देउखुरी । पद र जिम्मेवारी क्षणिक हुन सक्छन्, तर कामको छाप दीर्घकालसम्म रहिरहन्छ । लुम्बिनी प्रदेश सरकारकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले आफ्नो कार्यकाल सम्पन्न गरी बुधबार मन्त्रालयबाट बिदाइ हुँदा यस्तै अनुभूति मन्त्रालय परिसरमा देख्न पाइयो । मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूले खादा, माला र सम्मानसहित बिदाइ गर्दा वातावरण भावुक बनेको थियो । कतिपय कर्मचारीका आँखामा आँसु झल्किएको दृश्यले मन्त्री चौधरीले छोटो समयमै कर्मचारी र सेवाग्राहीको मन जित्न सफल भएको संकेत गरिरहेको थियो ।
कार्यसम्पादन, योजना निर्माण, टिम परिचालन र विकास आयोजनाको प्रभावकारी कार्यान्वयनका कारण मन्त्री चौधरीलाई मन्त्रालयभित्र मात्र होइन, प्रदेश सरकारकै सफल मन्त्रीमध्ये एकका रूपमा हेरिएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकले पनि त्यसको पुष्टि गरेको छ । कार्यालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा कुल ३ अर्ब २७ करोड १ लाख रुपैयाँ बजेटमध्ये ७७ दशमलव ५२ प्रतिशत पुँजीगत खर्च गर्न सफलता हासिल गरेको छ । प्रदेश सरकारका मन्त्रालयहरूमध्ये यो उपलब्धि उल्लेखनीय मानिएको छ ।
मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयले ऊर्जा, सिँचाइ तथा जलस्रोतका क्षेत्रमा विभिन्न योजनाहरूलाई गति दिएको थियो । विशेषगरी दाङ जिल्लामा सिँचाइ क्षेत्रका लागि उल्लेखनीय बजेट र योजनाहरू भित्र्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । किसानका खेतसम्म पानी पुर्याउने उद्देश्यले अघि बढाइएका योजनाहरूले कृषि उत्पादन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा आशा जगाएको स्थानीयहरूको भनाइ छ ।
बिदाइ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पदभन्दा सेवा ठूलो भएको उल्लेख गरिन् । उनले आफूले मन्त्रालयलाई परिवारका रूपमा लिएर काम गरेको बताउँदै कर्मचारीहरूको सहयोगबिना कुनै उपलब्धि सम्भव नहुने धारणा व्यक्त गरिन् ।
“मन्त्रीका रूपमा मैले कुनै एक व्यक्तिको सफलता खोजिनँ । मन्त्रालयको सफलता नै मेरो सफलता हो भन्ने सोचका साथ काम गरेँ । आज मैले पाएको सम्मान वास्तवमा सम्पूर्ण कर्मचारी, प्राविधिक र सरोकारवालाको मेहनतको सम्मान हो,” उनले भनिन् ।
उनले विकासका योजना कागजमा सीमित नरहून् भन्ने उद्देश्यका साथ कार्यान्वयनलाई प्राथमिकतामा राखेको पनि बताइन् । “जनताले परिणाम देख्न चाहन्छन् । त्यसैले योजना बनाउनेभन्दा पनि त्यसलाई समयमै सम्पन्न गराउने विषयमा मैले विशेष ध्यान दिएँ । जहाँ जहाँ पुग्न सकेँ, त्यहाँ विकासको अनुभूति दिलाउने प्रयास गरेँ,” मन्त्री चौधरीले भनिन् ।
बिदाइ कार्यक्रममा मन्तव्य राख्ने कर्मचारीहरूले मन्त्री चौधरीको कार्यशैलीको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले मन्त्री चौधरी निर्णय क्षमतामा स्पष्ट, कामप्रति प्रतिबद्ध र कर्मचारीमैत्री रहेको बताए । मन्त्रालयका एक कर्मचारीले भने, “उहाँले हामीलाई केवल निर्देशन मात्र दिनुभएन, साथमा उभिएर काम गर्ने वातावरण सिर्जना गर्नुभयो । त्यसैले आजको बिदाइ हाम्रो लागि औपचारिक कार्यक्रम मात्र होइन, भावनात्मक क्षण पनि हो ।”
कार्यकालभर मन्त्री चौधरीले विकास आयोजनाको नियमित अनुगमन, बजेट कार्यान्वयनमा सक्रियता र समन्वयकारी नेतृत्व प्रदर्शन गरेकी थिइन् । त्यसैले उनको बिदाइसँगै मन्त्रालयका कर्मचारीहरूमा एक किसिमको भावनात्मक रिक्तता महसुस भएको देखिन्थ्यो ।
राजनीतिमा पद परिवर्तन स्वाभाविक प्रक्रिया हो । तर केही व्यक्तित्वहरूले आफ्नो कार्यकाललाई उपलब्धि, समर्पण र जनउत्तरदायी काममार्फत स्मरणीय बनाउँछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीको कार्यकाल पनि त्यस्तै स्मरणीय अध्यायका रूपमा स्थापित भएको कर्मचारी र सरोकारवालाहरूको बुझाइ छ ।
बुधबार मन्त्रालयबाट बाहिरिँदै गर्दा फूलका मालाले सजिएकी चौधरीका अनुहारमा सन्तुष्टिको मुस्कान थियो । कर्मचारीहरूका आँखामा सम्मान र बिछोडको भाव मिसिएको थियो । त्यो दृश्यले एउटा सन्देश दिइरहेको थियो—पदमा बसेर होइन, काममार्फत मन जित्न सकिन्छ । मन्त्री चौधरीले आफ्नो कार्यकालमा त्यही मन जित्ने यात्रा पूरा गरेकी छिन् ।

