हामीले पाँच वर्षमा घोराहीको मुहार फेर्ने छौं : हेमराज शर्मा पोख्रेल

हेमराज शर्मा पोख्रेल

मेयरका उम्मेदवार

आसन्न स्थानीय निर्वाचनका लागि घोराही उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र, राजमो नेपालसहित ५ दलीय गठबन्धनले मेयर पदमा हेमराज शर्मा पोख्रेल (डायमण्ड)लाई उम्मेदवार बनाएको छ । घोराही वडा नं १५ का स्थायी बासिन्दा हेमराज पोखरेल २०३१ साल साउन ५ गते जन्मनुभएको हो । 


२०४४ सालमा कक्षा ७ मा अध्ययन गर्दै गर्दा १३ वर्षको उमेरमै तत्कालीन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (दशौ) मा आबद्ध भई आफ्नो राजनीतिक यात्रा आरम्भ गर्नुभएका मेयर पदका उम्मेदवार शर्माले २०४८ सालमा एसएलसी उत्तीर्ण गरेपछि घोराही नगरको महेन्द्र बहुमुखी क्याम्पसबाट बि.कम.सम्मको अध्ययन पूरा गर्नुभयो ।

२०५३ सालदेखि माओवादी जनयुद्धमा पूर्णकालिक कार्यकर्ताकारुपमा सहभागी भई भूमिगत हुनुभएका शर्माले २०५५ सालमा जनयुद्धरत नेकपा माओवादीको जिल्ला सदस्यको जिम्मेवारी पाउनुभयो । २०५९ सालमा जिल्ला सेक्रेटरी हुँदै २०६० देखि २०६६ सालसम्म तत्कालीन नेकपा माओवादी केन्द्र दाङको जिल्ला इन्चार्ज र क्षेत्रीय ब्युरोको जिम्मेवारी सम्हाल्नुभयो

२०६६ सालदेखि माओवादीमा क्षेत्रीय व्यूरो, केन्द्रीय सदस्य र पोलिटव्यूरो सदस्यसम्मको जिम्मेवारी सम्हाल्नुभएका शर्मा माओवादीको गत पुसमा सम्पन्न केन्द्रीय महाधिवेशनबाट निरन्तर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । राजनीतिक कर्मसँगै शर्माले सामाजिक सेवा र अध्ययनलाई समेत निरन्तरता दिदै राजनीतिक शास्त्रमा स्नातकोत्तर तह समेत उत्तीर्ण गरिसक्नुभएको छ । 


मओवादी आन्दोलनभित्र अत्यन्तै लोकप्रिय छवि बनाउनु भएका तर बाहिर चर्चामा आउन नरुचाउने अत्यन्तै शालिनी, भद्र, मिलनसार र बौद्धिक व्यक्तित्व हेमराज शर्मासँग हामीले उहाँको मेयर पदमा उम्मेदवारी, गठबन्धनको औचित्य, घोराहीका लागि अघि सारेका योजनाहरू लगायत समसामयिक विषयमा केन्द्रित भएर कुराकानी गरेका छौं । यहाँ प्रस्तुत छ घोराहीका मेयरका उम्मेदवार हेमराज शर्मासँगको कुराकानीको सार संक्षेप ।

बैशाख ३० गते चुनावको घोषणासँगै तपाई एकाएक घोराहीमा मेयरको उम्मेदवारकारुपमा अगाडि आउनु भयो । पहिलेदेखि नै मेयरको तयारीमा हुनुहुन्थ्यो र ?

म २०४८ सालमा भरतपुर क्याम्पसमा पढ्न भर्ना भएदेखि यता ३० वर्षदेखि घोराहीमा बसोबास गर्दै आएको छु । जनयुद्धको समयमा पनि घोराहीका विभिन्न गाउँका बस्तीका जनतासँग एकाकार भएर काम गर्दै आएको हुँ ।

२०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनमा घोराहीकै भूगोलमा बसेर नेपाली कांग्रेससहितका राजनीतिक दलसँग संवाद र छलफल गर्दै जनआन्दोलन परिचालनको भूमिका पूरा गरिएको हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचन, संविधान निर्माण सम्पन्न भएपछिको स्थानीय, संघ र प्रदेश तहको निर्वाचनमा पनि यही भुगोलमा रहेर निर्वाचन परिचालनको भूमिका पूरा गरेको हु ।

म विद्यार्थीकारुपमा संगठनमा काम गर्दा, जनयुद्धमा सहभागी रहँदा र शान्ति प्रक्रिया सुरुभए यता राजनीतिमा क्रियाशील रहँदा सधै मेरो मनमा घोराहीसहित सिंगो दाङको विकास कसरी गर्ने, यहाँका जनतालाई कसरी सुख र खुशी दिने भन्ने वियषमा सोचिरहन्थे । 


पार्टी र आन्दोलनमा जोडिएकाले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा सर्वसम्मत मेयर पदमा सिफारिस भएपछि गठबन्धन दलहरुको समेत समर्थनमा उम्मेद्वार बनेको हुँ ।

पहिलेदेखि नै मेयर तयारीमा नभएपनि गठबन्धनले घोराही उपमहानगरपालिको मेयर उम्मेद्वार बनाएर उपहानगरपालिका विकास समृद्धिका साथै जनसेवा गर्ने अवसरमा दिएकोमा म आभार प्रकट गर्दछु । मेयरको रुपमा मेरो क्षमता र दक्षतालाई पूर्ण रुपमा लगाउने प्रतिवद्धता समेत व्यक्त गर्दछु । 

आसन्न स्थानीय तहको निर्वाचनका लागि तपाईको चुनावी प्रचारप्रसारको अभियान कसरी चलेको छ ?


बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस , नेकपा माओवादी केन्द्र सहितको पाँच दलिय गठबन्धनले घोराही उपहानगरपालिकाको मेयर पदमा मलाई उप–मेयर पदमा भुपबहादुर डाँगी ज्यू सहित वडातहसम्म साझा उम्मेद्वार अघि सारेको छ ।

हाम्रो चुनावी प्रचारका लागि पनि हामीले व्यक्तिगत रुपमा नभई गठबन्धनले तय गरेको चुनावी योजना र प्रचार कार्यक्रममा साझा ढंगले सहभागी भइरहेका छौं ।

बैशाखमा १५ गतेदेखि वडा नंं. ६ देखि चुनावी प्रचारप्रसार अभियान थालनी गरी अघि बढेका छौं । चुनावी प्रचारका क्रममा हरेक मतदाता र शुभेच्छुकहरुको घरदैलोमा पुग्न नसके पनि उहाँहरुले हामीले उठाएका एजेण्डाका आधारमा मतदान गरिदिनु हुनेछ ,भन्नेमा विश्वस्त छौं ।

हरेक मतदाताहरुको घरदैलोमा नभएपनि गाउँ टोलमा हुने चुनावी कार्यक्रममा सरिक भई उम्मेद्वारहरुले साझा योजना सहितको प्रतिबद्धता पत्र प्रस्तुत गरी  उहाँहरुका समेत सुझाव लिदै अघि बढिरहेको छौं । 

उसो भए , साझा गठबन्धनको चुनावी एजेण्डाहरु के छन् ? 


हामीले हाम्रो साझा प्रतिबद्धता पत्र आम मतदाता समक्ष चुनावी कार्यक्रम मार्फत प्रस्तुत गरिसकेका छौं । मतदाताहरुले साझा चुनावी प्रतिबद्धता प्रस्तुत गरेपछि दिने सल्लाह सुझावलाई समेत समेटर अघि बढिरहेका छौं । अहिले हामीले घोराही उपहानगरपालिकाको विकास र समृद्धिका लागि केही विषयवस्तु प्राथामिक्तामा राखेका छौं ।


गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारी , स्वस्थ्य जीवनका लागि स्थानीय सरकार, वडा वडासम्म उद्योग, दिगो विकासको आधार सडक पूर्वाधार , पानी जीन्दगानी नगरको लगानी, बैज्ञानिक भू–उपयोग तथा व्यवस्थित शहरी विकासको योजना अघि सारेका छौं  ।

यसैगरी पर्यटन क्षेत्रको विकास लागि नगर स्तरीय योजना, स्थानीय कला–संस्कृति, भाषा र मौलिक पहिचानको लागि विशेष योजना र अभियान, भष्ट्राचार मुक्त घोराही , सार्वजानिक सेवामा सहज नागरिक पहँुच, जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, र रोजगारीका लागि स्थानीय सरकारको जिम्मेवारी , जेष्ठ नागरिक, महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक वर्ग समुदायका लागि विशेष अधिकार र राहात व्यवस्थाको लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने हाम्रो प्रतिबद्धता छ ।

यसैगरी युवा र खेलकूदको विकास सुचना तथा सञ्चारको विकास , घोराहीलाई हिलोधुलो मुक्त नगरका रुपमा विकास गर्ने , स्थाानीय तहको केन्द्रसँग बाह्र महिना सबै वडाहरुको सहज यातायात पहुँचको व्यवस्था, अति विपन्न, मजदुर, गरिव किसान, बृद्धबृद्धा, एकल महिलाहरुलाई निःशुल्क स्वास्थ्य उपचार, विद्युत र खानेपानी निःशुल्क व्यवस्था गरिने छ । त्यस्तै कृषकहरुलाई कृषक परिचय पत्र, मल बिउको सहज व्यवस्थापन, कृषक पेन्सनकोे व्यवस्था गरिने छ ।

यसैगरी चोक चोक सार्वजानिक स्थलमा फ्रि इन्टरनेट, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ र विशेषज्ञ चिकित्सक अध्ययन सञ्चालन गर्ने र सरकारी विद्यालय तथा अस्पतालहरुलाई सुविधा सम्पन्न गराउने र नगर स्तरीय सरकारी अस्पताल सञ्चालन गर्ने योजना छ । विस्तृत साझा एजेण्डाहरु साझा प्रतिबद्धता पत्रमा उल्लेख गरिएकोले एक पटक हाम्रो प्रतिवद्धा पत्र अध्ययन गरिदिन हुन सबै उपहानगरवासीहरुमा अनुरोध गर्दछु ।

चुनावी एजेण्डा र योजनाहरु अघि सार्नुभयो ?  गठबन्धनले घोराहीमा जित्ने आधार के– के हुन् ? 
घोराहीमा उपहानगरपालिकामा गठबन्धनमा आबद्ध रहेका राजनीतिक दलहरुको जनाधार र कार्यकर्ताहरु नै हाम्रो जित्ने पहिलो आधार हो । यस अघिको निर्वाचनमा हामीले प्राप्त गरेको मत संख्या मात्रै आधार मान्ने हो भन्ने हामीले दश हजारभन्दा बढि मन्तातरले बिजयी हुन्छौं । यस बाहेक हामीले उठाएका एजेण्डा र अघि सारेका उम्मेद्वार अनुहार नै हाम्रोको अर्काे आधार हो । यसै गरी संघ, प्रदेशमा पनि गठबन्धनको सरकार छ ।

स्थानीय तहमा गठबन्धनको सरहकार नहुने हो भने , यहाँ चाहेजतिको विकास र समृद्धि घोराही उपहानगरपालिका हुन सक्दैन । त्यसैले केन्द्र र प्रदेशमा जसरी गठबन्धनको संयुक्त सरकार छ । त्यसरी नै घोराही पनि हामीले गठबन्धनको संयुक्त सक्षम नेतृत्वको सरकार भएमा केन्द्र र प्रदेश सरकारवाट पनि विकासका योजनाहरू प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी यस अघि घोराहीमा नेतृत्व गर्नुभएका मेयरलाई नै पुनः उम्मेद्वार उठाएको हुनाले उहाँ एक पटकको परिक्षणमा असफल भइसक्नु भएको छ । उहाँले गरेको चुनावी बाचाहरु पुरा गर्न नसक्नु भएकोले घोराहीवासी आम स्वतन्त्र मतदाताहरुले हामीलाई बिजयी बनाउन आतुर हुनुहुन्छ  । 

 तपाईहरुले उठाएका एजेण्डाले घोराही वासीको समस्या सम्बोधन गर्दछ तँ ?

’अवश्य गर्छ , हामीले बिगत लामो समयदेखि घोराहीवासीको समस्यासँग साक्षात्कार गर्दैै आइरहेका छौं ।

यहाँको मुख्य समस्या भनेकै हामीले उठाएका एजेण्डाहरु हुन् । जसलाई हाम्रो आवश्यक भएको महसुस गरेका छौं । माथि उल्लेख गरेको योजना र एजेण्डाहरु जस्तै ःसडक पुर्वाधार, स्वास्थ्य, शिक्षा बिजुली , खानेपानी कृषि र रोजगार लगायत समस्या नै घोराहीको मुख्य समस्या हो । हामी निर्वाचित पश्चात हाम्रो कार्यकालमा जनतालाई यि समस्या मुक्त गर्दै ‘समुन्नत घोराही र खुसी घोराही’ को सपना पुरा गर्नेछौं । 

तर, तपाईहरुको पार्टी र गठबन्धनभित्र आन्तरिक विवाद छ भन्ने सुनिन्छ त्यसलाई कसरी समाधान गर्नुहुन्छ ? 

 घोराहीको गठबन्धनमा रहेका दलहरुको पार्टीमा विशाल कार्यकर्ता पङ्ती छ । थुप्रै सक्षम र योग्य नेता कार्यकर्ताहरु हुनुहुन्छ । सुरुमा उम्मेद्वार चयन गर्ने क्रममा कसलाई उम्मेदवार बनाउदा उचित हुन्छ भनेर बहस हुनु, साथीहरुले मतहरु राख्नु स्वभाविकै हो ।

घोराहीका मेयर र उपमेयर दुवै पदमा सर्वसम्मत् रुपमा उम्मेदवारी चयन भएको छ । उम्मेदवारी चयन भइसकेपछि मेयर र उपमेयरका उम्मेदवारहरुका वारेमा एक जनाले पनि असन्तुष्टी व्यक्त गर्नुभएको छैन । यस अघि मेयरको उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता भूपबहादुर डाँगी अहिले उपमेयरमा उम्मेदवार हुनुहुन्छ ।

हाम्रो संयुक्त गठबन्धनलाई जिताउन दुवै पार्टीका नेता र कार्यकर्ताहरु सबै एकतावद्ध भएर लागिरहनु भएको छ । हामी चुनावी अभियानमा अघि बढिसकेपछि पार्टीका सदस्य र शुभेच्छुकको दायित्व पार्टीका उम्मेदवार जिताउने हो । यस्तो वेला वाद विवाद गरेर समय खेर फाल्ने समय हाम्रा नेता कार्यकर्ताहरुलाई छैन ।

चुनाव सकेपछि हामीले समीक्षा गर्नेछौ । केही गल्ती भएको रहेछ भने त्यसवाट शिक्षा लिने छौं । अहिले हामीले खासै विवाद छैन । पार्टी निकट साथीहरुले निर्णय विपरित हाल्नुभएका उम्मेदवारी पनि फिर्ता लिइरहनु भएको छ । अझै केही असन्तुष्टी रहेछन् भने पनि मतदान गर्नु अघि सम्म समाधान हुन्छ भन्ने विश्वास छ । 

तपाईहरु अघिल्लो निर्वाचनमा झै एक्लै चुनावमा नगएर किन गठबन्धन गर्नु भयो । केन्द्रवाटै गठबन्धन गर्दा देशका ६ मध्ये ३ महानगरपालिका र ११ मध्ये ७ उप महानगरपालिका नेपाली कांग्रेसलाई मेयरको उम्मेदवार दिएर माओवादी भरतपुर महानगर, घोराही र जितपुर सिमरा उपमहानगर गरी ३ वटामा मात्रै सीमित हुनुपर्ने बाध्यता किन आइप¥यो ?


तपाईलाई थाहै छ, अघिल्लो पटकको स्थानीय तह निर्वाचन पछि संघ र प्रदेशको चुनावमा माओवादी र एमालेबीच सहकार्य र पार्टी एकता नै गरेर नेकपा बन्यो । माओवादीको बदमा एमाले अध्यक्ष केपी ओली दुई तिहाइ मतसहित नेकपावाट प्रधानमन्त्री हुनुभयो । ७ प्रदेश मध्ये ६ प्रदेश नेकपाकै सरकार थियो । तर केपी ओलीले लोकतान्त्रिक मूल्य मान्यता विपरित चल्नु भयो ।

मिडिया विद्येयक, गुठी विद्येयक, मानव अधिकार विद्येयकसहित काला कानूनहरु संसदमा पेश गर्न थाल्नु भयो । अध्यादेश जारी गरेर संबैधानिक हकमा अंकुश लगाउनु भयो । जनताका अधिकार र मौलिक हकमा लात हान्नुभयो । संबैधानिक आयोगमा अध्यादेशवाट नियुक्ति गर्नु भयो । त्यसको विरोध गर्दा संसद विघटन गर्नु भयो ।

पार्टीको बहुमतले विरोध गरेपछि पार्टी नै फुटाउनु भयो । अदालतले संसद विघटनलाई गैर संबैधानिक ठहर गरेपछि पनि फेरि संसद विघटन गर्नुभयो । यस्तो अवस्थामा केपी ओलीको गैरसंवैधानिक गैर लोकतािन्त्रक कार्यको विरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादी सहितका दलहरुको बीच गठबन्धन बन्यो । सोही गठबन्धनको आन्दोलन समेतको बलमा ओलीलाई सत्ताबाट खसालियो ।

अहिलेको गठबन्धन लोकतन्त्र जोगाउन र संविधानको रक्षाका लागि बनेको हो । प्रतिगामी केपी ओली प्रवृत्तिलाई निर्वाचन मार्फत परास्त गर्न चाहेका हौं । पार्टी केन्द्रले निश्चित मापदण्ड बनाएर तालमेल गरेको छ । त्यसलाई गठबन्धनको सच्चा सिपाही हैसियतले इमान्दारीतापूर्वक पालना गछौं । अहिले बहस कस्ले कति र कुन पद पायो भन्ने होईन । हामी गठबन्धनका साझा उम्मेद्वारको सबैको बिजयी प्रतिगमन विरुद्धको बिजय हो । 

तपाईहरु निर्वाचित भएपछि आगामी पाँचवर्षमा घोराही कस्तो होला ? 

धेरै महत्वपूर्ण प्रश्नको तपाईलाई धन्यावाद !
हामी घोराहीवासीको भाग्य र भविष्य बदल्न उम्मेद्वार बनेका हौं । हामीसँग आगामी पाँचवर्षमा घोराहीलाई कस्तो बनाउने भन्ने प्रष्ट्र योजना सहितको खाका छ ।

हाम्रो जित पश्चात्त दिनरात नभनी घोराहीवासीको सेवा र यहाँको विकास लागि खटिने छौं । पाँचवर्ष पछि तपाईले देशको सबैभन्दा ठूलो यो उपमहानगरलाई घोराहीलाई देख्नु हुनेछ नेपालको सबैभन्दा नमूना उपमहानगरपालिका बनाउने छौं  ।

हामीले अधुरो रिङरोड पुरा गरी प्रत्येक वडाका टोलटोललाई  आधुनिक यातायात प्रणालीसँग जोड्ने छौ । बिकट दुर्गम क्षेत्रहरु पनि छन् । जहाँ आकर्षक पर्यटक केन्द्र बन्ने छन् । बढ्दो बेरोजगारीलाई हटाउदै घरघरमा रोजगारी सिर्जना गरिने छ । जनताका सबै प्रकारका आधारभुत आवश्यकता पुरा हुने छन् । जनताको मौलिक शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका अधिकारको दायित्व उपमहानगरपालिकाले व्यहोर्ने छ । समग्रमा भन्दा हामीले घोराहीको मुहार फेर्ने बाचा गरेका छौं, त्यो पुरा गरेरै छोड्ने छौं । 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *