जाडो छल्न देउखुरी आउने पानीचराको गणना सुरु 

शिवु खनाल


देउखुरी, ५ माघ । उत्तरी ध्रुवमा हिमपातको सुरुवात सुरु भएसँगै हिउँदको बढ्दो जाडो छल्न नेपालमा चरा आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चरा बसाइँ सरी आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुर्काइ फर्कने गर्छन् ।

कतिपय चराहरू जाडो छलेर फर्किने गरेको छन् । उत्तरी मुलुक रुस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गरेको वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालले बताउनुभयो । त्यस्तै मध्यएसियाका तुर्कमिनिस्तान, किर्गिस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् ।


सन् १९८७ देखि बर्सेनि सिमसारमा आश्रित पानीचराको गणना गरिँदै आएको छ । अहिले चराविद्हरू पानीचराको गणनामा व्यस्त भएका छन् । मध्यहिउँदमा सिमसार क्षेत्रमा पाइने चराको प्रजाति, संख्या घटबढ, वितरणका बानी, बासस्थान र आहारा उपलब्धताको अवस्था पत्ता लगाई संरक्षणका योजना बनाउन गणना थालिएको हो ।

वेटल्यान्ड इन्टरनेसनलको संयोजनमा हिमाली प्रकृतिको समन्वयमा मुलुकभर गत शनिबारबाट पानीचरा गणनाको काम भइरहेको छ । जलपक्षी गणना विश्वभर एकैपटक भइरहेको हो । सोही अवसरमा दाङ देउखुरीको राप्ती नदि र सिमसारमा जलपक्षी गणना सुरु गरिएको छ, जलपक्षी गणनाका देउखुरीका संयोजक चिरञ्जीवी खनालले बताउनुभयो । 


देउखुरीको भालुवाङबाट सुरु गरिएको गणना केही दिनसम्म चल्ने छ । गणना टोलीमा प्रतीक पाण्डे, राजिब डि.सि पनि सहभागी हुनुहुन्छ । पानीचरा पाइने क्षेत्र छुट्याएर पन्क्षी संरक्षणमा क्रियाशील संस्थालाई गणनाका लागि जिम्मेवारी दिइएको छ । यसका लागि तीन सय ५० बढी चराविद्, नेचर गाइड र स्वयंसेवी परिचालित छन् ।

नदी, सिमसार, ताल र पोखरी गरी ५० भन्दा बढी ठाउँमा चरा गणना हुँदै छ । चराको रङ, बनोट र आवाजका बारेमा जानकारी भएका चराविज्ञ, नेचर गाइड दूरबीनबाइनाकुलर लिएर गणनामा खटिएको छ ।

काठमाडौंको वाग्मती नदी र टौदह, त्यस्तै कोसीका दर्जनभन्दा बढी ठाउँ र पोखराका दश स्थान, सुदूरपश्चिमको शुक्लाफाँटाका छ स्थान र बर्दियाका तीन स्थान, विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर, बीसहजारी र घोडाघोडी ताल, लुम्बिनी क्षेत्र, सौराहा, बर्दिया, राप्ती नदी र नवलपरासीलगायत ठाउँमा चरा गणना गरिनेछ । 


हेटौंडा, दाङ, धनुषा, पश्चिम चितवन र रूपन्देहीको गैंडहवा र गजेडीलगायत ठाउँमा पनि गणना गरिने  नेपाल संयोजक हेमसागर बरालले बताउनुभयो । नेपालमा तराईका जलाशयहरूमा बर्सेनि एकसय ५० बढी प्रजातिका चरा आउँछन् । धेरै चिसो ठाउँबाट उडेका चरा सातादेखि दश दिनमा नेपाल र भारतका विभिन्न स्थानमा पुग्ने गरेको चरा विज्ञहरुको भनाइ छ । चारदेखि ५ हजार माइल उडेर चरा यहाँ आउँछन् ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *