१० वर्षसम्म अलमलमै घोराही चक्रपथ

पाण्डव शर्मा
दाङ १४, साउन । २०६७ साल पुस २८ गतेको तत्कालिन घोराही नगरपालिकाको १५ औं नगरपरिषद्ले घोराही चक्रपथ निर्माण तथा व्यवस्थापन निर्देशिका जारी ग¥यो । त्यस अघि पनि लामोसमसम्म घोराहीमा चक्रपथको कुरा उठेको थियो । तर, सरकारी निकायबाट औपचारिक रुपमा चक्रपथको प्रक्रिया शुरु भएको १० वर्ष पुगेको छ । जनप्रतिनिधिहरु नभएको अवस्थामा तत्कालिन राजनीतिक दलहरुको सर्वदलिय सर्वपक्षि भेला सहितको नगरपरिषद् हुन्थ्यो ।

तत्कालिन कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेयले चक्रपथको अवधारण अघि सार्नुभएको थियो । शुरुकै वर्ष घोराही–तुलसीपुर सडक खण्डको सर्रा ओरालो पिपलवोटबाट दक्षिणतर्फ पाँच सय मिटर ट्रयाक खोल्ने काम पनि भयो । तर, उक्त चक्रपथले एक दशक पार गर्दा पनि पूर्णता पाउन सकेको छैन । चक्रपथले पूर्णता पाउने कुरा त कहाँ हो कहाँ त्यसको नक्साङ्कनको काम समेत हुन सकेको छैन । त्यसपछिका नगरपरिषद्हरुमा चक्रपथ निर्माणको विषय त पर्दथ्यो तर, काममा भने प्रगति हासिल हुन सकेन ।

कहाँ रोकियो चक्रपथ ?

नगरपालिकाको क्षेत्र विस्तार र उपमहानगरपालिकामा परिणत भए पछि प्रस्तावि चक्रपथको औचित्य लगभग समाप्त भइसकेको थियो । किनकी नगर चक्रपथ भनेपछि थपिएका वडाहरुलाई पनि समेट्नुपर्ने बाध्यता थियो । उपमहानगरपालिका बनेपछि फेरी चक्रपथको नक्सांकनमा परिवर्तन आयो । ‘उपमहानगरको भौगोलिक क्षेत्र विस्तार भएपछि हामीले अरु वडाहरुलाई पनि समेट्ने गरी चक्रपथको योजना अघि सारेका छौं,’ उपमहानगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठले भन्नुभयो,‘अहिले प्रदेश सरकारले चक्रपथको जिम्म लिएको छ ।’ प्रदेश सरकारले चक्रपथ निर्माणका लागि डीपीआरको काम गरेको छ । गत आवमा मात्रै चक्रपथका लागि भनेर एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

नगरपालिकाका मेयर नरुलाल चौधरीले घोराहीमा चक्रपथ अपरिहार्य भएको बताउनुभयो । ‘चक्रपथले हाम्रा सबै ग्रामीण क्षेत्रहरुलाई उपमहानगर कार्यालयसँग जोड्न सहयोग गर्ने छ,’ उहाँले भन्नुभयो, ‘बजारलाई ग्रामीण क्षेत्रसँग जोड्न र ग्रामीण क्षेत्रलाई बजारसँग चक्रपथको महत्वपूर्ण भूमिका हुन्छ ।’ व्यवस्थित शहरीकरण र सडक दुर्घटना न्यूनिकरण गर्न पनि चक्रपथले सहयोग गर्ने चौधरीको भनाई छ । तत्कालिन घोराही नगरले चक्रपथको चौडाई ३० मिटर निर्धारण गरेको थियो ।
अहिले फेरी घोराही र तुलसीपुर समेटेर महानगरको चर्चा चलेको छ । महानगर बनाउँदा पूरै क्षेत्रलाई समेटेर अँझै बृहत् चक्रपथ बनाउन सकिने कतिपयले कुरा उठाउदै आएका छन् ।

‘नेतृत्वले इच्छाशक्ति देखाएन’                                                                                 

                                                                                                                                      पूर्व कार्यकारी अधिकृत
                                                                                                                             घोराही उपमहानगरपालिका

म तत्कालिन घोराही नगरपालिकाको कार्यकारी अधिकृत हुँदा मेरै अध्यक्षतामा बसेको १५ नगरपरिषद्ले चक्रपथ निर्माण निर्देशिका पारित गरेको थियो । मेरै कार्यकालमा ५ सय मिटर चक्रपथको ट्रयाक खोल्ने काम पुरा भयो । तर, त्यसपछि मलाई एकाएक काठमाण्डौं सरुवा गरियो । म पछि आउनुभएका कार्यकारी अधिकृतले इच्छा देखाउनुभएको भए चक्रपथ बन्न सक्थयो । तर, उहाँले इच्छा देखाउनुभएन । म यहाँको स्थानीयवासी भएकाले पनि चक्रपथ बन्नुपर्छ भन्ने कुरामा निकै जोड थियो । पछि उपमहानगर बनेर क्षेत्र विस्तार पनि भयो । तर, हामीले त्यतिबेला प्रस्ताव गरेको चक्रपथलाई अहिले भित्रि चक्रपथको रुपमा विस्तार गर्न सकिन्थ्यो । बाहिरी चक्रपथ अर्को बनेको भए झन् राम्रो हुन्थ्यो । चक्रपथले घोराहीको शहरीकरणको सन्तुलित विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दथ्यो । जे होस् अहिले स्थानीय सरकारमा जनप्रतिनिधिहरु हुनुहुन्छ । अवष्य पनि उहाँहरुले चक्रपथको कामलाई अघि बढाउनुहुने छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *