माघ भित्र घोराहीमा कोरोनाको पूर्ण खोप, ९९ प्रतिशतले लगाइसके पहिलाे डाेज

पाण्डव शर्मा

घोराही, ५ माघ । घोराही उपमहानगरपालिकाले माघ मसान्त भित्र कोरोनाको पूर्ण खोप (दोस्रो खोप) लगाइसक्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले जोनसोनलाई एक खोप लगाए पनि पूर्ण खोप मानेको छ भने कोभिसिल्ड र भेरोसिललाई दुई डोज लगाए पछि पूर्ण खोप मनाएको  छ ।

जनस्वास्वास्थ्य विज्ञहरुले पूर्ण खोप लगाएको निश्चित समय पछि एन्टीवडी घट्ने भएकाले अतिरिक्त खोप (बुस्टर डोज) लगाउनु पर्ने बताएका छन् ।

पुस मसान्त सम्म घोराही उपमहानगरपालिकामा कोरोना बिरुद्धको पहिलो खोप एक लाख ४४ हजार ६ सय ६ जनाले लाइसकेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार यो संख्या घोराही उपमहानगरपालिकामा बसोबास गर्ने १२ वर्षभन्दा माथिका जनसंख्याको ९९ दशमल शून्य ४ प्रतिशत हो ।

हालसम्म ९२ हजार ६ सय २६ जनाले पूर्ण खोप (दोस्रो डोज) लगाइसकेको घर्तिले जानकारी दिनुभयो । यो संख्या घोराही उपमहानगरपालिकामा बसोबास गर्ने १२ वर्षभन्दा माथिको कुल जनसंख्याको ६३ दशमलव ४१ प्रतिशत हो । ‘हामीले माघको २५ गते भित्र दोस्रो डोज लगाउन बाँकी सबैलाई लगाइसक्ने योजना बनाएका छौं,’ उहाँले भन्नभुयो, ‘पहिलो डोज लगाउन छुटेकाहरुलाई पनि नियमित रुपमा खोप लगाउने छौं ।’

उपमहानगरपालिकाले माघ १५ गते देखि अतिरिक्त खोप (बुष्टर डोज) लगाउने योजना बनाएको छ ।

घोराहीमा यहाँका स्थायी बासिन्दा बाँहेक अन्यत्रबाट बसोबासका लागि आएकाहरुले पनि खोप लगाएका छन् । यस कारण घोराहीको कुल जनसंख्याको आधारमा धेरैले लगाएको देखिन आएका छ ।

बाहिरबाट यहाँ आएर कोरोना बिरुद्धको खोप लगाउनेहरुको छुट्टै विवरण नराखिएकाले घोराहीमै गणना गरिएको छ । ‘तथ्यांक हेर्दा अधिकांश नागरिकले खोप लगाएको देखिए पनि केही छुट्नुभएको छ, उहाँहरुलाई तत्काल नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन हामी हार्दिक अनुरोध गर्दछौं,’ घर्तिले भन्नुभयो, ‘घोराही साविकको राप्ती अञ्चलको केन्द्रविन्दुभएकाले पनि अन्यत्रबाट यहाँ आएर बसोबास गर्नुहुनेहरुले पनि खोप लगाउनुभएको छ, हामीले कसैलाई पनि खोपमा विभेद गरेका छैनौं ।’

आँफूहरु नेपालमै पहिलो कोरोना विरुद्धको पूर्ण खोप लगाइसक्ने स्थानीय तहमा दर्ज हुने गरी काम गरिरहेको घर्तिको भनाई छ । १२ वर्ष देखि १६ वर्ष उमेरका २२ हजार ४ सय ५५ जना बालबालिकलाई मोर्डना नामक खोप लगाइएको उपमहानगरपालिकाका स्वास्थ्य सहसंयोजक ठाकुरप्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले उपमहानगरपालिकामा २३ ओटा स्वास्थ्य संस्थाहरुले नियमतिरुपमा खोप लगाइरहेका छन् । ‘अँझै पनि केही व्यक्तिहरुमा खोप लगाउनुहुन्न भन्ने नकरात्मक धारणा छ, यो पूर्ण रुपमा गलत छ,’ खनालले भन्नुभयो, ‘कोरोना बिरुद्ध खोप लगाएकाहरुमा मृत्युदर निकै कम भएकाले खोपको प्रभावकारीता निकै देखिएको छ ।’ खोप लगाएकाहरुमा कोरोना संक्रमण भए पनि गम्भिर बिरामी हुने र मृत्युहुनेहरुको संख्या नगन्य मात्रामा रहेको छ ।’

खोप नलगाएकाहरुमा भने गम्भिर हुने र मृत्यु हने दर बबढी भएको खनाल बताउनुहुन्छ ।

दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत गत वर्ष माघ देखि खोप लगाउन शुरु गरिएको थियो । घोराही उपमहानगरपालिकाले भने गत वर्ष फागुन २३ गतेबाट खोप लगाउन शुरु गरेको थियो ।

घोराही उपमहानगरपालिकामा खोप अभियान निकै प्रभावकारीरुपमा सञ्चालन भएको मेयर नरुलाल चौधरीले बताउनुभयो । ‘अहिले पनि केही जनता खोप लगाउन इच्छुक नभएर छुट्नुभएको छ, उहाँहरुलाई तत्काल खोप लागउन हामी हार्दिक अनुरोध गर्दछौं,’ उहाँले भन्नुभयो, ‘जनस्वास्वास्थ्यका मापदण्ड पालना गर्दै सबै जनतामा पूर्ण खोप लगाउनु नै अहिलेको प्रमुख काम हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *