रित्तिँदै गाउँ, हराउँदै युवा

पाण्डव शर्मा

बिहान सबेरै गाउँको बाटो हिँड्दा पहिले जस्तो चहलपहल अब कमै देखिन्छ । चौतारीमा गफ गर्ने युवाहरू छैनन् । खेतका आलीमा हाँसो मिसिएको काम गर्ने हातहरू हराउँदै गएका छन् । विद्यालय छुट्टी भएपछि खेलमैदान भरिने बालबालिकाको भीड पनि पहिलेभन्दा पातलो छ । गाउँमा अझै घरहरू छन्, आँगनहरू छन्, बारीहरू छन् । तर ती घरका धेरै कोठा बन्द छन् । कतै वृद्ध आमाबुबा मात्रै छन्, कतै साना बालबालिका हजुरबुबा–हजुरआमाको जिम्मामा छन् । अनि कतै घर नै ताला लगाएर परिवार सहर वा विदेशतिर लागेको छ ।
यस्तो दृश्य आज नेपालको एउटा गाउँको मात्र कथा होइन । हिमालदेखि तराईसम्म फैलिएको साझा यथार्थ हो । गाउँमा भेटिने धेरै युवाको सपना अहिले आफ्नै गाउँमा सफल बन्नुभन्दा विदेश पुग्नु भएको छ । कसैलाई जापान पुग्नु छ, कसैलाई कोरिया । कसैको लक्ष्य अष्ट्रेलिया छ भने कसैको गन्तव्य खाडी मुलुक । अहिले गाउँका चिया पसलमा खेती, उत्पादन र गाउँ विकासभन्दा बढी चर्चा भाषा परीक्षाको, भिसाको र विदेश जाने प्रक्रियाको हुने गरेको छ । मानौँ युवाको सफलताको मापन नै विदेश पुग्नु बनेको छ ।

पलायन नयाँ कुरा होइन । मानिसले अवसर खोज्दै एक ठाउँबाट अर्को ठाउँमा सर्ने इतिहास निकै पुरानो छ । तर पछिल्ला वर्षहरूमा नेपालबाट भइरहेको युवा पलायनको गति र स्वरूपले समाजशास्त्री, अर्थशास्त्री र नीति निर्मातालाई गम्भीर प्रश्न सोध्न थालेको छ । आखिर किन आफ्नै देशमा भविष्य देख्ने युवाको सङ्ख्या घट्दै गएको छ ? किन गाउँमा खेत बाँझिँदै छन् ? किन विद्यालयमा विद्यार्थी घटिरहेका छन् ? किन वृद्धवृद्धा दिनप्रतिदिन एक्लिँदै गएका छन् ? यी प्रश्नको उत्तर केवल आर्थिक छैन । यसको उत्तर सामाजिक सम्बन्ध, पारिवारिक संरचना, सांस्कृतिक परिवर्तन र राज्यको विकास नीतिसँग पनि जोडिएको छ ।

नेपालमा युवा पलायनलाई केवल वैदेशिक रोजगारीसँग जोडेर हेर्नु पर्याप्त हुँदैन । आज उच्च शिक्षा अध्ययनका नाममा पनि ठूलो सङ्ख्यामा युवा विदेश गइरहेका छन् । पढाइ सकेपछि धेरैजसो त्यहीँ रोजगारी खोज्ने प्रयास गर्छन् । यसले देशभित्र दक्ष जनशक्तिको अभाव बढाइरहेको छ । अर्कोतर्फ गाउँबाट सहरतर्फको बसाइँसराइ पनि उत्तिकै तीव्र छ । यसरी हेर्दा नेपालले एकै समयमा बाह्य र आन्तरिक दुवै प्रकारको पलायन भोगिरहेको छ ।

मानिसलाई केवल व्यक्तिका रूपमा होइन, समाजको सदस्यका रूपमा हेर्नुपर्छ । त्यसैले कुनै एउटा युवा विदेश जानु व्यक्तिगत निर्णय मात्रै हुँदैन । त्यसले परिवार, छिमेक, समुदाय र अन्ततः राष्ट्रसम्म प्रभाव पार्छ । एउटा घरबाट एक जना युवा बाहिरिँदा त्यो घरको श्रमशक्ति घट्छ । गाउँबाट सयौँ युवा बाहिरिँदा गाउँको उत्पादन घट्छ । देशबाट लाखौँ युवा बाहिरिँदा राष्ट्रको विकासको आधार कमजोर बन्छ । त्यसैले युवा पलायनलाई केवल रोजगारीको विषय भनेर सीमित गर्नु यसको गहिराइलाई बेवास्ता गर्नु हो । युवा पलायनका पछाडि धेरै कारण छन् । सबैभन्दा ठूलो कारण रोजगारीको अभाव हो । पढाइ पूरा गरेपछि आफ्नो योग्यता अनुसारको काम नपाउनु धेरै युवाको साझा अनुभव बनेको छ । काम पाए पनि तलबले जीवन धान्न कठिन हुन्छ । अर्कोतर्फ विदेशमा केही वर्ष काम गर्दा परिवारको आर्थिक अवस्था परिवर्तन हुने उदाहरण गाउँघरमै देखिन्छ । जब एउटै टोलका धेरै व्यक्ति विदेश गएर घर बनाए, ऋण तिरे र आर्थिक रूपमा केही सहज भए, तब बाँकी युवामा पनि विदेश जाने चाहना बढ्नु स्वाभाविक हुन्छ ।

तर समस्या यतिमै सीमित छैन । युवाले केवल पैसा खोजिरहेका छैनन् । उनीहरू सम्मानजनक अवसर, सुरक्षित भविष्य, गुणस्तरीय शिक्षा, व्यवस्थित सेवा र आफ्नो मेहनतको उचित मूल्य खोजिरहेका छन् । जब आफ्नै देशमा ती आधारहरू कमजोर देखिन्छन्, तब विदेश उनीहरूका लागि केवल गन्तव्य होइन, सम्भावनाको प्रतीक बन्न पुग्छ । यही कारणले अहिले नेपालको सामाजिक संरचना बिस्तारै बदलिँदै गएको छ । परिवारको स्वरूप फेरिएको छ । सम्बन्धहरूको प्रकृति परिवर्तन भएको छ । गाउँको जीवनशैलीमा नयाँ खालको शून्यता देखिन थालेको छ । पैसा बढेको हुन सक्छ, तर धेरै घरमा सँगै बसेर खाना खाने सदस्य घटेका छन् । मोबाइलको भिडियो कलले अनुहार देखाउन सक्छ, तर आमाको काख र बाबुको साथको अनुभूति दिन सक्दैन । रेमिटेन्सले घर बनाउन सक्छ, तर परिवारको आत्मीयता किनेर ल्याउन सक्दैन ।

त्यसैले आज सबैभन्दा गम्भीर प्रश्न यो होइन कि कति युवा विदेश गए । प्रश्न त यो हो कि उनीहरू किन जान बाध्य भए ? र अझ ठूलो प्रश्न, के नेपालले आफ्ना युवालाई यहीँ भविष्य देखाउन सक्ने वातावरण बनाउन सकेको छ ? गाउँका धेरै घरमा अहिले एउटा समान दृश्य देख्न सकिन्छ । आँगनमा वृद्ध आमाबुबा घाम तापिरहेका हुन्छन् । उनीहरूको अनुहारमा सन्तान विदेश पुगेको गर्व पनि हुन्छ, तर सँगै एउटा गहिरो एक्लोपन पनि लुकेको हुन्छ । दसैँ–तिहारमा छोराछोरी घर आए भने गाउँ फेरि केही दिनका लागि रमाइलो हुन्छ । उनीहरू फर्किएपछि फेरि घर सुनसान बन्छ । यही सुनसानपन अहिले नेपाली गाउँको नयाँ सामाजिक यथार्थ बनेको छ ।

परिवारलाई समाजको पहिलो र सबैभन्दा महत्त्वपूर्ण संस्था मान्नुपर्दछ । परिवारले केवल जन्म दिने काम मात्र गर्दैन । यसले संस्कार, मूल्य, अनुशासन, माया, जिम्मेवारी र सामाजिक व्यवहार सिकाउँछ । तर जब परिवारका सक्रिय सदस्यहरू लामो समयसम्म टाढा रहन्छन्, तब परिवारको संरचना र सम्बन्ध दुवै परिवर्तन हुन थाल्छन् । बालबालिका आमाबुबाको प्रत्यक्ष स्नेहबाट वञ्चित हुन्छन् । वृद्धवृद्धाले सहाराको अनुभूति गुमाउँछन् । श्रीमान्–श्रीमतीबीचको सम्बन्ध पनि दूरीका कारण अनेक चुनौतीबाट गुज्रिन्छ ।

धेरै बालबालिका अहिले बाबुआमाको अनुहार मोबाइलको पर्दाबाट बढी देखिरहेका छन् । उनीहरूका लागि भिडियो कल सामान्य कुरा बनेको छ । प्रविधिले दूरी घटाएको छ भन्ने गरिन्छ, तर भावनात्मक दूरी भने प्रविधिले पूरा गर्न सक्दैन । बालबालिकाको हुर्काइमा प्रत्यक्ष उपस्थितिको विकल्प अहिलेसम्म कुनै प्रविधिले दिन सकेको छैन । युवा पलायनले कृषि क्षेत्रमा पनि गम्भीर असर पारेको छ । एक समय गाउँका खेतबारी युवाको श्रमले हराभरा हुन्थे । अहिले धेरै ठाउँमा खेत बाँझै छन् । खेती गर्ने जनशक्ति घटेको छ । उत्पादन कम हुँदा खाद्यान्न आयात बढेको छ । कृषि पेशाप्रति आकर्षण घट्दै गएको छ । खेतीलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्न नसक्नु पनि हाम्रो समाजको एउटा कमजोरी हो ।

यसो भन्दैमा युवा विदेश जानु गलत हो भन्न खोजिएको होइन । विदेश गएर धेरै नेपालीले आफ्नो जीवनस्तर सुधार गरेका छन् । उनीहरूले परिवारको आर्थिक अवस्था उकासेका छन् । रेमिटेन्सले नेपालको अर्थतन्त्रलाई ठूलो टेवा दिएको छ । घर बनेका छन् । छोराछोरीले राम्रो शिक्षा पाएका छन् । स्वास्थ्य उपचारमा पहुँच बढेको छ । धेरै परिवार गरिबीबाट माथि उठेका छन् । यी सकारात्मक पक्षलाई अस्वीकार गर्न मिल्दैन ।

रेमिटेन्सले अर्थतन्त्रलाई बलियो बनाएको छ, तर उत्पादनमुखी अर्थतन्त्रको विकास भने अपेक्षाअनुसार हुन सकेको छैन । विदेशबाट आएको पैसा प्रायः उपभोग र अनुत्पादक क्षेत्र घरजग्गामा भएको छ । कमसेकम अहिले विदेशमा रहेका युवाहरूले त्यहाँ कमाएको पैसालाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगाउन सकेको खण्डमा उनीहरूको भविष्य सुनिश्चित हुनेछ । उत्पादन, उद्योग र उद्यममा लगानी गर्ने प्रवृत्ति अझै सीमित छ । त्यसैले रेमिटेन्सले तत्काल राहत दिएको भए पनि दीर्घकालीन विकासको आधार भने बन्न सकेको छैन । युवा पलायनले गाउँको सामाजिक जीवनलाई पनि बदलिदिएको छ । पहिले मेलापात, रोपाइँ, कटाइ, भेला, सांस्कृतिक कार्यक्रम र सामूहिक श्रम गाउँको पहिचान हुन्थ्यो । अहिले त्यस्ता गतिविधिमा सहभागी हुने युवा कम भएका छन् । धेरै परम्परागत सीप र संस्कृति पुस्तान्तरण हुन नसक्ने जोखिम बढेको छ । समाजको सामूहिक भावना विस्तारै कमजोर बन्दै गएको अनुभूति गर्न सकिन्छ ।

यस विषयलाई समाजशास्त्रीय सिद्धान्तबाट हेर्दा अझ स्पष्ट हुन्छ । कार्यात्मकतावादी दृष्टिकोणले समाजका सबै संस्थाले एकअर्कालाई सहयोग गर्दै सामाजिक सन्तुलन कायम राख्ने बताउँछ । जब युवाजस्तो सक्रिय जनशक्ति ठूलो सङ्ख्यामा बाहिरिन्छ, तब परिवार, शिक्षा, कृषि र समुदायजस्ता संस्थाबीचको सन्तुलन प्रभावित हुन्छ । त्यसैले युवा पलायन केवल जनसङ्ख्याको स्थानान्तरण मात्र होइन, सामाजिक संरचनामा आएको परिवर्तन पनि हो ।

द्वन्द्ववादी दृष्टिकोणले भने अवसरको असमान वितरणलाई मुख्य कारण मान्छ । जब शिक्षा प्राप्त गरेपछि पनि योग्यताअनुसारको अवसर पाइँदैन, जब श्रमको उचित मूल्य दिइँदैन, जब पहुँच र शक्तिका आधारमा अवसर बाँडिन्छन्, तब युवाले आफ्नो भविष्य अन्यत्र खोज्नु स्वाभाविक हुन्छ । त्यसैले युवा पलायनलाई व्यक्तिगत रोजाइ मात्र नभई संरचनागत असमानताको परिणामका रूपमा पनि बुझ्न आवश्यक छ । यही कारणले आजको आवश्यकता युवालाई विदेश जानबाट रोक्ने होइन, उनीहरूलाई आफ्नै देशमा बस्न मन लाग्ने वातावरण निर्माण गर्नु हो । रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन, कृषि आधुनिकीकरण, सीपमूलक शिक्षा, पारदर्शी शासन, लगानीमैत्री वातावरण र श्रमको सम्मानजस्ता कदमले मात्र युवामा विश्वास जगाउन सक्छ । जब देशभित्र अवसर बढ्छ, तब विदेश जाने बाध्यता स्वतः घट्दै जान्छ ।

नेपालका युवामा क्षमता, सिर्जनशीलता र ऊर्जा कुनै कमी छैन । कमी छ त उनीहरूलाई विश्वास दिलाउने वातावरणको । आज आवश्यकता युवालाई दोष दिने होइन, उनीहरूको सपना बुझ्ने हो । उनीहरूलाई देशमै सम्भावना देखाउने हो । किनकि युवा केवल परिवारका सदस्य होइनन् । उनीहरू राष्ट्रको वर्तमान पनि हुन् र भविष्य पनि । नेपालको समृद्धिको सपना सडक, भवन र पुलले मात्र पूरा हुँदैन । त्यो सपना तब पूरा हुन्छ, जब देशका युवाले आफ्नै माटोमा भविष्य देख्न थाल्छन् । जब गाउँका चौतारी फेरि युवाको हाँसोले गुञ्जिन्छन् । जब बाँझिएका खेत फेरि हरियालीले भरिन्छन् । जब वृद्ध आमाबुबाले सन्तानको आवाज मोबाइलबाट होइन, आफ्नै आँगनबाट सुन्न पाउँछन् ।

युवा पलायनको बहस विदेश जाने वा नजाने बहस होइन । यो त नेपाल कस्तो बनाउने भन्ने बहस हो । यदि हामीले युवालाई अवसर, सम्मान र भरोसा दिन सक्यौँ भने पलायन बाध्यता रहनेछैन, विकल्प बन्नेछ । अनि त्यो दिन नेपालको भविष्य खोज्न युवाले विदेशतिर होइन, आफ्नै क्षितिजतिर हेर्न थाल्नेछन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *