पाण्डव शर्मा
दाङ, २ साउन । घोराही उपमहानगरपालिका वडा नं १९ राम्चेका खेतबहादुर घर्ती आजभोली घोराही गाडी चढेर आउँछन् । तीन वर्ष पहिलेसम्म उनी घोराही आउनका लागि दुईखोलीसम्म हिडेर आउनुपर्दथ्यो । दुई खोलिएमा आए पछि होलेरिबाट घोराही आउने गाडी कुर्नुपर्दथ्यो ।
तर, आजभोली उनको घर आँगनमै गाडी पुगेको छ । ‘अब सैघाबाट घोराही बजार जानका लागि धेरै मोटरबाटो खुलिसकेका छन्,’ घर्तीले भने, ‘पहिले घोराही पुगेर कुनै काम गरेर फर्कनका लागि दिनभर लाग्दथ्यो तर, अहिले मोटरसाइकल चढेर आधा घण्टामै घोराही पुग्न सकिन्छ ।
घर्ती त एकजना प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो तीन वर्षमा वडा नं १९ मा विकासको मूल नै फुटेको छ । साविकको सैघा गाविसमा तीन वर्ष पहिलेसम्म ट्याक्टर गुड्न सक्ने एउटा सडकको मात्रै ट्रयाक खुलेको थियो । तर, अहिले सैघबाट घोराही जोड्ने चार ओटा मोटरबाटो खुलिसकेका छन् ।
अहिले दुईखोलि–फिडि–राम्चे हुँदै सैघा, कटुवाखोला–पलासे हुँदै सैघा, वाम्ला खोला–पाचपोखरि हुँदै स्वर्गद्धवारी जानेबाटे खुलेको छ । तीन वर्षको बीचमा साविकको सैघा गाविसभित्र १२ ओटा सडक सञ्जाल विस्तार भएका छन् ।
अहिले सबै जसो टोलबाट वडा कार्यालय आउने सडक निर्माण भएको छ । ‘हामीले तीन वर्षमा पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम ग¥यौं,’ वडा नं १९ का वडा अध्यक्ष हर्कबहादुर घर्तीले भन्नुभयो, ‘टोलस्तरीय बैठकहरुमा धेरैजसो माग सडक निर्माणकै लागि आउने गरेका छन् ।’
१९ नं वडाले सडक निर्माणका साथै खानेपानी र विद्युतिकरणलाई उच्च प्राथमिकतामा राखेको छ । तीन वर्ष पहिलेसम्म सैघा विद्युतको पँहुचबाट बाहिर थियो । तर, अहिले सैघाका ५ सय ३० घरमा विजुलीबत्ति पुगिसकेको छ । सैघाको कुल घरधुरी संख्या एक हजार दुई सय ६८ हो । विजुली नपुगेका अरु घरमा सौर्य उर्जाको व्यवस्था गरिएको छ ।
‘स्थानीय तहमा सरकार आइसकेपछि अहिले हाम्रो विकासको मूल नै फुटेको छ,’ स्थानीय सिधर पुरीले भने, ‘सैघामा यसरी यति छोटो समयका विकास होला भनेर हामीले सोचेकै थिएनौं ।’
१९ नं वडाका सदस्य जंग रोका तीन वर्षको बीचमा ३० लाख देखि ५० लाख सम्मका ६ ओटा खानेपानी आयोजना सञ्चालन गरिएको जानकारी दिए । ‘आम नागरिकलाई स्वस्छ खानेपानी उपलब्ध गराउने हाम्रो योजना हो,’ उनले भने, ‘अधिकांश घरधुरीले सफा र स्वस्छ पानि खान पाएका छन् ।’
गाविस हुँदा सैघामा वार्षिक पाँच लाख रुपैयाँ बजेट विनियोजन हुन्थ्यो । तर, अहिले एउटा गविसलाई एउटा वडा बनाइएको छ । १९ नं वडामा उपमहानरपालिकाबाट वार्षिक एक करोड रुपैयाँ बजेट विनियोन भइरहेको छ । त्यसैगरी प्रदेश सरकारले पनि वार्षिक डेढ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिरहेको छ ।
संघीय सरकारबाट सिधै र संसद् विकास कोषबाट पनि मनग्य बजेट विनियोजन भइरहेको छ । ‘गाविस हुँदा सैघा विकासमा निकै पछि परेको थियो,’ वडा अध्यक्ष घर्तिले भने, ‘संघीयताले हाम्रा जस्ता विकट क्षेत्रका जनताहरुले विकासको वास्तविक अनुभूति पाउन थालेका छन् ।’
वडा सदस्य आगामी दिनमा सडकहरुको गुणस्तर बृद्धि गर्दै कालोपत्रे गर्ने आफूहरुको लक्ष्य रहेको जानकारी दिए । ‘हामीले ठूलो मेहनत गरेरे धेरै ट्रयाकहरु खोल्न सफल भएका छौं,’ उनले भने, ‘हामी अँझै पूर्वाधारको क्षेत्रमा थप प्रगति हासिल गर्न चाहन्छौं ।’
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उपमहानरका विकट क्षेत्रहरुको पूर्वाधार विकासमा आफूहरुले विशेष ध्यान दिएको बताए । ‘हामी उपमहानगरका सबै वडाहरु समानुपातिक ढंगले विकासको गतिम अघि बढुन् भन्ने चाहन्छौं,’ उनले भने, ‘अन्य वडाको स्तरमा विकासको गति पु¥याउन दुर्गम क्षेत्रका वडाहरुले अँझ बढी मेहनत गर्नुपर्ने देखिन्छ ।’
अब पूर्वाधारको विकासका साथै उत्पादनमा ध्यान दिनुपर्ने चौधरीको भनाई छ । ‘१९ नं वडा भौगोलिक रुपमा विकट भएकाले खाद्य बालिको तुलनामा टिमुर, कागगती, दालचीनि जस्ता विरुवा रोपणमा जोड दिनुपर्छ,’ चौधरीले भने, ‘उत्पादन विनाको पूर्वाधार विकासले मात्रै हामीले आर्थिक समृद्धि हासिल गर्न सक्दैनौं ।’