घोराही । दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ अन्तर्गत आजको सांस्कृतिक कार्यक्रम विशेष आकर्षणका रूपमा सञ्चालन हुँदै छ । आज मेलाको मुख्य मञ्चमा लोकप्रिय गायिका रचना रिमाल र एलिना चौहानको प्रमुख प्रस्तुति रहने आयोजकले जनाएको छ।
नेपाली संगीत क्षेत्रमा लगातार हिट गीत दिँदै आएकी गायिका रचना रिमालले आफ्ना चर्चित तथा भावनात्मक गीतमार्फत् दर्शकलाई मन्त्रमुग्ध बनाउने तयारी गरेकी छन् । त्यस्तै मिठो स्वर र युवापुस्तामाझ लोकप्रिय गायिका एलिना चौहानको प्रस्तुतिले आजको कार्यक्रमलाई थप रौनक दिने अपेक्षा गरिएको छ ।
आजको कार्यक्रममा गायिका विष्णु सुनार, गायक सन्दिप सेन्चुरी तथा चर्चित सोनी डान्स ग्रुपको विशेष प्रस्तुति पनि रहनेछ । साथै डान्सर खिमा बुढा मगरले आकर्षक नृत्य प्रस्तुतिमार्फत् दर्शकलाई मनोरञ्जन दिनेछिन् ।
कार्यक्रमको सञ्चालन गायक तथा उद्घोषक माधव जोन खत्री र गायिका तथा उद्घोषक रुपा घर्ती मगरले संयुक्त रूपमा गर्ने मेलाको सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिए ।
घोराही–१४ स्थित ट्राफिक चोक नजिकै गोर्खा टोलमा सञ्चालन भइरहेको माघे मेलामा सांस्कृतिक कार्यक्रमसँगै डान्स आइडल, टिकट प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न व्यापारिक स्टल, परम्परागत खानाका परिकार तथा लण्डन ब्रिज र जलपरी जस्ता आकर्षक संरचनाहरू पनि दर्शकका लागि प्रमुख आकर्षण बनेका छन्।
आयोजक नेपाल मगर सङ्घ घोराही उप–महानगर कार्यसमितिका अध्यक्ष बेदबहादुर बुढा मगरका अनुसार माघे मेलाले स्थानीय कला–संस्कृतिको जगेर्ना गर्नुका साथै पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
आजको सांस्कृतिक कार्यक्रममा कलाकारहरूको प्रत्यक्ष प्रस्तुति अवलोकन गर्न दर्शकको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण कला–संस्कृति प्रेमी, दर्शक तथा पर्यटकलाई मेला स्थलमा उपस्थित भई कार्यक्रमको आनन्द लिन आग्रह गरेका छन्।
