देउखुरी । लमहीमा गुरुकुल एकेडमीको भवन शिलान्यास गरिएको छ । आउने शैक्षिक सत्रदेखि कक्षा ९ सम्म पढाइ सञ्चालन गर्ने उद्देश्यले लमहीमा गुरुकुल एकेडमी सञ्चालन गर्न विद्यालय भवन बनाउन थालिएको हो ।
लमही नगरपालिका–५ स्थित गोरक्ष रत्ननाथ मन्दिर क्षेत्रको ३० कट्ठा जग्गामा विद्यालय भवन बनाउन थालिएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्कारसहितको शिक्षा प्रदान गर्ने उद्देश्यले लमहीमा गुरुकुल एकेडमी सञ्चालन गर्न थालिएको जानकारी गराइएको छ । मान्छेलाई पूर्ण मान्छे बनाउने उद्देश्यले फरक शैलीबाट पठनपाठन गराइने अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँलेजीवनकला सिकाउन सकियो भने समाजको सबै पक्षको संरक्षण हुने उल्लेख गर्नुभयो । घोराहीमा गुरुकुल एकेडमीको सफलतापछि लमहीमा पनि विद्यालय सञ्चालन गर्न थालिएको छ । तीन तलाको भवन बनाउन काम शुरु भएको छ । विद्यालयका अध्यक्ष घिमिरेले भवनको शिलान्यास गर्दै आउँदो वर्ष देखी नियमित पठनपाठन शुरु गर्ने बताउनुभयो ।
कार्यक्रममा गोरक्ष रत्ननाथ मन्दिरका मठाधीश सुरतनाथ योगीले संस्कृत र वेद शिक्षाको कक्षा समेत सञ्चालन गर्न आग्रह गर्नुभयो । गुरुकुल एकेडमीका प्रधानाध्यापक डा. कृष्णराज डिसीले विद्यार्थीलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यालय सञ्चालन गरिएको बताउनुभयो । देशको सामाजिक र सर्वाङ्गीण पक्षको विकास हुने बताउनुभयो । कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लीलाराम खनाल, पत्रकार केपी घिमिरे, लमही जेसीजका अध्यक्ष फणाधर ढकाललगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण गुरुकुल एकेडमीका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गर्नुभएको थियो । गुरुकुल एकेडमी लमहीको संस्थापक रुपमा कमलजंग सिंह ठकुरी, शीतल भुसाल र रामचन्द्र शर्मा रहनुभएको छ ।