चेतना अनलाइन
घोराही, १ भदौ । घोराही उपमहानगरपालिकाले खेलकुदको विकास गर्नका लागि बजार क्षेत्रको पूर्वीभागलाई मध्यनजर गरि वडा नम्बर २ को बुकामा कभर्ड हल निर्माण गरेको छ ।
व्याडमिन्टन खेल सँगै त्यस भेगमा हुने विभिन्न सभा सम्मेलन तथा आपत विपतका समयमा आश्रयका लागि प्रयोग हुने गरि जनता मावि बुकाको परिसरमा कभर्ड हल निर्माण गरेको हो । उक्त हलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले आईतबार उद्घाटन गर्नुभएको छ ।
वडा नम्बर १ का अध्यक्ष एवं कभर्ड हल व्यवस्थापन समितिका सल्लाहकार राममणि पाण्डेको अध्यक्ष एवं मन्त्री ढकालको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको बिशिष्ट आतिथ्यतामा कभर्ड हलको उद्घाटन गरिएको हो । कार्यक्रममा मन्त्री ढकालले खेल क्षेत्र पनि आर्थिक, सामाजिक तथा शारिरीक एवं मानसिक विकास सँगै स्वथताको आधार भएको उल्लेख गर्नुभयो । व्यक्ति स्वस्थ भए मात्रै परिवार, समाज र देशको संबद्धी सहज ढंगले हुने भएकाले खेलकुदको महत्व रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख चौधरीले स्थानीय सरकार घोराही उपमहानगरपालिकाले बजार क्षेत्रका लागि घोराही बजारको १४ नम्बर वडा कार्यालय नजिकै, पश्चिम क्षेत्रका लागि वडा नम्बर १० को नारायणपुर र पूर्वी क्षेत्रका लागि रामपुर बुकामा कभर्ड हल निर्माण गरेर स्वस्थताको महत्व बुझाउन खोजेरको उल्लेख गर्नुभयो ।








