घोराहीलाई समृद्ध बनाउन यस्तो छ गठबन्धनको योजना (घोषणापत्रको पूर्ण पाठ)

 

लोकतन्त्र, विकास र समृद्धिको आधार
स्थानीय तहमा गठबन्धनको सरकार

स्थानीय तह निर्वाचन २०७९

घोराही उपमहानगरपालिकाको
प्रतिबद्धता–पत्र

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु !

हामी यतिबेला स्थानीय तह निर्वाचनको संघारमा छौं । यही वैशाख ३० गते स्थानीय तहको देशब्यापीरुपमा स्थानीय सरकार निर्माणका लागि मतदान हुँदैछ । नेपाली जनताले पटकपटकको संघर्ष र बलिदानबाट प्राप्त गरेको उपलब्धि र अधिकारलाई संस्थागत गर्न स्थानीय निर्वाचन एक महत्वपूर्ण आधार हो ।

यसै पनि आवधिक निर्वाचन आम जनताले विकास, समृद्धि र स्थायित्वका लागि आफ्नो अभिमत प्रकट गर्ने एक सशक्त माध्यम हो भने यो जनसर्वोच्चता अभ्यास गर्ने अवसर पनि हो । स्थानीय व्यवस्थापिका र कार्यपालिकाको भूमिकामा समेत रहेको स्थानीय सरकार नेपाली मौलिक विशेषतामा आधारित समाजवादउन्मुख राज्यव्यवस्थाको एक महत्वपूर्ण आधार हो ।

यसर्थ लोकतन्त्र, परिवर्तन र सामाजिक न्यायका लागि, विकास र समृद्धिका लागि यस स्थानीय निर्वाचनमा लोकतन्त्रवादी र परिवर्तनकारी शक्तिहरुलाई मतदान गरी प्रतिगमनकारीहरुलाई परास्त गर्नुको विकल्प छैन ।

नेपालको संविधान २०७२ जारी भएपछिको पहिलो निर्वाचनपश्चातका पाँच बर्षको अवधिमा देशमा देखापरेका परिवर्तनविरोधी हर्कत, पटकपटकको संसद विघटनलगायत प्रतिगमनकारी हर्कतहरुले अहिले पनि आन्दोलनका बलमा प्राप्त उपलब्धिहरु गुम्ने खतरा हाम्रासामु रहेको छ । यस अर्थमा प्राप्त उपलब्धिहरुको रक्षा गर्दै लोकतन्त्र र समाजवादको यात्रामा अगाडि बढ्न हामी परिवर्तनका पक्षधर शक्तिहरुले प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरी जनतामाझ जाने निर्णय गरेका छौं ।

परिवर्तनलाई संस्थागत गर्ने कि परिवर्तन बिरोधी हुने, लोकतन्त्रको रक्षा गर्ने कि समाप्त पार्ने, सामाजिक न्याय स्थापित गर्ने या विभेदलाई बढावा दिने ? हाम्रासामु यक्षप्रश्नका रुपमा खडा छन् । यस ऐतिहासिक अवसरमा उपर्युक्त विषयहरुलाई गम्भीरतापूर्वक महसुस गरी आफ्नो अमूल्य मतको सदुपयोग गर्दै गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनुहुनेछ भन्ने पूर्ण विश्वास गरेका छौं ।

विभिन्नखालका भ्रम र प्रलोभनमा परी मतको दुरुपयोग भयो भने लोकतन्त्रको समाप्ति र प्रतिगमन हुनेछ भन्नेतर्फ आम मतदातालाई सचेत गराउन चाहन्छौं ।

बर्षौदेखि विद्यमान गरीबी, बेरोजगारी, कुशासन, भ्रष्टाचार, न्यून उत्पादन, न्यून वेतन आम नेपालीका साझा दुश्मनका रुपमा रहिआएका छन् । पहिलो स्थानीय निर्वाचनमार्फत निर्माण भएका स्थानीय सरकारहरुले पहिलो कार्यकाल हुनुको कारण नीति निर्माण, संरचनागत अवस्था र अनुभवबाट सिक्दै जाने अवस्थाले पनि कामकारवाहीमा केही प्रभाव परेको देखिन्छ ।

आगामी दिनमा यसमा सुधार हुँदै जाने आशा त गर्न सकिन्छ तथापि नयाँ संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारको जिम्मेवारी र कर्तव्यलाई बुझ्ने वा नयाँ राजनीतिक प्रणालीप्रतिको कमजोर बुझाइ र प्रतिबद्धताका कारण पनि स्थानीय तहहरु केही अलमलमा परेको र पुरानै विकृति र विसंगतिलाई बोकेर हिडेको देखिन्छ । तसर्थ आगामी निर्वाचनलाई भौतिक उत्प्रेरणाको प्रभावमा होइन, सही नीति र नेतृत्वको छनौट गर्दै लोकतन्त्र, समाजवाद र समृद्धिको बाटोमा अगाडि बढ्न यो गठबन्धन आम मतदाताहरुमा हार्दिक अपिल गर्दछ ।

विगतमा कतिपय स्थानीय तहहरुमा सही नेतृत्व हुन नसक्दा आम नागरिक छिटोछरितो र पारदर्शी सेवाबाट वञ्चित हुनुपरेको छ । एकातर्फ व्यवस्था परिवर्तन भए पनि नागरिकलाई त्यसको अनुभूति हुन सकेको छैन भने अर्कोतर्फ आम नागरिकको अवस्थामा खासै परिवर्तन हुन सकेको छैन । स्वास्थ्य, शिक्षा, विद्युत, पिउने पानी, कृषि सामग्रीजस्ता अतिआवश्यक सार्वजनिक सेवाबाट आम नागरिक वञ्चित छन् भने विपन्न, गरीब तथा मजदूरहरु ती सेवाको पहुँचमा नै छैनन् ।

अधिकांश निर्वाचित प्रतिनिधिहरु जनताको जीवन परिवर्तन गर्ने कार्यहरु शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगारी सिर्जना, उत्पादन तथा उत्पादकत्व बृद्धितर्फ पूरै उदासीन वा अनभिज्ञ देखिँदै आएका छन् । लोकतान्त्रिक मूल्य मान्यताप्रति पूरै उदासीन रही व्यक्तिगत लाभ र स्वार्थमा लिप्त हुने प्रवृत्ति हावी रहेको देखिन्छ ।

नागरिकले तिरेको राजश्व पर्याप्त छलफल र प्राथमिकताबिना नै व्यक्तिगत सम्पत्ति जसरी आफूखुशी वितरण गरेको देखिन्छ । स्थानीयवासी, टोल र वडासँगको पर्याप्त सहकार्यविना नै बजेट विनियोजन गरिएका छन् । कर्मचारी प्रशासनलाई स्वतन्त्र र प्रभावकारीरुपले काम गर्ने वातवारण नहुँदा सेवा प्रभावकारी हुन सकेको छैन । तसर्थ, यसपालिको स्थानीय निर्वाचनमा हामीले सवल, सक्षम र दीर्घकालीन सोंच भएको नेतृत्वलाई चुन्नुपर्नेछ ।

भ्रष्टाचार र कुशासनको अन्त्य गर्न लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न, सार्वजनिक सेवालाई पारदर्शी र प्रभावकारी बनाउन, स्थानीय सरकारलाई मजबुत बनाउन, आम नगरबासीलाई परिवर्तनको अनुभूति र अपनत्वबोध गराउन, दिगो विकासको लक्ष्य प्राप्त गर्न, वातावरणको संरक्षण गर्न, स्थानीय कला संस्कृति, साहित्य र सम्पदाको जगेर्ना गर्न, स्थानीय उत्पादन र उत्पादकत्व बृद्धि गर्न, रोजगारीका अवसरहरु सिर्जना गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिई बिजयी गराऔं ।

हामीलाई यस उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर दिनुभयो भने निम्न लिखित कार्य गर्ने प्रतिबद्धता जाहेर गर्दछौंः

कृषि तथा सिंचाई

अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार

कृषि नेपाली अर्थतन्त्रको प्रमुख आधार हो । कृषि क्षेत्रको समग्र रुपान्तरणविना समृद्धि संभव छैन । ‘अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार’ भन्ने नारालाई हामी स्थापित गर्न चाहन्छौं । हाम्रो कृषि अहिले पनि निर्वाहमुखी रहिआएको छ । यसको आधुनिकीकरण र व्यवसायीकरण नितान्त जरुरी छ । यस उपमहानगरपालिका अन्तर्गतको अधिकांश भूभाग कृषि उत्पादनका लागि उपयुक्तसमेत छ । तसर्थ कृषि क्षेत्रको प्रबर्धनका लागि निम्न कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइने छः

१– कृषिको ब्यावसायीकरण र आधुनिकीकरणका लागि उपमहानगरपालिकाले कम्तिमा १÷१ जना पशु तथा बाली विज्ञसहित हरेक वडामा कृषि प्राविधिककको ब्यवस्था गरिने छ ।
२– उपमहानगरपालिकाले उपलब्ध साधन स्रोतको सीमाभित्र रही कृषकहरुलाई अनुदान र सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने छ ।
३– विभिन्न वडाहरुमा त्यहाँको वातावरण र भौगोलिक बिबिधताका आधारमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रमलाई अगाडि बढाइने छ । जस्तोः वडा नम्बर १, ११, १२ र १९ मा टिमुरखेती, कागती खेती र अदुवा खेतीको पकेट क्षेत्रको रुपमा उपमहानगरपालिकाकै पहलमा अगाडि बढाइने छ । त्यसैगरी पछिल्लो समय दाङ जिल्ला मह उत्पादनको हव बन्दै गएकाले सामूहिक मौरीपालन गर्ने किसानलाई अनुदानको रुपमा आधार चाकासहितको घार उपलब्ध गराइने छ ।
४– पशुपंक्षी र माछापालन व्यवसायलाई बिशेष प्रोत्साहन गरिने छ ।
५– उत्पादन बृद्धिसँगै उत्पन्न हुने बजारीकरणको समस्या समाधानका लागि टोलटोलमा समूह निर्माण तथा सहकारीका माध्यमबाट ‘कृषि भ्यान’मार्फत बजारीकरणको व्यवस्था मिलाइने छ भने उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने छ ।
६– कृषक परिचयपत्र बनाई कृषि विमा र कृषक पेन्सन कार्यक्रम अघि बढाइने छ ।
७– प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी मल, बीउविजनलगायत कृषि सामग्रीको समयमै पर्याप्त उपलब्धतालाई सुनिश्चित गरिने छ ।
८– ब्यावसायिक र आधुनिक खेती गर्न चाहने कृषक समूहलाई निःशुल्क वीउ र कृषि औजार उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग उपलब्ध गराइने छ ।
९– सिंचाई सुविधा विस्तारका लागि आवश्यक स्थानमा डीप बोरिङ तथा संभावित स्थानमा जलाशय निर्माण गरिने छ । निर्माण भएका तथा विद्युतलगायतका कारण सञ्चालनमा आउन नसकेका डीप बोरिङलाई यथाशीघ्र सञ्चालनमा ल्याइने छ । साथै आवश्यकताका आधारमा लिफ्ट सिंचाई पनि अगाडि बढाइने छ ।
१०– कृषिउपज भण्डारणका लागि शीत भण्डारण निर्माण गरिने छ ।
११– विभिन्न मापदण्ड बनाई बार्षिकरुपमा उपमहानगरअन्तर्गतका कृषकहरुबाट ‘कृषक आइडल’ छनौट गरी सम्मान गर्ने ब्यवस्था मिलाइने छ ।
१२– यस उपमहानगरलाई कृषि तथा पशुपंक्षीजन्य वस्तु उत्पादनमा आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाइने छ ।
१३– मेयर युवा कृषि रोजगार कार्यक्रम सञ्चालन गरिने छ ।

शिक्षा
गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीः गठबन्धनको नेतृत्वमा राज्यको जिम्मेवारी

शिक्षा राष्ट्र विकासका लागि पूर्वाधारको पनि पूर्वाधार हो । संवैधानिक ब्यवस्थाअनुसार माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको माताहत रहेकाले गुणस्तरीय शिक्षा र शिक्षामा सबैको पहुँच स्थापित गर्न निम्नाअनुसारको व्यवस्था गरिनेछ ः
१– यस उपमहानगरपालिकाभित्र एउटा विद्यालयलाई ‘लिड स्कूल’का रुपमा विकास गरिनेछ, जहाँ सबैखालका सुविधाहरु पर्याप्त मात्रामा उपलब्ध हुनुका साथै अत्याधुनिक सिकाइ पद्धति लागु गरिने छ । यो कार्यक्रमलाई क्रमशः विस्तार गर्दै लगिने छ ।
२– यस उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक (सरकारी) विद्यालयहरुमा दरबन्दीअनुसारको बिषयगत शिक्षक परिपूर्ति गरिने छ ।
३– प्राविधिक धारतर्फको शिक्षामा खासगरी मजदूर तथा विपन्न परिवारका जेहेन्दार छात्रछात्राहरुलाई बिशेष नीति बनाई प्राविधिक शिक्षाको अवसर प्रदान गरिने छ ।
४– अति न्यून विद्यार्थी संख्या भएका विद्यालयहरुलाई स्थानीय समुदायसँग छलफल गरी विद्यालय नक्शांकन तथा एकीकरणका माध्यमबाट सुदृढीकरण गरिने छ ।
५– यस उपमहानगरपालिकाले बार्षिक रुपमा नगरभित्रका जेहेन्दार छात्रछात्रालाई मेरिटको आधारमा प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययनका लागि सशर्त छात्रवृत्तिको ब्यवस्था गरिने छ ।
६– नगर क्षेत्रभित्र रहेका विभिन्न सीपमूलक तालिम प्रदायक संस्थाहरुसँग समन्वय गरी सरकारी सेवा तथा संस्थानका आयोगहरुमा प्रतिष्पर्धा गर्न चाहनेहरुका लागि तयारी कक्षा तथा विभिन्न पेशा ब्यवसायमा प्रवेश गर्नेहरुका लागि निश्चित संख्यामा निःशुल्क उद्यमशील तालिमको ब्यवस्था गरिने छ ।
७– घोराही उपमहानगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गरिने छ । जसका लागि उच्च प्राविधिक शिक्षामा निजी क्षेत्रसँग समेत सहकार्य गरिने छ ।
८– सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा सुविधासम्पन्न बनाउँदै शैक्षिक गुणस्तर बृद्धि गर्न गुरुयोजना निर्माण गरिने छ ।
९– शिक्षालाई उत्पादन तथा जीवन जगतसँग जोड्न शिक्षकहरुलाई आवश्यक विषयगत तालिमको ब्यवस्था गरिने छ । यस्तो तालिममा सामुदायिक तथा संस्थागत दुबै विद्यालयका शिक्षकहरुलाई समावेश गराइने छ ।
१०– संस्थागत विद्यालयहरुलाई नियमानुसार अनुगमन तथा नियमन गरिने छ भने शैक्षिक गुणस्तर बृद्धिका लागि सहकार्य गरिने छ ।
११– यस उपमहानगरपालिकाभित्र स्थायी बसोबास गरी विद्यावारिधि गरेका विज्ञहरुको अभिलेखीकरण गरी उहाँहरुलाई नियमति सम्मान गरिने छ । साथै उहाँहरुलाई नगरको विकासमा आफ्नो विज्ञताको प्रयोग गर्न प्रोत्साहित गर्ने कार्यक्रम बनाइने छ ।
१२– स्थानीय पाठ्यक्रमलाई विभिन्न मातृभाषामा तयार गरिने छ र यसलाई उत्पादनसँग जोडिने छ ।
१३– विद्यालय तथा विश्वविद्यालयस्तरीय शिक्षालाई प्रविधिमैत्री बनाउनुका साथै अनुसन्धानमा आधारित शिक्षा प्रणालीको विकास गरिने छ । साथै बाहिरबाट अनुसन्धानमा आउने चाहनेलाई प्रोत्साहन गरिने छ । हरेक बर्ष फरक फरक शीर्षकमा अनुसन्धानकर्ता व्यक्ति वा संस्थासँगको सहकार्यमा अनुसन्धानका काम अगाडि बढाइने छ ।
१४– फरक क्षमता भएका बालबालिकाको शिक्षालाई अनिवार्य गर्न उपयुक्त ब्यवस्था गरिने छ ।
१५– उपमहानगरपालिकाभित्र रहेका उच्च प्राविधिक शिक्षालय तथा प्रतिष्ठानमा नगरवासीको पहुँच सुनिश्चित गर्न छात्रवृत्तिसहितको बिशेष ब्यवस्था गरिने छ ।

स्वास्थ्य
स्वस्थ जीवन नागरिकको अधिकार, स्थानीय सरकार पूर्ण जिम्मेवार

स्वस्थ जीवन प्रत्येक व्यक्तिको मौलिक अधिकार र राज्यको दायित्व हो । यस उपमहानगरपालिकामा स्वास्थ्य सेवा प्रभावकारी हुनसकेको छैन । यसको कारण जनशक्तिको अभाव नभई ब्यवस्थापनको कमजोरी हो ।

पर्याप्त जनशक्ति र संघीय सरकारबाट पर्याप्त सहयोग हुँदाहुँदै पनि आम नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ भने बिशेष उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । राज्यले अतिआवश्यक औषधिहरु निःशुल्क वितरण गर्ने र अतिआवश्यक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने नीति लिएको छ । तथापि यसको कार्यान्वायन हुनसकेको छैन । स्थानीय गठबन्धन सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निम्न नीति तथा कार्यक्रम लागु गर्नेछः
१– प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत सुरक्षित मातृत्व, बालपोषण, खोपजस्ता कार्यक्रमलाई प्रभावकारी बनाइने छ ।
२– प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको स्तरबृद्धि गरी आकस्मिक उपचार सेवासमेत वडामै उपलब्ध हुने ब्यवस्था गरिने छ ।
३– निःशुल्क उपलब्ध हुने अतिआवश्यक औषधिहरु स्वास्थ्य परीक्षण र आवश्यकताका आधारमा वितरण गरिने छ ।
४– अतिविपन्न तथा मजदूरहरुका लागि परिचयपत्रका आधारमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी निःशुल्क उपचारको ब्यवस्था मिलाइने छ ।
५– सरकारले अघि सारेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारीरुपले अघि बढाइने छ र यसको उपलब्धतालाई सहज बनाइने छ ।
६– संघीय, प्रादेशिक तथा स्थानीय सरकारले उपलब्ध गराउने निःशुल्क औषधिको दुरुपयोगलाई रोकी पारदर्शीरुपले आवश्यकताका आधारमा वितरण गरिने छ । औषधि खरिदमा हुने अनियमिता अन्त्य गरिने छ ।
७– वैकल्पिक उपचारका लागि विभिन्न पद्धति आयुर्वेद, होमियोप्याथी, योग, प्राकृतिक चिकित्सा, अक्यूपन्चर, अक्यूप्रेसर आदिलाई एकीकृतरुपले अगाडि बढाइने छ ।
८– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ, एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम अविलम्ब शुरु गर्न पहल गरिने छ ।

उद्योग तथा रोजगारी

औद्योगिक विकासबिना समृद्धि संभव छैन । त्यसैले यस नगरमा औद्योगिक विकासलाई प्रबर्धन गर्न यसअघि नेपाल सरकारबाट घोषणा गरिएको औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउँदै औद्योगिक विकासका माध्यमबाट रोजगारी सिर्जना गरिनेछ । उद्योग तथा रोजगारीका क्षेत्रमा यस उपमहानगरपालिकामा गठबन्धन सरकारले निम्न काम गर्नेछः
१– सञ्चालनमा रहेका उद्योगहरुको लगत लिई तिनीहरुको अवस्था, वातवारणीय प्रभाव, उत्पादनस्तर, रोजगारीको अवस्था आदिको अभिलेख तयार पारिने छ ।
२– वातावरणीय हिसाबले समस्या देखिएका ठूला उद्योगहरुको ब्यवस्थापनलाई बिशेष जोड दिइने छ ।
३– यस क्षेत्रभित्र विभिन्न खाले घरेलु तथा साना उद्योगहरुको स्थापना र सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ । मुख्यरुपले स्थानीय कच्चा पदार्थ, स्थानीय कला र सीप, स्थानीय प्रविधि र जनशक्ति प्रयोग गर्ने उद्योगहरुलाई सहुलियत प्रदान गरिने छ ।
४– आदर्श उद्यमी कार्यक्रम सञ्चालन गरिने छ ।
५– उद्योगहरुको स्थापना र सञ्चालनमा वातावरणीय प्रभाव मूल्यांकनलाई विशेष महत्वका साथ लागू गरिने छ ।
६– स्थानीयस्तरमा सहकारीका माध्यमबाट समेत उद्योगहरुको स्थापना र सञ्चालन अगाडि बढाइने छ ।
७– ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रमलाई प्रभावकारी बनाउन उपमहानगर सहकारी शाखाको क्रियाशीलता बढाइने छ ।
८– ‘एक घर एक रोजगारी’ कार्यक्रम अगाडि बढाइने छ । रोजगारीलाई विशेषतः उत्पादनसँग जोडिने छ ।
९– एक वडा, एक लघुउद्यम कार्यक्रम सञ्चालन गरिनेछ ।
१०– यस उपमहानगरपालिकामा उद्योगहरुको स्थापना, सञ्चालन र सम्बद्र्धनका लागि नगरपालिकाले अभिभावकत्वको भूमिका निर्वाह गर्नेछ ।
११– उपमेयर युवा रोजगार कार्यक्रम सञ्चालन गरिने छ ।

सडक यातायात
दिगो विकासको आधार, सडक पूर्वाधार

सडक गतिशील जीवन, कृषि क्षेत्रको विकास, औद्योगिक विकास, पर्यटन विकासका लागि महत्वपूर्ण पूर्वाधार हो । यस उपमहानगरपालिकामा विगतदेखि सडकलाई महत्व दिइए पनि गुणस्तर र पर्यावरणीय दृष्टिकोणले पछाडि परेको देखिन्छ । तसर्थ सडक पूर्वाधारका क्षेत्रमा निम्न कार्यलाई बिशेष जोड दिइने छः
१– हालसम्म पनि सडक पुग्न नसकेका वडाहरुमा एक बर्षभित्र नै स्तरीय सडक निर्माण गरिने छ ।
२– कालोपत्रे हुन बाँकी सडकहरुलाई क्रमिकरुपले स्तरीय र टिकाउ हुनेगरी कालोपत्रे गर्दै लगिने छ ।
३– सडकको दायाँबायाँ बृक्षारोपण कार्यलाई अनिवार्य बनाई हरित शहरको रुपमा विकास गरिने छ ।
४– सडक निर्माण गर्दा वातावरणीय पक्षलाई बिशेष ध्यान दिइने छ । स्थानीय उपभोक्ताको सुझाव र सल्लाहअनुसार निर्माण कार्य गरिने छ ।
५– निर्माण भइसकेका सडकहरुको नियमित मर्मतमा ध्यान दिइने छ । त्यस्ता सडकका पेटी र दुबै किनारामा बृक्षारोपणलाई अनिवार्य गरिने छ । नाला नभएका स्थानमा नाला निर्माण कार्य पनि अगाडि बढाइने छ ।
६– घोराही–मसिना—सैघा हुँदै स्वर्गद्वारी जोड्ने सडकलाई उपमहानगरको गौरवको आयोजनाको रुपमा अघि बढाएर कालोपत्रे गरिने छ ।
७– कतिपय स्थानमा सडक निर्माण भए पनि विद्युत, टेलिफोन, पानीका पाइप आदिका कारणले अस्तव्यस्त रहेका छन् । त्यस्ता ठाउँमा अविलम्ब उचित ब्यवस्थापन गरिने छ ।
८– लमही–घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बार्षिक तीन सय बढीको ज्यान जाने गरेकोमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना, ट्राफिक संकेत र ट्राफिक आइल्याण्डको निर्माणलाई अगाडि बढाइने छ ।
९– यस उपमहानगरअन्तर्गतका घोराहीदेखि सैघा, कमरकोट, वस्तीकोट, मौलाकोट, चाक्लीघाट, सोरेठी, चाँचला, बसेरी, रज्जेमन्नामे, माले, खुङ्कोट, माराकोटलगायतका विकट क्षेत्रहरुमा बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडक निर्माण, सुधार र स्तरोन्नति गरिने छ ।
१०– संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा घोराही–मुर्कुटी सडक पुनः कालोपत्रे गरी दिगो बनाइने छ भने यो सडकमा चल्ने सिमेन्ट उद्योगका टिप्परको लागि वैकल्पिक मार्गको ब्यवस्था गरिने छ । साथै सोनापुर सिमेन्ट उद्योगका दाङ–रोल्पा चल्ने टिप्परका लागि निर्माणाधीन वैकल्पिक सडक अविलम्ब सञ्चालनमा ल्याइने छ ।
११– घोराही–तुलसीपुरलगायत अन्य सडक क्षेत्रमा चल्ने मालबाहक गाडीका लागि वैकल्पिक सडक निर्माण योजना अगाडि बढाइने छ ।
१२– घोराहीको सघन शहरी क्षेत्रभित्र बनेका सडक भत्कने, हिलो र धुलोले बजार कुरुप बन्दै जाने, आवागमन प्रभावित हुने र दुर्घटना बढ्दै जाने अवस्था रहेकाले त्यस्ता ठाउँमा अविलम्ब सुधारका लागि उपमहानगरपालिकाभित्र सडक सुधार शाखा स्थापना गरी सडक भत्केको खबर प्राप्त हुनेबित्तिकै मर्मत गर्नेगरी स्रोत साधन तथा जनशक्ति परिचालन गर्ने नीति बनाइने छ ।

जलस्रोत, वातावरण तथा सरसफाइ
पानी जिन्दगानी, नगरको लगानी

जीवनका लागि पानी नभई नहुने तत्व हो । अहिले पनि यस उपमहानगरभित्र कैयौं स्थानमा पिउने पानीको उचित ब्यवस्था हुन सकेको छैन । पशु चौपायलाई पानीको ठूलो अभाव छ । सरसफाई र सिंचाइँका लागि पनि पर्याप्त पानी छैन । तसर्थ, खानेपानी, सिंचाई, सरसफाई र वातावरण संरक्षणका लागि निम्न कार्य अगाडि बढाइने छः
१– अति विपन्न परिवार तथा समुदायलाई खानेपानीको न्यूनतम महसुल निःशुल्क गरिने छ ।
२– आर्थिक बर्ष २०६४÷०६५ देखि तत्कालीन घोराही नगरपालिकाले शुरु गरेको बर्षातको पानी संकलन परियोजनालाई ब्यापकरुपले अगाडि बढाइने छ ।
३– उपलब्ध पानीका स्रोतहरु खोला, सोता, झरना, जरुवा, सिमसार क्षेत्रको उचित संरक्षण गरिने छ ।
४– आवश्यकता पहिचान गरी संभावित सबै स्थानहरुमा डीप बोरिङ र जलाशय निर्माणलाई प्राथमिकता साथ अगाडि बढाइने छ ।
५– पहाडी क्षेत्रमा पानीका स्रोतहरु निर्माण गर्न र संभावित स्थानमा बर्षातको पानी संकलन गरिने छ ।
६– पानीका स्रोतहरु, पानीको दिगो उपलब्धता, मरुभूमिकरणको अवस्था र नियन्त्रणसम्बन्धी वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरी जलीय गुरुयोजना निर्माण गरिने छ ।
७– सीमित साधन स्रोतको परिचालन गरी पिउने पानीलाई शुद्धीकरण गरी वितरण गर्ने ब्यवस्था मिलाइने छ ।
९– यस उपमहानगरपालिकामा पर्याप्त साधन स्रोत हुँदाहुँदै पनि कमजोर ब्यवस्थापनका कारणले बजार क्षेत्रमा समेत फोहर ब्यवस्थापन राम्रोसँग हुनसकेको छैन । फोहर ब्यवस्थापनको बढ्दो मागलाई मध्यनगर गर्दै सेवा उपलब्ध टोलहरुमा सेवा प्रभावकारी बनाउने र थप माग भएका स्थानमा सेवा विस्तार गर्दै लगिने छ ।
१०– आम नगरवासीलाई हरित, स्वच्छ र सुन्दर शहर निर्माणका लागि प्रोत्साहित गरी सहभागी बनाइने छ ।
११– आवासीय क्षेत्र, होटल, अस्पताल, वर्कशपलगायतका स्थानबाट उत्पन्न हुने फोहर, फोहर पानी तथा ढल ब्यवस्थापनका लागि स्रोतमै फोहर उत्पादन न्यूनीकरण गर्ने र उत्पादित फोहर तथा फोहर पानीलाई उचित ब्यवस्थान गरिने छ ।
१२– फोहर ब्यवस्थालाई आयआर्यन र रोजगारीको माध्यम बनाइने छ ।
१३– फलाम, प्लाष्टिक, धातुजन्य नगल्ने फोहर पदार्थलाई स्थानीयबासी र निजी क्षेत्रसँगको सहकार्यमा उचित ब्यवस्थापन गरिने छ ।

विद्युतीकरण
यस उपमहानगर क्षेत्रभित्र पूर्ण विद्युतीकरणका लागि उच्च प्राथमिकताका साथ निम्नलिखित कार्यक्रमहरु अगाडि बढाइने छ ।
१– उपमहानगर क्षेत्रभित्रका हरेक घर परिवारलाई उज्यालो कार्यक्रममार्फत जोडिने छ ।
२– हालसम्म विद्युतीकरण हुन नसकेका स्थानमा एक बर्षभित्र उपमहानगरकै पहलमा विद्युत विस्तार गरिने छ ।
३– अति विपन्न परिवारलाई परिचयपत्रका आधारमा २० यूनिटसम्मको विद्युत निःशुल्क उपलब्ध गराइने छ ।
४– न्यून भोल्टेजको समस्या भएका स्थानहरुमा विद्युत प्राधिकरणसँग सहकार्य गरी थ्रीफेज तार र ट्रान्सफर्मर जडान गरी समस्या समाधान गरिने छ ।
५– विद्युत विस्तार नभएका र भौगोलिक कठिनाई भएको वस्तीमा अनुदानमा सौर्य उर्जा उपलब्ध गराइने छ ।

भूउपयोग तथा शहरी विकास

ब्यवस्थित बसोबास र संगठित शहरी विकासका लागि वैज्ञानिक भूउपयोग नीति आवश्यक पर्दछ । नेपाल सरकारले केन्द्रदेखि नै भूउपयोग नीति बनाई प्रभावकारीरुपमा कार्यान्वायन गर्नुपर्ने टड्कारो आवश्यकता छ । यस सन्दर्भमा यस उपमहानगरपालिकाले प्रचलित ऐन नियमको अधिनमा रही निम्न कार्य गर्नेछः
१– बजार क्षेत्रलाई थप ब्यवस्थित, सफा र सुन्दर राख्न विद्यमान नियम कानूनलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने छ ।
२– खेतीयोग्य जमीनलाई संरक्षण गरी उत्पादनमा मात्रै प्रयोग गर्ने नीति बनाइने छ ।
३– जनसंख्याको बढ्दो चापलाई मध्यनजर गर्दै ब्यवस्थित एकीकृत आवास तथा वस्ती विकास योजनालाई अगाडि बढाइने छ ।
४– सम्बन्धित क्षेत्रका विज्ञहरुसँगको परामर्शमा ‘उपमहानगर प्रमुख आवास योजना’ निर्माण गरी कार्यान्वयनमा लगिने छ । साथै सुरक्षित आवास कार्यक्रमलाई अगाडि बढाइने छ ।
५– भवन संहिता सरलरुपले कार्यान्वयनमा लैजाने प्रक्रियागत झन्झटहरु हटाइने छ ।
६– उपमहानगरमा हुने झन्झटिलो नक्सा पास प्रक्रियालाई सरल र सहज बनाइने छ ।
७– एक घर, दुई विरुवा– एक केरा, एक मेवा कार्यक्रम अगाडि बढाई घोराहीको शहरी क्षेत्रलाई हरित शहरमा परिणत गरिने छ ।
८– यस नगरभित्रको सार्वजनिक जमीनको वास्तविक अभिलेख तयार पारी आवश्यकताअनुसार वैज्ञानिक प्रयोग, संरक्षण र खुला क्षेत्रका रुपमा विकास गरिनेछ ।
९– वास्तविक सुुकुम्वासीहरुको लगत तयार पारेर नेपाल सरकारको कार्यक्रमअनुसार पूर्जा वितरणमा जोडिने छ ।
१०– अति विपन्न र मजदूरहरुको लगत तयार पारी परिचयपत्र प्रदान गरिने छ ।
११– उपमहानगरभित्र स्वास्थ्य र वातावरणीय हिसाबले जोखिमयुक्त बसोबासको वैकल्पिक ब्यवस्थापन गरिने छ ।
१२– नगर प्रमुख अध्यक्ष रहेको घोराही नगर विकास समितिमा देखिएका विभिन्न खालका समस्या र अनियमितालाई ब्यवस्थित तथा पारदर्शी बनाइने छ ।

पर्यटन
पर्यटन क्षेत्रको विकास : अर्थतन्त्रको निकास

पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका माध्यमबाट रोजगारीको सिर्जना र आर्थिक उपार्जनलाई वृद्धि गरिने छ । यस उपमहानगरपालिकाअन्तर्गत पर्यटन प्रवद्र्धनका लागि निम्नलिखित कार्यक्रमहरु सञ्चालन गरिने छ ।
१– धार्मिक मठ मन्दिरहरुको जीर्णोद्धार, संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरिने छ ।
२– यस उपमहानगर क्षेत्रभित्र रहेका सवारीकोट, घोरदौरा र मौलाकोटमा यसअघि नै परीक्षण भइसकेको तर ब्यवसायिकरुपमा सञ्चालन हुन नसकेको साहसिक पर्यटन प्याराग्लाडिङलाई निजी क्षेत्रसँगको सहकार्यमा शुरु गरिने छ ।
३– कृषि पकेट क्षेत्र तथा जलाशयहरुलाई सौन्दर्यीकरण गरी कृषि तथा पर्यापर्यटनको विकास गरिने छ ।
४– उद्योग वाणिज्य संघ, यातायात ब्यवसायी तथा होटल ब्यवसायीसँग सहकार्य गरी स्थानीय पर्यटकीयस्थलहरुको प्रचारप्रसार गरिने छ ।
५– विभिन्न स्थानमा मनोरञ्जन पार्क निर्माण तथा सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिने छ । समुदायले यस्ता पार्क सञ्चालन गर्न चाहेमा पार्क पूर्वाधार निर्माणमा अनुदानको ब्यवस्थापन गरिने छ ।
६– स्वच्छ र स्वस्थ वातावरणका लागि खुला क्षेत्र र बाल उद्यानहरु उपमहानगरपालिकाले नै ब्यवस्थापन गर्ने छ । यस्ता क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने छ ।
७– घोराही बजार क्षेत्रका बासिन्दाको स्वास्थ्य तथा जीवनशैलीलाई मध्यनजर गरी उनीहरुको मर्निङ र इभिनिङ वाकलाई स्वस्थ, सुरक्षित र व्यवस्थित गर्न उपयुक्त स्थानमा पैदल मार्ग तथा गन्तव्यमा मिनी पार्क निर्माण गरिने छ ।
८– घोराहीको पर्यटन विकासलाई नयाँ आयाम दिन पर्यटन सर्किट विकास गरिने छ । घोराहीका पर्यटकीय क्षेत्रलाई चार खण्डमा विभाजन गरेर बाह्रकुने, ज्यामिरे, मौलाकोट, घोरदौराको उत्तरी सर्किट, भोटे दह–ज्यामिरे–दह, चेपे दह क्षेत्रको पूर्वी सर्किट, मन्ठोरिया, लरैना क्षेत्रको पश्चिमी सर्किट र धारपानी, रज्जे मन्नामे लगायतको दक्षिणी सर्किटको विकास गरी सोही क्षेत्रको विशेषताअनकूल पूर्वाधार निर्माण गरिने छ ।
९– स्थानीय कला संस्कृतिलाई पर्यटन प्रवद्र्धनसँग जोडिने छ ।
१०– नगर पर्यटन सूचना केन्द्रलाई प्रभावकारी बनाइने छ ।

कला संस्कृति
स्थानीय कला संस्कृति मौलिक पहिचान, गठबन्धन सरकारको बिशेष अभियान

कला तथा संस्कृति कुनै पनि समाजका लागि बहुमूल्य सम्पत्ति त हुन नै, यसका साथै समाजको पहिचान र गौरव पनि हुन् । कला संस्कृति र सम्पदाहरु पर्यटन प्रवद्र्धनका आधार पनि हुन् । विगतको स्थानीय सरकारले स्थानीय कला संस्कृति र सम्पदाको क्षेत्रमा ध्यान पु¥याउन सकेको देखिदैन । हाम्रो गठबन्धनको सरकारले स्थानीय कला संस्कृति र सम्पदाको संरक्षणमा निम्न काम गर्नेछः
१– यस क्षेत्रका आदिवासी थारुहरुको कला र संस्कृति संरक्षणका लागि योजना बनाई लागु गरिने छ । मन्ठोरिया, ठाँटीघर, भूइँयार, महटवालगायत मौलिक थारु संस्कार र प्रणालीको संरक्षण गरिने छ । थारु संग्रहालयलाई ब्यवस्थित गरिने छ ।
२– नेवार, मगरलगायत अन्य जाति सम्प्रदायका मौलिक संस्कृतिको संरक्षणमा प्रोत्साहन गरिने छ ।
३– उपमहानगरपालिकामा एक ऐतिहासिक तथा सांस्कृतिक संग्रहालय स्थापना गरिने छ ।
४– विद्यालय शिक्षाको स्थानीय पाठ्यक्रममा यस क्षेत्रको मौलिक कला, संस्कृति एवं यहाँका स्रष्टाहरुको सिर्जना समावेश गरिने छ ।
५– घोराहीमा एक कलाघर निर्माण गरिने छ । नगरस्तरीय सांस्कृतिक प्रतिष्ठानमार्फत कलाकार÷स्रष्टाहरुको अभिलेखीकरण, परिचयपत्रको ब्यवस्था र कलाकार कल्याण कोषको स्थापना गरिने छ । सर्जकहरुलाई नियमित सम्मान र पुरस्कारको ब्यवस्था गरिने छ । स्थानीय मौलिक तथा लोपोन्मुख झाँकी, गाथा, वाद्यवादन, नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रशिक्षणका साथै विभिन्न विधाका कार्यशाला र प्रतियोगिताहरु सञ्चालन गरिने छ । हरेक वर्ष कला उत्सवको आयोजना गरिने छ ।
६– नगर क्षेत्रका साहित्यिक संस्थाहरुको भौतिक निर्माण, पुस्तकालय ब्यवस्थापन तथा सिर्जनात्मक गतिविधिमा आवश्यक सहयोग उपलब्ध गराइने छ ।
७– बर्षेनी साहित्यकार तथा सर्जकहरुलाई पुरस्कार र सम्मान गर्ने कार्यक्रम बनाइने छ ।

सुशासन
भ्रष्टाचाररहित घोराहीको सोंचः सार्वजनिक सेवामा सहज नागरिक पहुँच

यस घोराही उपमहानगरपालिकामा गठबन्धनको सरकार बनेपछि सुशासनका काम निम्नरुपमा अगाडि बढाइने छः
१– उपमहानगरपालिकामा नगरवासीको पहुँच स्थापित गरी नगरबासीले आफ्नो गुनासो र परामर्श प्रत्यक्षरुपमा दिनसक्ने गरी गुनासो सुनुवाइ तथा ब्यवस्थापन एकाई स्थापना गरिने छ ।
२– यस उपमहानगरबाट प्रवाह हुने हरेक सेवालाई छिटो, छरितो, भेदभावरहित र पारदर्शी ढंगबाट प्रवाह गरिने छ ।
३– नातावाद, कृपावादलाई निरुत्साहित गरी दक्षता र क्षमताका आधारमा अवसर प्रदान गरिनेछ ।
४– वडास्तरीय योजना निर्माण, कार्यान्वयन र भुक्तानीसमेत वडाबाटै हुने ब्यवस्था मिलाइने छ ।
५– उपमहानगर तथा मातहतका कार्यालय र विद्यालय आदिबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन स्वचालित विद्युतीय हाजिरी अनिवार्य गरिने छ ।
६– उपमहानगरपालिकाअन्तर्गत निर्माण हुने प्रत्येक योजनामा टोल विकास संस्थाहरुको भूमिकालाई उपेक्षा गरिदै आएको वर्तमान सन्दर्भमा यस गठबन्धन सरकारले योजना निर्माण र कार्यान्वयन गर्न टोल विकास संस्थाको सहभागिता पूर्ण सुनिश्चित गर्ने छ ।
६– घर नक्सा पास प्रक्रिया वडाबाटै गर्ने ब्यवस्था मिलाइने छ ।
७– इन्धनलगायत विभिन्न शीर्षकमा हुने अपारदर्शी र अनावश्यक खर्च न्यून गर्दै विकास खर्च र बजेट खर्च गर्ने क्षमता बृद्धि गर्दै लगिने छ ।
८– घोराही उपमहानगरपालिकालाई डिजिटलाइज गर्दै लगिने छ ।

सामाजिक सुरक्षा तथा न्याय

हरेक नागरिकको सम्मानित जीवनयापन गर्ने नैसर्गिक अधिकार हो । यस परिप्रेक्ष्यमा महिला, बालबालिका, अपांग तथा जेष्ठ नागरिकहरु केन्द्रित निम्नलिखित कार्यक्रमहरु लागू गरिने छ ।
१– ज्येष्ठ नागरिकका लागि प्रत्येक वडामा ‘ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र’ स्थापना गरी सेवा प्रदान गरिनेछ । सो केन्द्रबाट ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाइने छ ।
२– यस उपमहानगरभित्र निर्माण हुने हरेक सार्वजनिक भवनलाई अपांगमैत्री बनाइने छ ।
३– हरेक टोलमा बालक्लव गठन गरी बालबालिकाको क्षमता विकास र सहभागिता सुनिश्चित गरिने छ । उनीहरुलाई वडा तथा नगरस्तरीय बाल सञ्जालमार्फत विभिन्न सिर्जनशील क्रियाकलापमा जोडिने छ । टोल, वडा र नगरका महत्वपूर्ण नीति निर्माणमा बाल प्रतिनिधित्व सुनिश्चित गरिने छ ।
४– यस उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गरिए पनि बालमैत्री सूचकहरु अपुरा र अधुरा रहेकोमा बाँकी सूचक पूरा गरिने छ ।
५– हरेक वडामा बाल उद्यान निर्माण गरिने छ ।
६– यस उपमहानगरपालिकाबाट प्रवाह हुने सबैखाले सेवा सुविधा र अवसरमा कुनै किसिमको लैंगिक विभेद गरिने छैन ।
७– उपमहानगरभित्रका सबै वडाका महिला तथा दलित महिला सदस्यको क्षमता विकास गरी नेतृत्वमा स्थापित गर्ने नीतिअनुसार तालिम प्रशिक्षणको ब्यवस्था गरिने छ ।
८– उपमहानगरभित्र हुने लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम चलाइने छ भने हिंसापीडितका लागि शीघ्र न्याय निरुपण, पुनस्र्थापना र रोजगारीका कार्यक्रम बनाइने छ ।
९– घोराही उपमहानगरपालिकाद्वारा महिलाको नाममा जारी गरिने घर नक्सापास तथा सिफारिस शुल्कमा २५ प्रतिशत छुट दिइने छ ।
१०– यस उपमहानगरले महिला क्षमता विकास तथा सशक्तिकरणलाई बिशेष कार्यक्रमको रुपमा अघि बढाउने छ ।
११– उपमहानगरपालिकाको बालबालिका तथा महिला विकास शाखाबाट प्रदान गरिने तालिमहरुलाई उपलब्धिमूलक बनाई सञ्चालन गरिनेछ र यस कार्यक्रमलाई वडा तथा टोलस्तरसम्म विस्तार गर्दै ब्यापक सहभागिता सुनिश्चित गरिने छ ।
१२– सामाजिक विभेद तथा जातीय छुवाछूत अन्त्यका लागि बनेको कानूनलाई पूर्णरुपमा कार्यान्वयन गरिनेछ ।

युवा र खेलकूद

युवाहरु राष्ट्र निर्माणका खम्बा हुन् भन्ने तथ्यलाई महसुस गर्दै यस उपमहानगरपालिकाले युवाकेन्द्रित निम्न कार्यक्रमहरु अगाडि बढाउने छ ।
१– युवा नेतृत्व तथा क्षमता विकासका लागि युवाकेन्द्रित कार्यक्रम बनाइने छ ।
२– प्रत्येक वडामा एक खेल मैदान निर्माण गरिने छ ।
३– बार्षिकरुपमा सबै बिधा समेटिने गरी नगरस्तरमा मेयर÷उपमेयर र वडास्तरमा वडाध्यक्ष कप खेलकूद आयोजना गरिने छ ।
४– हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने यस उपमहानगरभित्रका खेलाडीहरुलाई उपमहानगरकै तर्फबाट सम्मान गर्ने कार्यक्रम बनाइने छ ।
५– हरेक विद्यालयमा खेलकूद क्लब स्थापना गरी बार्षिकरुपमा उपमहानगरस्तरीय ‘स्कूल क्लवस्तरीय’ खेल आयोजना गरिने छ ।
६– वडा तथा टोलस्तरमा विभिन्न विधाका खेलकूद क्लबहरुलाई खेल आयोजनाका लागि प्रोत्साहन गर्न मापदण्ड बनाएर सहयोग गर्ने कार्यक्रम बनाइने छ ।
७– लागु औषध दुव्र्यसनलाई नियन्त्रण तथा निरुत्साहित गर्न युवा क्लवहरुसँगको सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

सूचना÷सञ्चार
आधुनिक जीवनको आधार, सूचना र सञ्चार

वर्तमान युग सूचना र प्रविधिको युग हो । अहिलेको आवश्यकता हरेक व्यक्तिलाई सूचना र प्रविधिको पहुँचमा पुराउने र हरेक क्षेत्रमा यसको प्रयोगलाई वृद्धि गर्दै अनिवार्य बनाउने हो । सूचना र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व बृद्धिका साथै सेवा प्रवाहलाई समेत छिटो र छरितो बनाउन सकिन्छ । यसर्थ सूचना र सञ्चारका क्षेत्रमा निम्निलिखित कार्यहरु गरिने छ ।
१– सेवा प्रदायक निकायहरुको साझेदारीमा हरेक वडामा केवल इन्टरनेट पु¥याउन पहल गरिने छ ।
२– सेवा प्रदायक निकायहरुको साझेदारीमा महत्वपूर्ण चोक तथा सार्वजनिक स्थानहरुमा फ्री वाइफाई सेवा सञ्चालन गरिने छ ।
३– पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि स्तरीय तालिमको ब्यवस्था गरिने छ भने उपमहानगरभित्रका सञ्चारमाध्यमलाई सार्वजनिक सूचना÷विज्ञापन समानुपातिकरुपमा वितरण गर्ने नीति बनाइने छ । साथै उपमहानगरपालिकाको तर्फबाट नगर क्षेत्रभित्रका मिडियालाई लोककल्याणकारी विज्ञापन दिने नीति लिइने छ ।
४– खोज तथा अनुसन्धानमूलक पत्रकारितालाई प्रोत्साहन गर्न छुट्टै कोषको ब्यवस्था गरी लेखनवृत्तिलगायतका कार्यक्रम सञ्चालन गरिने छ । सञ्चारकर्मी सम्मानलगायतका कार्यक्रमलाई नियमित बनाइने छ ।

गठबन्धनलाई भोट किन ?

लोकतन्त्रको रक्षा गर्न ।
घोराही उपमहानगरलाई स्वच्छ, सफा, सुन्दर तथा भ्रष्टाचारमुक्त नमूना शहरको रुपमा विकास गर्न ।
संविधानले व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, रोजगारी, समानता तथा सामाजिक न्यायको ग्यारेण्टी गर्न ।
बेरोजगार युवाहरुलाई विभिन्न उत्पादन क्षेत्रमा संलग्न गरी रोजगारी प्रवद्र्धन गर्न ।
अव्यवस्थित भू–खण्डीकरण रोकी व्यवस्थित शहर निर्माण गर्न ।
घोराही बजारका सडकहरुलाई धुलो र हिलोबाट मुक्त गर्न ।
घोराहीका सबै वडामा बाह्रै महिना यातायात सञ्चालन गर्न ।
अति विपन्न तथा मजदूरहरुको निःशुल्क उपचारको ब्यवस्था गर्न ।
अति विपन्न परिवारका लागि विद्युत र खानेपानी महसुल निःशुल्क गर्न ।
वृद्धबृद्धाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य उपचार गर्न ।
पर्याप्त खानेपानी तथा सिंचाइको व्यवस्थान गर्न ।
द्वन्द्वपीडितहरुको उचित सम्मान र व्यवस्थापन गर्न ।
रंगशाला, कभर्ड हल, खेल मैदान, बाल उद्यान तथा पार्क निर्माण गर्न ।
अव्यवस्थित उद्योगहरुको उचित व्यवस्थापन गरी मानव स्वास्थ्य र वातावरण संरक्षण गर्न ।
कृषक परिचयपत्र, कृषि अनुदान, सहुलियत ऋण र कृषक पेन्सनको ब्यवस्था गर्दै मल, बीउलगायत कृषि सामग्रीको सहज ब्यवस्थापन गर्न । मुख्य चोक र सार्वजनिक स्थानमा फ्री वाईफाई ब्यवस्था गर्न ।
सुकुम्वासीहरुलाई लालपूर्जासहित उचित व्यवस्थापन गर्न ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ र एमबीबीएस अध्ययन अध्यापन शुरु गर्न ।
घोराही–सैघा–स्वर्गद्वारी सडकलाई गौरवको आयोजनाको रुपमा सम्पन्न गर्न ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *