कक्षा १२ मा गंगा माविको नतिजा उत्कृष्ट, ८२.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण

घोराही । यस वर्ष सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा दाङ जिल्लाका सामुदायिक विद्यालयहरूमध्ये गंगा माध्यमिक विद्यालय, घोराही–२ रामपुर उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । विद्यालयले ८२.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामै सामुदायिक विद्यालयतर्फ उल्लेखनीय सफलता प्राप्त गरेको जनाएको छ ।

विद्यालयमा व्यवस्थापन र शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरूले राम्रो प्रदर्शन गरेका छन् । यस वर्ष विद्यालयबाट सहभागी भएका विद्यार्थीमध्ये ३.६३ जिपिए प्राप्त गर्दै ऋतुकुमारी भण्डारी विद्यालय प्रथम बन्न सफल भएकी छन् । विद्यालय प्रशासनका अनुसार यो उपलब्धिले शिक्षक, विद्यार्थी र अभिभावक सबैमा उत्साह थपेको छ ।

विद्यालयका प्रधानाध्यापक गंगा गौतमले निरन्तरको मेहनत, अनुशासित अध्ययन वातावरण र शिक्षक–विद्यार्थीको समर्पणका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सफलता सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको साझा उपलब्धि हो । आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउन हामी थप योजनाबद्ध रूपमा अघि बढ्नेछौँ ।”

उहाँले उत्कृष्ट जिपिए हासिल गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै अपेक्षित नतिजा ल्याउन नसकेका विद्यार्थीलाई निराश नहुन आग्रह गर्नुभयो । अवसरको सदुपयोग गर्दै आगामी परीक्षामा राम्रो प्रदर्शन गर्न विद्यालयले आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउने पनि उहाँको भनाइ थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक गोपाल प्रसाद पोख्रेलले यस वर्षको नतिजाले सामुदायिक विद्यालयप्रतिको विश्वास अझ मजबुत बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको निरन्तर मेहनत, नियमित मूल्याङ्कन र विद्यार्थीहरूको लगनशीलताले सकारात्मक परिणाम दिएको छ । हामी आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै उत्कृष्टताको यात्रालाई निरन्तरता दिनेछौँ ।”

यसैबीच, राष्ट्रिय परीक्षा प्रणालीअनुसार दुईवटा विषयसम्म उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने व्यवस्था रहेको जानकारी पनि विद्यालयले दिएको छ । विद्यालय प्रशासनले त्यस्ता विद्यार्थीहरूलाई तयारीमा जुट्न र उपलब्ध अवसरको अधिकतम उपयोग गर्न आग्रह गरेको छ ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको प्रभावकारी उपस्थितिलाई पुष्टि गर्ने गरी आएको यस नतिजाले गङ्गा माध्यमिक विद्यालयलाई जिल्लाको अग्रणी शैक्षिक संस्थाका रूपमा थप स्थापित गरेको स्थानीय शिक्षा सरोकारवालाहरूको भनाइ छ । विद्यालयले आगामी शैक्षिक सत्रमा पनि सिकाइको गुणस्तर अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण र उत्कृष्ट नतिजालाई निरन्तरता दिने लक्ष्यका साथ आफ्ना कार्यक्रम अघि बढाइरहेको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगीता घर्ती मगरले कक्षा १२ को नतिजाले सामुदायिक विद्यालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्छन् भन्ने कुरा पुष्टि भएको बताउनुभयो ।

यसवर्ष दाङका अन्य सामुदायिक विद्यालयहरूले पनि नतिजा सुधार गरेको बताएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *