घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरका विष्णु घर्ती लामो समय सशस्त्र प्रहरी बलमा जागिर गर्नुभयो । अचेल पोर्चुगलको लिस्बनस्थित अलक्रान्तामा खाल्टो रेष्टुरेन्ट चलाइरहनुभएका विष्णु सशस्त्रमा जागिर खाँदाको क्षण अझै सम्झिनुहुन्छ ।
भन्नुहुन्छ,‘सशस्त्रमा हरेक व्यक्तिको क्षमताको कदर गरिने भएकाले मैले जागिर गर्दा पाककला र खेलकुद क्षेत्रमा राम्रो योगदान गर्न पाएँ, त्यसले मलाई अझ निखारिन र तिखारिन मद्धत गर्यो ।’
त्यहाँ क्षमताको कदर भएकोमा अझै पनि उहाँले सशस्त्रका जागिर खाँदाको क्षण सधैं याद गर्नुहुन्छ । विष्णुलाई पाकशिक्षामा राम्रो ज्ञान छ, यहीँ ज्ञान र सीप सशस्त्रमा प्रयोग गर्दा सबैको वाहवाही पाउनुभयो । ‘मैले सशस्त्रमा भर्ना भएदेखि नै क्यान्टिन व्यवस्थापन गरे, धेरैजसोले मैले बनाएको खाना खाएर प्रसंशा गर्नुहुन्थ्यो, त्यो सम्झदाँ अहिले पनि आनन्द आउँछ’ उहाँले भन्नुभयो ।
सन् २००९ मा भारतबाट तिहार मान्न आएको बेला उहाँ सशस्त्रमा भर्ना हुनुभएको थियो । नवलपरासीको बर्दघाटमा भर्ना भएर उहाँले आधारभूत तालिम बाँकेको नौबस्ताबाट पूरा गर्नुभयो । पकाउने क्षमतामा अब्बल भएकाले विष्णुले पोस्टिङ पछि वीरगञ्जमा क्यान्टिनको जिम्मेवारी सम्हाल्नुभयो ।
‘मैले भारतमा काम गर्दा सिकेको सीप सशस्त्रमा काम लाग्यो, नेपाली खानामात्र होइन, इन्डियन, चाइनीज, इटालियन खाना बनाउन सक्ने भएकाले क्यान्टिनमा भेराइटी दिन सहज भयो’ उहाँले भन्नुभयो । क्यान्टिनमा आफूले बनाएको खानाको प्रसंशा सम्झिदाँ अहिले पनि उहाँ दंग पर्नुहुन्छ ।
‘मलाई खाना बनाउन आउने भएकाले म पकाशिक्षामा आफ्नो कला देखाउने अवसर पाएँ, यसले मलाई अझ परिपक्व र लोकप्रिय हुन सघायो’घर्तीले भन्नुभयो ।
खेलमा पनि अब्बल
विष्णु घर्ती खेलकुद क्षेत्रमा पनि स्थापित नाम हो । तेक्वान्दो खेलमा अब्बल भएकाले सशस्त्रमा पनि राम्रो प्रर्दशनी देखाउनुभयो ।
सशस्त्रमा तालिम गर्दा समेत उहाँले कमाण्डर भएर आफ्ना ब्याजीलाई तेक्वान्दो सिकाउनुभयो । वीरगन्जमा पोस्टिङ भएपछि क्यान्टिनको समय बाहेक उहाँले खेलकुदमै छुट्टै पहिचान स्थापित गर्नुभयो । उक्त समयमा उहाँले सर्वसाधारणलाई पनि खेल खेलाउन थाल्नुभयो ।
सशस्त्रमै रहदाँ उहाँले राष्ट्रिय/अन्तराष्ट्रिय खेलमा भाग लिदाँ आकर्षक मानसम्मान हासिल गर्नुभयो । सशस्त्रको मान्छेले पुरस्कार लिएर गएको केन्द्रीय कार्यालय हलचोकमै चर्चा र खोजी भयो । त्यसपछि उहाँलाई हलचोकको खेलकुद शाखामा झिकाइयो । त्यहाँ साढे चार वर्ष खेलकुद शाखामा बसेर राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने अवसर पाउनुभयो ।
‘सशस्त्रमा खेलकुद शाखामा रहँदा उत्कृष्ट पर्दशनी दिन पाएँ, पकाउने क्षमतामात्रै होइन, सानैदेखि रुची भएको खेल क्षेत्रमा सकेको योगदान गर्न पाएँ, अहिले सम्झदा पनि मन प्रफुल्लित हुन्छ ।’
सानै उमेरमा भारत गएर विभिन्न रेष्टुरेन्टमा काम गर्दा उहाँले खेल क्षेत्रलाई पनि सँगसँगै लैजाने अवसर पाउनुभयो । दाङमा रहदाँ रामपुरमै बुद्धिराम स्मृति तेक्वान्दो दोजाङ संस्था खोलेर २ वर्ष सर्वसाधारणलाई प्रशिक्षण दिनुभयो ।
विष्णु दाङ जिल्ला तेक्वान्दो संघको सहसचिव भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वका निभाउन सकेकोमा अझै पनि उत्साहित देखिनुहुन्छ ।
दिल्लीमै बस्दा विष्णु खेलमा पनि अब्बल बनिसक्नुभएको थियो । सानै उमेरदेखि खेलकुदमा रुची भएकाले उहाँ तेक्वान्दो क्षेत्रमा अब्बल मानिनुहुन्छ । उहाँले धेरै प्रतियोगितामा भाग लिएर सफलता हासिल गर्नुभएको छ । ‘राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिए, अधिकांशमा सफलता पनि हात पारे’ विष्णु भन्नुहुन्छ,‘दिल्लीमै बस्दा पनि बालबालिकालाई तेक्वान्दो सिकाउने काम गरे ।’
‘सशस्त्रमा हरेक मान्छेको क्षमताको कदर हुदोँ रहेछ, मैले कुकिङ र खेलको ज्ञानले क्षमता देखाउने अवसर मिल्यो’विष्ण’ सम्झिनुहुन्छ,‘त्यो क्षण सम्झिदा गर्वले छाति फुल्छ ।’
व्यापारमा चम्किदैँ विष्णु
तर, सयमको खेलसँगै उहाँले जागिर खाएर केही उपलब्धि हुँदैन भन्ने ठानेर जागिर छाड्ने निर्णय गर्नुभयो । व्यापार व्यावसायमा जोडिने सोचका साथ उहाँले जगिर छोडेर केही समय घरमै बस्नुभयो । त्यसपछि उहाँ भारतको लखनउ हानिनुभयो । एकसाथ दुईवटा रेष्टुरेन्ट किनेर व्यवसाय गर्नुभयो ।
सानै उमेरदेखि कर्ममा होमिएका विष्णु विगत तीन वर्षयता पोर्चुगलमा संघर्षपछि छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ ।
साथीहरु नरेश भाट र अनन्त तिवारीले साझेदारीमा लिस्बनको अलक्रान्तामा खाल्टो रेष्टुरेन्ट खोलेर व्यवसायिक उडान भर्दै हुनुहुन्छ । खाल्टो रेष्टुरेन्टले दिनप्रतिदिन व्यवसायिक सफलता हासिल गर्दै गइरहेको छ ।
नेपाली खाना र केबाब पाइने रेष्टुरेन्टमा तीनै जनाको नेटवर्कमा रहेका नेपाली मात्र होइन, पछिल्लो समयमा विदेशी र यहाँका स्थानीयहरु पनि खाना खान ओइरो लाग्न थालेका छन् ।
तीन जना मिलेर केबाबसहित नेपाली खाना पस्किने खाल्टो रेष्टुरेन्ट सञ्चालन भयो । अहिले खाल्टो रेष्टुरेन्टले दिनप्रतिदिन चर्चा र प्रसंशा पाइरहेको छ । रेष्टुरेन्टले नेपाली मात्र होइन विदेशी ग्राहक समेत तान्दै गइरहेको विष्णु अनुभव सुनाउनुहुन्छ ।
‘लगानी गर्न पैसा नहुँदा पनि आँट गरेको हुँ, अहिले व्यवसाय दिनप्रतिदिन फस्टाउँदै गइरहेको छ, व्यवसायमा जोडिन पाउँदा खुसी लागेको छ ’उहाँले भन्नुभयो ।
‘म आफै खाना बनाउँछु, अरु साथीहरु पनि पकाउने र बाहिरको काममा अब्बल हुनुहुन्छ,‘उहाँ भन्नुहुन्छ,‘आफ्नो काम गर्दा स्वतन्त्रता हुन्छ, १३/१४ घण्टा काम गर्नुपर्दा पनि कुनै थकान महसुस हुँदैन ।’
खाल्टो रेष्टुरेन्टसँगै निकट भविष्यमा अर्को रेष्टुरेन्ट पनि चलाउने योजना बनाएको उहाँले सुनाउनुभयो । ‘जीवन नै एउटा पढाइ रहेछ, औपचारिक शिक्षा पूरा नगरेपनि जीवनलाई सहज बनाउन जानेकाले उत्कृष्ट र उदाहरणीय बनेर जिउन पाउँदा खुसी लाग्छ’ उहाँ भन्नुहुन्छ ।
सानै उमेरमै संघर्ष
पढ्ने, लेख्ने उमेरबाटै सुरु भयो विष्णुको कर्मको संघर्ष । १४ वर्षकै उमेरमा उहाँ कामका लागि दिल्ली हानिनुभयो । सुरुमा होटलमा भाडा धुने काम पाउनुभयो । केही महिना काम गरेर साइकल डेलिभरीकोरुपमा काम गर्न थाल्नुभयो । त्यसपछि दिल्लीमै चाइनीज रेष्टुरेन्टमा सेफ भएर केही वर्ष काम गर्नुभयो ।
विष्णुको बुवा इन्डियन लाहुरे । पेन्सन पकाएर घरमै बसेका बेला विष्णुले पढ्न छाडेर लाहुर जाने निर्णय गर्नुभयो । खान, लाउन नपुग्ने थिएन । तर, पनि काम गर्ने रहर जागेर उहाँ भारत जाने ।
‘माओवादी द्धन्द्ध चर्किएको थियो, माओवादीले लैजान दवाव दिइरहेका थिए, सेना आएर उत्तिकै दुःख दिन्थ्यो,’ विष्णु भन्नुहुन्छ,‘जटिल परिस्थितिका कारण भारत जाने निर्णय गरेको हुँ ।’
भारतबाट फर्केर उहाँलाई स्कुल पढाउन बुवाले प्रेरित गर्नुभयो । आफ्ना साथीभाईहरु माथिल्लो कक्षामा पुगिसकेकाले उहाँ फेरि उतै जाने निर्णय गर्नुभयो ।
त्यसपछि २००९ सम्म भारतको विभिन्न रेष्टुरेष्टमा काम गर्दा सीपको विकास गर्नुभयो । सेफ भएर काम गर्दा उहाँलाई रमाइलो पनि लाग्यो । भाडा धोएर, साइकल ब्याइज भएर काम गर्दा भन्दा सेफ भएर काम गर्दाको बेग्लै मज्जाको महसुस भएको विष्णु सुनाउनुहुन्छ ।
कोरोनाले लगानी डुब्यो, नयाँ आइडिया जन्मियो
सशस्त्रको जागिर जोडेर लखनउमा एकसाथ दुईवटा रेष्टुरेन्ट सञ्चालन गर्नुभएका विष्णुको सपना कोरोनाले चक्नाचुर पार्यो । तर, हार मान्नुभएन, नयाँ शिराबाट व्यवसायिक उडान सुरु गर्नुभयो ।
आफन्तसङ मिलेर घोराहीमा एभरेष्ट गल्स होस्टेल खोल्नुभयो । त्यसक्रममै ठेक्कापट्टाको काम पनि गर्नुभयो । व्यवसायसँगै उहाँ सामाजिक क्षेत्रमा पनि सक्रिय हुन थाल्नुभयो ।
सामाजिक र राजनीतिमा पनि छुट्टै पहिचान
सामाजिक क्षेत्रमा काम गर्दा गर्दै उहाँको चर्चा अझ बढ्न थाल्यो । उहाँलाई प्रमुख पार्टीबाट आफ्नोमा आउन तानातान हुन थाल्यो ।
तर, कांग्रेसका नेता कृष्णकिशोर घिमिरेलाई आदर्श मान्ने विष्णु कांग्रेस पार्टीमा क्रियाशील हुन थाल्नुभयो ।
घिमिरेको प्रभावमा कांग्रेसमा आबद्ध भएर विष्णु २०७९ को स्थानीय तहको चुनावमा वडा अध्यक्षमा उम्मेदवार बन्नुभयो । कांग्रेसमा ८ जना आकंक्षीमध्ये आन्तरिक मतदानमा उत्कृष्ट मत ल्याएर उम्मेदवार बन्नुभयो । तर, विष्णु विविध कारणले झिनो मतान्तरबाट वडा अध्यक्षमा पराजित हुनुपर्यो ।
उहाँ अहिले गैरआवासीय नेपाली संघ पोर्चुगलको उपाध्यक्ष हुनुहुन्छ ।
अनि सुरु भयो वैदेशिक यात्रा
चुनाव सकिएको केही समयपछि फ्रान्समा खेल हुँदै थियो । तेक्वान्दो संघमार्फत खेल खेल्न फ्रान्स जानका लागि भिसा लाग्यो ।
फ्रान्समा दुई दिन बसेर साथीसहित विष्णु पोर्चुगल आउनुभयो । उहाँको साथी फर्किए पनि उहाँलाई चुनाव हारेको, ऋण लागेको र समाजले नपत्ताएको सोचेर यतै काम गर्ने योजना बनाउनुभयो ।
तर, पोर्चुगल संघर्षको देश । यहाँ आउँदा सुरुमा प्रायजसो धेरैलाई सास्ती हुन्छ नै । उहाँले दुईतीन ठाउँ काम गर्नुभयो । ‘त्यतिबेला नेपाल फर्किने सोचमा पुगेको पनि थिए, तर, परिस्थिति जटिल भएकाले फर्किन मनले मानेन’ उहाँले भन्नुभयो ।
कामकै सिलसिलामा भौतारिरहेका बेला विष्णुलाई राम्रै कम्पनीबाट कामका लागि राम्रो अवसर आयो । झण्डै दुई वर्ष उहाँले भाडा धुने काम गर्नुभयो । त्यसक्रममै कम्पनीमा राम्रो छाप बनाउनुभयो । उक्त कम्पनीमै सिनियरले छोडेपछि उहाँको प्रमोसन भएर ८ महिनाजति काम गर्नुभयो ।
‘म यहाँको नागरिक बनेर यतै बस्ने, या आकर्षक गन्तव्य जाने सोच छैन, केही वर्ष काम गरेर नेपाल जाने हो, परिवारसँगै बस्ने हो, मैले अरु ठूलो केही सोचेको छैन’ उहाँले भन्नुभयो ।
आफ्नो मात्रै नहेरी समाजको हितमा काम गर्दा सफल भइने उहाँ बताउनुहुन्छ । ‘जागिर भन्दा व्यापार राम्रो हो,‘सधैँभरी यहाँ बस्ने होइन, ’उहाँ भन्नुहुन्छ,‘ केही वर्षपछि आफ्नो माटो, आफ्नै देशमै गएर सिर्जनात्मक तरिकाले राजनीनि गर्ने सोच छ ।’
अभिनयमा पनि रुची
व्यवसाय, खेल र राजनीतिमात्रै होइन,उहाँले गीतमा पनि मोडलिङ गर्नुभएको छ । साथै साउथ इन्डियन मुभीमा अभियन गरेको पनि उहाँसँग अनुभव छ । जहाँ भएपनि आफ्नो रुचीको काम गर्दा मजा आउने उहाँ बताउनुहुन्छ । पोर्चुगलमा भाषाको कठिनाइ भएपनि खेल सिकाउने कामलाई पनि निरन्तरता दिनुभयो । नेपाली, इटालियन लगायतलाई उहाँले राम्रो प्रशिक्षण दिनुभयो ।

									
									
									
									
									
									

						


										
										
										
										
										
										
										
