चेतना अनलाइन
घोराही, २० कात्तिक । नेकपा (एमाले)घोराही उपमहानगरपालिका कमिटिको बैठक सोमबार पार्टी कार्यालय भरतपुर, घोराहीमा सम्पन्न भएको छ ।
बैठक अध्यक्ष तारा पुरीको अध्यक्षतामा बसेको थियो भने घोराही उपमहानगरपालिकाका मेयर तथा पार्टीका केन्द्रीय पोलिटब्युरो सदस्य एवम् दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरी प्रमुख अतिथि र जिल्ला सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठ विशिष्ट अतिथि हुनुहुन्थ्यो । बैठकले संगठन विस्तार, भेला तथा सभामा व्यापक सहभागिता सुनिश्चत गर्ने योजना र मतदाता नामावली अद्यावधिक अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ ।
बैठकमा कात्तिक २२ गते वडा भेला, कात्तिक २५ गते नगर भेला र कात्तिक २७ गते तुल्सिपुरमा आयोजना हुने भव्य सभामा घोराही उपमहानगरपालिकाबाट उल्लेख्य सहभागिता गराउने निर्णय पारित गरिएको छ । बैठकमा बोल्ने नेताहरूले संगठनलाई जनतामुखी बनाउने, जनस्तरमा एमालेको पहिचान अझ मजबुत गर्ने र पार्टीका हालका अभियानहरूलाई परिणाममुखी बनाउने आवश्यकता औंल्याए ।
प्रमुख अतिथि नरुलाल चौधरीले एमाले नेतृत्वले अहिले राष्ट्रिय राजनीतिमा अघि सारिरहेको सुसासन, सुशासन र आर्थिक पुनरुत्थानका एजेन्डा व्यापक रूपमा जनतामा प्रतिध्वनित भएको उल्लेख गर्नुभयो । उहाँले घोराहीमा कार्यान्वयन भइरहेका विकास कार्यक्रम, सेवा प्रवाह र नागरिकसँगको प्रत्यक्ष संवादलाई पार्टीको प्रतिबद्धताको ठोस उदाहरणका रूपमा चित्रित गर्नुभयो । चौधरीले पार्टीका सबै तहका कमिटीहरूलाई आगामी भेला तथा सभालाई एकताबद्ध पार्टी शक्तिको प्रदर्शनको अवसरका रूपमा लिन आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि विवेक श्रेष्ठले जनतासँगको पहुँच, विश्वास निर्माण र संगठनात्मक सक्रियतालाई एमालेको मूल पहिचान भएको बताउनुभयो । श्रेष्ठका अनुसार अहिलेको संगठनात्मक चरणले पार्टीलाई आगामी राजनीतिक प्रतिस्पर्धामा थप दृढ र व्यवस्थित बनाउनेछ ।
बैठकका अध्यक्ष तारा पुरीले घोराही उपमहानगरपालिकालाई संगठनात्मक दृष्टिले एमालेको प्रभावशाली मोडलका रूपमा स्थापित गर्ने लक्ष्य दोहोर्याउनुभयो । उहाँले बैठकमा पारित निर्णयलाई तत्काल कार्यान्वयनमा लैजान कार्यकर्ताहरूलाई आह्वान गर्दै भेला र सभाहरूमा सक्रियता, अनुशासन र जनसंपर्कलाई मुख्य जिम्मेवारीका रूपमा लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैठकमा एकराज खनालले पनि बोल्नुभएको थियो ।
बैठकमा सहभागीहरूले घोराही उपमहानगरपालिका पार्टीको संगठनात्मक बल, जनआधार र कार्यदक्षताको उदाहरण बन्ने विश्वास व्यक्त गर्दै आउँदै गरेका भेला तथा सभालाई सफल बनाउन एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।








