पाण्डव शर्मा
२०५८ साल वैशाख ४ को त्यो बिहान अहिले पनि मेरो स्मृतिको कुनै कुनामा घाम लागिरहेझैँ लाग्छ ।
घाम उस्तै थियो । बाटो उस्तै थियो होला । मानिसहरू पनि आफ्नै हतारमा हिँडिरहेका थिए होला । तर मेरो लागि त्यो दिन संसार बदलिएको दिन थियो ।
बालमितेरी माध्यमिक विद्यालय भोजपुरबाट कक्षा ५ उत्तीर्ण गरेपछि म सदरमुकाम घोराही आएको थिएँ । उमेरले म एघार वर्षको थिएँ । उमेर सानो थियो, तर मनमा संसार निकै ठूलो थियो । त्यतिबेला मलाई संसारको सबैभन्दा ठूलो कुरा के हो भन्ने थाहा थिएन । घरभन्दा बाहिरको संसार कति फराकिलो हुन्छ भन्ने पनि थाहा थिएन । मलाई केवल यति थाहा थियो—अब म ठूलो स्कुलमा पढ्नेछु ।
राप्ती अञ्चलकै पुरानो विद्यालयमध्ये एक पद्मोदय पब्लिक माध्यमिक विद्यालय, भरतपुरमा भर्ना हुने कुरा थियो ।
स्कुलको नाम सुन्दा नै मलाई कुनै ठूलो दरबारको नाम सुनेजस्तो लाग्थ्यो ।
भोजपुरमा मैले पढेको विद्यालय र घोराहीको त्यो विद्यालयबीच धेरै फरक थियो । त्यहाँका कक्षाकोठा, विद्यार्थीको भीड, शिक्षकहरूको हिँडाइ, पोसाक, बजारको चहलपहल—सबै कुरा नयाँ थियो । म आफैँलाई पनि नयाँ मानिसजस्तो महसुस गरिरहेको थिएँ ।
तर मेरो नयाँ संसारको सबैभन्दा ठूलो परिचय एउटा कोठा थियो ।
त्यो कोठा मेरो डेरा थियो ।
मसँग डेरा थियो ।
र डेरासँग म ।
त्यसपछि धेरै वर्षसम्म हामी दुई एकअर्काका साथी भयौँ ।
दाजु एसएलसी उत्तीर्ण गरेपछि सदरमुकाम पढ्न आउनुभएको थियो । उहाँसँगै म पनि आएको थिएँ । घरमा आमाबुबाको काख थियो । गाउँको बाटो थियो । परिचित अनुहारहरू थिए । बिहान उठ्दा आँगन थियो । बेलुका फर्किँदा आफ्नै घरको ढोका थियो ।
घोराहीमा भने बिहान उठ्दा चारैतिर भित्ताहरू थिए ।
ती भित्ताहरूले मलाई चुपचाप हेर्थे ।
डेराको एउटा सानो झ्याल थियो । झ्यालबाट बाहिर हेर्दा आकाशको सानो टुक्रा मात्र देखिन्थ्यो । त्यो आकाश नै मेरो लागि गाउँको आकाश बनेको थियो ।
म त्यही झ्यालबाट कहिलेकाहीँ धेरै बेर बाहिर हेरिरहन्थेँ ।
मानौँ घर त्यहीँ कतै छ ।
मानौँ आमा त्यही बाटो हुँदै आउनुहुन्छ ।
मानौँ बुबाले परबाट बोलाउनुहुन्छ ।
तर कोही आउँदैनथ्यो ।
त्यसपछि म आफैँलाई भन्थेँ—‘म पढ्न आएको हुँ । ठूलो मान्छे बन्न आएको हुँ ।’
त्यो वाक्य मैले कसैले सिकाएको थिएँ कि आफैँ बनाएको थिएँ, अहिले ठ्याक्कै सम्झना छैन । तर त्यो वाक्यले धेरै साँझ मेरो मन थामेको छ ।
⸻
डेरामा हाम्रो जीवन निकै साधारण थियो ।
साधारणभन्दा पनि सरल ।
कहिलेकाहीँ त सरलताको अर्को नाम अभाव हो कि जस्तो लाग्थ्यो ।
एउटा खाट । केही किताब । लुगा राख्ने सानो ठाउँ । भान्साका केही भाँडा । चामल, दाल, नुन, तेल । भित्तामा झुन्डिएको एउटा पुरानो झोला । अनि एउटा सानो ऐना ।
त्यो ऐनामा म आफूलाई हेर्थेँ ।
गाउँको पाण्डव र डेराको पाण्डव एउटै हो कि होइन भनेर ।
कहिलेकाहीँ ऐनामा हेर्दा म आफूलाई अलि ठूलो देख्थेँ । कहिलेकाहीँ झन् सानो ।
तर विद्यालय पुग्दा मेरो उमेर फेरि एघार वर्षमै फर्किन्थ्यो ।
पद्मोदयको गेटबाट भित्र पस्दा मलाई एउटा नयाँ संसारमा प्रवेश गरेजस्तो लाग्थ्यो ।
ठूला कक्षाहरू । धेरै विद्यार्थी । फरकफरक गाउँ र ठाउँबाट आएका साथीहरू । कसैको बोलीमा पहाड थियो । कसैको बोलीमा तराई । कसैको चालमा सहर ।
म सबैलाई हेर्थेँ ।
उनीहरू मलाई हेर्थे ।
कहिलेकाहीँ लाग्थ्यो—म यहाँ हराइरहेको छु ।
तर केही दिनपछि विद्यालयको घण्टीसँगै मेरो मन पनि बिस्तारै त्यस संसारमा घुल्न थाल्यो ।
मलाई पढाइभन्दा पनि अतिरिक्त क्रियाकलापले तान्न थाल्यो ।
कविता ।
वक्तृत्वकला ।
वादविवाद ।
मञ्च ।
माइक ।
दर्शक ।
यी शब्दहरू त्यतिबेला मेरा लागि खेलौना थिए । तर ती खेलौनासँग खेल्दाखेल्दै मैले आफूलाई भेट्न थालेँ ।
कक्षामा शिक्षकले कविता सुनाउन भन्नुहुन्थ्यो । म हात उठाउँथेँ ।
वक्तृत्वकला हुने भयो भने नाम लेखाउँथेँ ।
वादविवाद भयो भने विषय के हो भनेर सोध्थेँ ।
जित्ने ठूलो सपना त थियो नै ।
तर जितभन्दा अगाडि मञ्चमा उभिन पाउनु नै मेरो लागि ठूलो कुरा थियो ।
पहिलोपटक मञ्चमा उभिँदा मेरा खुट्टा काँपेका थिए ।
हात पसिनाले भिजेका थिए ।
आवाज पनि अलि काँपेको थियो ।
अगाडि बसेका अनुहारहरू धमिला देखिन्थे ।
तर मैले बोल्न थालेँ ।
एक वाक्य ।
दुई वाक्य ।
त्यसपछि आवाज आफ्नै बाटोमा हिँड्न थाल्यो ।
त्यो दिन मैले एउटा कुरा बुझेँ—मानिसको डर पनि ढोकाजस्तै रहेछ । एकपटक खोलेपछि बाहिर निस्कन सकिँदो रहेछ ।
त्यसपछि म बोल्न थालेँ ।
विद्यालयको कार्यक्रममा ।
प्रतियोगितामा ।
कक्षामा ।
साथीहरूको बीचमा ।
कहिलेकाहीँ डेरामा एक्लै हुँदा पनि ।
म ऐनाअगाडि उभिएर भाषण गर्थेँ ।
ऐनामा आफूलाई विद्यार्थी होइन, कुनै ठूलो सभाको वक्ता देख्थेँ ।
‘आदरणीय सभाध्यक्षज्यू…’
म बोल्थेँ ।
‘उपस्थित सम्पूर्ण महानुभावहरू…’
म बोल्थेँ ।
‘आज म यहाँ…’
त्यसपछि कहिलेकाहीँ आफैँ हाँस्थेँ ।
किनकि श्रोता कोही हुँदैनथ्यो ।
ऐना मात्र हुन्थ्यो ।
तर मलाई लाग्थ्यो—एक दिन यो आवाज धेरै टाढासम्म पुग्नेछ ।
त्यो सपना त्यतिबेला सपना थियो ।
आज सम्झँदा लाग्छ—सपनाहरूले पनि बाल्यकालमा बीउजस्तै आफूलाई लुकाएर राख्दा रहेछन् ।
⸻
डेरामा बेलुका सबैभन्दा लामो समय हुन्थ्यो ।
विद्यालयबाट फर्किएपछि केही समय खेलिन्थ्यो । किताब खोलिन्थ्यो । गृहकार्य गरिन्थ्यो । दाजु आफ्नो पढाइमा व्यस्त हुनुहुन्थ्यो ।
म भने कहिलेकाहीँ झ्यालतिर हेर्थेँ ।
बाहिरको सडकमा मानिसहरू घर फर्किरहेका हुन्थे ।
कसैको हातमा तरकारी हुन्थ्यो ।
कसैको काँधमा झोला ।
कसैको हात समातेका बच्चा हुन्थे ।
म उनीहरूलाई हेर्थेँ ।
त्यतिबेला मेरो मनमा एउटा अनौठो प्रश्न आउँथ्यो ।
‘घर भनेको के हो ?’
त्यसको उत्तर मसँग थिएन ।
डेरामा पनि त हामी बसिरहेका थियौँ ।
खाना पकाइरहेका थियौँ ।
सुतिरहेका थियौँ ।
पढिरहेका थियौँ ।
तर त्यो घरजस्तो किन लाग्दैनथ्यो ?
पछि बुझ्दै गएँ—घर भित्ताले होइन, मानिसले बनाउँछन् ।
घर भनेको आमाको आवाज हो ।
बुबाको खोकाइ हो ।
दाजुको झर्को हो ।
भान्साबाट आउने गन्ध हो ।
बाहिर पानी पर्दा कसैले ‘झ्याल बन्द गर’ भनेर कराउनु हो ।
बिहान ढिला उठ्दा कसैले ओछ्यान तानिदिनु हो ।
डेरा भनेको कोठा हो ।
घर भनेको सम्बन्ध ।
तर एघार वर्षको मसँग त्यो परिभाषा थिएन ।
मसँग केवल एउटा डेरा थियो ।
⸻
कहिलेकाहीँ दाजु बजारबाट फर्किँदा केही खानेकुरा ल्याउनुहुन्थ्यो ।
म उहाँको झोला हेर्थेँ ।
झोलाभित्र केही छ कि भनेर ।
उहाँले थाहा पाएर पनि नदेखेजस्तो गर्नुहुन्थ्यो ।
‘के खोजेको ?’ भन्नुहुन्थ्यो ।
‘केही होइन ।’
‘त्यसो भए झोला किन हेरेको ?’
‘यत्तिकै ।’
उहाँ हाँस्नुहुन्थ्यो ।
कहिलेकाहीँ बिस्कुट हुन्थ्यो ।
कहिलेकाहीँ चाउचाउ ।
कहिलेकाहीँ फलफूल ।
त्यो सानो खानेकुरा मेरो लागि ठूलो पर्व हुन्थ्यो ।
अभावले मानिसलाई वस्तुको मूल्य मात्र होइन, मायाको मूल्य पनि सिकाउँदो रहेछ ।
दाजुले ल्याएको एउटा बिस्कुटको प्याकेट पनि त्यतिबेला मलाई कुनै ठूलो पुरस्कारजस्तो लाग्थ्यो ।
म कहिलेकाहीँ त्यो बिस्कुट तुरुन्त खाँदिनथेँ ।
बचाएर राख्थेँ ।
भोलि खान ।
भोलि भनेको कहिलेकाहीँ धेरै टाढाको भविष्यजस्तो लाग्थ्यो ।
तर बिहान उठ्दा बिस्कुटको प्याकेट त्यहीँ हुन्थ्यो ।
त्यो हेर्दा मनमा एउटा विश्वास जाग्थ्यो—भोलि पनि आउँछ ।
⸻
विद्यालयमा मेरो अर्को संसार थियो ।
त्यहाँ मैले साथीहरू पाएँ ।
कसैसँग किताब आदानप्रदान हुन्थ्यो ।
कसैसँग कविता ।
कसैसँग खेल ।
कसैसँग बहस ।
मलाई बहस गर्न निकै मन पर्थ्यो ।
सामान्य कुरालाई पनि ठूलो विषय बनाएर तर्क गर्न सक्थेँ ।
एकदिन एउटा साथीले भन्यो—
‘तँ ठूलो भएपछि के बन्छस् ?’
मैले तुरुन्त उत्तर दिएँ ।
‘वक्ता ।’
उसले हाँस्दै भन्यो—
‘वक्ता बनेर के हुन्छ ?’
मैले भनें—
‘मानिसहरूलाई बोल्छु ।’
‘के बोल्छस् ?’
त्यतिबेला मसँग उत्तर थिएन ।
आज लाग्छ, त्यो प्रश्न निकै ठूलो थियो ।
मानिसले के बोल्ने भन्नेभन्दा पहिले किन बोल्ने भन्ने थाहा पाउनुपर्छ ।
तर त्यतिबेला म आवाजको शक्तिमा मोहित थिएँ ।
मलाई लाग्थ्यो—जो बोल्छ, उसैको संसार ठूलो हुन्छ ।
⸻
विद्यालयमा प्रतियोगिता हुने खबर आयो ।
वक्तृत्वकला ।
विषय थियो—‘विद्यार्थी जीवन र अनुशासन ।’
मैले नाम लेखाएँ ।
प्रतियोगिताको अघिल्लो रात डेरामा बसेर भाषण तयार गरेँ ।
दाजुले हेर्नुभयो ।
‘के गर्दैछस् ?’
‘भाषण ।’
‘भाषण ?’
‘भोलि प्रतियोगिता छ ।’
उहाँले केही बेर मलाई हेर्नुभयो ।
‘जित्छस् ?’
मैले आत्मविश्वास देखाउँदै भनेँ—
‘जित्छु ।’
दाजु हाँस्नुभयो ।
‘पहिले राम्रोसँग बोल्नू । जित त पछि हुन्छ ।’
त्यो वाक्य मलाई आज पनि सम्झना छ ।
सायद जीवनको सबैभन्दा पहिलो ठूलो पाठ त्यही थियो ।
जितभन्दा पहिले आफ्नो काम राम्रोसँग गर्नुपर्छ ।
भोलिपल्ट मञ्चमा उभिएँ ।
सामुन्ने धेरै अनुहार थिए ।
माइक अगाडि थियो ।
हात काँपिरहेको थियो ।
तर दाजुको वाक्य सम्झिएँ ।
‘पहिले राम्रोसँग बोल्नू ।’
मैले बोल्न थालेँ ।
त्यो दिन म जितेँ कि जितिनँ, त्यो अहिले त्यति महत्त्वपूर्ण छैन ।
तर मञ्चबाट तल झर्दा मलाई आफूभित्र केही थपिएको अनुभूति भयो ।
आत्मविश्वासको एउटा सानो ढुंगा ।
त्यो ढुंगा पछि धेरै वर्ष मेरो यात्राको आधार बन्यो ।
⸻
डेराको रातहरूमा भने कहिलेकाहीँ अर्कै कथा हुन्थ्यो ।
एक रात ठूलो पानी परिरहेको थियो ।
घोराहीको आकाश चट्याङले चम्किरहेको थियो ।
डेराको छानोमाथि पानीले टप्टप गरिरहेको थियो ।
दाजु सुतिसक्नुभएको थियो ।
म भने निदाउन सकिरहेको थिइनँ ।
मलाई घर सम्झना आयो ।
आमाको अनुहार सम्झिएँ ।
घरको आँगन सम्झिएँ ।
गाउँको बाटो सम्झिएँ ।
विद्यालयबाट फर्किँदा बाटोमा भेटिने मानिसहरू सम्झिएँ ।
एकाएक मलाई घर जान मन लाग्यो ।
यति धेरै मन लाग्यो कि म उठेर झोला खोज्न थालेँ ।
‘अहिले नै जान्छु ।’
मनले भन्यो ।
‘राति ?’
अर्को मनले सोध्यो ।
‘हो ।’
‘बाटो थाहा छ ?’
‘छ ।’
‘कति टाढा छ ?’
त्यसको उत्तर थिएन ।
म झ्यालमा गएँ ।
बाहिर पानी थियो ।
अँध्यारो थियो ।
बाटो थिएन ।
म फेरि ओछ्यानमा आएँ ।
त्यो रात पहिलोपटक मैले बुझें—घर सम्झनु र घर पुग्नु दुई फरक कुरा रहेछन् ।
त्यसपछि मैले आँखाहरू बन्द गरेँ ।
मनभित्र घर बनाइदिएँ ।
आमालाई भान्सामा राखेँ ।
बुबालाई आँगनमा ।
दाजुलाई त्यहीँ छेउमा ।
म आफैँ आँगनमा बसेँ ।
बाहिर पानी परिरह्यो ।
भित्र मेरो घर उज्यालो भयो ।
⸻
समय बिस्तारै बित्दै गयो ।
डेरा अब अपरिचित रहेन ।
भित्ताहरूले मलाई चिन्न थालेजस्तो लाग्थ्यो ।
झ्यालबाट आउने बिहानको घाम मेरो पुरानो साथी भइसकेको थियो ।
किताबहरू आफ्ना भएका थिए ।
कापीमा लेखिएका अक्षरहरू आफ्ना भएका थिए ।
विद्यालयको बाटो पनि परिचित थियो ।
तर मेरो मनभित्र एउटा कुरा बढिरहेको थियो—आफू केही गर्नुपर्छ भन्ने भावना ।
सायद डेराले मलाई चाँडै ठूलो बनाइरहेको थियो ।
घरमा हुन्थेँ भने आमाले खाना तयार गर्नुहुन्थ्यो ।
यहाँ कहिलेकाहीँ आफैँ भात पकाउनुपर्थ्यो ।
घरमा लुगा कसैले मिलाइदिन्थ्यो ।
यहाँ आफैँ मिलाउनुपर्थ्यो ।
घरमा कसैले ‘पढ’ भन्नुपर्थ्यो ।
यहाँ आफूलाई आफैँ भन्नुपर्थ्यो ।
घरमा गल्ती गर्दा कसैले सम्झाउँथ्यो ।
डेरामा गल्ती आफैँले पत्ता लगाउनुपर्थ्यो ।
त्यसैले डेरा केवल बस्ने ठाउँ थिएन ।
त्यो मेरो पहिलो पाठशाला थियो ।
विद्यालयले किताब पढायो ।
डेराले जीवन पढायो ।
⸻
एकदिन विद्यालयमा कविता प्रतियोगिता भयो ।
म सहभागी भएँ ।
कविता मैले आफैँ लेखेको थिएँ ।
त्यो कविता खासै ठूलो थिएन ।
बालमनले देखेको संसार थियो ।
आकाश ।
चरा ।
विद्यालय ।
आमा ।
देश ।
भविष्य ।
तर कविता पढ्दै गर्दा मलाई आफूले आफ्नै कथा पढिरहेको जस्तो लाग्यो ।
‘घरबाट टाढा एउटा बालक…’
यो पंक्ति लेख्दा मैले आफैँलाई लेखेको थिएँ कि थाहा छैन ।
तर त्यो कविता पढ्दा मेरो आँखाअगाडि डेराको झ्याल आयो ।
त्यो झ्याल ।
जसबाट मैले धेरैपटक आकाशको टुक्रा हेरेको थिएँ ।
कविता सकिएपछि केही बेर शान्ति भयो ।
त्यसपछि ताली बज्यो ।
त्यो ताली आजसम्म मेरो स्मृतिमा सुनिन्छ ।
त्यो दिन मलाई लाग्यो—शब्दले पनि घर बनाउन सक्दा रहेछन् ।
मानिस जहाँ पुगे पनि शब्दमार्फत आफ्नो संसार बनाउन सक्दो रहेछ ।
त्यस दिनदेखि म शब्दसँग अझ नजिक भएँ ।
⸻
एकदिन साँझ डेरामा फर्किँदा एउटा चिठी आएको रहेछ ।
घरबाट ।
मैले चिठी हातमा लिएँ ।
कागज साधारण थियो ।
अक्षरहरू परिचित थिए ।
तर त्यो कागजमा सिंगो घर अटाएको थियो ।
मैले चिठी खोलेँ ।
एकएक शब्द पढेँ ।
आमाले लेख्नुभएको थियो—‘राम्ररी पढ्नु । खानामा ध्यान दिनु ।’
बुबाका बारेमा लेखिएको थियो ।
घरका अरू मानिसका बारेमा लेखिएको थियो ।
गाउँमा भएको सानो घटना पनि लेखिएको थियो ।
तर मेरो लागि त्यो चिठीको सबैभन्दा ठूलो वाक्य कुनै एउटा वाक्य थिएन ।
त्यो कागजमा घरको गन्ध थियो ।
मैले चिठी धेरैपटक पढेँ ।
पछि सिरानीमुनि राखेँ ।
त्यो रात म शान्तसँग सुतेँ ।
घरबाट धेरै टाढा भएर पनि घर नजिकै भएको अनुभूति भयो ।
आज सोच्दा लाग्छ—त्यो चिठी कागज थिएन ।
त्यो एउटा पुल थियो ।
⸻
समयसँगै मेरो विद्यालय जीवनमा नयाँ कुरा थपिँदै गए ।
म प्रतियोगितामा भाग लिन थालेँ ।
कहिले जितेँ ।
कहिले हारें ।
कहिले प्रमाणपत्र पाएँ ।
कहिले खाली हात फर्किएँ ।
तर हरेक हारपछि म फेरि अर्को कार्यक्रममा नाम लेखाउँथेँ ।
मलाई हारले रोक्न सकेन ।
किनकि मसँग जित्नुपर्ने एउटा अर्को कारण पनि थियो ।
म डेराबाट आएको विद्यार्थी थिएँ ।
सायद म आफूलाई प्रमाणित गर्न चाहन्थेँ ।
साथीहरूमाझ ।
शिक्षकहरूमाझ ।
र सबैभन्दा बढी आफैँमाझ ।
कहिलेकाहीँ मानिसले अरूलाई जित्नुभन्दा पहिले आफूभित्रको डरलाई जित्नुपर्ने रहेछ ।
म त्यो डर जित्दै थिएँ ।
⸻
एकदिन विद्यालयमा वादविवाद प्रतियोगिता थियो ।
विषय थियो—‘पढाइ मात्र जीवनको सफलता होइन ।’
म विपक्षमा बोल्ने कि पक्षमा भन्ने कुरामा केही बेर अलमलिएँ ।
पछि मैले एउटा पक्ष रोजेँ ।
मञ्चमा गएँ ।
बोल्न थालेँ ।
बोल्दै जाँदा मलाई आफ्नै डेरा सम्झना भयो ।
यदि पढाइ मात्र सफलता हुन्थ्यो भने डेराले मलाई किन यति धेरै कुरा सिकायो ?
यदि किताब मात्र गुरु हुन्थ्यो भने अभावले मलाई किन यति धेरै पाठ पढायो ?
यदि विद्यालय मात्र पाठशाला हुन्थ्यो भने जीवनका प्रश्नहरू मैले झ्यालमा बसेर किन सिकेँ ?
मैले यी प्रश्नहरू त्यतिबेला स्पष्ट रूपमा बोलिनँ होला ।
तर मेरो तर्कभित्र ती सबै थिए ।
मञ्चबाट झर्दा साथीले काँधमा हात राख्यो ।
‘आज त राम्रो बोलिस् ।’
मैले मुस्कुराएँ ।
भित्र कतै डेराको झ्याल पनि मुस्कुराइरहेको थियो ।
⸻
कहिलेकाहीँ डेरामा एक्लै हुँदा भविष्यको कल्पना गर्थेँ ।
मलाई लाग्थ्यो—एकदिन म धेरै टाढा जानेछु ।
ठूलो विद्यालयमा पढाउनेछु ।
पत्रपत्रिकामा लेख्नेछु ।
मञ्चमा बोल्नेछु ।
धेरै मानिसहरूले मेरो कुरा सुन्नेछन् ।
तर भविष्यको त्यो चित्रमा मेरो डेरा भने सधैँ हुन्थ्यो ।
सानो झ्यालसहित ।
पुरानो खाटसहित ।
त्यहीँ बसेर भाषण गर्ने एघार वर्षको मसँग ।
सायद मानिसले भविष्यमा जति टाढा पुगे पनि आफ्नो सुरुवातलाई छोड्न सक्दैन ।
जरा जमिनभित्र हुन्छ ।
रुख आकाशतिर बढ्छ ।
तर जरा माटोमै रहन्छ ।
मेरो जरा त्यो डेरामा थियो ।
⸻
एक साँझ दाजु ढिलो फर्किनुभयो ।
म धेरै बेरसम्म पर्खिरहेँ ।
बाहिर अँध्यारो भइसकेको थियो ।
मलाई डर लाग्न थाल्यो ।
सहरको रात गाउँको रातभन्दा फरक हुँदो रहेछ ।
गाउँमा अँध्यारो भए पनि मानिसहरूको आवाज सुनिन्थ्यो ।
कुकुर भुक्थे ।
घरका ढोकाहरू बन्द हुन्थे ।
यहाँ सडकमा अपरिचित मानिसहरू थिए ।
म झ्यालबाट बाहिर हेर्दै बसेँ ।
एकछिनपछि दाजु आउनुभयो ।
म रिसाएजस्तो गरेँ ।
‘किन ढिलो गर्नुभएको ?’
उहाँले हाँस्दै भन्नुभयो—
‘के भयो ? डर लाग्यो ?’
मैले भनें—
‘डराएको होइन ।’
उहाँले केही भन्नुभएन ।
मेरो टाउकोमा हात राख्नुभयो ।
त्यो स्पर्शले मेरो सबै रिस पगालिदियो ।
त्यो रात मलाई फेरि बुझियो—डेरा मानिसले मात्र होइन, सम्बन्धले पनि टिकाउँदो रहेछ ।
दाजु मेरो दाजु मात्र हुनुहुन्नथ्यो ।
त्यो उमेरमा उहाँ मेरो अभिभावकजस्तै हुनुहुन्थ्यो ।
मलाई सहरसँग परिचित गराउने मानिस ।
विद्यालयसम्म पुर्याउने मानिस ।
कहिलेकाहीँ गाली गर्ने मानिस ।
कहिलेकाहीँ बिस्कुट ल्याउने मानिस ।
र डर लाग्दा ढोका खोलिदिने मानिस ।
⸻
एकदिन मैले डेराको भित्तामा एउटा कागज टाँसेँ ।
त्यसमा लेखेँ—
‘म एकदिन ठूलो मान्छे बन्छु ।’
कसैले पढेन ।
म आफैँले मात्र पढेँ ।
हरेक बिहान उठ्दा त्यो कागज हेर्थेँ ।
कहिलेकाहीँ हाँसो लाग्थ्यो ।
‘ठूलो मान्छे’ भनेको के हो ?
धेरै पैसा भएको ?
धेरै मानिसले चिन्ने ?
मञ्चमा उभिने ?
धेरै किताब पढ्ने ?
त्यतिबेला उत्तर थिएन ।
तर एउटा कुरा थाहा थियो—म अहिले जहाँ छु, त्यहाँ सधैँ बसिरहनु हुँदैन ।
म अघि बढ्नुपर्छ ।
त्यो कागज मेरो पहिलो लक्ष्य थियो ।
⸻
समयको नदी कसैका लागि रोकिँदैन ।
कक्षा फेरिँदै गए ।
किताब फेरिँदै गए ।
साथीहरू फेरिँदै गए ।
म पनि फेरिँदै गएँ ।
तर डेरा भने मेरो स्मृतिमा उस्तै रह्यो ।
कहिलेकाहीँ नयाँ कोठामा सर्दा पुरानो डेरा सम्झिन्थेँ ।
नयाँ ठाउँ राम्रो हुन्थ्यो ।
तर पुरानो भित्तामा टाँसिएको त्यो कागजजस्तो आत्मीयता कहाँ पाउनु ?
नयाँ झ्यालबाट ठूलो आकाश देखिन्थ्यो ।
तर मलाई सानो झ्याल नै प्रिय थियो ।
किनकि त्यही सानो झ्यालबाट मैले ठूलो संसार देख्न सिकेको थिएँ ।
⸻
आज धेरै वर्ष बितिसकेका छन् ।
त्यो एघार वर्षको बालक कहाँ छ ?
सायद ऊ अझै पनि कतै छ ।
मेरो शब्दमा ।
मेरो आवाजमा ।
मञ्चमा उभिँदा मेरो काँधमा ।
कुनै पुरानो कापी खोल्दा मेरो औँलामा ।
कुनै विद्यार्थीले प्रतियोगितामा भाग लिन हात उठाउँदा मेरो आँखामा ।
कुनै बालक घरबाट टाढा डेरामा बसेर झ्यालबाट बाहिर हेर्दा मेरो मनमा ।
म कहिलेकाहीँ सोच्ने गर्छु—यदि त्यो डेरा नभएको भए म आजको म हुन्थेँ ?
सायद हुन्थेँ ।
तर त्यहीँ हुन्थेँ भन्ने निश्चित छैन ।
किनकि जीवनमा केही ठाउँहरू केवल ठाउँ हुँदैनन् ।
तिनले हामीलाई बनाउँछन् ।
डेराले मलाई बनायो ।
त्यसले मलाई अभाव देखायो ।
एक्लोपन देखायो ।
स्वावलम्बन सिकायो ।
सम्बन्धको अर्थ सिकायो ।
घरको मूल्य सिकायो ।
शब्दको शक्ति सिकायो ।
मञ्चको डर सिकायो ।
हारको स्वाद चखायो ।
जितको आनन्द दियो ।
र सबैभन्दा ठूलो कुरा—आफ्नो भविष्य आफैँले कल्पना गर्न सिकायो ।
⸻
धेरै वर्षपछि म एकदिन त्यो पुरानो ठाउँ खोज्दै घोराहीका गल्लीहरूमा हिँडिरहेको थिएँ ।
सहर बदलिएको थियो ।
सडकहरू फराकिला भएका थिए ।
पुराना घरहरू कतै हराइसकेका थिए ।
नयाँ घरहरू उम्रिएका थिए ।
मानिसहरूको भीड बढेको थियो ।
मलाई बाटो चिन्न गाह्रो भयो ।
तर स्मृतिको नक्सा कहिलेकाहीँ वास्तविक नक्साभन्दा बलियो हुँदो रहेछ ।
म एउटा गल्लीमा पुगेँ ।
केहीबेर रोकिएँ ।
मनले भन्यो—‘यहीँ कतै हो ।’
म वरिपरि हेर्न थालेँ ।
पुरानो डेरा कहाँ थियो ?
त्यो झ्याल कहाँ थियो ?
त्यो ढोका ?
त्यो भित्तो ?
त्यो सानो आँगन ?
केही थिएन ।
सायद त्यो घर भत्किसकेको थियो ।
सायद अर्को घर बनेको थियो ।
सायद सडक विस्तारले त्यसलाई निलेको थियो ।
तर म त्यहीँ उभिइरहेँ ।
अचानक मलाई आफ्नो एघार वर्षको रूप देखियो ।
झोलामा किताब बोकेको ।
सानो शरीर ।
ठूला आँखा ।
विद्यालय जाने हतार ।
मञ्चमा बोल्ने सपना ।
र बेलुका डेरामा फर्किएपछि झ्यालबाट आकाश हेर्ने बालक ।
मैले मनमनै उसलाई बोलाएँ ।
‘ए पाण्डव !’
ऊ फर्कियो ।
‘के भयो ?’
मैले सोधेँ—
‘तँलाई थाहा छ, तँ कहाँ पुग्नेछस् ?’
ऊ हाँस्यो ।
‘थाहा छैन ।’
‘डर लाग्दैन ?’
उसले केही बेर सोच्यो ।
‘लाग्छ ।’
‘त्यसो भए किन अघि बढ्छस् ?’
उसले झोलाबाट एउटा कापी निकाल्यो ।
कापी खोलेर भन्यो—
‘किनकि म पढ्न आएको हुँ ।’
म केही बोल्न सकिनँ ।
त्यो बालक फेरि विद्यालयतिर दौडियो ।
म त्यहीँ उभिइरहेँ ।
⸻
मलाई लाग्यो—समयले मानिसलाई अगाडि लैजान्छ, तर उसको बाल्यकाललाई पछाडि छोड्दैन ।
बाल्यकाल हामीसँगै हिँड्छ ।
कहिलेकाहीँ हामी त्यसलाई बिर्सिन्छौँ ।
तर कुनै पुरानो गीतले ।
कुनै गन्धले ।
कुनै गल्लीले ।
कुनै विद्यालयको घण्टीले ।
कुनै पुरानो कापीले ।
त्यो बालकलाई फेरि हाम्रो अगाडि ल्याइदिन्छ ।
मेरो लागि त्यो बालकको नाम पाण्डव थियो ।
र उसको पहिलो ठूलो सहर घोराही थियो ।
पहिलो ठूलो विद्यालय पद्मोदय थियो ।
पहिलो ठूलो जिम्मेवारी डेरामा बस्नु थियो ।
पहिलो ठूलो सपना मञ्चमा उभिएर बोल्नु थियो ।
र पहिलो ठूलो घर—त्यो सानो डेरा ।
⸻
कहिलेकाहीँ म सोच्दछु, डेरा साँच्चै मेरो थियो त ?
त्यहाँको भित्तो मेरो थिएन ।
छानो मेरो थिएन ।
ढोका मेरो थिएन ।
झ्याल पनि मेरो थिएन ।
तर त्यहाँ मैले बिताएका दिनहरू मेरा थिए ।
त्यहाँ रोएका आँसु मेरा थिए ।
त्यहाँ हाँसेका क्षण मेरा थिए ।
त्यहाँ लेखिएका शब्द मेरा थिए ।
त्यहाँ देखिएका सपना मेरा थिए ।
त्यहाँको एक्लोपन मेरो थियो ।
त्यहाँको साहस पनि मेरो थियो ।
त्यसैले डेरा घर नभए पनि मेरो जीवनको एउटा स्थायी ठेगाना बन्यो ।
मानिसको ठेगाना कागजमा लेखिन्छ ।
तर जीवनको ठेगाना स्मृतिमा लेखिँदो रहेछ ।
मेरो स्मृतिमा एउटा ठेगाना अझै छ—
‘पद्मोदय जाने बाटोको छेउको एउटा सानो डेरा ।’
⸻
त्यो डेराको झ्यालबाट देखिने आकाश आज पनि मलाई सम्झना छ ।
आकाश वास्तवमा सानो थिएन ।
झ्याल सानो थियो ।
म सानो थिएँ ।
मेरो संसार सानो थियो ।
तर सपना ठूलो थियो ।
सायद यही जीवनको सुन्दर रहस्य हो ।
मानिस सानो ठाउँबाट ठूलो सपना देख्न सक्छ ।
सानो कोठाबाट ठूलो संसार कल्पना गर्न सक्छ ।
अभावबाट सम्भावना खोज्न सक्छ ।
एक्लोपनबाट आवाज निकाल्न सक्छ ।
र एउटा डेराबाट यात्रा सुरु गरेर संसारको कुनै कुनासम्म पुग्न सक्छ ।
म पनि त्यही यात्राको एउटा यात्रु हुँ ।
अझै यात्रा सकिएको छैन ।
तर जब कहिलेकाहीँ जीवनका भीडभाडमा आफूलाई हराएको जस्तो लाग्छ, म आँखा बन्द गर्छु ।
म फेरि त्यो डेरामा पुग्छु ।
सानो झ्याल खोल्छु ।
बाहिर बिहान भएको हुन्छ ।
दूर कतै विद्यालयको घण्टी बजिरहेको हुन्छ ।
दाजु किताब मिलाउँदै हुनुहुन्छ ।
म झोला बोकेर निस्किन तयार हुँदैछु ।
मलाई विद्यालय पुग्नु छ ।
कविता सुनाउनु छ ।
वक्तृत्वमा भाग लिनु छ ।
वादविवाद गर्नुछ ।
जित्नु छ ।
तर त्योभन्दा पनि ठूलो कुरा—
मलाई आफ्नो संसार आफैँ बनाउनुछ ।
म ढोकाबाट बाहिर निस्कन्छु ।
डेराको ढोका बन्द गर्छु ।
केही पाइला हिँड्छु ।
फेरि पछाडि फर्केर हेर्छु ।
डेराको झ्यालबाट घाम छिरेको छ ।
त्यो घामले मलाई हात हल्लाइरहेको छ ।
म मुस्कुराउँछु ।
र अगाडि बढ्छु ।
सायद त्यही दिनदेखि मेरो जीवनको यात्रा सुरु भएको थियो ।
तर आज आएर थाहा पाउँछु—
म डेराबाट बाहिर निस्किएको रहेनछु ।
डेरा नै मभित्र बसेको रहेछ ।
मेरो आवाजमा ।
मेरो लेखाइमा ।
मेरो सपनामा ।
मेरो संघर्षमा ।
र मेरो स्मृतिमा ।
त्यसैले आज पनि कसैले मलाई सोध्यो भने—
‘तपाईंको जीवनको पहिलो ठूलो विद्यालय कुन हो ?’
म पद्मोदयको नाम लिन्छु ।
तर यदि कसैले फेरि सोध्यो—
‘जीवनको पहिलो पाठशाला नि ?’
म अलिकति मुस्कुराउँछु ।
केही बेर चुप लाग्छु ।
र भन्छु—
‘मेरो डेरा ।’


