाइ नै गलत बुझाइ हो । आज जे प्रश्न गरिँदै छ, त्यो लोकतान्त्रिक प्रश्न होइन । हामीले छिमेकी राष्ट्र भारतको उदाहरण हेर्न सक्छौं । प्रधानमन्त्री नरेन्द्र मोदी ठूला–ठूला सभा गर्दै देशव्यापी दौडाहमा हुनुहुन्छ । कसैले प्रश्न गरेको छ र ? नेकपा (एमाले) ले अहिले एकल सरकार मात्र चलाएको छैन । संयुक्त सरकार चलाइरहेको छ । संयुक्त सरकारमा रहेको एउटा पार्टी चुनावको सन्दर्भमा जनतामाझ जाने कुरा स्वाभाविक हो । यसलाई अनौठो मान्नुपर्ने कारण नै छैन ।

अर्को तिर नेपाली समाजमा अराजकता र अस्थिरता सिर्जना गर्ने प्रयत्नहरू भइरहेका छन् । एकप्रकारले जनता र राष्ट्रलाई कमजोर बनाउने गतिविधि भइरहेका छन् । यी बेठीक हुन् भन्नका लागि जिम्मेवार राजनीतिक दल त जनतामा जानुपर्छ नि । के गर्दा मुलुक बन्छ र के गर्दा मुलुक विग्रन्छ भनेर जनतामाझ गएर छलफल गर्ने कुरा अपरिहार्य छ । त्यस अर्थमा हामीले यसलाई आजका चुनौतीहरू समाधानका निम्ति जनतासँग मिलेर काम गर्ने उद्देश्यका साथ जागरण सभा आयोजना गरिएको हो । यो स्वाभाविक मात्र होइन, अपरिहार्य बनिसकेको छ ।

तपाईंले नेपाली समाजमा पछिल्लो पटक अराजकता देखिएको कुरा उल्लेख गर्नुभयो । यसको मूल कारण के हुन सक्छ ?

अराजकताका कारण अनेक पक्ष हुन सक्छन् । पहिलो कुरा, ठूला परिवर्तनपछि एउटा संक्रमणकाल हुने गर्दछ । संक्रमणकालभित्र स्थापित मान्यताहरू खलबलिएका हुन्छन् । नयाँ मान्यताहरू स्थापित भइसकेका हुँदैनन् । त्यसले गर्दा समाजमा एक प्रकारको हलचल, खलबलि र अराजकता देखिन सक्छ ।

दुनियाका लोकतान्त्रिक आन्दोलनका अनुभव र शिक्षा पनि त्यही हो । दोस्रो पक्ष, नेपालमा राजनीतिक दलहरू कमजोर हुँदा यस्तो हुन्छ । समाजलाई सही बाटोमा डोर्याउने भनेको राजनीतिक दलहरूले हो । नेपाली समाजमा राजनीतिक दलहरू जति बलियो हुन सक्नुपर्थ्यो, त्यो हुन नसक्दा पनि समाजमा अराजकता मौलाएको छ भन्ने कुरा बुझ्नुपर्दछ । तेस्रो पक्ष भनेको राज्य कमजोर हुँदा यस्तो परिस्थिति निर्माण हुन्छ । हामीले लामो संघर्षपछि तानाशाही र अधिनायकवादको अन्त्य गरेपछि राज्य जनताको हो भन्ने कुराको मनोविज्ञान निर्माण गर्नुपर्दथ्यो । जनता र राज्यलाई जोड्नुपर्ने थियो । त्यो गर्न नसक्दा यस्तो भयो ।

हामीले हिजो ६ दशक निरन्तर राज्यविरुद्ध उभ्याउने काम ग¥यौं । त्यस अर्थमा जनताको मनोविज्ञान राज्यविरोधी बनेको छ । त्यसलाई राज्यको पक्षमा बदल्ने मनोविज्ञान संविधानसभाबाट संविधान बनिसकेपछि राजनीतिक दलहरूले गर्नुपर्ने थियो । त्यो गर्न नसक्दा समस्या उत्पन्न भएको हो ।
चौथो कुरा भनेको विश्व राजनीतिमा भइरहेका उतारचढाव र परिवर्तनका प्रभावहरू पनि नेपाली राजनीतिमा पर्ने गरेका छन् । यस अर्थमा उनीहरू नियोजित ढंगले नेपालमा बलियो राष्ट्रिय शक्ति बन्न नदिनका लागि योजनाबद्ध ढंगले षड्यन्त्र गर्ने गर्दछन् । उनीहरूले नेपाली समाजको अराजकत प्रवृत्तिलाई प्रोत्साहित गर्ने गर्दछन् । यी कारणले गर्दा अहिले नेपाली समाज ‘सोसल इनर्जिजम’ को तहमा प्रवेश गरेको छ । त्यसलाई समाधान गर्नु प्रमुख राजनीतिक दलहरूको कर्तव्य हो ।

पछिल्लो दशक नेपाली समाजमा नयाँ–नयाँ खाले व्यक्ति, पात्र, समूह र दलहरू खडा हुने र नयाँ नारा दिएर समाजमा एक प्रकारको अस्थिरता सिर्जना गर्ने काम भइरहेको छ । यसको समाधान कसरी गर्न सकिन्छ ?

पहिलो कुरा, राजनीतिक दलहरूले उम्मेदवार दिँदा र उम्मेदवारहरूले जनताबीचमा जाँदा सही ढंगले जनभावना प्रतिनिधित्व गर्न नसक्दा कतैकतै दुर्घटनाहरू भए । खासगरी काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जित्ने परिस्थिति उत्पन्न भयो । त्यसका पछाडि कतै पार्टीभित्रको अन्तरविरोधले काम ग¥यो ।

कतै जनताको मनोविज्ञानसँग उम्मेदवारहरू उभिन नसक्दा त्यसको साइड इफेक्टका रूपमा स्वतन्त्र उम्मेदवारहरूले चुनाव जिते । त्यसलाई मानिसहरूले गलत ढंगले अर्थ्याउन थाले । राजनीतिक दलहरूको विकल्पमा उनीहरू आए भन्ने कुरा चित्रण गर्न थाले । स्वतन्त्रको नाममा पार्टी नै खोल्ने खालको परिवेश सिर्जना भयो ।
खासगरी सोसियल मिडियामा चर्चामा रहेका व्यक्तिहरूले आफूलाई राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्ने खालको अभ्यासबाट नेपालको राजनीति अगाडि बढ्न खोज्यो । जसलाई राजनीतिक भाषामा भन्दा पपुलिजम भन्ने गरिन्छ । लोकप्रियतावादमा आधारित समस्याको समाधान गर्ने रूपमा त्यसलाई प्रस्तुत गर्ने खालको प्रयत्न भएको छ । नेपालजस्तो देशमा पपुलिजम भनेको समस्याको समाधान होइन । राष्ट्रलाई अझ संकटतर्फ पु¥याउने कारक तत्व हो भन्ने कुरालाई बुझ्न नसक्दाको समस्याका रूपमा देखिएको छ । पपुलिजम भनेको जनताको फ्रस्टेशनको प्रडक्ट मात्रै हो । यो आफैंमा समस्याको समाधान होइन । अन्य मुलुकहरूमा पनि यस्तो अभ्यास नभएका होइनन् ।

हामीले पनि भारतमै यस्ता उदाहरणहरू भेट्न सक्छौं । भारतमा सिने जगतका अत्यन्त लोकप्रिय महानायकका रूपमा चर्चित रहेका अमिताभ बच्चन चुनावी राजनीतिमा आए । उनले अत्यन्त लोकप्रिय मतका साथ चुनाव जिते । तर, उनले छोटो समयमै राजनीति आफ्नो क्षेत्र नभएको अनुभव गरे । त्यसपछि उनी राजनीतिबाट फर्केर आफ्नै काममा गए । बुझ्रुनेहरूका लागि इशारा पर्याप्त छ । तर, नेपालको राजनीतिमा त्यो कुरा बुझाउन कठिन भयो । त्यो बुझाउनका लागि नेपालले अझ बढी मेहनत गर्नुपर्ने देखिन्छ । तर, सत्य कुरा के हो भने पपुलिजम नेपालजस्तो देशका लागि समस्याको समाधान होइन । त्यो समस्या हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ ।

तपाईंले पपुलिजम नेपालमा उपयुक्त छैन भनेर उल्लेख गर्नुभयो । तर, अहिले पुराना दलहरूले केही पनि गर्न सकेनन् । अब यी सबै समस्याको समाधान नयाँ दल र व्यक्तिले मात्र गर्न सक्छन् भन्ने भाष्य नै स्थापित भएको छ त ?

नेपालको सन्दर्भमा पपुलिजम दीगो चिज नै होइन । नयाँ शक्तिका रूपमा एक समय विवेकशील साझा भन्ने एउटा समूह निकै चर्चामा आयो । त्यो समूहले एक अवधि समाजलाई तरंगित ग¥यो । त्यसपछि अहिले स्वतन्त्र पार्टी आएको छ । यसले केही समय समाजलाई तरंगित ग¥यो । अब त्यो ओरालो लाग्ने यात्रातर्फ छ ।

अहिले स्वतन्त्रको नाममा फेरि यसको पनि विकल्प खोजेर अर्को समूह खडा गर्ने प्रयत्न गरिरहेका छन् । यी सबै चिजहरू समय बर्बाद गर्ने कुरा मात्र हुन् । त्यसअर्थमा, नेपाली समाजलाई जति छिटो यी कुराहरू बुझाउन सकिन्छ, त्यति छिटो अस्थिरताबाट समाज मुक्त हुन्छ । यसो भएमा मुलुकले स्थायित्वको बाटो लिन्छ ।

हामीले विश्व राजनीतिमा जुन मुलुकहरूले सफलता वा समृद्धि हासिल गरेका छन्, ती मुलुकहरूको इतिहास हेर्न सक्छौं । अमेरिका, जो विश्वशक्तिका रूपमा छ, त्यहाँका राजनीतिक दलहरू बदलिरहँदैनन् । अमेरिकामा सयौं वर्षदेखि तिनै दलहरू अमेरिकी समाजको नेतृत्व गरिरहेका छन् । नीतिको र नेतृत्वको विकल्प ती दलभित्र जनताले खोजिरहेका छन् । संसदीय प्रणालीको जननी भनिने बेलायतमा पनि सदियौं पुराना दलहरूले नै राष्ट्रको नेतृत्व गरिरहेका छन् । दलहरू पुराना हुन्छन् र ? दलहरू त निरन्तर रूपमा अद्यावधिक भइरहन्छन् । त्यसअर्थमा, दलहरू पुराना भए भन्ने कुरा नै गलत हो । इतिहास पुरानो छ । तर, दलहरू सधैं अग्रगामी एजेन्डाद्वारा निर्देशित हुने गर्दछन् भने तिनै दलहरू नै मुलुकको नेतृत्व गर्न सक्षम हुन्छन् भन्ने कुरा बुझ्नुपर्दछ ।

तपाईंले विगतदेखि निरन्तर मुलुकको राजनीतिक स्थिरता र समृद्धिका लागि बलियो राजनीतिक शक्तिहरू निर्माण हुनुपर्छ भनेर वकालत गरिरहनुभएको छ । नेपालमा दुई दलीय प्रणाली निर्माण गर्ने प्रयास भइरहेको हो ?

पहिलो कुरा त लोकतन्त्रमा दुई दलीय प्रणाली भन्ने हुँदैन । लोकतन्त्रमा विकल्प दिने अधिकार हरेकलाई हुन्छ । तर, लोकतन्त्रलाई बलियो बनाउने हो भने बलिया राजनीतिक दलहरूको आवश्यकता पर्छ । बलिया राजनीतिक दलहरू धेरै हुँदैनन् । किनकि दुनियाको राजनीति हेर्ने हो भने, एउटा मुलुकमा बलिया राजनीतिक दलहरू थोरै हुन्छन् ।

अमेरिकामा मुख्य गरी दुई ओटा राजनीतिक दलहरूबीच नै प्रतिस्पर्धा भएको हुन्छ । उम्मेदवार त धेरै हुन्छन् । तर, कसैले पनि एक प्रतिशत मत कटाउन सकेनन् । जनमत दुई ओटा पार्टीमा ध्रुवीकृत भयो । चुनाव धेरैले लड्न पाउँछन् । तर, जनमत विभाजित हुनु हुँदैन । मुख्य विकल्पमा केन्द्रित हुनुपर्छ ।
नेपालकै सन्दर्भमा अरूलाई दल खोल्न नदिने कुरा होइन । लोकतन्त्रमा दलहरू खोल्न पाइन्छ । अब हामीले पुरानाको चिन्तनलाई विकल्प मान्ने कुरा उपयुक्त होइन । जसरी राजावादीहरूले आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्दछन् । इतिहासले असक्षम प्रमाणित गरेको शक्तिलाई विकल्पका रूपमा प्रस्तुत गर्ने कुरा उपयुक्त होइन । हामीले समाजवाद उन्मुख भनेर संविधानमै उल्लेख गरेका छौं । यसमा पुग्नका लागि हामीले दुई प्रकारको बाटोमा हिँड्नुपर्ने हुन्छ । त्यो भनेको एउटा कांग्रेसले अवलम्बन गर्ने बाटो हो । त्यो बाटो भनेको प्रजातन्त्रभित्र समाजवादको कुरा हो । अर्को विकल्प भनेको समाजवादभित्र प्रजातन्त्रको कुरा हो ।
अहिले हाम्रो संविधानले दिएको समाजवादको लक्ष्यलाई पूरा गर्न प्रजातन्त्रभित्रको समाजवादमा जानका लागि कांग्रेसको कित्तामा जानुपर्छ । समाजवादभित्र प्रजातन्त्रको कुरा गर्नेहरू एमालेको कित्तामा आउनुपर्छ । एमालेको जबज भनेको समाजवादभित्रको प्रजातन्त्र हो । त्यस अर्थमा प्रजातन्त्रभित्र समाजवादको कुरा पूँजीवादी कुरा हो । रूपमा समाजवादी भने पनि सारमा पूँजीवादी कुरा हो । समाजवादभित्र प्रजातन्त्र भनेको व्यवस्था समाजवाद हो । त्यसभित्रको प्रणाली लोकतन्त्र हो । यी दुई ओटा कुराभित्रको छनोट नै नेपाली समाजको उत्तम विकल्प हो । त्योभन्दा राम्रो विकल्प केही पनि हुन सक्दैन ।
राजनीतिमा धेरै चुलाचौका बनाउने कुरा सही होइन । बाक्लो दाल खानका लागि घरमा दाजुभाइ छुट्टिए जस्तै हो । समाजमा उमेर पुगेकाहरू छुट्टिने कुरा स्वाभाविक मानिन्छ । राजनीतिमा नीति, एजेण्डा, लक्ष्यको भिन्नता देखाउन सक्नुपर्छ ।
आज माओवादीले आफूलाई उभ्याउन कित्ता के हो त ? समाजवादभित्र लोकतन्त्रको कित्तामा उभ्याउने कि लोकतन्त्रभित्र समाजवादको कित्तामा उभ्याउने ? माओवादी यी दुबै कित्तामा छैन । उसको सान्दर्भिकता के रह्यो त ? पहिले जस्तै हतियार या सशस्त्र संघर्षबाट जनवाद ल्याउँछु भन्ने बाटो उसले छाडिसकेको छ । अबको राजनीतिको विकल्प के हो भन्ने कुरा स्पष्ट नै छ । यस अर्थमा जनताले रोजेको विकल्प भनेको नेकपा (एमाले) र नेपाली कांग्रेस नै हो । जसरी अमेरिकामा रिपब्लिकन कि डेमोक्र्याट भन्छन् । ब्रिटेनका जनताले लेबर कि कन्जरभेटिभ भन्छन् । नेपालमा पनि त्यस्तै कुरा हो ।

नीति र विचारका आधारमा छनोट गर्ने भनेको यही नै हो । संविधानमा दुई दलीय प्रणाली भनेर न त अमेरिकामा भनिएको छ, न त ब्रिटेनमा भनिएको छ । न नेपालमा भनिनेवाला छ । तर, जनतालाई सचेत बनाएर बलिया राजनीतिक दल निर्माण गर्नुपर्ने छ । मेरो मान्यता पनि त्यही हो । राज्य कमजोर हुने र जनता बलिया हुने कुरा दुनियामा कहिँ पनि हुँदैन । जनतालाई बलियो बनाउने हो भने जनतालाई बलियो बनाउनुपर्छ । राज्यलाई बलियो बनाउने हो भने लोकतान्त्रिक व्यवस्थामा दलहरू बलिया हुनुपर्छ । त्यस अर्थमा हाम्रो पार्टी दलहरूलाई बलियो बनाएर राज्यलाई बलियो बनाउने र राज्यलाई बलियो बनाएर जनतालाई सुखी र समृद्ध बनाउने अभियानमा जुटेको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गठबन्धन गर्दा तपाईंहरूले संविधान संशोधन गर्ने समझदारी गर्नुभएको थियो । संविधान संशोधनको प्रक्रिया किन रोकिएको हो ?

यो रोकिएको पनि छैन । सुरु भएको पनि छैन । संविधान संशोधन प्रक्रिया उपयुक्त समयमा अघि बढ्छ । संविधान संशोधनका लागि दुई तिहाई चाहिन्छ । प्रतिनिधिसभामा सत्ता पक्षको दुई तिहाई संख्या उपलब्ध छ । राष्ट्रियसभामा दुई तिहाई रहेको छैन । जतिबेला सम्म प्रतिपक्ष त्यो एजेन्डामा सहमत हुन सक्दैन, त्यतिबेलासम्म राष्ट्रियसभाको संख्याको कारण संविधान संशोधन प्रक्रिया अघि बढ्न सक्दैन । या त प्रतिपक्ष यो एजेन्डामा सहमत भयो भने यो प्रक्रिया अघि बढ्छ । या त डेढ वर्षपछि राष्ट्रियसभाको चुनावपछि यो एजेन्डाको सार्थकता पुष्टि हुन्छ । अहिले राष्ट्रियसभाको संख्याका कारणले प्रक्रिया अघि नबढेको हो ।

प्रधानमन्त्री चीन भ्रमणमा जाने तयारीमा हुनुहुन्छ । नेपालमा विगतदेखि नै भारतबाट भ्रमण आरम्भ गर्ने प्रचलन स्थापित भएको पाइन्छ । कतिपयले भारतसँग प्रधानमन्त्रीको सम्बन्ध सहज नभएका कारण चीनबाट भ्रमण आरम्भ गर्नुभयो भनेर टिप्पणी गर्ने गरेका छन् । के यो टिप्पणी सही हो ?

भ्रमण भनेको दुई देशको बीचमा उपयुक्त समयमा गर्ने विषय हो । जुन समय भारतसँग तय हुन सकेको छैन, त्यो समय चीनसँग तय भएको छ । यो भनेको दुई पक्षीय अनुकूलताको कुरा हो । नेपालका प्रधानमन्त्री त्यो देशमा भ्रमणमा जानुभएको भनेको सम्बन्धित देशका नेताहरू त्यहाँ उपलब्ध हुने कुरा पनि हो ।

अहिले भारतमा उप चुनाव चलिरहेको छ । उप चुनावमा प्रधानमन्त्री कुद्नुपर्ने स्थिति छ । तर, यो समयमा चीनमा यो अवस्था छैन । स्वाभाविक रूपमा जहाँ अनुकूल अवस्था रहन्छ, त्यहाँबाट भ्रमण आरम्भ हुन्छ । भारतका प्रधानमन्त्री फुर्सद भएपछि स्वाभाविक रूपमा त्यहाँको भ्रमणको तालिका तय होला । यो कुनै अनौठो कुरा होइन । भ्रमण कहाँ गर्ने भन्ने कुरालाई हाम्रो कूटनीतिको आधारको रूपमा विवेचना गर्ने कुरा नै गलत छ ।
एउटा सार्वभौम मुलुकले आफ्नो अनुकूलतामा भ्रमण तय गर्दछ । हाम्रा लागि दुबै छिमेकीहरू अत्यन्त महत्वपूर्ण छन् । एउटा छिमेकी मुलुकमा भ्रमण जानुको अर्थ अर्को छिमेकीसँगको सम्बन्ध बिग्रेको चर्चा गर्नु हुँदैन ।
[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *