ई. गोविन्द मल्ल
बाहिर साउन महिनाको झरि शान्त र मन्द ढंगले परिरहेको थियो । आकाशबाट झरिरहने पानीका थोपाहरूको तालमा मेरो मनभित्रको शून्यता झनै बढ्दै गएको महसुस भइरह्यो । सामान्यतया म बिहान ६ बजेतिर उठ्छु । तर, आज ५ बज्न नपाउँदै आँखा खुल्यो । एक किसिमको अज्ञात असहजता मनभित्र छताछुल्ल भइरहेको थियो ।
मोबाइल हेरें । सामाजिक सञ्जालका पानाहरू दुःखद खबरले भरिएका रहेछन् । शब्दहरू निकै मिठा थिए, तर खबर भने अत्यन्तै नमिठो — अप्रत्याशित, असह्य र अकस्मात् । कतै लेखिएको थियो — “बाफिकोटको शैक्षिक धरोहर”, कतै — “घोराहीका आदरणीय व्यक्तित्व, कुशल प्रशासक, मिलनसार आत्मा… हामीलाई छाडेर जानुभयो ।”
तस्बिर हेरेँ, छातीभित्र केही कठ्यांग्रिएको महसुस भयो । बाफिकोट–५ भन्ने बित्तिकै म एक्कासि झस्किएँ । नसा चिसो भयो । तुरुन्तै घरमा बुवालाई फोन गरेँ । एकछिन कुराकानी भयो, र यथार्थ बुझेँ — उहाँ मेरो बुवाको साथी हुनुहुँदो रहेछ, बड्गाउँका, उहाहरु सँगै पढेका, एउटै कक्षा, एउटै सन्दर्भका पात्र । धेरै समयदेखि भेट भएको रहेनछ, न कुराकानी नै । सुनेको छु, दाङ बिजौरीमा बस्नुहुन्थ्यो रे।बुवाले भन्नुभयो।
बुवासँगको कुरा सकिएपछि लामो सास फेरें । म आफूभित्रै भन्थें — दुःखद खबर सुनेपछी, हाम्रो उपस्थिति आवश्यक हुन्छ । खुसियालीमा रमाउने हामी, पीडामा पनि साथ दिन सक्नुपर्छ । यही सोचसहित म निस्किएँ ।
बिहान ९ बजेसम्म शंखेपिपल पुग्नुपर्ने भनिएको थियो । मैले बिकास मल्ल भतिजलाई फोन गरेँ । “अंकल, उहाको घर घोराहीमै हो, यत्तिकै नजिक,” भनेर जानकारी पाएपछि म चुप लागें । उहाको घर त म बस्ने ठाउँको छेउमै रहेछ !
उहाको घर पुगेँ । छरछिमेकका अनुहारहरू, टाढाटाढाबाट आइपुगेका आफन्तजनको आगमन… वातावरण स्तब्ध थियो । कोही तुलसीपुरतिर पुगेको खबर आइरहेको थियो, कोही रुकुमबाट कपुरकोट आईपुगेको भन्ने भनसुन चलिरहेको थियो ।
साढे ९ बजेतिर हामी शंखेपिपलतिर प्रस्थान गर्ने तयारीमा थियौं । शिक्षण पेशामा संलग्न उहाका साथीहरू धेरैजसो आइपुगिसक्नु भएको थियो। उस्तै परेका अनुहारहरू, रुँदै जस्तो देखिने आँखाहरू, मौनता अनि सिमसिमे वर्षाको तालबीच पनि मनमा शब्दहरू सुनिन्थे — “साथी त गएछ यार…”
त्यो वाक्य मेरो कान हुँदै मनको गहिराइमा ठोकियो । कति सरल तर मार्मिक । लाग्यो, हो नि, जीवन भन्ने यत्ति हो त… एक दिन हामी सबै जानु नै छ । ढिलो या चाँडो । अनि किन हो सारा जीवनभरको लुछाचुँडी, किन अहंकार, किन स्वार्थ ?
उहाँ — शेरबहादुर बिष्ट सर — सरकारी सेवामा जीवन समर्पण गर्नुभएको मान्छे । उच्च पदमा पुग्नुभए पनि अति सामान्य जीवनशैली, सबसँग समभाव, विनम्रता र सहजता उहाँको परिचय रह्यो ।
उहाँको अन्तिम बिदाईमा यस्तो विशाल उपस्थिति देखेर म चकित भएँ । यो ठाउँ उहाँको जन्मथलो होइन, जीवनको उत्तरार्ध यहाँ बिताउनु भएको । तर पनि यत्तिका मानिसहरू — आफ्ना आफन्त, मित्र, सहयोगीहरू — आँखा रसाएर उपस्थित थिए । त्यस क्षणमा लाग्यो, मान्छे कमाउने कुरा पैसाले होइन रहेछ, मनले हो, मायाले हो,व्यबहारले हो,सम्झनाले हो ।
शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु —
हार्दिक श्रद्धाञ्जली शेरबहादुर बिष्ट सर !!
हामी नयाँ पुस्ता । तपाईंहरूको पुस्तासँग सायद ग्याप छ, दूरी छ । जीवनको गति र दिशाले सँगै बस्न दिएन । तर यस्ता क्षणहरूले सधैं सम्झाउँछन् — अब पनि ढिलो भइसकेको छैन । हामीले बाँकी आदरणीय अग्रजहरूलाई चिन्ने, बुझ्ने र उहाँहरूको अनुभवबाट सिक्ने प्रयास निरन्तर गर्नैपर्छ ।
सम्झिँदै छु —
उहाँको अनुहार, त्यो शालीनता, त्यो नम्रता, त्यो मुस्कान ।
अब ती सबै सम्झनाको क्यालेन्डरमा एउटा तस्बिर बनेर बस्नेछन् ।
एक अमिट छाप बनेर ।
शब्दमा अड्किएको पीडा,
मनमा उर्लिएको भावनाले भने यही भन्छ —
“साथी त गए’छ यार !”
रुकुम बाफिकोट स्थायी घर भएका लेखक इन्जिनियर मल्ल अखिल (क्रान्तिकारी) दाङको अध्यक्ष हुनुहुन्छ ।