लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब बराबरको बजेट ल्याउँदै

१ असार,बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब हाराहारीको बजेट ल्याउँदै छ ।

गत वर्ष एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यसअघि गत वर्षभन्दा ४-५ अर्ब कम आकारको बजेट आउने दाबी गरे पनि चुनावलाई लक्षित गरी ४२ अर्ब बढीको बजेट आउन लागेको सरकारी स्रोतको दाबी छ ।

चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये ३३ प्रतिशत चालु खर्च र ५५ प्रतिशत पुँजीगत खर्च थियो । १५ प्रतिशत बजेट स्थानीय तहमा समानीकरण अनुदानमा थियो । सरकार फेरबदल भएपछि माओवादी नेतृत्वको ५ दलीय सरकारले उक्त बजेट प्रतिस्थापन गर्ने गरी आकार घटबढ नगरी नयाँ बजेट ल्याएको थियो ।

चालु वर्षमा बजेट खर्च र राजश्व संकलन लक्ष्य अनुरुप नभएको भन्दै प्रदेश योजना आयोगका उपाध्यक्ष क्षेत्रीले पत्रकार सम्मेलनमै ३७ अर्बभन्दा माथिको वजेट नआउने दाबी गरेका थिए ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका जेठ १५ गतेसम्म ३७.८४ प्रतिशत मात्रै बजेट खर्च भएको थियो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार सरकारले चालु आर्थिक वर्षमा आन्तरिक राजश्वतर्फ ७ अर्ब १६ करोड ५६ लाख संकलन हुने लक्ष्य राखेको थियो । तर जेठ १५सम्म २ अर्ब ७ करोड ३३ लाख अर्थात २८ प्रतिशत मात्रै प्रगति देखिएको छ ।

सरकारले नीति तथा कार्यक्रममा ‘एक स्थानीय तह : एक खेदकुद संरचना’, एक स्थानीय तह : एक नमुना उत्पादन, एक जिल्ला : एक निर्यातयोग्य बाली तथा बस्तु, एक स्थानीय तह : एक प्रागांरिक मल उद्योग, स्मार्ट कृषि गाउँ कार्यक्रम, व्यवसाय प्रवर्द्धन कार्यक्रम, उद्यमशिलता प्रवर्द्धन, एक निर्वाचन क्षेत्र : एक औद्योगिक ग्राम, बाइसे चौबिसे पर्यटकीय सर्किट, एक जिल्ला : एक सांस्कृतिक ग्राम, एक घर एकधारा, कृषिको आधार : सिँचाइमा सुधार, उज्यालो प्रदेश : लुम्बिनी प्रदेश, बेरोजगारलाई रोजगार : साथमा छ प्रदेश सरकार नारासहित गरिखाने कार्यक्रम ल्याएको छ । यी अधिकांश पुरानै हुन् ।

प्रदेशको राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर- रोल्पा सडकलाई प्रदेश गौरवको योजनामा राखिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *