घोराही, ११ जेठ । दीपशिखा स्कुल/कलेज घोराहीमा शैक्षिक सत्र २०८३ को कार्यदिशा, शैक्षिक योजना तथा विद्यार्थीहरूको समग्र विकाससम्बन्धी विषयमा केन्द्रित ‘नयाँ अभिभावक अभिमुखीकरण कार्यक्रम’ भएको छ । कार्यक्रममा विद्यालय र अभिभावकबीचको सहकार्य, समन्वय तथा आपसी विश्वासलाई अझ सुदृढ बनाउने विषयमा विशेष छलफल गरिएको थियो ।
कार्यक्रममा विद्यालयका सञ्चालक समिति अध्यक्ष माधव शर्माले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय र अभिभावकबीचको निरन्तर सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न योजनासहित अघि बढिरहेको जानकारी दिनुभयो । “विद्यालयले मात्रै होइन, घरपरिवारको वातावरण र अभिभावकको साथले पनि बालबालिकाको व्यक्तित्व निर्माणमा ठूलो प्रभाव पार्छ । त्यसैले सबै अभिभावक विद्यालयसँग नजिक रहन आवश्यक छ,” उहाँले भन्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका शैक्षिक संयोजक सन्तोष रेग्मीले शैक्षिक सत्र २०८३ का योजना, विद्यालयको कार्यदिशा तथा विद्यार्थी केन्द्रित कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । उहाँले विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै अनुशासन, सिर्जनशीलता, नेतृत्व क्षमता र नैतिक शिक्षालाई समेत प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्ने बताउनुभयो । “विद्यालयले अब केवल पाठ्यपुस्तकमा सीमित शिक्षा होइन, व्यवहारिक र जीवनोपयोगी शिक्षामा पनि जोड दिनेछ,” उहाँको भनाइ थियो ।
कार्यक्रमका मुख्य प्रशिक्षक धन बहादुर बि.सि.ले विद्यार्थीको समग्र विकासका लागि घर र विद्यालयबीच निरन्तर संवाद आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिकाको मनोविज्ञान बुझेर सकारात्मक वातावरणमा सिकाइ प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “विद्यार्थीलाई दबाब होइन, प्रेरणा आवश्यक हुन्छ । अभिभावक र शिक्षकबीच राम्रो समन्वय भयो भने विद्यार्थीको सिकाइ उपलब्धि स्वतः राम्रो हुन्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रम सञ्चालन गर्नुभएका प्रिन्सिपल मनोज बुढाथोकीले विद्यालयले आगामी दिनमा प्रविधिमैत्री शिक्षा, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीमैत्री वातावरणलाई थप प्रभावकारी बनाउने योजना रहेको जानकारी दिनुभयो । उहाँले कार्यक्रममा सहभागी भई विद्यालयलाई सुझाव र सहयोग प्रदान गर्ने अभिभावकप्रति आभार व्यक्त गर्नुभयो ।
शिक्षकहरुको तर्फबाट सोना कुवंरले पठनपाठनबारे जानकारी गराउंनु भयो ।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले विद्यालय र अभिभावकबीच यस्ता कार्यक्रमले सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।
विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण अभिभावकप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ ।

