दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक जना नवजात शिशुलाई ५४ दिनभन्दा बढी पीआईसीयू हुँदै एनआईसीयू वेडमा राखी चिकित्सकहरूले उपचार गरेर बचाउन सफल भएका छन्।
प्युठान मल्लरानी गाउँपालिका घर भएका एक जना दम्पतीबाट जन्मिएको बच्चा अत्यन्तै नाजुक स्वास्थ्य अवस्थामा रहेको थियो। चिकित्सकहरूले अत्यन्तै मेहनतपूर्वक गरेको उपचारपछि शिशुलाई बचाउन सफल भएका हुन्। लामो समय एनआईसीयू वा पीआईसीयूमा बच्चाको उपचार हुँदा धेरैजसो बिरामीका आफन्तहरू आत्तिने गरेका भए पनि नवजात शिशुका आमा-बुवाले धैर्यतापूर्वक बसेर उपचारमा पूर्ण विश्वास गरेकै कारण बच्चालाई लामो समयको उपचारपछि बचाउन सफल भएका हुन्।
शिशुको जन्मदाखेरिको तौल १ किलो मात्रै भए पनि अहिले बढेर १२ सय ग्राम पुगेको उपचारमा संलग्न चिकित्सक तथा बाल रोग विशेषज्ञ डा. दीपकराज पौडेलले जानकारी दिनुभयो। शिशु जन्मिनासाथ पेटमा, फोक्सोमा रगत बग्ने, जन्डिससहित श्वासप्रश्वासमा धेरै स्वास्थ्य समस्या देखिएको थियो र अहिले बच्चामा सुधार आइरहेको डा. पौडेलले बताउनुभयो। त्यसैगरी, रोल्पाका एक ३४ हप्ताको शिशुलाई पनि लामो समयको उपचारपछि बचाउन सफल भएको उहाँले बताउनुभयो।
नर्सिङको स्याहार, सुसार, र चिकित्सकहरूको मेहनतपूर्वकको उपचारका कारण नवजात शिशुको उपचारका लागि प्रतिष्ठान भरपर्दो र विश्वासिलो बन्दै गएको छ। हाल प्रतिष्ठानमा एनआईसीयू र पीआईसीयू गरेर १६ वटा वेड सञ्चालनमा छन्।
बिरामीका आफन्तहरूले एनआईसीयू र पीआईसीयूका वेड थप बढाउन प्रतिष्ठानलाई आग्रह गरेका छन्। एनआईसीयू इन्चार्ज प्रतिभा भण्डारीले पछिल्लो समय एनआईसीयू र पीआईसीयूमा नवजात शिशुको उपचार अत्यन्तै राम्रो हुँदै गएको बताउनुभयो।