गणेश पार्धे
क्याम्पस प्रमुख
राप्ती बबई क्याम्पस तुलसीपुर, दाङ
राप्ती बबई क्याम्पस, तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्धे कुनै पनि क्षेत्रको विकासको लागि त्यहाँको समाजको योगदान महत्वपूर्ण हुने बताउनुहुन्छ । यो क्याम्पस पनि यहाँको समुदायको महत्वपूर्ण योगदानबाट यहाँसम्म आइपुगेको उहाँको भनाई छ । क्याम्पसमा आगामी दिनमा प्राविधिक विषयहरू ल्याइने उहाँले जानकारी दिनुभयो । क्याम्पस प्रमुख पार्धेसँग चेतना अनलाइनका सम्पादक पाण्डव शर्माले क्याम्पसको विभिन्न विषयमा केन्द्रित भएर कुराकानि ।
राप्ती बबई क्याम्पसमा कुन कुन विषय पढाई हुन्छ ?
राप्ती बबई क्याम्पसमा प्लस टू देखि स्नातकोत्तर तहसम्मको कक्षा सञ्चालन भइरहेको छ । अहिले प्लस टू र स्नातक तहमा मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायमा विभिन्न विषयहरू अध्यापन भइरहेका छन् । स्नातकोत्तर तहमा मानविकी तर्फ समाज शास्त्र विषय अध्यापन हुन्छ । त्यसैगरी शिक्षा शास्त्र संकाय अन्तर्गत नेपाली, स्वास्थ्य र इपीएम विषय पढाईरहेको छ । साथै एमविएस पनि पढाई भइरहेको छ ।
क्याम्पसमा विद्यार्थीहरूको आकर्षण कस्तो पाउनुभएको छ ?
हाम्रो क्याम्पस सामुदायिक भएकाले पनि यसलाई सञ्चालन गर्न समुदायको ठूलो सहयोग चाहिन्छ । हामीलाई यहाँको समाजले निकै राम्रो सहयोग गरेको छ । उहाँहरूकै मायाबाट हामी यहाँसम्म आइपुगेका छौं । अभिभावक र विद्यार्थीहरूले पनि राम्रै विश्वास गर्नुभएको छ । हाम्रो क्याम्पसमा अहिले कुल ४ हजार २ सय विद्यार्थी संख्या रहेको छ । प्लस टू तर्फ ९ सय, स्नातकमा २ हजार ८ सय र स्नातकोत्तर तहमा ४ सय विद्यार्थी संख्या रहेको छ ।
केही नयाँ विषयहरु थप्ने योजना छैन ?
समयको विकासँगै अहिले प्राविधिक शिक्षाको आवश्यकता ह्वात्तै बढेको छ । मुलुकको समग्र विकासका लागि प्राविधिक शिक्षा अपरिहार्य जस्तो भइसकेको छ । हामीले यस क्याम्पसलाई प्राविधिक शिक्षाको केन्द्र बनाउन चाहन्छौं । अब थपिने कार्यक्रमहरू प्राविधिक विषयहरू नै हुने छन् । हामीले विविए र विएस डब्लु सञ्चालका लागि त्रिभुवन विश्वविद्यालयलाई प्रस्ताव पेस गरेका छौं । अरु कार्यक्रमहरू पनि थप गर्ने योजना रहेको छ । अहिले देशभर नै त्रिविले नयाँ कार्यक्रम स्वीकृत नदिएकाले हामीले कुर्नुपरेको छ । त्रिविले स्वीकृत दिदा बित्तिकै हामीले प्राविधिक विषयहरू सञ्चालन गर्ने छौं ।
क्याम्पसको समस्या के देख्नुहुन्छ ?
हाम्रो क्याम्पस मात्र नभएर नेपाल भरका सबै क्याम्पसहरूको साझा समस्याहरू रहेका छन् । अहिलेको मुख्य समस्या भनेको विद्यार्थीको ड्रपआउट नै हो । एउटा तहमा भर्ना भएका विद्यार्थीहरू त्यो तह पूरा नगरेरै छाड्ने प्रचलन भएको छ । स्नातक तहमा पहिलो वर्षमा भर्ना भएको विद्यार्थी संख्या चौंथो वर्षमा पुग्दा लगभग आधा भइसकेको हुन्छ । नेपालमा रोजगारीको समस्याका कारण विद्यार्थीहरू विदेश पलायन भइरहेका छन् । यो हाम्रा विश्वविद्यालयहरुलाई मात्र नभएर समग्र मुलुकका लागि चुनौतीको विषय हो ।
तपाईँहरूले विश्वविद्यालयबाट क्यूएए प्रमाण पत्र पाउनुभएको छ । यो भनेको के हो ?
हामीलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए (गुणस्तर सुनिश्चिता प्रतापवान् प्रदान गरेको छ । साविकको मध्यपश्चिम विकास क्षेत्रमा हाम्रो क्याम्पसले मात्र क्यूएए पाउन सफल भएको छ । यो प्राप्त गर्नका लागि हामीले विभिन्न एक सय २० ओटा इन्डिकेटर पार गर्नुपर्छ । यसको अर्थ हाम्रो क्याम्पसको शैक्षिक गुणस्तर निकै राम्रो भएको छ भन्ने नै हो ।
क्यूएए प्रमाण पाइसकेपछि क्याम्पसलाई के फाइदा हुन्छ ?
मुख्य कुरा त यस क्याम्पस पढेका विद्यार्थीहरूको महत्व बढ्छ नै । साथै हामीले यहाँको शैक्षिक विकासका लागि त्रिभुवन विश्वविद्यालयबाट विभिन्न सुविधाहरू पाउँछौँ । क्याम्पसको भौतिक पूर्वाधार, पुस्तकालय र ल्यावको विकासका लागि हामीले त्रिभुवन विश्वविद्यालयबाट थप सहयोग प्राप्त गर्न सक्छौँ ।
तपाईँहरू अहिले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर सामुदायिक रुपमा क्याम्पस सञ्चालन गरिरहनुभएको थियो । एक दशक अगाडि देखि तपाईँहरू मध्यपश्चिम विश्वविद्यालयबाट आंगिक क्याम्पसको रुपमा सञ्चालन गर्ने योजनामा हुनुहुन्थ्यो । त्यो प्रकृया कता पुग्यो ?
तपाईंले भन्नुभएको कुरा २०७०÷०७१ साल तिरको हो । त्यति बेला हामीहरूले मध्यपश्चिम विश्वविद्यालयमा आंगीकका लागि पहल गरेका थियौं । त्यतिबेला विविध कारणले त्यो हुन सकेन । यो कुरा हामीले चाहेर मात्र हुने कुरा मात्र भएन । यसका लागि विश्वविद्यालयले आवेदन माग्नुपर्छ । अहिले मध्यपश्चिम विश्वविद्यालयको त्यस प्रकारको कुनै आवेदन नमागेले त्यो प्रशंग अघि बढ्न सकेको छैन । अर्को अवसर आएको खण्डमा यहाँको समाजसँग छलफल गरेर हामीले थप प्रकृया अघि बढाउने छौं ।
क्याम्पसमा जनशक्तिको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
हामीलाई अहिले भौतिक पूर्वाधार लगभग पुग्ने अवस्थामा छ । हामीले विद्यार्थीहरूबाट उठाएको शुल्कबाट यहाँ कार्यरत कर्मचारी साथीहरू तथा प्राध्यापन गरिरहनुभएका साथीहरूलाई तलब उपलब्ध गराइरहेका छौं ।
यहाँको समाजसँग तपाईहरुको के अपेक्षा छ ?
राप्ती बबई क्याम्पस सामुदायिक क्याम्पस भएको कारण पनि यहाँको समुदायको सहयोग विना हामी चल्न सक्दैनौं । कुनै पनि क्षेत्रको विकासका लागि त्यहाँको समुदायको निकै महत्वपूर्ण भूमिका रहन्छ । यो क्याम्पसको मात्र नभएर तुलसीपुर विमानस्थल, सडकहरु, अन्य भौतिक संरचना लगाय यहाँको शैक्षिक, आर्थिक, भौतिक एवम् अन्य क्षेत्रको विकासका लागि समाजको महत्वपूर्ण भूमिका रहन्छ । हामी यी सबै कामममा यहाँको समाज अग्रसर भएर लागोस् भन्ने अपेक्षा गर्दछौं ।