चेतना अनलाइन
घोराही, २९ असोज । नेकपा (एमाले) सम्बद्ध दुई जनसंगठनले भूमि समस्या समाधान आयोग खारेजीको विरोध गर्दै दाङ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
अखिल नेपाल किसान महासंघ, दाङ र भूमि अधिकार तथा श्रमिक संगठन, दाङले संयुक्त रूपमा उक्त ज्ञापनपत्र आज बुझाएका हुन् । ज्ञापनपत्रमा भूमिहीन, दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासी समुदायको पहिचान तथा दर्ता कार्य शीघ्र सम्पन्न गरी जग्गा वितरण प्रक्रिया निष्पक्ष रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
ज्ञापनपत्र बुझाउन एमाले दाङका उपाध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख मनोहर बुढाथोकीसहित भूमि अधिकार तथा श्रमिक संगठनका केन्द्रीय उपाध्यक्ष लिला विक, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य कृष्ण चौधरी, लुम्बिनी प्रदेश उपाध्यक्ष तुलसा पोखरेल, जिल्ला अध्यक्ष केशव गिरी, भूमि अधिकार तथा श्रमिक संगठनका जिल्ला अध्यक्ष बसन्त नेपालसहित भूमिहीन र किसानहरू सहभागी भएका थिए ।
अघिल्लो सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले लालपुर्जा वितरणको कार्य अन्तिम चरणमा पुर्याएको अवस्थामा वर्तमान सरकारले आयोग नै खारेज गरेको थियो ।