संविधानको रक्षा गर्न र मुलुकको समृद्धिका लागि गठबन्ध : कृष्णबहादुर महरा

नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा यस पटको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फबाट उम्मेदवार बन्नुभएन । आँफू लामो समय सम्म संसदीय तथा राजकीय भूमिका रहेर काम गरेकाले यस पटक नयाँ तथा युवाहरुलाई अवसर दिनका लागि उम्मेदवारी नदिएको उहाँको भनाई छ । आगामी मंसिर ४ गते हुन थालेको निर्वाचन, गठबन्धनको अवस्था, दाङको चुनावी माहोल लगायतका विषयमा केन्द्रित रहेर पत्रकार पाण्डव शर्माले महरासँग गरेको कुराकानिको सार : –सम्पादक

यसपटकको निर्वाचनमा तपाई चुनाव लड्ने चर्चा थियो । तर, अन्तिममा आएर किन चुनाव नलड्ने घोषणा गर्नुभयो ?
मैले यस पटको निर्वाचनमा नयाँ तथा युवा साथिहरुलाई अगाडी लैजानुपर्छ भन्ने मान्यता राखेको छु । मैले अहिलेसम्म झण्डै १८ वर्षसम्म पाँच पटक संसदीय निर्वाचनमा चुनाव लडिसकेको छु । सबै निर्वाचनमा मैले विजय हासिल पनि गरेको छु । २०४८ सालमा नै म निर्वाचन लडेर जितेको मान्छे हुँ । म सधै निर्वाचन लड्नुपर्छ भन्ने सोँच राख्दिन । अरु साथिहरुलाई पनि अवसर दिनुपर्छ भनेर म निर्वाचन नलडेको हुँ ।

अहिलेको व्यवस्था संसदीय व्यवस्था नै हो । तपाई यो निर्वाचन प्रकृयामा नै सहभागि हुनुभएन । अबको तपाईको राजनीतिक यात्रा के हो ?
म संसदीय निर्वाचनमा मात्रै सहभागि नभएको हो । १८ वर्षको मेरो संसदीय अनुभव, राजकीय अनुभव भयो । म संसद् बाहिर रहेर पनि त्यो अनुभवको आधारमा राजनीति र समाजको सेवा गर्छु । संसद्मा निर्वाचन नलड्नु भनेको राजनीतिबाट बाहिर आउनु भन्ने कुरा पटक्कै होइन । मैले मुलुको समृद्धि र विकासका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग हस्तक्षपकारी भूमिका निर्वाह गरेर जनताको निरन्तर सेवा गर्ने छु । अहिले मेरा धेरै साथिहरु निर्वाचनमा लड्नुभएको छ । उहाँहरुलाई मैले मेरो अनुभव शेयर गर्छु । उहाँहरुलाई साथ र सहयोग गर्छु ।

तपाई यसभन्दा अगाडी दाङ निर्वाचन क्षेत्र नं २ को जनप्रतिनिधि पनि हो । अहिले यहाँको चुनावी माहोललाई कसरी हेरिरहनुभएको छ ?
पहिलो कुरा म अहिले पनि जनताको प्रतिनिधि नै हो । चुनाव नलड्दा वित्तिकै प्रतिनिधि नहुने भन्ने कुरा होइन । म जनताको सेवामा निरन्तर लागिरहन्छु । जनताको सेवामा लाग्दा सम्म म जनताको प्रतिनिधि नै हो । दाङमा मात्रै होयन । देशव्यापीरुपमा गठबन्धन बलियोसँग अघि बढिरहेको छ । दाङका पनि प्रतिनिधिसभा तर्फका तीन ओटा र प्रदेशसभा तर्फका पाँच ओटा गरेर नौ ओटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारहरु एमालेका उम्मेदवार भन्दा अगाडी रहेका छन् । दाङका नौ ओटै सिटमा गठबन्धनका उम्मेदवारले विजय हासिल गर्छन् भन्ने मेरो विश्वास रहेको छ ।

तपाई दाङ निर्वाचन क्षेत्र नं २ मा उम्मेदवार नभएपछि एमाले महासचिव शंकर पोख्रेल एकल ‘हेवी वेइट’का नेता भए भनेर चर्चा गर्ने गरिन्छ । यसले निर्वाचनमा कत्तिको प्रभाव पार्ला ?

निर्वाचनमा हेवी वेइट र न हेवी वेइट भन्ने नै हुँदैन । यदी त्यसो हो भने त निर्वाचन नै नगरे भैगो नि । नेपालकै इतिहासमा पार्टीका शीर्ष नेताहरुले चुनाव हारेको इतिहास छ । अर्को कुरा रेखा शर्मा आँफैमा पनि हेवी वेइट नेता हो । उहाँ एक पटक मन्त्री भइसकेको मान्छे । दलको सचेतक भइसकेको मान्छे । पार्टीको स्थायी समिति सदस्य । हिजो लामो समय संघर्षको मैदानबाट स्थापित भएको लिडर हो । उहाँको राष्ट्रिय अन्तराष्ट्रिय पहिचान निर्माण भइसकेको छ । अर्को कुरा रेखा शर्माले जित्ने भनेको व्यक्तिले मात्र जित्ने होइन । लोकतन्त्र, संविधान र यो व्यवस्थाले जित्ने हो । एमालेले संविधान नै मास्न खोजेको थियो । त्यसलाई अहिलेको वर्तमान गठबन्धनले रोकेको हो । रेखाजीको विजय भनेको स्थिरता, समृद्धि, विकास र मुलुकमा लामो बलिदान पछि प्राप्त उपलब्धिको रक्षा हुनु पनि हो । यो लडाई रेखा शर्माको व्यक्तिगत नभएर अग्रगमन र प्रतिगमनको लडाई हो । उहाँले चुनाव जित्नु भनेको अग्रगमनले जित्नु हो भने उहाँले हार्नु भनेको प्रतिगमनले जित्नु हो ।

एमालेले दुई पटक प्रतिनिधिसभाको विघटन ग¥यो । अहिले पनि उसले राजावादी शक्तिहरुसँग गठबन्धन गरिरहेको छ । जनताले प्रतिगतमन होइन अग्रगमन चाहेका छन् । त्यसैले यसपटक एमाले नेतृत्वको गठबन्धनको उम्मेदवार निकै फितलो भएको छ ।

तपाई माओवादी केन्द्रको तेस्रो बरियता क्रमको नेता हुनुहुन्छ । तपाई नै निर्वाचनका लागि दाङमा आउनुभएको छ । यहाँको चुनावी माहोल कस्तो पाउनुभएको छ ?
दाङमा गठबन्धनका उम्मेदवारहरु निकै अघि भएको पाएको छु । केही दिन पहिले म रोल्पा पनि गएको थिए । रोल्पामा पनि गठबन्धनका उम्मेदवारहरु एमालेका उम्मेदवार भन्दा निकै अघि भएको मैले पाए । दाङ निर्वाचन क्षेत्र नं २ मा रेखा शर्मा, २ (१) मा राजु खनाल, २ (२) मा प्रचण्डविक्रम न्यौपाने एमालेका उम्मेदवार भन्दा धेरै अगाडी हुनुहुन्छ । निर्वाचन क्षेत्र नं १ र ३ मा पनि प्रतिनिधिसभा तथा प्रदेशसभामा गठबन्धनकै उम्मेदवारहरु अगाडी भएको मैले पाएको छु । प्रचारप्रासर पनि गठबन्धनका उम्मेदवाहरुको निकै राम्रो भएको पाएको छु । उहाँहरुको जित सुनिश्चित जस्तै भएको छ ।

यस क्षेत्रका आम मतदाताले रेखा शर्मालाई नै मतदान गर्नुपर्ने कारण के छ ?
रेखा शर्मा सक्षम महिला लिडर हो । संसद्मा सभामुख र उपसभामुख नहुँदा बैठको अध्यक्षता गर्ने अवसर पाउनुभएको छ । एक ढंगले भन्ने हो भने उहाँले सभामुख हुने हैसियत निर्माण गरिसक्नुभएको छ । यो हिसाबले रेखा शर्मामामा कुनै कमी देखिदैन । अर्को कुरा म र रेखा शर्मामा कुनै अन्तर छैन । म हुनु नै रेखा शर्मा हुनु हो । रेखा शर्मा हुनु नै म हुनु हो भन्ने कुरालाई आम मतदाताले बुझिदिनुपर्छ । रेखा शर्मालाई मेरो पुरै साथ र समर्थन रहेको छ । यस अघि म सभामुख हुँदा यो निर्वाचन क्षेत्र हेर्ने जिम्मा उहाँले पाउनुभएको थियो । उहाँ यस क्षेत्रको समानुपातिक सांसद् यस अघि पनि भइसक्नुभएको हो । उहाँले दाङको समग्र विकासका लागि निकै योगदान गर्नुभउको छ । यहाँको विकास निर्माणमा होस् या राजकीय भूमिका निर्वाह गर्ने सवालमा । रेखा शर्मा निकै सक्षम र सवल नेतृ हो । उहाँको क्षमतालाई हेरेर नै पार्टीले गठबन्धनबाट उम्मेदवार गराउने निर्णय गरेको हो ।

अहिले कतिपयले गठबन्धनमा इमान्दारिता हुँदैन भनेर भनिरहेका छन् । कतिपयले स्थानीय तह जस्तो अहिले हुँदैन । गठबन्धनमा सुमुधुर सम्बन्ध आएको छ पनि भन्छन् । खासमा यहाँको गठबन्धको अवस्था कस्तो छ ?

तपाईले भनेको दोस्रो कुरा सहि हो । स्थानीय तहको निर्वाचनमा गठबन्धका दलहरुमा सोचे जस्तो एकताबद्ध देखिएन । अर्को कुरा १० हजार भन्दा बढी मत बदर भएको छ । गठबन्धका मेयरका उम्मेदवारले पाँच हजारको हारहारिमा हार व्यहोर्नुपरको छ । यसपटक मत बदर निकै कम हुन्छ । अर्को कुरा अहिले गठबन्धनमा सम्बद्ध दलहरुबीच सम्बन्ध सुमधुर भएको पाइन्छ । अहिले गठबन्धमा आबद्ध दलहरुको भित्रिरुपमै एकता भएको पाएको छु । सबैको उद्देश्य प्रतिगमनलाई कसरी परास्त गर्ने भन्ने नै छ । त्यसैले अहिले गठबन्धका उम्मेदवारहरुले सहजै विजय हासिल गर्ने देखिन्छ ।

र, अन्त्यमा आम दाङबासी मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
म आम दङ्गाली दाजुभाई तथा दिदीबहिनीहरुलाई दाङको समृद्धि, विकास र दाङको सुनौलो भविष्य निर्माणका लागि गठबन्धका उम्मेदवारहरुलाई नै विजयी गराउन आवश्यक रहेको छ । गठबन्धन संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपक्षता र अन्य प्राप्त उपलब्धिको रक्षाका लागि बनेको हो । गठबन्धनको मुल उद्देश्य नै प्रतिगमनलाई रोकेर मुलुकलाई समृद्ध बनाउने भन्ने नै हो । त्यसैले आम दाङबासी आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *