तुलसीराम पुन (सुवास)
संयोजक
नेकपा (माओवादी केन्द्र), दाङ
नेकपा (माओवादी केन्द्र), दाङका संयोजक तुलसीराम पुन (सुवास) पार्टीले सञ्चालन गरेको जनतासँग चार महिने विशेष रुपान्तरण अभियानले नयाँ उत्साह थपेको बताउनुहुन्छ । अभियानका क्रममा पार्टी जनताको घरदैलोमा पुगेको उहाँले बताउनुभयो । अभियानको विषय, पार्टीका गतिविधि लगाएका विषयमा केन्द्रित रहेर चेतना अनलाइनका सम्पादक पाण्डव शर्माले पुनले गरेको कुराकानिको सार :
माओवादीको चार महिने अभियान पूरा भएको छ । यो अभियानको समिक्षा कस्तो गर्नुभएको छ ?
नेकपा (माओवादी केन्द्र) ले शुरुमा तीन महिने जनतासँग माओवादी विशेष रुपान्तारण अभियान भनेर शुरु गरेको थियो । पछि त्यो अभियानमा अँझ केही काम गर्नुपर्ने भएकाले पार्टीले थप एक महिना सञ्चालन गर्ने निर्णय गरेको थियो । हामीले अभियान सम्पन्न गरेर पनि त्यसको औपचारीक रुपमा समीक्षा गरेका छौं । हामीले वडा, पालिका र जिल्लास्तरमा समिक्षा गरिसकेका छौं । समिक्षाले पार्टी कमिटीलाई क्रियाशील बनाउने, पार्टी सदस्यता नवीकरण गर्ने, विभिन्न पार्टीबाट प्रवेश गराउने, नयाँ पार्टी सदस्यता विस्तार गर्ने, जनसेवामुलक कामहरु श्रमदानका कामहरु गर्ने लगायतका विभिन्न उपलब्धिमुलक कामहरु गरेको निष्कर्ष निकालेका छौं । यी कार्यहरुले माओवादी पार्टी र जनताकोबिचको सम्बन्धमा थप मजबुत बनाएको हाम्रो निष्कर्ष छ ।
कतिपयले यो अभियान कार्यकर्ता तहमा मात्र पुग्यो । खास आधारभूत वर्गका जनताहरुसँग पुग्न सकेन भनेर टिप्पणी गर्ने गरेका छन् । त्यहि भएको हो ?
माओवादी पार्टीका नेता, कार्यकर्ताहरु जनतासम्म पुगेको कुरा देख्न नसक्ने विपक्षि पार्टीका मान्छेहरुको लागि टाउको दुखाईको विषय भएकाले यस्तो टिप्पणी आएको हुन सक्छ । यो बिचमा हामीले विभिन्न जनसेवाका कामहरु जस्तै श्रमदान, रक्तदान, स्वास्थ्य शिविर, शहीद परिवार तथा बेपत्ता परिवारका सदस्यहरुसँग भेटघाट तथा उहाँहरुको घरमा श्रमदान गरेका छौं । हजारौंको संख्यामा विभिन्न पार्टी परित्याग गरेर माओवादी पार्टीमा प्रवेश गर्ने काम भएको छ । हजारौं जनसमुदायहरु तथा पार्टी परित्याग गरेका साथीहरु पुनः पार्टीमा प्रवेश गर्ने वातावरण बनेको छ । यी कार्यहरुले गर्दा उक्त टिप्पणी गलत भएको पुष्टि हुन्छ ।
अभियानको क्रममा पार्टीका तल्लो तहका कार्यकर्ता र जनताको सुझाव के पाउनुभयो ?
अभियानको क्रममा जनताका सुझावहरु संकलन गर्न हामीले एउटा फारामको ढाँचा तयार पारि वितरण गरेका थियौं । हजारौंको संख्यामा फारामहरु भरिएको थियो भने जिल्लाका २५ हजार घरधुरीमा अभियान टोली पुगेर भेटघाट गरेको थियो । सो क्रममा देशको नेतृत्व गर्ने पार्टी भनेकै माओवादी पार्टी हो र यसले पछिल्लो चरणमा देखिएका कतिपय कमिकमजोरीलाई सच्याएर आफ्नो दायित्वबाट पञ्छिनु हुँदैन भन्ने मुलतः जनताको सुझाव रहेको छ ।
दाङ माओवादीका धेरै नेताहरु भएको जिल्ला हो । तर, पार्टी कुनै पनि नेतामा केन्द्रित हुन सकेको छैन भनेर कार्यकर्ताहरुले गुनासो गर्ने गरेको सुनिन्छ ? के यो कुरा साँचो हो ?
दाङ जिल्लामा नेतृत्वहरु धेरै भएको कुरा साँचो हो । प्राय एउटै स्तरका नेताहरुको संख्या धेरै भएको हुनाले यस्ता खालका टिप्पणीहरु आउनु स्वभाविक हो । तर, पार्टी कुनै एक व्यक्तिमा केन्द्रित भएर मात्रै चल्न सक्छ भन्ने कुरा पूरानो सोँच बोक्नेहरुका लागि नभएको हुन सक्छ । तर, पार्टी सामुहिक नेतृत्वमा चल्छ । विधान अनुसार चल्छ । कमिटी प्रणालीमा चल्छ । र, सबै नेतृत्वको आ–आफ्ना क्षमता हुन्छ । विभिन्न भूमिकाहरु हुन्छन् । सबैलाई समेटेर पार्टीलाई अगाडी बढाउनु हामी सबैको दायित्व हो ।
अहिले गठबन्धनको सरकार छ । दाङमा संघीय मन्त्री, प्रदेश मुख्यमन्त्री र मन्त्रीहरु हुनुहुन्छ । तर, चुनावी प्रतिबद्धता अनुसार जनताले विकासको अनुभूति गर्न नपाएको गुनासो गर्छन् । किन प्रभावकारी ढंगले काम हुन नसकेको हो ?
यो विषयमा गठबन्धन दलहरुको बिचमा पटक पटक छलफल पनि भइरहेको छ । कसरी प्रभावकारी ढंगले सरकारका कामहरुलाई अगाडी बढाउने भन्ने हाम्रो प्रयत्तन चारी नै छ । कामहरु पनि हुँदै नभएको होइन । तर, जनताको चाहनाहरु असिमित छन् । बाँकी रहेका कामहरु क्रमशः हुँदै जाने छन् । जनतामा वितृष्णा फैलाउने र यो सरकारलाई जति सक्यो बदनाम गराउने गिरोह नै सक्रिय भएको जस्तो देखिन्छ । विगतका सरकारहरु भन्दा यो सरकारले जनताको पक्षमा धेरै काम गरेको हामीलाई विश्वास छ ।