घोराहीमा गठबन्धनले अत्याधिक मतले विजय हासिल गर्ने छ

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हेमराज शर्मा पोख्रेल यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन्। सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार भएका पोख्रेल चुनावी अभियान शुरु भएसँगै आफ्नो जित सुनिश्चित भइसकेको दावी गर्छन्। उनको दावी अनुसार गठबन्धनमा आबद्ध दलहरुको घोराहीको जनआधार, गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका उम्मेदवारहरुको लोकप्रियता र विपक्षी गठबन्धनका उम्मेदवारहरुले विगतमा जनतासँग गरेका वाचा पूरा नगरेको हुँदा आफूहरुलाई मतदाताले यसपटक अवसर दिने बताउँछन्।

वि.सं. २०३१ साउन ५ गते दाङदेउखुरीमा जन्मिएका पोख्रेल कक्षा ७ मा पढ्दादेखि नै तत्कालीन अनेरास्ववियू (दशौं) मा संगठित भई राजनीतिक जीवनको शुरुवात गरेका थिए। आफूलाई सहिद कृष्ण सेन ‘इच्छुक’ले विद्यार्थी संगठनमा आबद्ध गराई राजनीतिक यात्रामा सहभागी गराएको बताउने पोख्रेल सेनलाई आफ्नो राजनीतिक गुरुको रुपमा सम्मान गर्छन्। २०४८ सालमा एसएलसी उत्तीर्ण गरी घोराहीको महेन्द्र बहुमुखी क्याम्पसबाट बि.कम. पूरा गरेका उनले राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेका छन्।

डायमण्ड उपनामले परिचित उनी २०५३ सालदेखि नै माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ताका रुपमा सहभागी भएका थिए। २०५५ सालमा नेकपा माओवादी दाङ जिल्ला सदस्य, २०५९ मा जिल्ला सेक्रेटरी हुँदै २०६० देखि २०६६ सालसम्म दाङको जिल्ला इन्चार्ज र क्षेत्रीय व्यूरोको जिम्मेवारी सम्हालेका उनी २०६६ देखि माओवादी क्षेत्रीय व्यूरो, केन्द्रीय सदस्य र पोलिटव्यूरो सदस्यसम्मको जिम्मेवारी पनि सम्हालेका थिए। गत पुसमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी स्थानीय तह निर्वाचन २०७९ मा दाङको घोराही उपमहानगरपालिकामा प्रमुख (मेयर) पदमा उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा निर्वाचनमा होमिएका उनै डायमण्डसँग निर्वाचनकै सन्दर्भमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ-

चुनावको घोषणा भएको धेरैपछि मात्र तपाई घोराहीमा मेयरको उम्मेदवारका रुपमा अगाडि आउनुभयो। पहिलेदेखि नै मेयरको तयारीमा हुनुहुन्थ्यो कि?

म २०४८ सालमा भरतपुर क्याम्पसमा पढ्न भर्ना भएदेखि यता ३० वर्षदेखि घोराहीमा बसोबास गर्दै आएको छु। जनयुद्धको समयमा पनि घोराहीका विभिन्न गाउँका बस्तीका जनतासँग एकाकार भएर काम गर्दै आएको हुँ। २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनमा घोराहीकै भूगोलमा बसेर नेपाली कांग्रेससहितका राजनीतिक दलसँग संवाद र छलफल गर्दै जनआन्दोलन परिचालनको भूमिका पूरा गरिएको हो। पहिलो र दोस्रो संविधान सभा निर्वाचन, संविधान निर्माण सम्पन्न भएपछिको स्थानीय, संघ र प्रदेश तहको निर्वाचनमा पनि यही भुगोलमा रहेर निर्वाचन परिचालनको भूमिका पूरा गरेको हुँ। म विद्यार्थीका रुपमा संगठनमा काम गर्दा, जनयुद्धमा सहभागी रहँदा र शान्ति प्रक्रिया सुरु भएयता राजनीतिमा क्रियाशील रहँदा सधैं मेरो मनमा घोराहीसहित सिंगो दाङको विकास कसरी गर्ने, यहाँका जनतालाई कसरी सुख र खुशी दिने भन्ने वियषमा सोचिरहन्थें।

पार्टी र आन्दोलनमा जोडिएकाले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा सर्वसम्मत मेयर पदमा सिफारिस भएपछि गठबन्धन दलहरुको समेत समर्थनमा उम्मेद्वार बनेको हुँ। पहिलेदेखि नै मेयर तयारीमा नभए पनि गठबन्धनले घोराही उपमहानगरपालिकाको मेयर उम्मेद्वार बनाएर उपहानगरपालिकाको विकास र समृद्धिका साथै जनसेवा गर्ने अवसर दिएकोमा म आभार प्रकट गर्दछु। आम मतदाताज्यूहरुमा एक पटक मलाई अमूल्य मतदान गरेर सेवा गर्ने अवसर दिनु हुनेछ भन्ने आग्रह गर्दछु। म मेयरमा निर्वाचित भएमा मेरो क्षमता र दक्षतालाई पूर्ण रुपमा लगाउने र यहाँको विकास र समृद्धि एवम् जनताको हितका पक्षमा दृढतापूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु।

घोराही उपमहानगरमा तपाईका चुनावी एजेण्डाहरु के कस्ता छन् ?

घोराही उपमहानगरपालिकामा साझा गठबन्धनको तर्फबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यसम्मको सिंगो टिम नै अघि सारिएको छ। हामीले संस्थागत रुपमै हाम्रो टिमको साझा प्रतिबद्धता पत्र आम मतदातासमक्ष सार्वजनिक गरिसकेका छौं। मतदाताहरुले दिएका सुझावसमेत समेटेर तयार पारिएको साझा चुनावी प्रतिबद्धता पत्रमा घोराही उपहानगरपालिकामा कृषिलाई आधुनिकीकरण, गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीको ग्यारेण्टी, नागरिक स्वास्थ्यमा स्थानीय सरकारको जिम्मेवारी, वडा वडासम्म उद्योग, दिगो विकासका लागि सडक पूर्वाधार, स्वस्थ खानेपानी, वैज्ञानिक भू-उपयोग तथा व्यवस्थित सहरी विकासको योजना अघि सारेका छौं।

यसैगरी पर्यटन क्षेत्रको विकासका लागि नगरस्तरीय योजना, स्थानीय कला-संस्कृति, भाषा र मौलिक पहिचानका लागि विशेष योजना र अभियान, सुशासन र भ्रष्टाचारमुक्त घोराही, सार्वजनिक सेवामा सहज नागरिक पहुँच, जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि स्थानीय सरकारको जिम्मेवारी, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक वर्ग समुदायका लागि विशेष अधिकार, स्वास्थ्य र राहत व्यवस्थाको लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने हाम्रो प्रतिबद्धता छ।

यसैगरी युवा र खेलकूदको विकास, सूचना तथा सञ्चारको विकास, घोराहीलाई हिलो धुलोमुक्त नगरका रुपमा विकास गर्ने, स्थानीय तहका वडा र टोलसम्म कालोपत्रे सडक र सहज यातायात पहुँचको व्यवस्था, अति विपन्न, मजदुर, गरिब किसान, बृद्धबृद्धा, एकल महिलाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने योजना छ। यस्तै कृषकहरुलाई कृषक परिचय पत्र, मल बिउको सहज व्यवस्था, कृषक पेन्सनकोे व्यवस्था गरिने छ। विद्युत र खानेपानी निःशुल्क गर्ने हाम्रो एजेण्डा छ।

यसैगरी चोक चोकसहित सार्वजानिक स्थलमा फ्री इन्टरनेट, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ र विशेषज्ञ चिकित्सक अध्ययन सञ्चालन गर्ने र सरकारी विद्यालय तथा अस्पतालहरुलाई सुविधा सम्पन्न गराउने र नगर स्तरीय सरकारी अस्पताल सञ्चालन गर्ने योजना छ । हाम्रा सबै एजेण्डाहरु साझा प्रतिबद्धता पत्रमा उल्लेख गरिएकाले एक पटक हाम्रो प्रतिवद्धता पत्र अध्ययन गरिदिनु हुन आग्रह गर्दछु।

तपाईहरुले उठाएका यी एजेण्डाले घोराहीवासीको समस्या सम्बोधन हुन्छ त ?

अवश्य हुन्छ। हामीले विगत लामो समयदेखि घोराहीवासीका समस्यासँग साक्षात्कार गर्दैै आइरहेका छौं। यहाँका मुख्य समस्यालाई आधार बनाएर एजेण्डा तय गरिएका हुन्। कृषिको विकासमा जोड दिएर तय गरिएका हाम्रा एजेण्डा कार्यान्वयन हुँदा घोराहीको आर्थिक विकास, सामाजिक न्याय र सुरक्षा, सुशासन र जनताको सेवामुखी प्रसासन, सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जना हुनेछ । हामी निर्वाचित भएसँगै हामीले घोराही उपमहानगरलाई समुन्नत र विकसित घोराहीमा बदल्न कुनै कसर बाँकी राख्ने छैनौं।

लोकप्रिय चुनावी एजेण्डा र योजनाहरु अघि सार्नुभयो ? तर गठबन्धनले घोराहीमा जित्ने आधारचाहिँ के-के हुन् ?

घोराही उपहानगरपालिकामा गठबन्धनमा आबद्ध रहेका राजनीतिक दलहरुको जनआधार नै हाम्रो जित्ने पहिलो आधार हो। यस अघिको निर्वाचनमा हामीले प्राप्त गरेको मत संख्या मात्रै आधार मान्ने हो भने पनि हामी १२ हजारभन्दा बढी मतान्तरले विजयी हुन्छौं। यसअघिको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी र जनमोर्चाले ल्याएको मत मात्रै हेर्ने हो भने पनि हामी फराकिलो अन्तरले जित्छौं। यसबाहेक केही समय अघि मात्रै नेकपा (एमाले) मा विभाजन हुनु र घोराहीका धेरै नेता कार्यकर्ताहरु एमालेबाट विभाजित पार्टी नेकपा (एकीकृत समाजवादी) मा लाग्नुले हाम्रो प्रतिष्पर्धी दल एमालेको मत विगतको भन्दा स्वतः कम हुन्छ।

यसबाहेक हामीले उठाएका एजेण्डा र अघि सारेका उम्मेद्वारका अनुहार नै हाम्रो जितको अर्काे आधार हो। यसैगरी संघ, प्रदेशमा गठबन्धनको सरकार छ। स्थानीय तहमा पनि गठबन्धनकै सरकार हुँदा हाम्रो सहज पहुँच हुन्छ, विकासका लागि पर्याप्त बजेट लिन सकिन्छ। केन्द्र र प्रदेशको बजेट नआउने हो भने यहाँ हामीले चाहेजतिको विकास र समृद्धि हुँदैन। त्यसैले केन्द्र र प्रदेशमा जसरी गठबन्धनको संयुक्त सरकार छ, त्यसरी नै घोराहीमा पनि गठबन्धनको सरकार निर्माण गर्नुपर्छ भन्ने जनमत देखिन्छ।

त्यसैगरी यसअघि घोराहीमा नेतृत्व गर्नुभएका मेयरलाई नै एमालेले पुनः उम्मेद्वार उठाएको हुनाले उहाँ एकपटकको परीक्षणमा आफूले यसअघि गरेका चुनावी बाचाहरु पूरा गर्न असफल भइसक्नु भएको छ। घोराहीवासी आम स्वतन्त्र मतदाताहरुले छिटो छिटो घोराहीको विकास गर्ने नयाँ अनुहारलाई बिजयी बनाउन आतुर हुनुहुन्छ। यी सबै आधारमा भन्दा घोराहीमा हाम्रो जित सुनिश्चित भइसकेको छ। हाम्रो गठबन्धनले घोराहीमा राजनीतिक रुपमा मात्र होइन, चुनावी दौडमा पनि जित हासिल गरिसकेको छ, अव मात्र प्राविधिकरुपमा चुनावी प्रक्रिया पूरा गर्नु बाँकी छ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि तपाईको चुनावी प्रचारप्रसारको अभियान कसरी चलेको छ?

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनले घोराही उपहानगरपालिकाको मेयर पदमा मलाई र उप-मेयर पदमा भुपबहादुर डाँगीसहित वडा तहसम्म नै साझा उम्मेद्वार अघि सारेको छ। हाम्रो चुनावी प्रचारका लागि पनि हामीले व्यक्तिगत रुपमा नभई गठबन्धनले तय गरेको चुनावी योजना र प्रचार कार्यक्रममा साझा ढंगले सहभागी भइरहेका छौं। चुनावी प्रचारका क्रममा हरेक मतदाता र शुभेच्छुकहरुको घरदैलोमा पुग्न नसके पनि गाउँ टोलमा हुने चुनावी कार्यक्रममा सरिक भई उम्मेद्वारहरुले साझा योजनासहितको प्रतिबद्धता पत्र प्रस्तुत गरी उहाँहरुका समेत सुझाव लिदै अघि बढिरहेका छौं।

तर, तपाईहरुको पार्टी र गठबन्धनभित्र आन्तरिक विवाद छ भन्ने सुनिन्छ, त्यसलाई कसरी समाधान गर्नुहुन्छ ?

गठबन्धनमा रहेका दलहरुभित्र थुप्रै सक्षम र योग्य नेता कार्यकर्ताहरु हुनुहुन्छ। सुरुमा उम्मेद्वार चयन गर्ने क्रममा कसलाई उम्मेदवार बनाउँदा उचित हुन्छ भनेर बहस हुनु, साथीहरुले मतहरु राख्नु स्वभाविकै हो। घोराहीका मेयर र उपमेयर दुवै पदमा सर्वसम्मत रुपमा उम्मेदवारी चयन भएपछि यहाँ कुनै विवाद छैन। सबै एकढिक्का भएर प्रचार प्रसारमा लाग्नुभएको छ। पहिले असन्तुष्ट भएका साथीहरु पनि हामीसँगको छलफलपछि काममा फर्कनुभएको छ। उम्मेदवारी चयन भइसकेपछि मेयर र उपमेयरका उम्मेदवारहरुका बारेमा एक जनाले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छैन।

यसअघि मेयरको उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता भुपबहादुर डाँगी अहिले उपमेयरमा उम्मेदवार हुनुहुन्छ। हाम्रो संयुक्त गठबन्धनलाई जिताउन दुवै पार्टीका नेता र कार्यकर्ताहरु सबै एकतावद्ध भएर लागिरहनु भएको छ। हामी चुनावी अभियानमा अघि बढिसकेपछि पार्टीका सदस्य र शुभेच्छुकको दायित्व पार्टीका उम्मेदवार जिताउने हो। यस्तो बेला वादविवाद गरेर समय खेर फाल्ने समय हाम्रा नेता कार्यकर्ताहरुलाई छैन। चुनाव सकेपछि हामीले समीक्षा गर्नेछौं। केही गल्ती भएको रहेछ भने त्यसबाट शिक्षा लिने छौं। अहिले हामीले खासै विवाद छैन। पार्टीनिकट साथीहरुले निर्णय विपरित हाल्नुभएका उम्मेदवारी पनि फिर्ता लिइरहनु भएको छ। अझै केही असन्तुष्टि रहेछन् भने पनि मतदान गर्नु अघिसम्म समाधान हुन्छ भन्ने विश्वास छ।

तपाईहरु अघिल्लो निर्वाचनमा झै एक्लै चुनावमा नगएर किन गठबन्धन गर्नुभयो? केन्द्रबाटै गठबन्धन गर्दा देशका ६ मध्ये ३ महानगरपालिका र ११ मध्ये ७ उप महानगरपालिका नेपाली कांग्रेसलाई मेयरको उम्मेदवार दिएर माओवादी भरतपुर महानगर, घोराही र जितपुरसिमरा उपमहानगर गरी ३ वटामा मात्रै सीमित हुनुपर्ने बाध्यता किन आइप¥यो?

तपाईलाई थाहै छ, अघिल्लो पटकको स्थानीय तह निर्वाचनपछि संघ र प्रदेशको चुनावमा माओवादी र एमालेबीच सहकार्य र पार्टी एकता नै गरेर नेकपा बन्यो। माओवादीको बलमा एमाले अध्यक्ष केपी ओली दुई तिहाइ मतसहित नेकपाबाट प्रधानमन्त्री हुनुभयो। ७ प्रदेशमध्ये ६ प्रदेश नेकपाकै सरकार थियो। तर केपी ओलीले लोकतान्त्रिक मूल्यमान्यता विपरित चल्नुभयो। मिडिया विधेयक, गुठी विधेयक, मानव अधिकार विधेयकसहित काला कानूनहरु संसदमा पेश गर्न थाल्नुभयो। अध्यादेश जारी गरेर संवैधानिक हकमा अंकुश लगाउनु भयो। जनताका अधिकार र मौलिक हकमा लात हान्नुभयो। संवैधानिक आयोगमा अध्यादेशबाट नियुक्ति गर्नुभयो। त्यसको विरोध गर्दा संसद विघटन गर्नुभयो। पार्टीको बहुमतले विरोध गरेपछि पार्टी नै फुटाउनु भयो। अदालतले संसद विघटनलाई गैर संवैधानिक ठहर गरेपछि पनि फेरि संसद विघटन गर्नुभयो। यस्तो अवस्थामा केपी ओलीको गैरसंवैधानिक गैर लोकतान्त्रिक कार्यको विरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादीसहितका दलहरुको बीच गठबन्धन बन्यो। सोही गठबन्धनको आन्दोलन समेतको बलमा ओलीलाई सत्ताबाट खसालियो। अहिलेको गठबन्धन लोकतन्त्र जोगाउन र संविधानको रक्षाका लागि बनेको हो। प्रतिगामी केपी ओली प्रवृत्तिलाई निर्वाचनमार्फत् परास्त गर्न चाहेका हौं। पार्टी केन्द्रले निश्चित मापदण्ड बनाएर तालमेल गरेको छ। त्यसलाई गठबन्धनको सच्चा सिपाहीको हैसियतले इमान्दारीतापूर्वक पालना गर्छौं। अहिले बहस कसले कति र कुन पद पायो भन्ने होइन। हामी गठबन्धनका साझा उम्मेद्वार सबैको जित नै प्रतिगमनविरुद्धको जित हो।

तपाईहरु निर्वाचित भएपछि आगामी पाँच वर्षमा घोराही कस्तो बन्ला त ?

धेरै महत्वपूर्ण प्रश्नका लागि तपाईलाई धन्यवाद! हामी घोराहीवासीको भाग्य र भविष्य बदल्न उम्मेद्वार बनेका हौं। हामीसँग आगामी पाँच वर्षमा घोराहीलाई कस्तो बनाउने भन्ने स्पष्ट योजनासहितको खाँका छ । हाम्रो जितपश्चात् दिनरात नभनी घोराहीवासीको सेवा र यहाँको विकासका लागि खटिने छौं।

कार्यालय विदाका दिन तपाई मतदाताहरुकै घर घरमा आएर तपाईका समस्या के छन् र हामीलाई सुझाव के छ भनेर बटुल्ने छौं, अनि त्यसै आधारमा काम गर्नेछौं। हामीले घोराहीको मुहार फेर्ने वाचा गरेका छौं, त्यो पूरा गरेरै छोड्ने छौं । हामीलाई यसपटक मौका दिनुहोस्, पाँच वर्षपछि तपाईले देशको सबैभन्दा ठूलो यो उपमहानगर घोराहीलाई नेपालको सबैभन्दा नमूना उपमहानगरपालिकाका रुपमा पाउनु हुनेछ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *