म सबै संगठनको साझा उम्मेदवार बन्न चाहन्छु : हिमाल महरा

हिमाल महरा

अध्यक्ष उम्मेदवार, अखिल (क्रान्तिकारी)
स्वतन्त्र विद्यार्थी युनियन
महेन्द्र बहुमुखी क्याम्पस, दाङ

महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा तपाईको उम्मेदवारी किन ?

महेन्द्र बहुमुखी क्याम्पस दाङ साविकको राप्ती अञ्चलको सबैभन्दा पूरानो क्याम्पस हो । यस क्षेत्रको शैक्षिक उन्नयनका लागि यो क्याम्पसको भूमिका विशिष्ट रहेको छ । सबैभन्दा पूरानो क्याम्पस भए पनि यसको विकास अपेक्षिकृत गतिमा हुन सकेको छैन । क्याम्पसको शैक्षिक सुधारका लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुन्छ । सबै विद्यार्थीहरुको भावना प्रतिविम्व गर्ने प्रमुख माध्यम भनेकै स्वतन्त्र विद्यार्थी यूनियन हो ।

कुनै पनि क्याम्पसको शैक्षिक तथा प्रशासनिक सुधार गर्नका लागि स्ववियूले ध्यान दिनै पर्छ । यो क्याम्पस अहिले शैक्षिक अध्ययनको केन्द्र हुनुपर्ने हो । तर, अहिले यो जीर्ण अवस्थामा छ । यसलाई सुधार गर्नका लागि हामीले अब विशेष ध्यान दिनुपर्छ । महेन्द्र बहुमुखी क्याम्पसको सुधार गर्नका लागि हामीसँग स्पष्ट योजना छ । हामीसँग क्याम्पस प्रशासनसँग छलफल र समन्वय गरेर काम गर्ने क्षमता पनि छ । अन्य विद्यार्थी संगठनहरु औपचारिक रुपमा काम गर्ने बाँहेक शैक्षिक एजेण्डा उठाएको देखिदैन । हामीसँग व्यवहारीक र गुणस्तरीय शिक्षाका लागि स्पष्ट योजना छ ।

आम विद्यार्थीहरुले तपाईलाई नै मतदान गर्नुपर्ने कारण ?

हाम्रो संगठन अखिल (क्रान्तिकारी) ले मलाई सर्वसम्मत रुपमा अध्यक्षको रुपमा उठाउने निर्णय गरेको छ । अहिले महेन्द्र क्याम्पसमा अखिल (क्रान्तिकारी) प्रति विद्यार्थीहरुको आकर्षण निकै बढेको छ । म आँफै पनि स्नातक तहमा विज्ञान संकाय उत्र्तीण गरेर अहिले स्नातकोत्तर तहमा राजनीति शास्त्रमा अध्ययन गरिरहेको छु । अन्य संगठनहरुले अझै उम्मेदवार उठाएका छैनन् ।

मैले स्ववियु निर्वाचनको घोषणा भन्दा धेरै पहिले देखि नै विद्यार्थीहरुको हकहितको पक्षमा काम गर्दै आएको छु । अन्य विद्यार्थी संगठनका उम्मेदवारहरु चुनावको घोषणा पछि मात्र क्याम्पसमा देखिन थाल्नुभएको छ । उहाँहरु पनि मेरै नेतृत्वमा अटाउन सक्ने वातावरण छ । महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष हुने भनेको यहाँका प्राज्ञिक व्यक्तित्वहरुसँग साथै रहेर काम गर्न सक्ने क्षमताको हुनुपर्छ । म आफै पनि एउटा संगठनको जिल्ला उपाध्यक्ष भएर काम गरिसकेको छु । आस्थाको आधारमा फरक बिचार भए पनि मप्रति यहाँका सबै प्राध्यापकहरुको सद्भाव र सहयोग छ । उहाँहरुको भित्री चाहना पनि मेरै नेतृत्वमा यहाँको स्ववियु गोलबन्द होस् भन्ने देखिन्छ ।

क्याम्पसहरुमा विद्यार्थी संगठनहरु पढाईको एजेण्डा भन्दा पनि आफ्नो राजनीतिक लाभका लागि मात्र काम गर्छन् भन्ने आरोप छ नि ?
यो कुरा सरासर गलत हा । लोकतन्त्रमा दलहरु खोल्नु सकरात्मक पक्ष हो । क्याम्पसको शैक्षिक सुधारका लागि स्वतन्त्र विद्यार्थी युनियन अपरिहार्य हो । हामीले शैक्षिक एजेण्डाहरु नै उठाउने गरेका छौँ । हामी समग्र शिक्षापद्धतिको सुधारको एजेण्डामा समेत केन्द्रित भएकाले नीतिगत तहमा सुधार गर्न राजनीति आवश्यक परेको हो । राजनीतिक स्वतन्त्रता विना शैक्षिक विकास हुन सक्छ भन्ने मान्यता राख्नु नै गलत हो । हामीसँग शैक्षिक एजेण्डाहरु स्पष्ट छन् ।

यो क्याम्पसका समस्याहरु के हुन् ?

यो क्याम्पस यस क्षेत्रकै पूरानो भए पनि यहाँको पूर्वाधार तथा शैक्षिक विकास राम्रो ढंगले हुन सकेको छैन । हामीले यहाँका नयाँ समयानुकल विषयहरु ल्याउनुपर्ने छ । यहाँको भौतिक पूर्वाधार पनि निकै जीर्ण अवस्थामा छ । विषयगतरुपमा प्राध्यापकहरुको कमी छ । अहिले पनि परम्परागत पुस्तकालय सञ्चालन भएको छ । हामीले अहिलेको सूचना प्रविधिलाई मध्यनजर गरेर इ–लाइव्रेरी स्थापना गर्नुपर्ने छ ।

अहिले पनि यहाँ परम्परागत विषयहरु मात्र पढाई भइरहेको छ । हामीले नयाँ प्राविधिक विषयहरु ल्याउनुपर्ने छ । क्याम्पसमा ल्यावको अभाव छ । यही कारणले विद्यार्थीहरुको सिकाइ उपलब्धि कमजोर भइरहेको छ ।
क्याम्पसमा क्यान्टिनको व्यवस्था छैन । शौचालय निकै फोहोर रहेको छ । यसको व्यवस्थापनका लागि हामीले ध्यान दिनुपर्ने छ ।

विद्यार्थीहरुले यहाँको भर्ना तथा परिक्षा दिँदा भुक्तानी प्रकृया झन्झटिलो छ भन्ने गुनासो सुनिन्छ । खास के छ अवस्था ?

हामीले यो कुरालाई विगत देखि नै उठाउँदै आएका छौं । हाम्रै पहलमा अहिले क्याम्पसको नजिकै नेपाल बैंकको काउन्टर शाखा स्थापना भएको छ । यसले विगतमा भन्दा केही सजिलो त भएको छ । हामीले अब यसलाई सिधै मोबाइल बैंकिङबाट भुक्तानी गर्ने व्यवस्था गर्नुपर्छ भन्ने माग रहेको छ । हामी स्ववियुमा आइसकेपछि यो कुरा कार्यान्वयनका लागि विशेष पहल गर्ने छौं ।

र, अन्त्यमा आम विद्यार्थीहरुलाई के भन्न चाहनुहुन्छ ?

म सम्पूर्ण विद्यार्थी साथीहरुलाई यस पटकको स्ववियुको निर्वाचनमा अखिल (क्रान्तिकारी) लाई अत्याधिक मतदान गरेर विजयी गराउनुहुन विशेष अनुरोध गर्दछु । क्याम्पसको सुधार गर्नका लागि हामीले स्पष्ट योजना ल्याएका छौँ । यसलाई सफल बनाउन सबै विचार समूहका साथिहरु पनि लाग्नुहुने छ भन्ने मैले विश्वास लिएको छु ।

प्राविधिक रुपमा म अखिल (क्रान्तिकारी) को उम्मेदवार भए पनि व्यवहारीक रुपमा म यहाँको साझा उम्मेदवार बन्न चाहन्छु । सबै साथीहरुको भावनालाई सम्बोधन गर्ने मेरो प्रयत्न रहने छ । यो क्याम्पसमा जिल्ला बाहिरबाट पनि धेरै साथिहरु आएर अध्ययन गरिरहनुभएको छ । उहाँहरुलाई पर्ने विभिन्न समस्याहरुको सहजिकरण गर्न मैले विशेष पहल गर्ने छु भन्ने विश्वास दिलाउन चाहन्छु ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *