पाण्डव शर्मा
दुई दशकको यात्रामा समाचार खोज्दै हिँडेको एउटा मन अहिले कक्षाकोठामा समाज खोजिरहेको छ ।
जीवनमा केही यात्राहरू हामी आफैँ रोज्छौँ । केही यात्राले भने हामीलाई रोज्छन् । मानिस एउटा पेशाबाट अर्को पेशातिर जान्छ, कामको स्वरूप बदलिन्छ, जिम्मेवारीहरू फेरिन्छन् र प्राथमिकताहरू पनि नयाँ बन्छन् । तर जीवनमा केही यस्ता रुचि हुन्छन्, जसलाई समयले दबाउन सक्छ, व्यस्तताले ओझेलमा पार्न सक्छ, तर मेटाउन सक्दैन ।
मेरो जीवनमा पत्रकारिता त्यस्तै एउटा रुचि हो ।
आज पछाडि फर्केर हेर्दा लाग्छ, पत्रकारितामा मेरो प्रवेश कुनै एक दिन अचानक भएको निर्णय थिएन । त्यसको तयारी त बाल्यकालदेखि नै भइरहेको रहेछ । शब्दसँगको मेरो सम्बन्ध, मञ्चसँगको मेरो आत्मीयता, कविता लेख्ने रहर, नाटक खेल्ने उत्साह र वक्तृत्वकलामा सहभागी हुने चाहना—यी सबैले विस्तारै मेरो व्यक्तित्वभित्र एउटा बाटो बनाइरहेका रहेछन् ।
त्यतिबेला मलाई थाहा थिएन, त्यो बाटो कहाँ पुग्छ ।
तर आज करिब दुई दशकको यात्रापछि फर्केर हेर्दा स्पष्ट देखिन्छ— ती साना–साना रुचिका पदचापले मलाई पत्रकारितासम्म पुर्याएका रहेछन् ।
म कक्षा ३ मा पढ्दादेखि नै कविता लेख्थेँ । नाटक खेल्थेँ । वक्तृत्वकलामा भाग लिन्थेँ । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप मेरा लागि पढाइपछि गरिने सामान्य गतिविधि थिएनन् । ती मेरा भित्री भावनालाई अभिव्यक्त गर्ने माध्यम थिए । मञ्चमा उभिँदा बोल्न मन लाग्थ्यो । कविता लेख्दा मनका कुरा शब्दमा उतार्न मन लाग्थ्यो । नाटक खेल्दा अरूको भूमिका निर्वाह गर्दै मानिसका फरक–फरक चरित्र बुझ्न मन लाग्थ्यो ।
सायद पत्रकारको बीउ त्यहीँ कतै रोपिएको थियो, जसको नाम मलाई त्यतिबेला थाहा थिएन ।
बाल मितेरी माध्यमिक विद्यालय, भोजपुर, दाङबाट कक्षा ५ उत्तीर्ण गरेपछि म कक्षा ६ मा पद्मोदय पब्लिक माध्यमिक विद्यालय, भरतपुर, घोराहीमा अध्ययन गर्न आएँ । नयाँ विद्यालय, नयाँ वातावरण र नयाँ साथीहरू । तर मेरो रुचि उही थियो—विद्यालयका कार्यक्रमहरूमा सहभागी हुने, बोल्ने, लेख्ने र केही नयाँ गर्ने ।
विभिन्न प्रतियोगितामा सहभागी हुन्थेँ । कतिपयमा उपाधि पनि हासिल गर्थेँ । त्यसले मभित्र आत्मविश्वास थप्दै गयो । बोल्न सक्छु, लेख्न सक्छु, अरूलाई आफ्नो कुरा सुनाउन सक्छु भन्ने विश्वास बिस्तारै बलियो हुँदै गयो ।
तर कक्षा ७ मा पुगेपछि मेरो भित्री रुचिले एउटा संगठित बाटो पायो ।
हाम्रा गुरु निश्चल आचार्यले विद्यालयमा ‘फ्रेण्डसिप क्लब’ गठन गरिदिनुभयो । उहाँले मलाई त्यसको सचिवको जिम्मेवारी दिनुभयो । एउटा किशोर विद्यार्थीका लागि त्यो सामान्य जिम्मेवारी थिएन । कार्यक्रम बनाउने, साथीहरूलाई परिचालन गर्ने, बैठक गर्ने, गतिविधि सञ्चालन गर्ने, निर्णय गर्ने र त्यसको जानकारी अरूसम्म पुर्याउने कामले मलाई संगठनको पहिलो पाठ पढायो ।
फ्रेण्डसिप क्लब मेरो लागि एउटा सानो संस्था मात्र रहेन । त्यो मेरो व्यक्तित्व निर्माण गर्ने प्रयोगशाला बन्यो ।
त्यहाँ मैले बोल्न मात्र होइन, सुन्न पनि सिकेँ । आफ्नो विचार राख्न मात्र होइन, अरूको विचार बुझ्न सिकेँ । साथीहरूलाई परिचालन गर्न मात्र होइन, जिम्मेवारी लिन सिकेँ ।
र एउटा अर्को काम पनि गर्न थालेँ— क्लबका गतिविधिका खबरहरू सञ्चारमाध्यमसम्म पुर्याउन ।
त्यतिबेला मैले पत्रकारिताको औपचारिक परिभाषा बुझेको थिइनँ । समाचार कसरी लेखिन्छ, सम्पादन कसरी हुन्छ, पत्रकारको जिम्मेवारी के हो भन्ने पनि स्पष्ट थिएन । तर विद्यालयमा भएको एउटा कार्यक्रम अरू मानिसले पनि थाहा पाऊन् भन्ने चाहना थियो । त्यसका गतिविधि लेख्थेँ र मिडियासम्म पुर्याउने प्रयास गर्थेँ ।
जब ती खबरहरू प्रकाशित हुन्थे, मनमा अनौठो आनन्द पैदा हुन्थ्यो ।
आफूले लेखेको कुरा अरूले पढिरहेका छन् भन्ने अनुभूति नै ठूलो उपलब्धि जस्तो लाग्थ्यो ।
सायद त्यहीँबाट पत्रकारिता मेरो रुचिको क्षेत्रमा प्रवेश गर्यो ।
त्यसपछि लेखन, समाज र सञ्चारप्रतिको मेरो आकर्षण विस्तारै बढ्दै गयो ।
कविता लेख्ने बालकदेखि समाचार लेख्ने युवासम्म
कविताले मलाई भावनालाई शब्द दिन सिकायो । वक्तृत्वकलाले विचारलाई आवाज दिन सिकायो । नाटकले मानिसका फरक–फरक चरित्र बुझ्ने अवसर दियो । फ्रेण्डसिप क्लबले संगठन र नेतृत्वको प्रारम्भिक अनुभव दियो । अनि पत्रकारिताले यी सबैलाई समाजसँग जोड्ने बाटो दियो ।
आज फर्केर हेर्दा लाग्छ, पत्रकारिता मेरो जीवनमा अचानक आएको थिएन । यसको तयारी त बाल्यकालदेखि नै भइरहेको रहेछ । मैले पत्रकार बन्ने निर्णय कुनै एक दिन गरेको होइन रहेछु । बरु मेरा साना–साना रुचि, गतिविधि र अनुभवले मलाई विस्तारै त्यतातिर डोर्याइरहेका रहेछन् ।
२०६३ साल : पत्रकारिताको औपचारिक यात्रा
२०६३ सालमा एसएलसी परीक्षा दिएपछि पत्रकारितामा मेरो सक्रिय यात्रा सुरु भयो ।
त्यो समय देश आफैँ ठूलो राजनीतिक संक्रमणबाट गुज्रिरहेको थियो । आन्दोलनको समय थियो । सडकमा आवाजहरू थिए । राजनीतिक परिवर्तनको आकांक्षा थियो । समाजमा असन्तोष, आशा र संघर्ष एकैसाथ देखिन्थ्यो ।
त्यस्तो समयमा पत्रकारिता गर्नु भनेको केवल समाचार लेख्नु थिएन । घटनाको बीचमा उभिनु थियो । मानिसका आवाज सुन्नु थियो । भइरहेको परिवर्तनलाई अभिलेख गर्नु थियो ।
मैले पनि त्यही वातावरणमा पत्रकारिता सुरु गरेँ ।
यात्रा सहज थिएन ।
पत्रकारिताकै क्रममा आन्दोलनको समयमा पक्राउसमेत परेँ । त्यो मेरो जीवनको असहज अनुभव थियो । तर त्यसले मलाई कमजोर बनाएन । बरु पत्रकारिताको अर्थ अझ गहिरो रूपमा बुझायो ।
पत्रकारिता केवल कलम चलाउने काम होइन रहेछ । यसमा साहस चाहिन्छ । धैर्य चाहिन्छ । परिस्थितिलाई बुझ्ने क्षमता चाहिन्छ । आफ्नो कामप्रतिको विश्वास चाहिन्छ ।
पक्राउ परेको त्यो अनुभवले मलाई अझ निखार्यो ।
त्यसपछि पत्रकारितालाई मैले केवल रुचिको विषयका रूपमा होइन, जिम्मेवारीका रूपमा लिन थालेँ ।
काठमाडौंका चार वर्ष
पत्रकारिताको क्रममा करिब चार वर्ष काठमाडौंमा रहेर काम गर्ने अवसर पाएँ ।
काठमाडौं मेरो लागि केवल राजधानी थिएन । त्यो नेपाली समाजलाई एउटा फरक कोणबाट हेर्ने विश्वविद्यालयजस्तै बन्यो ।
देशका विभिन्न भूगोलबाट आएका मानिसहरू त्यहाँ भेटिन्थे । गाउँबाट अवसर खोज्दै आएका युवा थिए । श्रम बेचिरहेका मानिस थिए । राजनीतिक भविष्य खोजिरहेका नेता थिए । राज्यसत्ताको केन्द्रमा बसेका निर्णयकर्ताहरू थिए । व्यवसायी, कर्मचारी, विद्यार्थी, श्रमिक र पत्रकार सबैका आ–आफ्ना कथा थिए ।
राजधानीमा बसेर पत्रकारिता गर्दा एउटा कुरा गहिरोसँग बुझियो— काठमाडौंमा हुने निर्णयको प्रभाव देशका गाउँसम्म पुग्दोरहेछ ।
कुनै मन्त्रालयमा भएको निर्णय एउटा किसानको जीवनसँग जोडिन सक्छ । संसद्मा भएको बहस एउटा विद्यार्थीको भविष्यसँग जोडिन सक्छ । कुनै बजेटको प्राथमिकता एउटा गाउँको सडकसँग जोडिन सक्छ । कुनै राजनीतिक निर्णयले हजारौँ परिवारको जीवन प्रभावित गर्न सक्छ ।
यसरी समाचार खोज्दै हिँड्दा मैले विस्तारै समाज खोज्न थालेँ ।
घटना मात्र होइन, घटनाको कारण खोज्न थालेँ ।
कसको आवाज सुनिएको छ ?
कसको आवाज दबिएको छ ?
कसलाई लाभ पुगेको छ ?
कसले मूल्य चुकाएको छ ?
कुनै समस्या किन दोहोरिइरहेको छ ?
यस्ता प्रश्नहरूले मेरो पत्रकारिताको दृष्टि फराकिलो बनाउँदै लगे ।
दुई दशकमा बदलिएको पत्रकारिता
आज करिब दुई दशकको पत्रकारिता यात्रालाई पछाडि फर्केर हेर्दा माध्यम मात्र बदलिएन, पत्रकारिताको संसार नै बदलिएको देखिन्छ ।
त्यतिबेला समाचारका लागि दौडधुप गर्नुपर्थ्यो । आज समाचार मानिसको मोबाइलमै आइपुग्छ ।
त्यतिबेला समाचार प्रकाशनका लागि अखबार कुर्नुपर्थ्यो । आज घटना भएको केही क्षणमै संसारभर पुग्न सक्छ ।
सामाजिक सञ्जालले नागरिकलाई पनि सूचना उत्पादक बनाएको छ । मोबाइल फोनले सामान्य मानिसको हातमा क्यामेरा र सञ्चारको शक्ति पुर्याएको छ । डिजिटल प्रविधिले पत्रकारिताको स्वरूप परिवर्तन गरेको छ ।
तर सूचना छिटो हुनु र सत्य हुनु एउटै कुरा होइन ।
आज पत्रकारिताको चुनौती सूचना पाउनु मात्र होइन, सही सूचना पहिचान गर्नु पनि हो ।
हल्लाको भीडमा तथ्य खोज्नु हो ।
आक्रोशको बीचमा सन्तुलन खोज्नु हो ।
भाइरल सामग्रीको पछि लाग्नुभन्दा सार्वजनिक सरोकारको विषय पहिचान गर्नु हो ।
त्यसैले प्रविधिले पत्रकारलाई विस्थापित गर्ने होइन, पत्रकारको जिम्मेवारी अझ बढाउने अवस्था सिर्जना गरेको छ ।
अहिले १२ जिल्लाको पत्रकारिता मेरो जिम्मेवारीभित्र छ
आज म नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश समितिको महासचिवको जिम्मेवारीमा छु । यस जिम्मेवारीले मेरो पत्रकारिताको दायरा व्यक्तिगत अभ्यासबाट संस्थागत जिम्मेवारीसम्म विस्तार गरेको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाको पत्रकारिता क्षेत्रसँग निरन्तर जोडिनुपर्ने जिम्मेवारी छ । विभिन्न जिल्लामा पत्रकारहरूले भोगिरहेका समस्या, सञ्चारमाध्यमको अवस्था, श्रमजीवी पत्रकारका प्रश्न, स्थानीय पत्रकारिताका चुनौती र सम्भावनासँग नजिकबाट अपडेट रहनुपर्छ ।
यसले पत्रकारितालाई अझ फराकिलो ढंगले बुझ्ने अवसर दिएको छ ।
काठमाडौंको पत्रकारिता र जिल्लाको पत्रकारिता एउटै छैन । राष्ट्रिय सञ्चारमाध्यमको प्राथमिकता र स्थानीय सञ्चारमाध्यमको आवश्यकता एउटै हुँदैन । जिल्लामा एउटा पत्रकारले समाचार लेख्नुका साथै धेरैपटक आफ्नो सञ्चारमाध्यमको व्यवस्थापनदेखि स्रोत खोज्नेसम्मका अनेक काम गर्नुपर्छ ।
तर स्थानीय पत्रकारिताको महत्त्व कम छैन ।
बरु नागरिक र राज्यबीचको सबैभन्दा नजिकको पुल धेरैपटक स्थानीय पत्रकार नै हुन्छ ।
गाउँको बाटो बिग्रिएको समाचारदेखि स्थानीय तहको बजेट, विद्यालयको अवस्था, स्वास्थ्य संस्था, किसानको समस्या र नागरिकका दैनिक सरोकारसम्म स्थानीय पत्रकारले उठाइरहेको हुन्छ ।
त्यसैले अहिले पत्रकारितालाई हेर्दा म केवल आफ्नो विगतको पेशा सम्झिरहेको हुँदिनँ । प्रदेशका १२ जिल्लाका पत्रकारका अनुभव, समस्या र संघर्षसँग जोडिएर यसको वर्तमान पनि नियालिरहेको हुन्छु ।
अनि जीवनले अर्को मोड लियो— शिक्षण
समयसँगै मेरो जीवनमा शिक्षण पेसा प्रवेश गर्यो ।
अहिले करिब एक वर्षदेखि म शिक्षण पेसामा छु । आज मेरो जीविकाको मुख्य आधार शिक्षण हो । पत्रकारिता भने मेरो रुचि र निरन्तर अभ्यासको क्षेत्र बनेको छ ।
बाहिरबाट हेर्दा यी दुई पेशा अलग देखिन सक्छन् । एउटा कक्षाकोठासँग सम्बन्धित छ, अर्को समाचारकक्षसँग । एउटा विद्यार्थीलाई पढाउँछ, अर्को समाजलाई प्रश्न गर्छ ।
तर मेरो अनुभवमा यी दुईबीच गहिरो सम्बन्ध छ ।
पत्रकारिताले मलाई समाज बुझ्न सिकायो ।
शिक्षणले त्यो समाज नयाँ पुस्ताको आँखाबाट हेर्न सिकाइरहेको छ ।
कक्षाकोठा पनि एउटा समाज रहेछ
कक्षाकोठामा उभिएर विद्यार्थीहरूलाई हेर्दा कहिलेकाहीँ मलाई लाग्छ— मैले पत्रकारितामा वर्षौँसम्म खोजेको समाज त यहीँ रहेछ ।
हरेक विद्यार्थी एउटा परिवारको प्रतिनिधि हो । उसको व्यवहारमा उसको घर देखिन्छ । उसको प्रश्नमा उसको परिवेश देखिन्छ । उसको आत्मविश्वासमा पारिवारिक वातावरण देखिन्छ । उसको सपना समाजको बदलिँदो आकांक्षा हो ।
कुनै विद्यार्थी धेरै बोल्छ । कुनै विद्यार्थी चुपचाप बस्छ । कोही प्रश्न गर्न डराउँछ । कोही शिक्षकसँगै बहस गर्न तयार हुन्छ । कोही परीक्षामा उत्कृष्ट हुन्छ । कोही किताबभन्दा बाहिरको संसारमा असाधारण प्रतिभा देखाउँछ ।
शिक्षकका रूपमा मैले बुझ्दै गएको छु— विद्यार्थीलाई केवल उसको उत्तरपुस्तिकाले बुझ्न सकिँदैन ।
उसको आँखामा हेर्नुपर्छ ।
उसको प्रश्न सुन्नुपर्छ ।
उसको मौनता पनि पढ्नुपर्छ ।
सायद यही पत्रकारिताले मलाई सिकाएको सबैभन्दा उपयोगी सीप हो— मानिसलाई सुन्ने सीप ।
म पाठ्यपुस्तक मात्र पढाउँदिनँ
म सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पढाउँछु ।
मेरो लागि यो विषय पाठ्यपुस्तकका अध्याय पूरा गर्ने विषय मात्र होइन ।
समाज पढाउनु भनेको विद्यार्थीलाई आफ्नो वरिपरिको संसार बुझ्न सिकाउनु हो ।
परिवार किन बदलिँदैछ ?
समाजमा असमानता किन छ ?
मानिसबीच सम्बन्ध कसरी निर्माण हुन्छ ?
अधिकार र कर्तव्य के हुन् ?
लोकतन्त्र किन आवश्यक छ ?
सूचनाको सही र गलत पक्ष कसरी छुट्याउने ?
सामाजिक सञ्जालमा आएको हरेक कुरा किन विश्वास गर्नु हुँदैन ?
समस्या आएपछि समाधान कसरी खोज्ने ?
आफ्नो निर्णय आफैँ कसरी गर्ने ?
यी प्रश्नहरू पाठ्यपुस्तकका पानाभन्दा बाहिरका प्रश्न हुन् । तर विद्यार्थीको जीवनका वास्तविक प्रश्न हुन् ।
त्यसैले कक्षाकोठामा म सकेसम्म पाठलाई जीवनसँग जोड्न खोज्छु ।
किताबमा भएको एउटा अवधारणालाई उसको घर, समाज, मोबाइल, साथी, विद्यालय वा दैनिक जीवनसँग जोडेर बुझाउने प्रयास गर्छु ।
मलाई लाग्छ, शिक्षा त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ, जब विद्यार्थीले पढेको कुरा आफ्नो जीवनमा देख्न थाल्छ ।
शिक्षक भएर म फेरि विद्यार्थी बनेको छु
रोचक कुरा के छ भने शिक्षक बनेपछि मैले आफूलाई फेरि विद्यार्थी भएको अनुभव गरेको छु ।
विद्यार्थीले सोधेको एउटा प्रश्नले कहिलेकाहीँ मलाई घर फर्किएपछि पनि सोच्न बाध्य बनाउँछ ।
कहिलेकाहीँ उनीहरूले यस्तो कोणबाट प्रश्न गर्छन्, जुन मैले सोचेको पनि हुँदिनँ ।
त्यसले मलाई सिकाएको छ— कक्षाकोठामा शिक्षक मात्र बोल्ने व्यक्ति होइन । विद्यार्थी पनि शिक्षक हुन सक्छ ।
पत्रकारितामा स्रोतसँग प्रश्न गरेर सिक्थेँ । अहिले विद्यार्थीका प्रश्नबाट सिक्छु ।
पहिले समाचारका लागि मानिसका कथा सुन्थेँ । अहिले विद्यार्थीका सपना र संघर्ष सुन्छु ।
पहिले समाजका समस्या खोज्थेँ । अहिले ती समस्या नयाँ पुस्ताले कसरी बुझिरहेको छ भन्ने हेर्छु ।
यस अर्थमा शिक्षणले मेरो पत्रकारितालाई रोकिएको छैन । बरु अर्को आयाम थपिदिएको छ ।
जीविका र रुचिको बीचमा
जीवन चलाउन मानिसले काम गर्नुपर्छ । तर जीवनको अर्थ केवल जीविका चलाउनु मात्र होइन रहेछ ।
आज शिक्षणले मलाई जीविका दिएको छ । नियमित रूपमा कक्षाकोठामा उभिने, विद्यार्थीहरूसँग काम गर्ने र आफ्नो श्रमबाट जीवन चलाउने आधार दिएको छ ।
तर पत्रकारिता मेरो रुचि हो ।
समाचार पढ्दा अझै मनमा प्रश्न उठ्छ ।
समाजमा केही घटना हुँदा त्यसको पृष्ठभूमि बुझ्न मन लाग्छ ।
कुनै विषय सार्वजनिक बहसको योग्य देख्दा त्यसबारे लेख्न मन लाग्छ ।
कुनै परिवर्तन भइरहँदा त्यसलाई अभिलेख गर्न मन लाग्छ ।
दुई दशकसम्म पत्रकारिता गरेको मानिसका लागि यो स्वाभाविक पनि होला ।
सायद पत्रकारिता अब मेरो पेशा मात्र रहेन । यो मेरो सोच्ने शैली बनेको छ ।
मैले पत्रकारिताबाट के पाएँ ?
पत्रकारिताले मलाई धनभन्दा धेरै अनुभव दियो ।
मानिस चिन्ने अवसर दियो ।
समाज बुझ्ने अवसर दियो ।
प्रश्न गर्न सिकायो ।
शक्तिशालीलाई प्रश्न गर्न र कमजोरको आवाज सुन्न सिकायो ।
आफूले नबुझेको विषयमा अध्ययन गर्न बाध्य बनायो ।
र सबैभन्दा महत्त्वपूर्ण कुरा— आफ्नो समयको साक्षी बन्ने अवसर दियो ।
मैले दुई दशकमा धेरै मानिस भेटेको छु । केही भेटहरू क्षणिक थिए । केही सम्बन्धमा परिणत भए । केही घटनाहरू बिर्सिए । केही घटनाहरू आज पनि सम्झनामा ताजा छन् ।
पत्रकारितामा कमाएको सबैभन्दा ठूलो सम्पत्ति सायद यही अनुभव हो ।
अब पत्रकारिता किन छाड्नु ?
कहिलेकाहीँ जीवनका व्यावहारिक प्रश्नहरूले मानिसलाई आफ्नो रुचिबाट टाढा जान बाध्य पार्छन् । तर रुचि पूरै हराउँदैन ।
मेरो अवस्था अहिले त्यस्तै छ ।
म शिक्षक हुँ । यही पेसाले मेरो जीवन धानिरहेको छ ।
तर म पत्रकार पनि हुँ । पत्रकारिता मेरो रुचि हो । मेरो अभ्यास हो । मेरो सामाजिक सम्बन्धको एउटा आधार हो । दुई दशकसम्म बनाएको पहिचान र अनुभव हो ।
त्यसैले मैले पेशा परिवर्तन गरेको भए पनि पत्रकारिता छाडेको छैन ।
बरु अहिले दुईवटा कक्षामा छु जस्तो लाग्छ ।
एउटा कक्षाकोठा छ, जहाँ म विद्यार्थीलाई समाज र जीवन बुझाउने प्रयास गर्छु ।
अर्को ठूलो कक्षाकोठा समाज हो, जहाँ पत्रकारका रूपमा म अझै सिकिरहेको छु ।
अन्तिम कुरा
बाल्यकालमा कविता लेख्ने एउटा बालक थियो ।
मञ्चमा उभिएर वक्तृत्वकलामा बोल्थ्यो ।
नाटक खेल्थ्यो ।
विद्यालयका प्रतियोगितामा भाग लिन्थ्यो ।
कक्षा ७ मा फ्रेण्डसिप क्लबको सचिव बन्यो ।
साथीहरूलाई संगठित गर्न सिक्यो ।
क्लबका गतिविधिका खबर मिडियामा पुर्याउन थाल्यो ।
२०६३ सालमा एसएलसी दिएपछि पत्रकारितामा सक्रिय भयो ।
आन्दोलनका क्रममा पक्राउ पर्यो ।
संघर्ष गर्यो ।
काठमाडौंमा करिब चार वर्ष काम गर्यो ।
दुई दशक पत्रकारितामा बितायो ।
आज नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश समितिको महासचिवको जिम्मेवारीमा रहेर १२ जिल्लाको पत्रकारितासँग जोडिएको छ ।
र अहिले त्यही मानिस कक्षाकोठामा उभिन्छ ।
सामाजिक अध्ययन पढाउँछ ।
विद्यार्थीलाई पाठ्यपुस्तकका अक्षर मात्र होइन, समाज पढाउने प्रयास गर्छ ।
जीवन बुझाउने प्रयास गर्छ ।
प्रश्न गर्न सिकाउने प्रयास गर्छ ।
सोच्न सिकाउने प्रयास गर्छ ।
सायद मेरो जीवनको सबैभन्दा सुन्दर संयोग यही हो ।
हिजो म समाजका कथा लेख्थेँ । आज समाज बुझ्ने नयाँ पुस्ता पढाइरहेको छु ।
हिजो समाचारका लागि मानिसका कुरा सुन्थेँ । आज विद्यार्थीका प्रश्न सुन्छु ।
हिजो समाजका समस्या खोज्दै हिँड्थेँ । आज विद्यार्थीलाई ती समस्या बुझ्ने दृष्टि दिन खोज्छु ।
हिजो पत्रकारिताले मलाई समाजको कक्षाकोठामा पुर्यायो । आज शिक्षणले मलाई त्यही समाजलाई नयाँ पुस्ताको आँखाबाट हेर्न सिकाइरहेको छ ।
त्यसैले मेरो जीवनमा पत्रकारिता सकिएको छैन ।
रोजीरोटीले मलाई शिक्षक बनाएको होला । परिस्थितिले पेशाको प्राथमिकता बदलेको होला । तर रुचि र जिज्ञासाले मलाई अझै पत्रकार बनाइरहेको छ ।
सायद मानिसले आफ्नो पेशा बदल्न सक्छ ।
काम गर्ने ठाउँ बदल्न सक्छ ।
जीवनको प्राथमिकता बदल्न सक्छ ।
तर बाल्यकालमै मनभित्र रोपिएको कुनै साँचो रुचि सजिलै मर्दैन ।
मेरो हकमा त्यो रुचिको नाम पत्रकारिता हो ।
र आज पनि म विश्वास गर्छु— समाजलाई बुझ्ने, प्रश्न गर्ने र सत्यको खोजी गर्ने मानिसका लागि पत्रकारिता कहिल्यै पुरानो हुँदैन ।
