घोराही, ७ मंसिर । घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उपमहानगरपालिकाले भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, अनुभव आदानप्रदान तथा अन्य शैक्षिक सुधार कार्यक्रमहरूलाई सुदृढ रूपमा अगाडि बढाइरहेको छ ।
यसै सन्दर्भमा उपमहानगरपालिका सामाजिक विकास महाशाखाले क्षेत्रका ४२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई अभिमुखीकरण तथा संयुक्त अन्तरक्रियामा सहभागी गराएको छ । कार्यक्रममा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख तथा प्रवक्ता राममणि पाण्डेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय सरकार, शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच घनिष्ठ समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार संयुक्त बैठकमार्फत समग्र शैक्षिक सुधारका लागि महत्वपूर्ण सुझाव तथा आवश्यक नीतिगत दिशानिर्देशनहरू संकलन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले मुलुकको समृद्धि हासिल गर्न शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले हरेक नागरिकले गुणस्तरीय शिक्षा प्राप्त गर्न सके मात्रै समृद्ध नगर निर्माणको परिकल्पना सम्भव हुने स्पष्ट पार्नुभयो ।
कार्यक्रमको सञ्चालन विपना बर्तौलाले गर्नुभएको थियो । कार्यक्रमलाई महाशाखा प्रमुख रामबहादुर हमाल, अधिकृत अजय बोहोरा र सहायक शिक्षा अधिकृत मोतिराम न्यौपानेले सहजीकरण गर्नुभएको थियो । स्वागत मन्तव्य शिक्षा अधिकृत भवानी गिरिले दिनुभयो । कार्यक्रममा ४२ जना सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो ।








