दाङका सबै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित

निर्मल आचार्य
पोलिटब्यूरो सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज
नेकपा (माओवादी केन्द्र)

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल मंसिर ४ गते हुने निर्वाचनमा दाङका सबै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने बताउनुहुन्छ । गठबन्धन दलमा आएको थप एकता, मतदाता शिक्षामा भएको सुधार र अघिल्लो मत परिणामका आधारमा गठबन्धन दल सबै निर्वाचन क्षेत्रमा विजयी हुने उहाँको भनाई छ । आगामी निर्वाचन, गठबन्धनको अवस्था, निर्वाचण परिणामको आंकलन लगायतका विषयमा केन्द्रित भएर चेतना अनलाइका सम्पादक पाण्डव शर्माले आचार्यसँग गरेको कुराकानिको सार :

 

 

निर्वाचन आउन चार दिन मात्र बाँकी छ । दाङमा निर्वाचनको माहोल कस्तो छ ?

निर्वाचनको मिति नजिकिदै गर्दा स्वभाविक रुपमा सबैको ध्यान निर्वाचनमा केन्द्रित हुने नै भयो । चाडपर्व र खेतिपातिको चटारोबाट उम्केर आम मतदाताहरु अहिले निर्वाचनमा केन्द्रित भइरहनुभएको छ । विस्तारै निर्वाचनमा रौनक बढ्दै छ ।

अहिले दाङमा गठबन्धन र एमालेको प्रतिस्पर्धा भइरहेको छ । दाङको चुनावी अंक गणितमा तपाईहरुको पोजिशन के हो ?

गठबन्धन दाङमा तीन ओटै क्षेत्रमा अगाडी छ । संघका तीन ओटा र प्रदेशका ६ ओटा गरेर ९ ओटै निर्वाचन क्षेत्रमा गठबन्धन अंक गणितका हिसाबले एमाले भन्दा निकै अघि देखिएको छ । सबै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित छ ।

गत स्थानीय तहको निर्वाचनमा अन्य पालिकामा गठबन्धनले जिते पनि जिल्लाका दुई उपमहानगरपालिकामा गठबन्धनले जित हासिल गर्न सकेन । कतिपयले गठबन्धनमा एकता पैदा भएन भनेर भन्ने गर्छन् । खास अहिलेको अवस्था के हो ?

स्थानीय तहको निर्वाचनमा परिणाम सकारात्मक नआउनुको मुख्य कारण मतदाता शिक्षाको अभाव नै हो । मतपत्रमा जानिबुझि गरिएको छेडखानले पनि काम ग¥यो । स्थानीय तहको निर्वाचनसँग गठबन्धको एकताको प्रशंग जोड्न आवश्यक छैन ।

जति मत बदर भयो । त्यसलाई सदर मात्र गर्न सकेको भए सबै क्षेत्रमा गठबन्धन अगाडी नै छ । अहिले गठबन्धन दलहरुमा विगतको शिक्षा लिएर हामीले थप रणनीति बनाएका छौं । त्यस कारण यो बेला विगतको जस्तो हुँदैन । गठबन्धनको अवस्था निकै नै अगाडी आउँछ ।

आम मतदाताले गठबन्धनलाई नै मतदान गर्नुपर्ने कारण के ?

पहिलो कारण संविधान निर्माणसँगै संविधानको रक्षा र कार्यान्वयन पनिसँगसँगै जोडिएर आउँछ । संविधान निर्माणमा एक ठाउँ रहेका राजनीतिक पार्टीहरु संविधान रक्षाको लागि एकै ठाउँ रहने कुरा स्वभाविकै हो । यो निर्वाचन संविधान रक्षा की संविधानको विघटन भन्ने मुल विषयमा केन्द्रित रहेको छ । त्यसैले संविधान रक्षाको लागि गठबन्धनलाई नै मतदान गर्नुपर्ने हुन्छ ।

दोस्रो संविधानमा रहेका सम्पूर्ण प्रावधानहरुलाई ऐन र कानून बनाई लागु गर्नुपर्ने दायित्व पनि छ । त्यस कारण पनि गठबन्धनले विजय हासिल गर्नुपर्ने छ ।

तेस्रो समाजमा फेरी यो या त्यो रुपमा सामाजिक फासिवादी प्रवृत्ति हावि हुन खोज्दै छ । सामाजिक फासिवाद अन्तः तानाशाहि प्रवृत्तिमा रुपान्तरण हुन्छ । हामीले गणतन्त्र स्थापना गरेको कुनै तानाशाहि व्यवस्थाको परिकल्पना गरेर होइन ।

अहिले नेकपा एमाले र खास गरी सो पार्टीका अध्यक्ष केपी ओलीमा जुन प्रवृत्ति देखिएको छ । त्यो सामाजिक फासिवादी प्रवृत्ति हो । यसलाई बेलैमा रोक्न सकिएन भने यो प्रवृत्ति तानाशाहि प्रवृत्तिमा रुपान्तरण हुन्छ । त्यसको कारण फेरी नेपालमा द्धन्द्ध सृजना हुन्छ । विग्रह आउँछ । अब नेपाली समाजले द्धन्द्ध र विग्रह सहन सक्दैन ।

शान्तिकामी नेपालीको चाहना बमोजिम नेपालमा जुन ढंगको सापेक्षित शान्ति स्थापना भएको छ । त्यसलाई बचाईराख्नका लागि गठबन्धनलाई भोट हाल्नुपर्छ ।

चौंथो अहिले सुशासनमा हामीले धेरै सुधार गर्नुपर्ने छ । त्यसलाई दीगो तुल्याउनका लागि सामुहिक प्रयत्नको आवश्यकता छ । हामी संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा छौं । सक्दा राष्ट्रिय सहमतिको सरकार । त्यो भएन भने पनि अत्याधिक दलहरु सहभागि भएको संयुक्त सरकार अहिलेको आवश्यकता हो । त्यसको लागि गठबन्धनलाई विजयी गराउन आवश्यक छ ।

पाँचौं भ्रष्टाचार हाम्रो प्रगतिको मुख्य बाधकको रुपमा आइरहेको छ । यसलाई जरैबाट निर्मुल गर्नका लागि सामुहिक प्रतिबद्धताको आवश्यकता छ । त्यसका लागि गठबन्धनलाई मतदान गर्नुपर्छ ।
छैंठौ भनेका सापेक्षित स्थिर सरकार र दीगो आर्थिक विकाशका लागि पनि गठबन्धनलाई मतदात गर्नुपर्छ ।

 

अहिले दाङ निर्वाचन क्षेत्र नं २ राष्ट्रियरुपमा नै चासोको रुपमा हेरिएको निर्वाचन क्षेत्र हो । एमालेका शक्तिशाली महासचिव शंकर पोख्रेल र पूर्वमन्त्री रेखा शर्मा चुनावी मैदानमा हुनुहुन्छ । यो क्षेत्रमा गठबन्धलाई कत्तिको चुनौतिपूर्ण छ ?

गठबन्धनमा चामात्कारिक हिसाबले लहर पैदा भएको छ । गठबन्धनमा आपसी विश्वास, पार्टीहरुभित्रको एकता र स्थानीय तहको अनुभवलाई मुख्य कारण मान्न सकिन्छ । यो निर्वाचन क्षेत्रमा बंगलाचुली गाउँपालिकाका ८ वडा, घोराही उपमहानगरपालिकाका १५ र तुलसीपुर उपमहानगरपालिकाका ४ ओटा गरेर २७ ओटा वडा समावेश छन् ।

हामि सबै वडामा अगाडी छौं । बंगलाचुलीमा अपेक्षित सुधार भएको छ । हामी त्यहाँबाट चार हजार मतले लिड गरेर आउँछौं । घोराहीका वडाहरुमा निकै नै सुधार भएको छ । हामी सबै वडामा लिड गर्छौं । तुलसीपुरका चार वटै वडामा गठबन्धन अगाडी नै छ । अहिलेको भएको सुधार, गठबन्धनमा देखिएको थप बजवुत एकता र मतदाता शिक्षामा भएको सुधारलाई हेर्दा हामी दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिपक्षलाई २० हजार मतले लिड गर्छौं ।

म यसमा केही तथ्य राख्न चाहन्छु । पहिलो यो निर्वाचन क्षेत्रमा सदर मतमै हामी पाँच हजारले अगाडी छौं । दोस्रो १० हजार मत बदर भएको हो । यो यस पटक सदर हुन्छ । तेस्रो घटाउँदा पनि अहिले पाँच हजार मत सुधार हुन्छ । यसरी हेर्दा हामी २० हजार मतले विजय हुने छौं ।

 

१ नं र ३ नं निर्वाचन क्षेत्रको अवस्था चाहि कस्तो छ नि ?

सबैतिर करिब करिब त्यस्तै अवस्था हो । १ नं निर्वाचन क्षेत्रमा गठबन्धनमा अभूतपूर्व एकता छ । त्यसको परिणाम कमरेड मेटमणी चौधरीको विजय सुनिश्चित छ । १ (१) मा कमरेड इन्द्रजित चौधरी निर्विकल्प नेतृत्वमा स्थापित भइसक्नुभएको छ । १ (२) मा युवा उम्मेदवार अनुराग खड्काप्रति लोभालाग्दो आकर्षण छ । यसरी हेर्दा निर्वाचन क्षेत्र नं १ का तीन ओटै क्षेत्रमा विजय सुनिश्चित छ ।

निर्वाचन क्षेत्र नं ३ मा पनि हामीले तुलसीपुरको हकमा स्थानीय तहमै गठबन्धन गरेका थियौं । त्यसको अनुभवले पश्चिमका तीन ओटा पालिकालाई थप केन्द्रित गर्न धेरै मद्धत गरेको छ । हामीले सोँचे भन्दा छिटो र राम्रोसँग गठबन्धन केन्द्रित भयो । यसको परिणाम दीपक गिरीजीको विजय सुनिश्चित छ । ३ (१) मा त्यहाँको बहुमत समुदायको नेतृत्व गर्ने गरी डिल्ली चौधरीजी हुनुहुन्छ ।

करीब उहाँ त्यो क्षेत्रको निर्विरोध नेताको रुपमा नै हुनुहुन्छ । ३ (२) मा कमरेड धनबहादुर मास्केप्रति अत्यन्त उत्साहजकन केन्द्रिकरण भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति, माओवादीका स्थायी समिति सदस्य कुवेरबहादुर वली र पोलटिब्यूरो सदस्य जगप्रसाद शर्माले ३ नंको नेतृत्व गरिरहनुभएकाले पनि जित सुनिश्चित नै छ ।

र, अन्त्यमा आम मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

यो निर्वाचन आम निर्वाचन मात्र नभएर अग्रगमण र पश्चगमणकाबीचमा जीवन मरणको संघर्ष जस्तै बनेको छ । अहिलेको अग्रगमण भनेको संविधानको रक्षा हो । दंगाली जनता जहिले पनि अग्रगमणको पक्षमा छौं ।

अहिले पनि मत हाल्न जानुभन्दा पहिले संघर्ष, एकता पछि बनेको संविधानलाई संझिएर गठबन्धनमा मतदान गर्नुहुने छ भन्ने हार्दिक अपिल गर्दछु ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *