घोराही, २४ फागुन । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला नेतृत्व र आत्मविश्वास विकाससम्बन्धी तालिम तथा आर्थिक रूपमा विपन्न र मजदुर महिलाहरूलाई सम्मान गर्ने कार्यक्रम दाङमा सम्पन्न भएको छ । दाङ महिला जेसीजको आयोजनामा भएको उक्त कार्यक्रम जेसी अर्चना शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल अपाङ्ग संघकी अध्यक्ष रूपा वली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने वडा नम्बर १४ की सदस्य रचना कुमाल अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।
कार्यक्रमको सुरुवात आस्था पाठबाट गरिएको थियो, जसलाई जेसी सरस्वती वलीले वाचन गर्नुभएको थियो । त्यसपछि जेसी प्रज्ञा स्वर्णकारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा महिला नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक सशक्तीकरणका विषयमा दाङ महिला जेसीजकी पूर्व अध्यक्ष जेसी जीवा भुषालले विषयगत प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले महिलालाई नेतृत्वदायी भूमिकामा अघि बढाउन आत्मविश्वास, सीप विकास र सामाजिक सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रूपा वली, विशिष्ट अतिथि रचना कुमारी तथा दाङ महिला जेसीजकी पूर्व अध्यक्ष ममता विष्टले महिला सशक्तीकरण र सामाजिक परिवर्तनमा महिलाको सक्रिय भूमिका महत्वपूर्ण हुने भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा एकल, मजदुर तथा आर्थिक रूपमा विपन्न महिलाहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले नगद प्रोत्साहन पनि प्रदान गरिएको थियो । सम्मानित हुने महिलाहरूमा दोर्जे दमाई, मनमाया के.सी., जुठी घर्ती (विटालु), मञ्जु नेपाली, इन्दा सुनार र ठगी पुन लगायत रहनुभएको छ।
कार्यक्रममा आराधनासिंह ठकुरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव वसन्ती सुवेदीले गर्नुभएको थियो । अध्यक्ष अर्चना शर्माले समापन मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले महिलाको आत्मविश्वास बढाउन तथा समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
घोराही उपमहानगरपालिका वडा नं १४ स्थित खोलिगाउँका ६५ जनाको उपस्थित रहेको थियो ।
