दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो ओपीडी सेवा, प्रयोगशाला सेवा र समग्र उपचार सेवालाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउन थालेको छ । बिरामीको चापलाई ध्यानमा राखी प्रतिष्ठानले बीमा, सामान्य र EHS ओपीडी कार्डलाई थप व्यवस्थित गर्न प्रयोगशाला विस्तारदेखि टिकट काउन्टर थप्ने तयारी गरेको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिनुभयो ।
रजिस्ट्रार लम्सालका अनुसार प्रयोगशाला विस्तारअन्तर्गत ल्याबको छुट्टै भवन निर्माण गरिएको छ र विभिन्न विभागहरू पनि छुट्याइएका छन् । ल्याब रिपोर्टमा कुनै त्रुटि नहोस् भन्ने उद्देश्यले प्राध्यापकहरूबाट रुजु गरेर मात्र रिपोर्ट प्रदान गर्ने व्यवस्था मिलाइएको छ । बायोकेमेस्ट्रीमा प्रा. डा. कुशल भट्टराई, प्याथोलोजीमा डा. सबिता विश्वकर्मा र माइक्रोबायोलोजीमा डा. सुव्रता पोखरेलले रिपोर्ट रुजु गरेर मात्र प्रदान गर्ने व्यवस्था गरिएको छ । यसले प्रयोगशालाप्रति विश्वसनीयता बढ्ने, सेवा छिटोछरितो हुने र त्रुटि कम हुने अपेक्षा गरिएको छ ।
प्रयोगशाला सेवालाई थप उत्कृष्ट बनाउन ४ करोड मूल्यका अत्याधुनिक उपकरणहरू थप्ने योजना रहेको रजिस्ट्रार लम्सालले बताउनुभयो । साथै, प्रतिष्ठानमा सम्भव नभएका जाँचहरूको नमुना संकलन गरी लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।