सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ

डिल्लीराज आचार्य
प्रमुख
नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्र, दाङ

डिल्लीराज आचार्य विगत १८ वर्ष देखि स्वास्थ्य क्षेत्रमा काम गरिरहनुभएको छ । १६ वर्ष रोल्पा जिल्लामा रहेर काम गरिसक्नुभएका आचार्य हाल नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्रको प्रमुख हुनुहुन्छ ।

सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि लगानी बढाउनुपर्ने उहाँको भनाई छ । प्रवद्र्धन केन्द्रमा प्रदान भइरहेको स्वास्थ्य सेवा, समस्या तथा समग्र स्वास्थ्य सेवाको विषयमा केन्द्रित रहेर चेतना अनलाइनका सम्पादक सम्पादक पाण्डव शर्माले आचार्यसँग गरेको कुराकानिको सार :

  • नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्रमा अहिले कस्तो स्वास्थ्य सेवा प्रदान भइरहेको छ ?

हामीले उपचारात्मक सेवा, प्रवद्र्धनात्मक सेवा र रोकथामात्मक सेवा प्रदान गर्ने गर्दछौं । उपचारात्मक सेवा अन्तर्गत दैनिक ओपीडी सञ्चालन गरिरहेका छौं ।

हामी कहाँ अहिले दैनिक ५० जना जति ओपीडीमा बिरामीको परीक्षण तथा उपचार भइरहेको छ । त्यसैगरी प्रसुति सेवा प्रदान गरिरहेका छौं । अहिले हामी कहाँ मासिक करीब २५ देखि ३० जनाले प्रसुति सेवा लिइरहनुभएको छ । राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भइसकेपछि घोराहीबाट पनि प्रसुति गराउन नारायणपुर जाने क्रम बढेको छ । त्यहाँ आम सुरक्षा कार्यक्रम नभएकाले घोराहीबाट पनि प्रसुति बनाउन नारायणपुर जाने क्रम बढेको हो ।

हामीले दैनिक २० जनाको गर्भवति जाँच भइरहेको छ । हामीले विभिन्न खाले दीर्घ रोगहरुको उपचार गरिरहेका छौं । अहिले नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट मात्रै ७७ जनाले क्षय रोगको नियमित औषधी खाइरहनुभएको छ । प्रवद्र्धन केन्द्रमा मानसिक उपचार तथा परामर्श सेवा पनि प्रदान भइरहेको छ ।

तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मानसिक बिरामीहरुलाई उपचार तथा परामर्शको काम भइरहेको छ । प्रवद्र्धन केन्द्रमा आर्युवदतर्फको कविराजको दरबन्दि भए पनि हामी कहाँ डाक्टरले उपचार गरिरहनुभएको छ । प्रवद्र्धन केन्द्रमा परिवार नियोजन सेवा पनि प्रदान भइरहेको छ । हामीसँग डिपो प्रोभेरा, इम्प्लान्ट, आइ.यू.सी.डी., पिल्स र कण्डमको नियमित रुपमा सेवा उपलब्ध भइरहेको छ ।

  • प्रवद्र्धनात्मक सेवा भन्नाले कस्तो सेवा हो ?

यो भनेको सचेतना मुलक कार्यक्रम हो । कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उपर्युक्त हुन्छ । हामीले अहिले विभिन्न स्थानमा सचेतनामुलक काम गरिरहेका छौं ।

हामीले विद्यालयहरुमा गएर स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम फैलाइरहेका हुन्छौं । हाम्रा स्वास्थ्य स्वम्सेविका ज्यूहरुले पनि गाउँगाउँमा सचेतना फैलाइरहनुभएको छ । मासिक आमा समूहको बैठकमा सचेतना मुलक कार्यक्रम गरिरहनुभएको छ ।

  • रोकथामात्मक सेवामा के काम गरिरहनुभएको छ ?

हामीले नियमित खोप सेवा, गाउँघर क्लिनिक सेवा प्रदान गरिरहेका छौं । हामीसँग दुई ओटा गाउँघर क्लिनिक रहेका छन् भने चार ओटा खोप क्लिनिक सञ्चालनमा छन् । राष्ट्रिय कार्यक्रमहरुको नियमित कार्यक्रमहरु जस्तै भिटामिन, दादुरा खोप अभियान, हात्ति पाइलेको औषधी खुवाउने, पोषण कार्यक्रम, जेष्ठ नागरिक घरदैलो लगायतका अन्य काम गरिरहेका छौं ।

 

  • तपाईहरुलाई सेवा प्रदान गर्न कुनै समस्या छ कि छैन ?

हामी कहाँ बिरामीको चाप अत्यधिक छ । तर, पूर्वाधार भने निकै कम र जिर्ण अवस्थामा छ । पूर्वाधार नहुँदा ओपीडी सेवा, प्रसुति सेवा, गर्भवति जाँच सेवा, प्रयोगशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न निकै गाह्रो परेको छ । सरकारले तत्काल पूर्वाधार निर्माणको काममा ध्यान दिन आवश्यक छ ।

  • प्रयोगशाला पनि सञ्चालन भइरहेको रहेछ । त्यहाँ कस्तो कस्तो परिक्षण गरिन्छ ?

हामीले गर्भवतिलाई गर्नुपर्ने सम्पूर्ण जाँच, दिशा, पिसाब, रगत र खकारको परिक्षण भइरहेको छ । ल्याव भए पनि हामीसँग एक्सरे र भिडियो एक्सरे छैन ।

एक्सरे र भिडियो एक्सरे नहुँदा हामीलाई रोग पत्ता लगाउन समस्या पर्ने गरेको छ । साथै गर्भवतिहरु परिक्षणकै लागि भनेर घोराही या तुलसीपुर जानुपर्ने वाध्यता छ । एउटा गर्भवतिले कम्तिमा पनि दुई पटक भिडियो एक्सरा गर्नुपर्ने हुन्छ । तर, हामीसँग उक्त सेवा छैन ।

हुन त स्थानीय सरकार घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा भिडियो एक्सरेका लागि भनेर बजेट विनियोजन गरेको छ । आशा गरौं उक्त बजेटबाट छिटोभन्दा छिटो हामी कहाँ भिडियो एक्सरे आइपुग्ने छ ।

 

  • पूर्वाधार निर्माणका लागि तपाईहरुले माग गर्नुभएको छैन ?

हामीले माग त गरेका छौं । तर, अहिलेसम्म पर्याप्त बजेट विनियोजन हुन सकेको छैन । स्वास्थ्य जीवनको महत्वपूर्ण पक्ष हो । हामीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउन जरुरी छ । स्वास्थ्य संस्थाहरुको स्तरबृद्धि, आधुनिक उपचार उपकरणहरुको व्यवस्था र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिमा राज्यले ध्यान दिन जरुरी छ ।

  • तपाईहरु कहाँ सुरक्षि मातृ सेवा प्रदान भइरहेको छ । सुरक्षित मातृ सेवा भनेको के हो ?

हरेक गर्भावस्थामा केही गड्बड् हुने खतरा रहन्छ । पहिलेबाट याद गर्दा यस्ता केही समस्याहरूबाट बचाउन सकिन्छ । आमा र नानी दुवैका लागि पहिलो प्रसव सबैभन्दा ज्यादा खतरनाक हुन्छ । गर्भवती महिलालाई हरेक गर्भधारणको बेला क्लिनिक या स्वास्थ्य केन्द्रहरूमा कमसे कम चारपल्ट जाँच गराउन जरूरी हुन्छ ।

हामीले प्रसुति अघि महिलाहरुलाई स्वास्थ्य अवस्था, खाना पान, सुरक्षित प्रसुति लगायको विषयमा जानकारी दिने गर्दछौं । गर्भरहे देखि बच्चा हुर्कदा सम्म गर्नुपर्ने काम, अपनाउनुपर्ने स्वास्थ्य सावधानि लगायतको विषयमा हामीले सचेत बनाइरहेका हुन्छौं । यसले शिशु मृत्यदर र मातृ मृत्युदर घटाउन निकै मद्धत गरेको छ ।

नेपाल सरकारले निशुल्क सञ्चालन गरेका आमा सुरक्षा कार्यक्रममा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा लागु भएको छ । जसमा प्रसुति सेवा पूर्ण रुपमा निशुल्क हुन्छ । साथै यातायात खर्च अन्तर्गत तराइमा एक हजार रुपैयाँ, पहाडमा दुई हजार र हिमालमा तीन हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको छ ।

चार पटक नियमित जाँच गरेको खण्डमा ८ सय रुपैयाँ उत्प्रेरणा खर्च उपलब्ध गराइन्छ । त्यसैगरी अस्पतालहरुमा अप्रेशन शुल्क समेत निशुल्क गराइन्छ । हाम्रो प्रवद्र्धन केन्द्रमा अप्रेशन सेवा भने उपलब्ध छैन ।

 

  • तपाईले क्षय रोगको निशुल्क औषधी उपलब्ध भइरहेको बताउनुभयो । यस क्षेत्रमा क्षय रोगीहरुको अवस्था कस्तो छ ?

अहिले पनि क्षय रोग हाम्रो समाजमा व्याप्त अवस्थामा रहेको छ । धेरैको ध्यान अन्य महामारीमा जाने गरेपनि क्षय रोग प्रति त्यति धेरै चासो नदिएको जस्तो देखिएको छ ।

क्षय रोगमा उपचारमा रहेका मध्ये पनि मृत्यु दर १५ प्रतिशत हुन्छ । यो मृत्यु दर भनेको निकै खतरनाक हो । एक जना संक्रमित बिरामीले कम्तिमा १० जना नयाँ मान्छेलाई संक्रमण सार्ने सम्भावना हुन्छ । पछिल्लो समय बच्चा बच्चिहरुमा पनि क्षय रोग लागिरहेको छ । यसलाई रोक्नका लागि हामीले समाजमा सचेतना फैलाउन जरुरी छ ।

यदि कुनै घरमा एउटा व्यक्ति संक्रमित भयो भने त्यो घरका अन्य सदस्यहरु संक्रमित हुने सम्भावना निकै धेरै हुन्छ । त्यसैले क्षय रोगको लक्षण् देखिएमा तत्काल स्वास्थ्य परीक्षण गर्नुपर्छ । त्यसैगरी संक्रमित व्यक्तिलाई अन्य व्यक्तिको सम्पर्कमा आउन दिनुहुँदैन । उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानिमा नियमति उपचार तथा औषधी खुवाउनुपर्छ ।

 

  • बिरामीहरुले कुन कुन औषधी निशुल्क पाउँछन् ?

हामीले ४० किसिमका औषधीहरु निशुल्क प्रदान गरिरहेका छौं । दीर्घरोगहरु दम, क्षयरोग, सुगर, प्रेसरको निशुल्क उपलब्ध हुन्छ । साथै झाडापाखा, निमोनिया, टाइफाइड, ज्वरोग, खोकि, ग्यष्ट्रियक लगायतका औषधीहरु निशुल्क उपलब्ध भइरहेको छ ।

 

  • के यी सबै औषधीहरु पर्याप्त मात्रामा आइरहेको छ ?

केही समय पहिलेसम्म कुनै कुनै औषधीको अभाव भए पनि अहिले नेपाल सरकारले निर्धारण गरे बमोजिमका निशुल्क प्रदान गरिने औषधीहरु हामीसँग पर्याप्त मात्रामा उपलब्ध छ । यसले गर्दा विपन्न वर्गका नागरिकहरुले निशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा औषधी पाइरहेका छन् ।

नारायणपुर प्रवद्र्धन केन्द्रमा छिमेकी जिल्ला रोल्पाका तल्लो भेगका जनता समेत उपचार गर्न आइरहेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका पूर्वि वडाका बिरामीहरु समेत दैनिक जसो उपचारका लागि आइरहेका छन् । हामीले पूर्वाधारको अभावका बीचमा पनि आम नागरिकलाई सहज ढंगले सर्वसुलभ स्वास्थ्य उपचार गरिरहेका छौं ।

 

  • कोरोना संक्रमण रोक्नका लागि तपाईहरुले केही गर्नुभएको छैन ?

हामीले कोरोना महामारी शुरु भए देखि नै विभिन्न खाले काम गर्दै आएका छौं । सबैभन्दा पहिले हामीले संक्रमितहरुको परीक्षणको काम ग¥यौं । हामीले एन्टिजिन विधिबाट संक्रमितहरुको नियमितरुपमा निशुल्क परिक्षण गरिरहेका छौं ।

संक्रमितहरु आवश्यक सल्लाह, उपचार र रोकथामको विषयमा सचेतता प्रदान गरिरहेका छौं । नियमित रुपमा नेपाल सरकारले तोके अनुसारको भ्याक्सिन पनि दिइरहेका छौं । अहिलेसम्म हामीले नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट मात्रै करिब ८ हजार जनालाई कोरोनाको खोप उपलब्ध गराएका छौं ।

अहिले पनि हामीले नियमित रुपमा एन्टिजिन परिक्षण, संक्रमितको उपचार र खोप प्रदान गरिरहेका छौं । पछिल्लो समय संक्रमितको दर पनि घट्दो मात्रमा रहेको छ ।

 

  • तपाई स्वास्थ्य सेवामा लाग्नुभएको १८ वर्ष भएको छ । यसबीचमा तपाई रोल्पा जिल्लामा रहेर निकै लामो समय काम पनि गर्नुभयो । तपाईको बिचारमा नेपालमा अहिलेको स्वास्थ्य अवस्था कस्तो छ ?

कोरोना महामारी हुनुभन्दा पहिले नेपालमा स्वास्थ्य क्षेत्रप्रतिको बुझाई फरक थियो । नेपालमा मात्र नभएर विश्वमा पनि अन्य क्षेत्रको तुलनामा स्वास्थ्य क्षेत्रप्रति सरकारहरुको त्यति ध्यान जान सकेको थिएन ।

हाम्रा स्वास्थ्य संस्थाहरु कति कमजोर रहेछन् भन्ने कुरा विकशित मुलुकहरुमा कोरोना संक्रमणको फैलावटले पनि देखाउँछ । नेपालमा पनि स्वास्थ्य संस्थाहरु त खुलिरहेका छन् तर, तीको अपेक्षाकृत ढंगले स्तर बृद्धि हुन सकेको छैन । पर्याप्त मात्रामा स्वास्थ्य उपकरणहरु उपलब्ध छैन । पूर्वाधारको अभाव छ ।

डाक्टर तथा स्वास्थ्यकर्मीहरुको दरबन्दि अभाव छ । हाम्रा ठू्रला अस्पतालहरु राजधानी केन्द्रित वा शहर केन्द्रित छन् । अहिले पनि ग्रामीण तथा दुर्गम क्षेत्रको स्वास्थ्य अवस्था नाजुक नै छ । ती क्षेत्रमा डाक्टरको उपस्थिति नै छैन । स्वास्थ्यकर्मीहरुले मात्रै उपचार धानिरहेका छन् । उनीहरुलाई स्रोत साधानको समेत अभाव भइरहेको छ ।

 

  • पछिल्लो समय लागुपदार्थ सेवनले मानिसको मानसिक स्वास्थ्यमा पनि असर गरिरहेको छ भनिन्छ । तपाई पनि मानसिक स्वास्थ्यको वारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी हुनुहुन्छ । अहिले मानसिक स्वास्थ्यको अवस्था कस्तो छ ?

पछिल्लो समय नेपालमा मानसिक रोगीहरुको संख्या बढिरहेको छ । बच्चै देखि लागु पदार्थको सेवन गर्ने, प्रविधिको दूरुपयोग, महत्वाकांक्षा, गरिबी, खानपिन लगायतको कारणले मानसिक रोगीहरुको संख्या बढिरहेको छ ।

मुख्य कुरा पछिल्लो समय अति धेरै नै मदिरा सेवन गर्ने प्रचलन आएको छ । यसले हाम्रो मानसिक स्वास्थ्यमा गम्भिर असर गरिरहेको हुन्छ । सरकारले मानसिक रोगीहरुको समयमै पहिचान गरेर तत्काल उपचार गर्नुपर्छ । नत्र भविष्यमा मानसिक रोग विकरालरुपमा देखा पर्न सक्छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *