विद्यार्थीलाई कामको संसारसँग चिनाउँदै गंगा मावि

चेतना अनलाइन

घोराही, २६ फागुन । दाङको घोराही उपमहानगरपालिका–२ रामपुरस्थित गंगा माध्यमिक विद्यालय ले विद्यार्थीलाई व्यावसायिक संसारसँग परिचित गराउने उद्देश्यले स्थलगत अध्ययन कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई वास्तविक कार्यस्थलको वातावरण बुझाउने उद्देश्यले घोराहीका विभिन्न होटल तथा भोजनालयमा लगेर प्रत्यक्ष अवलोकन गराइएको हो ।

विद्यालयले सञ्चालन गरिरहेको इनस्योर परियोजना अन्तर्गत आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले होटेल मालाइन, भिग्रेली भिलेज रिसोर्ट र बड्डाज रेस्टुरेन्टमा पुगेर स्थलगत अध्ययन गरेका थिए । अध्ययनका क्रममा उनीहरूले होटल तथा भोजनालयको भौतिक संरचना, पाहुना बस्ने कोठा, कार्यक्रम सञ्चालन हुने हल, भान्सा व्यवस्थापन, सेवा प्रणाली तथा दैनिक सञ्चालन प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिएका थिए ।

विद्यार्थीहरूले अवलोकन मात्र नगरी त्यहाँ कार्यरत व्यवस्थापक तथा कर्मचारीसँग विभिन्न जिज्ञासा पनि राखेका थिए । होटल सञ्चालनका लागि आवश्यक व्यवस्थापन, पाहुनालाई सेवा दिने तरिका, सरसफाइ व्यवस्थापन, भान्सा सञ्चालन र कर्मचारीको जिम्मेवारी जस्ता विषयमा विद्यार्थीहरूले प्रश्न राखेर जानकारी लिएका थिए । यसले विद्यालयमा पढेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा बुझ्न सहयोग पुगेको सहभागी शिक्षकहरूले बताएका छन् ।

विद्यालयकी प्रधानाध्यापक गंगा गौतमले विद्यार्थीलाई जीवनोपयोगी ज्ञान दिलाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनका अनुसार कक्षाकोठामा सिकाइने ज्ञान मात्र पर्याप्त हुँदैन, वास्तविक जीवन र काम गर्ने वातावरणबारे पनि विद्यार्थीलाई जानकारी हुनु आवश्यक हुन्छ ।

उनले भनिन्, “विद्यालयमा विद्यार्थीहरूले धेरै विषय सैद्धान्तिक रूपमा पढ्छन् । तर व्यवहारिक अनुभव नहुँदा उनीहरूले पढेका कुरा जीवनमा कसरी प्रयोग गर्ने भन्ने स्पष्ट हुन सक्दैन । त्यसैले हामीले विद्यार्थीलाई वास्तविक कार्यस्थलमा लगेर कामको वातावरण, व्यवसाय सञ्चालन र सेवामूलक क्षेत्रको महत्व बुझाउने प्रयास गरेका हौं ।”

प्रधानाध्यापक गौतमका अनुसार यो कार्यक्रम शैक्षिक सत्रको पहिलो चरणअन्तर्गत सञ्चालन गरिएको हो । भविष्यमा पनि विद्यार्थीलाई विभिन्न उद्योग, व्यवसाय तथा सेवामूलक संस्थामा लगेर अध्ययन गराउने योजना विद्यालयले बनाएको उनले जानकारी दिइन् । “यसले विद्यार्थीलाई भविष्यमा कुन क्षेत्रमा अघि बढ्ने भन्ने विषयमा सोच्न प्रेरित गर्छ,” उनले थपिन् ।

कार्यक्रमका फोकल पर्सन खगेश्वर पौडेलले इनस्योर परियोजनाअन्तर्गत कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि विभिन्न गतिविधि सञ्चालन भइरहेको बताए । उनका अनुसार परियोजनाको मुख्य उद्देश्य विद्यार्थीलाई विद्यालयको पढाइसँगै जीवन र कामसँग सम्बन्धित ज्ञान दिनु हो । पौडेलले भने, “विद्यार्थीले उद्योग, व्यवसाय र सेवामूलक क्षेत्र प्रत्यक्ष रूपमा देखेपछि उनीहरूमा नयाँ जिज्ञासा र उत्साह पैदा हुन्छ । यसले उनीहरूलाई श्रमको सम्मान गर्न सिकाउँछ र भविष्यमा उद्यमशील बन्न प्रेरणा पनि दिन्छ ।”

यसैगरी करियर मार्गदर्शन प्रशिक्षक वसन्त सुवेदीले यस्ता कार्यक्रमले विद्यार्थीको सोच र दृष्टिकोण फराकिलो बनाउने बताए । उनका अनुसार विद्यालयमा सिकेको ज्ञानलाई व्यवहारमा जोड्न सक्दा मात्र शिक्षा पूर्ण हुन्छ । “विद्यार्थीले वास्तविक कार्यस्थल अवलोकन गर्दा कामको प्रकृति, जिम्मेवारी र अवसरबारे स्पष्ट बुझाइ प्राप्त गर्छन्,” उनले बताए ।

विद्यालयका माध्यमिक तहका सामाजिक विषयका शिक्षक पाण्डव शर्माले विद्यार्थीहरूले अवलोकनका क्रममा अत्यन्त उत्साह देखाएको बताए । उनका अनुसार विद्यार्थीहरूले होटल सञ्चालन, पाहुना व्यवस्थापन, सरसफाइ र सेवा पद्धतिबारे धेरै जिज्ञासा राखेका थिए । “यसले विद्यार्थीमा अध्ययनप्रति थप रुचि जगाएको अनुभव भएको छ,” उनले भने ।

स्थलगत अध्ययनमा सहभागी विद्यार्थीहरूले पनि आफूहरूले पुस्तकमा पढेका विषय प्रत्यक्ष रूपमा देख्न पाउँदा नयाँ अनुभव प्राप्त भएको बताएका छन् । उनीहरूका अनुसार यस्तो कार्यक्रमले पढाइलाई अझ रोचक र अर्थपूर्ण बनाएको छ ।

विद्यालयका अनुसार इनस्योर परियोजनाअन्तर्गत सञ्चालित यस्ता गतिविधिले विद्यार्थीमा व्यवहारिक ज्ञान, आत्मविश्वास तथा उद्यमशील सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । आगामी दिनमा पनि यस्ता अध्ययन तथा अवलोकन कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *