घोराही, दाङ — लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले आध्यात्मिक ज्ञान र सकारात्मक सोचले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनुभएको छ । ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय घोराही शाखाले शनिबार आयोजना गरेको रक्षा बन्धन शुभकामना कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो धारणा राख्नुभएको हो ।
“सकारात्मक सोच र आध्यात्मिक चेतनाले व्यक्तिको मनोबल र व्यवहारमा सुधार ल्याउँछ, जसले समाजलाई समृद्ध र गतिशील बनाउँछ,” मन्त्री चौधरीले भन्नुभयो । उहाँले समाजमा सकारात्मक ऊर्जा फैलाउन यस्ता आध्यात्मिक कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । “यस्ता गतिविधिले मानिसलाई सत्कर्मतर्फ डोर्याउँछ र सामाजिक एकता बलियो बनाउँछ,” उहाँले थप्नुभयो ।
रक्षा बन्धन र जनै पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले यी पर्वहरूले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सामाजिक सद्भाव बढाउने बताउनुभयो । “हामीले आफ्नो कर्तव्य र उद्देश्य बुझेर सकारात्मक मार्गमा अघि बढ्नुपर्छ । हाम्रो मन नै हाम्रो सच्चा मित्र र शत्रु हो, त्यसलाई सही दिशामा लगाउन आध्यात्मिकताले सहयोग गर्छ,” उहाँले भन्नुभयो ।
मन्त्री चौधरीले मानव जीवनमा सकारात्मक र नकारात्मक दुवै प्रवृत्ति रहेको बताउँदै राक्षसी भावनालाई त्यागेर सत्मार्गमा लाग्नुपर्नेमा जोड दिनुभयो । “रक्षा बन्धनको यो धागो केवल प्रतीक मात्र होइन, यो हाम्रो व्यवहार र दैनिक जीवनमा पनि झल्किनुपर्छ,” उहाँले भन्नुभयो ।
लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक र परम्परागत मूल्य–मान्यताको संरक्षण गर्दै समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको पनि मन्त्री चौधरीले बताउनुभयो । “हाम्रो कला, संस्कृति र परम्परालाई जगेर्ना गर्दै हामी समृद्धिको बाटोमा अघि बढिरहेका छौं,” उहाँले भन्नुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो भने मन्त्री चौधरीले सबैलाई सकारात्मक सोचका साथ कर्तव्यमा समर्पित हुन प्रेरित गर्नुभयो ।
									
									
									
									
									
									

						


										
										
										
										
										
										

