निर्मल आचार्य
केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज
नेकपा (माओवादी), केन्द्र
भर्खरै माओवादी केन्द्रले विधान अधिवेशन सम्पन्न गर्यो, अब पार्टी कस्तो संरचनाबाट अघि बढ्छ बताइदिनुहोस न?
सम्वादको अवसर दिनु भएकोमा  धन्यवाद । हाम्रो पार्टीको इतिहासमा पहिलो पटक विधान अधिवेशन भयो । चौम, मसाल, मशाल, एकताकेन्द्र, माओवादी, एमाओवादी हुँदै हामी माओवादी केन्द्रसम्म आइपुगेका छौ ।आजसम्म हाम्रो पार्टी नेतृत्वको विश्वासमा चल्यो । अहिले हाम्रो पार्टीमा एकै पटक मुख्य २ बिषयमा छ्लफल चल्दैछ । पहिलो २१ ओै शताब्दीमा आन्तरिक जनवादलाई कसरी व्यवस्थापन गर्ने
र दोस्रो पार्टी नेतृत्वको उत्तराधिकारी को कुरा ।अधिवेशनले २ वटै सवालमा केही दुरगामी निर्णय गरेको छ । पहिलो, लेनिनले बिकास गरेको पार्टी सन्चालनको जनवादी केन्द्रीयताको सिद्धान्तलाई आधारमानी नयाँ तरिका आविष्कार गर्नु पर्छ । तर पूँजीवादी तरिकालाई जस्ताको तस्तै अवलम्बन गर्न सकिदैन । दोस्रो, नेतृत्वको उत्तराधिकारी तोकेर हुने
कुरा होइन बिधि बनाएर पार्टी संचालन गर्दै जाँदा यो प्रश्नको उत्तर भेटिने छ । अझ ठोसमा भन्नू पर्दा अब पार्टीमा हाबी हुन खोज्ने हनुमान गिरी र कुमार शैली तोडिने छ । पार्टीलाई जनता र कार्यकर्तासँग जोडिने छ । प्यानल प्रस्ताव गरिने छैन । कुनै पनि समितिको प्रत्यक्ष निर्वाचन हुनेछ ।
र, समितिले प्रत्यक्ष निर्वाचनकै बिधिबाट निश्चित पदाधिकारी निर्वाचित गर्नेछ ।अब नेताको फेरो समातेर छोटे नेता बन्ने दिन गए । यो हाम्रो पार्टी जीवनमा लागू गर्न खोजेको एउटा क्रान्तिकारी कदम हो । तर, जान्दा क्रान्तिले नयाँ जीवन जन्माउँछ नजान्दा विध्वश निम्त्याउँछ । यसबाट के जन्मन्छ त्यो त हाम्रो गतिविधिमा भर पर्ला । तर जेहोस हामी यसपालि संगठनमा क्रान्तिकारी तरीका अपनाउने साहस गरेका छौं ।
– पार्टी अभियानात्मक काममा र निर्देशित योजनामा सक्रिय देखिन्छ तर जनतालाई रिझाउने गरी परिणाम दिन सक्दैन, कारण विचारमा, संगठन, नेतृत्वमा वा कार्यशैली खास समस्या के मा देखिन्छ ?
– विचारमा होइन मुख्य समस्या कार्यशैलीमा छ । हामीले जनताले मन पराउने शैली अपनाउन छोड्दा यस्तो भएको हो । बिचार अनुसारको संगठन भएन, झन कार्यशैली त हुँदै भएन । हामीले यसपालिको अभियानबाट मुख्य यहि शिक्षा लिएका छौं । अब विचार अनुसारको संगठन र सोही अनुसारको कार्यशैली अपनाइने छ । र, पार्टीलाई पुरानै लयमा फर्काइने छ ।
– अहिले माओवादी नेतृत्वको गठबन्धन सरकार छ यस प्रति जनताको अपेक्षा र बुझाई यहाँले कस्तो पाइरहनु भएको छ ?
– पार्टीले संन्चालन गरेको ४ महिने विशेष रुपान्तरण अभियानमा मैले प्युठान जिल्लाको नेतृत्व गरे । मलाई एक जना पुराना कार्यकर्ताले सोध्नु भयो– ‘हजुरले मेरो घरमा खाएको आटोको ऋण तिर्नु पर्दैन ? ऋण त तिर्नु भएन, भएन ऋण तिर्नु छ भन्ने कुरा सम्झनु पर्दैन ?’ मलाई यो प्रश्नले निकै बेर सोच्न बाध्य बनायो । सरकारले राम्रो काम गरेको छ । तर हामीले जनतामा त्यो अनुभुति गराउन सकेका छैनौं । हामी भन्छौ सरकारले राम्रो काम गरिरहेको छ, जनता भन्छन कागलाई बेल पाक्यो हर्ष न विस्मात ! यो अवस्था किन आयो कारण खोज्न जरुरी छ । मलाइ के लाग्छ भने प्रतिगामी शक्तिको कु–प्रचारलाई हामीले चिर्न सकेनौ । मैले ती आटोको पैंचो फिर्ता माग्ने साथीलाई हामीले गरेको राजनीतिक, सामाजिक, बिकास निर्माणका कामको फेहरिस्त सुनाए उहाँ कन्भिन्स हुनु भो । तर फेरि भन्नुभो–‘यो कुरा सुनाउन आइराख्नु पर्दैन त’ ?
– केन्द्रमा अहिलेको गठबन्धनमा केही खट्पट देखिन थालेको हो ?
– नेपाली कांग्रेसले हामीलाई हेप्न खोज्यो । गठबन्धन हाम्रो मात्र चाहनाले बनेको जस्तो भाष्य निर्माण गर्न खोजियो ।
४ बर्ष पछि हुने चुनावको प्रसङ्गलाई अहिले जोडेर प्रतिगमनको सहयोगी बन्दै हामीलाई धम्क्याउन खोजियो । यो गठबन्धनको ऐतिहासिकतालाई उपहास गर्न खोजियो । यो हामीलाई सह्य छैन । कि त कांग्रेस सच्चिनु प¥र्यो नभए माओवादी कसैको धम्कीबाट न कहिले डराएको थियो र अहिले डराओस् । फेरि पनि कांग्रेसको मुल नेतृत्वले अहिलेसम्म सुझबुझ पूर्ण तरिका अपनाई रहेको छ । कांग्रेसले यो विशिष्ट मोडमा ऐतिहासिक आवश्यकताले निर्माण भएको गठबन्धनको महत्वलाई अवमुल्यन गर्ने छैन ।
– दाङमा गठबन्धनको बर्चश्व छ, प्रदेश र केन्द्रमा पनि मन्त्री भएको अवस्थामा यहाँहरु समन्वय गरेर जिल्लाको विकास निर्माणमा कति ध्यान दिएर लागिराख्नुभएको छ त ?
– हाम्रो जिल्ला पार्टी यो मामिलामा निकै सजग छ । तर, भनेको जस्तो भएको छैन । हामीले जिल्ला पार्टीबाट पहल बढाउदै लगेका छौ । आशा गरांै आगामी दिनमा केही सामुहिक पहलको आभाष पाइने छ । हाम्रा कतिपय मुद्दामा साझा धारणा बन्न सकेको छैन । खासगरी एयरपोर्टको मामिलामा साथीहरुका निकै नै फरक–फरक सोंच छ्न । मदन भण्डारी लोकमार्गको एलाइनमेण्ट बदली दाङ जिलालाई यो संजालबाट हटाइएको छ । यो खेद जनक निर्णय भएको छ । हामी यसको क्षतिपूर्ति सहितको योजना निर्माणको विशेष लविङमा छौं । दाङ जिल्लाको बिकासमा सत्ता पक्ष र प्रतिपक्षको अवस्था आउँनु हुदैन भन्नेमा हाम्रो पार्टी निकै नै सम्वेदनशील भएर लागेको छ । हाम्रो पार्टीले संघीय बजेटमा निम्न बिषय समेटिनु पर्छ भन्ने धारणा बनाएका छौ । लुम्बिनी प्रदेश पुर्वाधार बिकासका लागि गुरुयोजना अनुसारको बजेट व्यवस्था, नौमुरे जलविद्युत आयोजना बारे, मुलाबरी, जरेझिङा, कोइराले, प्युठान रोड (नयाँ योजना), माडी डाइभर्सन कृषिमा आधारित बहुउद्देश्यीय परियोजना, दाङ उपत्यका विकास प्राधिकरण वा दाङ उपत्यका चक्रपथ
(नयाँ योजना), कटुवाखोला र ग्वारखोला कृषिमा आधारित बहुउद्देश्यीय परियोजना, राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका लागि गुरुयोजना अनुसार बजेट व्यवस्था, बबै नदी कोरिडोर नदी नियन्त्रण परियोजना
(नयाँ योजना), नयाँ एयरपोर्ट निर्माणको लागि जग्गा अधिकरणका लागि आबश्यक नीतिगत निर्णय र बजेट ब्यवस्थापन (नयाँ योजना), टरिगाउँ एयरपोर्टको स्तरउन्नतिका लागि आवश्यक बजेट, राप्ती गाउँपालिकामा लुम्बिनी प्रदेशस्तरिय आइटी पार्क
(हव) निर्माण, हापुरे कुसुम सडक, भौंरीसाल, सिसहनिया, बंगलाचुली, प्युठान सडक, कोइलाबासमा सुख्खा बन्दरगाह, मुसोट्खोला सुरुङ मार्ग । यी योजनाका अलावा प्रदेश र स्थानीय तहबाट गर्नुपर्ने कामको पनि प्राथमिकीकरण निर्धारण गरेका छौं । यो सबै यहाँ भन्न सम्भव छैन ।
– नेतृत्वको हिसावले जिल्लामा माओवादी केन्द्रको अवस्था के–कस्तो रहेको छ ?
पार्टी जीवनका आन्तरिक पक्ष र बाहिर पनि नयाँ पन आउँदै छ । केही मेहनत जरुरी छ, हामी दाङ जिल्लामा पुरानैं सुखद अवस्थामा फर्कने छौं ।
– पार्टीमा नयाँ पुस्ताको आर्कषण कम र पुराना कार्यकर्ताहरु छेउ, किनारा लाग्दै जान थालेको अवस्था हो ?
– पक्कै यो अवस्था आउन थालेको छ । माओले प्रतिवादन गरेको थ्री इन वन (एकमा तीन) सिद्धान्तलाई व्यवहारतः अपनाउन नसक्ने हो भने हामीलाई कैज्जा लाग्ने छ । हामी यसमा सचेत छौ । भर्खरै सम्पन्न बिधान अधिवेशनले धेरै कुराको गोरेटो कोरेको छ । आसन्न विशेष महाधिवेशनले बाँकी कुरा हल गर्ने छ ।
– समय सापेक्ष सहित जनताको आवश्यकता अनुरुप पार्टी निर्माण गर्ने आधारहरु के–के हुन सक्छन ?
स्पष्ट बिचार, सक्षम नेतृत्व, चुस्त पार्टी संचालन बिधि र जनताले मन पराउने पारदर्शी कार्यशैली नै पार्टी निर्माणका आधार हुन । अहिलेको जमाना बदलिँदो छ । सूचना, सन्चारको महत्व र प्रयोग अनि बदलिँदो वातावरणीय अवस्थालाई सहि ढंगले पक्ड्न सक्ने पार्र्टी निर्माण गर्न जरुरी छ ।
बाँकी तपाईका कुरा केही भए ?
– अहिले नेपाली समाजमा कहालीलाग्दो गरी नकारात्मक भाव फैलिएको छ । सकारात्मक कुरा गर्न डराउनुपर्ने अवस्था आएको छ । राम्रो र सकारात्मक कुरा गर्ने मान्छे दिन, दहाडै कुटिएला जस्तो डरलाग्दो अवस्था आएको छ । अब सञ्चारमाध्यमहरूले पनि समाजमा सकारात्मक विचार फैलाउनका लागि योगदान दिन जरुरी छ। बिचार राख्ने अवसर दिनु भएकोमा फेरि पनि धन्यवाद ।

									
									
									
									
									
									

						


										
										
										
										
										
										





