प्रदेशको बजेटमा दाङ प्राथमिकता

तुलसीपुर २ असार / लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९÷०८० कालागि बुधबार संसदमा गरेको बजेट प्रस्तुतका क्रममा दाङ प्राथमिकतामा परेको हो ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यबस्थापनकालागि बजेट बिनियोजन भएको छ । देउखुरीमा रहेको राप्ती उपत्यकामा राजधानी व्यवस्थापनकालागि बजेट बिनियोजन भएको छ । त्यस्तै स्थायी राजधानीबाटै कामकागकालागि राप्ती प्राविधिक शिक्षालयलाई अन्यत्र सारिने भएको छ । शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरी नमुना शिक्षालयको रुपमा विकास र व्यवस्थापन गर्ने र शिक्षालयको भवनमा मन्त्रालयलगायत अन्य कार्यालय राख्ने गरि बजेट बिनियोजन भएको छ । त्यसकालागि ७ करोड ५० लाख विनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा रहेको लालमटिया स्वास्थ्य चौकीलाई ५० शैय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । ५० सैया बनाउनाकलागि गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन तयारी र निर्माण एवम् सेवा सञ्चालनका लागि १ करोड ५० लाख विनियोजन भएका ेछ ।

स्थायी राजधानीमा मन्त्रालयहरू स्थानान्तरण हुँदा प्रदेशका सबै सरकारी निकायहरूले कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीहरू खरिद गर्दा स्थानीय तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति समेत अबलम्बन गरेको छ । त्यस्तै प्रदेशको स्थायी राजधानी भालुवाङमा प्रदेश स्तरीय संग्राहलय बन्ने भएको छ । प्रदेशको इतिहास, कला, संस्कृति एवम् अन्य मौलिक विशेषता समेटिएको वृहत संग्रहालय स्थापनाको लागि जग्गा प्राप्ती र विस्तृत परियोजना प्रतिवेदन तयारीको कार्यलाई अगाडि बढाउन बजेट बिनियोजन गरिएको हो ।

त्यस्तै दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सम्झनामा प्रदेशको राजधानी राप्ती गाउँपालिकामा ’’सुशील कोइराला स्मृति पार्क’’ निर्माणका लागि गुरुयोजना सहित विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गरिने भएका छ । त्यसकालागि १ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै दाङ्गको बाह्रकुनेलगायतका प्रदेशका बिभिन्न पर्यटकीय स्थललाई ऐतिहासिक, धार्मिक र प्राकृतिक बाइसे चौबिसे सर्किटका गन्तव्य स्थलको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको छ । सीमाक्षेत्र सडक कार्यक्रम अन्तर्गत दाङको गोठुवा सुनपानी सुनछहारी सडकसहित १८ वटा सडकका लागि रू २६ करोड २५ लाख विनियोजन गरिएको छ । संघीय सरकारसँगको लागत साझेदारीमा सञ्चालन हुने दाङको वखरिया–सरुवाडाँडा–गोल्टाकुरी–कालितारालगायतका सडकमा ९६ करोड विनियोजन भएको छ । दाङको मुसोटखोलादेखि कुइरेपानीसम्म सुरुङमार्ग निर्माणकालागि सम्भाब्यता अध्ययन गरिने भएको छ ।

मसौट खोला – कुइरेपानी, मसिना – अरुङखोला, बनकसवासा – कालाकाटे लगायतका क्षेत्रहरूमा सुरुङ्गमार्ग निर्माणकालागि सम्भाब्यता अध्ययन गरिने भएको हो । त्यस्तै धानखोलामा बहुउद्देश्यीय जलाशय निर्माणका लागि पनि सम्भाव्यता अध्ययन भएको हो ।

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा द्वन्द्वका क्रममा घाईते भएका ब्यक्तीहरुलाई उपचार सेवा विस्ता गरिने भएको छ । त्यस्तै अस्पतालको नवनिर्मित भवनमा प्रसूति एवम् नवजात शिशुको उपचार सेवा सञ्चालन हुने भएको छ । त्यसालागि लुम्बिनी प्रदेश सरकारले . १ करोड बजेट बिनियोजन गरेको छ । त्यस्तै अस्पतालमा अत्याधुनिक ल्याप्रोस्कोपी सेवा विस्तारको गर्न राप्ती प्रादेशिक अस्पताललाई २ करोड बजेट ब्यबस्था गरेको छ ।

दाङ तुलसीपुरको विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा आयुर्वेद औषधी उत्पादन गर्नकालागि बजेट बिनियोजन गरिएको छ । औषधी उत्पादनकालागि ३ करोड विनियोजन गरिएको हो । राप्ती प्रादेशिक अस्पतालमा ओ.पी.डी. टिकट र जनरल बेड निःशुल्क हुने भएको छ । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा यो सेवाकालागि १ करोड ५० लाख बजेट बिनियोजन भएको छ ।

त्यस्तै ट्रमा सेन्टर लमहीका भवन निर्माण, दाङमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास कार्यक्रम, “उत्तर कुमार वली सडक सुरक्षा कार्यक्रम“ अन्तर्गत राजधानी क्षेत्रको भालुवाङ्ग देखि लमही सडक खण्डमा सौर्य बत्ती जडानकालागि पनि बजेट बिनियोजन गरिएको छ । त्यस्तै तुलसीपुर स्थित बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण कार्यलाई निरन्तरता दिन पनि बजेट बिनियोजन गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *