पाण्डव शर्मा
घोराही, ४ माघ । साविकको राप्ती अञ्चलको सबैभन्दा पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसले पछिल्लो समय नयाँ नयाँ विषयहरु थप गर्न थालेको छ ।
२०१६ सालमा स्थापना भएको सो क्याम्पसमा अहिलेसम्म लाखौं विद्यार्थीहरुले अध्ययन गरिसकेका छन् । स्थापनाकाल देखि लामो समयसम्म मानविकी, व्यवस्थापन र शिक्षा संकायमा अध्यापन गराएको क्याम्पसले शैक्षिकसत्र २०६२/०६३ साल देखि विज्ञान संकायमा पनि पढाई शुरु गरेको थियो ।
तीन वर्ष पहिले देखि बैङ्किङ तथा वित्तीय क्षेत्रका लागि राम्रो रोजगारीको अवसर मानिएको विविएको समेत पढाई शुरु भएको थियो । अहिले चौंथो व्याचका विद्यार्थीहरुले अध्ययन गर्न थालेका छन् ।
पछिल्लो समय विश्वमा विज्ञान तथा प्रविधि तर्फ विद्यार्थीको आकर्षण देखिएपछि यस क्याम्पसले पनि यसको पढाई शुरु गर्न थालेको छ । चालु शैक्षिक सत्र देखि विज्ञान तथा प्रविधि (विएस्सी सिएसआइटी) को पढाइ हुने क्याम्पसले जनाएको छ ।
त्रिभुवन विश्व विद्यालयले विएस्सी सिएसआइटी अध्यापन गर्ने अनुमति दिइसकेकाले भर्ना प्रकृया शुरु भइसकेको क्याम्पस प्रमुख भरतराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार विश्वविद्यालयले अनुमति दिए लगत्तै क्याम्पसमा भर्ना प्रकृया शुरु गरिएको हो । क्याम्पसले फाराम बुझाउने अन्तिम मिति माघ ४ गते मंगलबार सम्म राखेको थियो । माघ ११ गते सम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने न्यौपानेले जानकारी दिनुभयो ।
क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गरी विएस्सी सिएसआइटी विषय यस क्षेत्रका लागि नयाँ भएकाले यस विषयमा आम विद्यार्थीमाझ जानकारी दिनुपर्ने बताएको छ । क्याम्पस प्रमुख न्यौपानेको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा उप–प्राध्यापक केवी चौधरीले महेन्द्र क्याम्पसमा पछिल्लो समय नयाँ नयाँ विषयहरु थपिन थालेको जानकारी दिनुभयो ।
्तीन वर्ष पहिले देखि सो क्याम्पसमा विविएको समेत पढाइ शुरु भएको छ । विज्ञान तथा प्रविधि विषय चार वर्षको हुने चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार स्नातक तहमा विज्ञान तथा प्रविधि विषय पढ्नका लागि प्लसटूमा साइन्स विषय लिइ गणित र फिजिक्स विषयमा कम्तिमा सी ग्रेड लिएर पास गरेको हुनुपर्छ ।
विएस्सी सिएसआइटी विषय कम्प्यूटर साइन्स र सूचना प्रविधिको विषयलाई समायोजन गरेर पाठ्यक्रम बनेको चौधरीले जानकारी दिनुभयो । ‘अहिलेको बजारमा विज्ञान तथा प्रविधि विषय पढेका विद्यार्थीहरुलाई रोजगारीको सम्भावना निकै राम्रो रहेको छ,’ चौधरीले भन्नुभयो, ‘यो विषय अध्ययन गरेका विद्यार्थीहरुले राष्ट्रिय रुपमा मात्र नभएर अन्र्तराष्ट्रिय बजारमा समेत प्रतिस्प्रधा गर्न सक्छन् ।’
क्याम्पस प्रमुख न्यौपानेले महेन्द्र क्याम्पस साविकाको राप्ती अञ्चलमा सबैभन्दा जेठो क्याम्पस भएका लागि पछिल्लो समय नयाँ नयाँ समयानुकुल विषयहरु थप गरिएको जानकारी दिनुभयो । ‘हामी यो क्याम्पसलाई पहिले जस्तै विद्यार्थीहरुको आकर्षण हुने शैक्षिक केन्द्र बनाउन चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘समयको विकासक्रमसँगै हामीहरु पनि परिमार्जित हुन जरुरी छ ।’
कार्यक्रममा प्रेस काउन्सिल नेपालमा सदस्य शरद अधिकारीले शिक्षा क्षेत्रको विकासका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख मनोज चौधरीले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन उप प्राध्यापक केवी चौधरीले गर्नुभएको थियो ।

									
									
									
									
									
									

						


										
										
										
										
										
										





