-टोपेन्द्र रोका मगर
दाङ, साउन १० । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर – १५ निवासी ४२ वर्षीया रिमा नेपाली आज भन्दा दश वर्ष पहिले हुलाक कार्यालयमा प्रायाः दुई तीन÷महिनाको अन्तरालमा पुग्नुहुन्थ्यो । विदेशमा रहनुभएका श्रीमानलाई पत्र पठाउन होस् या श्रीमानले पठाएको पत्र पाउन । तर, आजभोली उहाँ हुलाक कार्यालय जान छाडेको वर्षौँ भइसकेको छ । श्रीमान अहिले पनि मलेसियामा हुनुहुन्छ । सन्देश पठाउन आजभोली उहाँलाई गाह्रो छैन । पाउन पनि गाह्रो छैन । फोनमा कुराकानी मात्र होइन उहाँले त अहिले ईमो तथा म्यासेन्जरबाट एक अर्कालाई हेरेर दैनिकजसो कुरा गर्न थाल्नु भएको छ ।
उहाँ जस्तै अहिले नागरिकहरू सन्देश पठाउन र पाउन कै लागि हुलाक कार्यालयमा जान छाडिसकेका छन् । पहिले जस्तो रेडियोमा पठाउने पत्र होस् या साथीलाई पठाउने पत्र हुलाक कार्यालयमा जानु पर्ने अवस्था छैन । अहिले प्रविधिको विकास सँगै छिन भरमै सजिल्यै सन्देश पठाउन सकिन्छ । कुरा गर्न सकिन्छ । प्रत्यक्ष हेर्न सकिन्छ । जसले गर्दा १० वर्ष अघि रिमा नेपाली जस्तै हुलाक कार्यालयमा जानु पर्ने बाध्यता अहिले हटेको छ ।
जिल्ला हुलाक कार्यालय दाङमा ब्यक्तिगत रुपमा पठाउने चिठी पत्रहरू लगभग सून्य जस्तै भएको कार्यालय प्रमुख शोभाराम बस्नेत बताउनुहुन्छ । ‘कार्यालयमा पठाउने, ब्यक्तिलाई ओर्जिनेल रुपमा पठाउनु पर्ने पत्रहरूको त अहिले पनि आएकै हुन्छ’, उहाँले भन्नुभयो, ‘तर पहिले जस्तो डाँकका–डाँक (बोराका–बोरा) ब्यक्तिगत रुपमा पठाउने पत्रहरू भने लगभग सून्य जस्तै भएको छ ।’ उहाँले नागरिकमा सञ्चारको पहुँच पुगेसँगै हुलाकबाट ब्यक्तिगत रुपमा चिठी–पत्र पठाउन छाडेको बताउँदै हुलाक कार्यालयलाई पनि सोही अनुसार परिस्कृत गर्दै लगिएको दाबी गर्नुहुन्छ ।
कार्यालय प्रमुख बस्नतेले अहिले पनि हुलाक कार्यालयबाट महत्वपूर्ण कार्याहरू हुने बताउनुभयो । ‘पहिले जस्तो रेडियोमा पठाउने पत्र, पत्रमित्रताकालागि पठाउने पत्र वा विदेशमा रहेकाले घर पठाउने, घरमा रहेकाले विदेशमा पठाउने पत्र त छैन’, उहाँले भन्नुभयो, ‘तर प्रविधिको विकाससँगै कार्यालयबाट गरिने कार्यहरूमा थप परिस्कृत र विकासित भएका छन् ।’
उहाँले अहिले पनि कार्यालबाट आन्तरिक तथा बाह्य चिपित्र, डाँक बस्तुहरू सम्बन्धित स्थलमा पठाउने, हुलाक टिकटहरू विक्रि गर्ने, हुलाक बैंक सेवा संचालन गर्ने, धनादेश सेवा उपलब्ध गराउने, सूचनाको हक कार्यान्वयन सम्बन्धी कार्याहरूको अनुगमन गर्ने लगायत रेडियो, टेलिभिजनको इजाजतपत्र, लाइसेन्स नविकरण गर्ने कार्यहरू भइरहेको बताउनुभयो ।
के हुलाकमा चिठी पत्र आउन छाडेकै हो ?
अहिले नागरिकहरू कुनै सन्देश पठाउन वा पाउनका लागि हुलाक कार्यालयमा जान छाडिसकेका छन् । सबै नागरिकहरूमा सन्देश पठाउन वा पाउनका लागि हातहातमा मोवाइल सेवा पुगिसकेको छ । नेपालमा दुरसञ्चार सेवाको सुरुवात भएको एक सय वर्ष पुगिसकेको भएपनि हुलाकबाट चिठीपत्र कुर्नु पर्ने बाध्यता हटेको लगभग एक दशक पुगेको छ । नेपालमा पहिलो पटक वि.सं.१९७०मा काठमाडौंमा म्याग्नेटो सिस्टमको स्थापना भई दूरसञ्चार सेवाको थालनी भएको थियो ।
नेपालमा दूरसञ्चार सेवाको थालनी भएको एक सय वर्ष भएपनि अहिलेसम्म हुलाकबाट चिठी पत्र पठाउने गरिन्छ । चिठी पत्र पठाउन इमेलको प्रयोग हुने गरेको छ । तर विश्वसनीताका लागि अझै सरकारी कार्यालयहरूमा हुलाक मार्फत चिठी पठाउने गरिन्छ । ओर्जिनल रुपमा पठाउनु पर्ने चिठीहरू अहिले पनि हुलाकमा आउने गरेको जिल्ला हुलाक कार्यालयका प्रमुख शोभाराम बस्नेत बताउनुहुन्छ ।
यस्तो छ जिल्ला हुलाकमा चिठी पत्र आदन–प्रदान
आर्थिक वर्ष २०७६÷०७७ को एक वर्षको अवधिमा दाङ जिल्लाबाट बाहिर ३ हजार २ दुई २० वटा चिठी पत्र पठाइएको छ । जिल्ला हुलाक कार्यालयको तथ्यांक अनुसार अन्य स्थानबाट जिल्ला भित्र ३ हजार ५ सय ३९ वटा चिठी पत्र आएको छ । त्यसैगरी अन्य स्थानबाट प्राप्त रजिष्टिू पत्र १७ हजार ७ सय ७९, जिल्लामा दर्ता रजिष्टिू ९ हजार २ सय ४५, जिल्ला बाहिर पठाएको रजिष्टिू पत्र २२ हजार ४ सय ६, अन्य स्थानबाट प्राप्त दु्रत रजिष्टिू पत्र २० वटा रहेको छ ।
हुलाकको महत्व घट्दैनः प्रमुख बस्नेत
जिल्ला हुलाक कार्याल दाङका प्रमुख शोभाराम बस्नेतले हुलाक कार्यालयको महत्व घट्न नसक्ने बताउनुभयो । हुलाक कार्यालयबाट अहिले समते चिठी पत्रहरू पठाउने गरेको भन्दै हुलाक कार्यालयलाई थप परिस्कृत गरिने बताउनुभयो । ‘प्रविधिको विकास सँगै हुलाक कार्यालयका कार्यहरूमा फेरबदल हुने अर्को कुरा हो’, उहाँले भन्नुभयो ‘यसको आवश्यक्ता प्रविधिसँगै बदलिएर जानेछ ।’ अब नयाँ योजनाका साथ आफुले थप कार्य गर्न थालेको उहाँको भनाई छ ।