सिँचाइ, तटबन्ध र उर्जामा मनग्गे बजेट परेपछि दाङबासी उत्साहित, मन्त्री सीता चौधरी जनभेटघाटमा सक्रिय

चेतना अनलाइन

दाङ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले सिँचाइ, तटबन्धन र उर्जाका क्षेत्रमा उल्लेखनीय बजेट विनियोजन गरेपछि दाङका नागरिकहरूमा खुशी छाएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि सिँचाइतर्फ मात्र २ सय ७५ वटा योजना अघि सारेको छ । चालू आर्थिक वर्षको तुलनामा बजेटमा ठूलो वृद्धि हुँदा कृषकहरूमा उत्साह थपिएको छ ।

यी सिँचाइ योजनामध्ये ५० भन्दा बढी स्यालो ट्युबेल र डिप बोरिङका योजना समावेश गरिएका छन् । यसले विशेषगरी खडेरीका कारण सिँचाइको सुविधा नपाएका क्षेत्रमा पानीको पहुँच सहज बनाउनेछ । कृषकहरूले वर्षभरि सिँचाइ गर्न सक्ने अवस्था सिर्जना भई उत्पादन वृद्धि र आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सिँचाइ योजनासँगै भारतीय सीमासँग जोडिएको नाका क्षेत्रको पूर्वाधार विकासका लागि पनि प्रशस्त बजेट छुट्याइएको छ । यसले सीमा क्षेत्रमा व्यापारिक गतिविधि र यातायात सञ्जाल विस्तारमा मद्दत गर्नेछ । व्यापारी, उद्योगी र स्थानीयवासीले यसलाई विकासको नयाँ अवसरका रूपमा लिएका छन् ।

त्यस्तै, उर्जाका क्षेत्रमा समेत विगतका वर्षहरूको तुलनामा बढी बजेट परेको छ । खासगरी सोलार ऊर्जाको प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिएको छ । गाउँघरका विद्युत् सुविधा नपुगेका स्थानहरूमा सोलार प्रणाली र विद्युत लाइन विस्तार गरिने छ । यसले विद्युत् पहुँच नपुगेका दुर्गम बस्तीका नागरिकलाई उज्यालो जीवन दिनेछ ।

यसैबीच उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता चौधरी दाङमा निरन्तर जनभेटघाटमा व्यस्त हुनुहुन्छ । बिहीबार उहाँले घोराही उपमहानगरपालिका अन्तर्गत बेरूवागाउँ, जन्द्रागाउँ र बछामा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्नुभयो ।

स्थानीय जनताले प्रस्तावित योजनाबारे जानकारी पाउँदा उत्साह व्यक्त गरे । उनीहरूले योजनाहरू छिट्टै कार्यान्वयन होऊन् भन्ने अपेक्षा राखे । मन्त्री चौधरीले स्थानीयको जिज्ञासा, समस्या र सुझाव सुन्दै योजनाहरूका फाइदाबारे विस्तृत जानकारी दिनुभयो ।

बुधवार उहाँले तुलसीपुर उपमहानगरपालिका वडा नं १६ स्थित भेलाहीमा पनि जनभेटघाट गर्नुभएको थियो । भेलाहीमा आयोजित छलफलमा कृषकहरूले सिँचाइको समस्या समाधान हुँदै गएको भन्दै खुसी व्यक्त गरे ।

जनभेटघाटमा मन्त्री सीता चौधरीले भन्नुभयो, “सरकारले कृषिमा निर्भर अर्थतन्त्रलाई बलियो बनाउन सिँचाइ, टटबन्धन र उर्जालाई विशेष प्राथमिकतामा राखेको छ । २ सय ७५ वटा सिँचाइ योजना र सयौं स्यालो ट्युबेल तथा बोरिङ योजना कृषकहरूको जीवनमा परिवर्तन ल्याउनेछन् ।”

उहाँले थप भन्नुभयो, “सिँचाइले वर्षभर खेती गर्न सक्ने वातावरण बनाउँछ । उत्पादन वृद्धि हुन्छ । बेरोजगारी घट्छ । युवाहरू फेरि खेतीतर्फ फर्किन्छन् । सरकार यस्ता योजनाको छिटो र प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छ ।”

सोलार उर्जामा परेको बजेटबारे उहाँले भन्नुभयो, “जहाँ विद्युत् पुग्न कठिन छ, त्यहाँ सोलार उज्यालो पु¥याउनेछ । गाउँमा उज्यालो भएपछि पढाइ, व्यापार र जीवनस्तरमा सुधार आउनेछ । सरकारको लक्ष्य सबै नेपालीलाई ऊर्जा पहुँचमा ल्याउने हो ।”

स्थानीय बासिन्दा पनि मन्त्री चौधरीको सक्रियताबाट उत्साहित देखिए । बेरूवागाउँका कृषक रामबहादुर थापाले भने, “पहिले पानी नपाएर खेत खेर जान्थ्यो । अब सिँचाइ सुविधा आयो भने वर्षभरि खेती गर्न सकिन्छ ।” जन्द्रागाउँकी ममता चौधरीले भनिन्, “सरकारले निकै राम्रो काम थालेको छ । अब त खेतीमा आधुनिकता आउँछ ।”

भारतीय सीमासँग जोडिएको नाका क्षेत्रमा परेको बजेटले सीमावर्ती क्षेत्रको पूर्वाधार सुदृढ बनाउनेछ । व्यापारिक गतिविधि विस्तार हुनेछ । यसले दाङ मात्र होइन, पूरै लुम्बिनी प्रदेशकै आर्थिक गतिमा सकारात्मक प्रभाव पार्ने स्थानीयको विश्वास छ ।

मन्त्री चौधरीले अन्त्यमा भन्नुभयो, “जनताको चाहना अनुसार काम गर्दा मात्र योजना सफल हुन्छन् । तपाईंहरूको साथ र निगरानी आवश्यक छ । सरकार जनताको सेवामा निरन्तर लागिरहनेछ ।”

सिँचाइ, तटबन्धन, सोलार ऊर्जा र पूर्वाधार विकासमा आएको यो मनग्गे बजेटले दाङको विकासमा नयाँ आशा जगाएको छ । योजनाहरू प्रभावकारी रुपमा कार्यान्वयन भएमा दाङले आगामी केही वर्षमै नयाँ विकासको उचाइ छोइनेछ भन्ने अपेक्षा गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *