प्रतिष्ठानबाट ११ महिनामा ७ हजार बढीलाई स्वास्थ्य बिमामार्फत उपचार सेवा प्रदान

घोराही, १ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट हालसम्म ७ हजार बढीले स्वास्थ्य बिमामार्फत स्वास्थ्य सेवा लिन सफल भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको अध्यक्षतामा आज बुधबार प्रतिष्ठानमा आयोजित स्वास्थ्य बिमा समीक्षा गोष्ठीमा बितेको ११ महनिामा सो सेवा लिएका हुन् । प्रतिष्ठानका अनुसार २०७८ साउन ३ गतेदेखि २०७९ जेठ ३१ सम्म ७ हजार १ सय २२ जनाले स्वास्थ्य बिमामार्फत स्वास्थ्य सेवा लिएको जानकारी गराईएको छ ।
प्रतिष्ठानमा कार्यरत स्वास्थ्य बिमा अभिलेख शाखाकी सहजकर्ता दुर्गा श्रेष्ठले २०७४ मंसिर १ गतेबाट सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत रोल्पाबाट रिफर भई आएकालाई सेवा दिँदै प्रकृया अघि बढाए पनि दाङमा २०७७ माघ ३० गतेदेखि पूर्ण रुपमा लागू भएयता २०७७ फागुन १ गतेबाट प्रतिष्ठानले स्वास्थ्य विमा कार्यक्रम सेवा शुरु गरेको बताउनुभयो । प्रणालीमा सेवा दिने काम भने २०७८ मंसिरबाट भएको उहाँको भनाई थियो ।
उहाँका अनुसार २०७७ को फागुनमा ४० जना, चैतमा ५० जना, बैशाखमा ९० जना, जेठमा १०० जना र असारमा ९५ जनाले स्वास्थ्य बिमामार्फत प्रतिष्ठानबाट सेवा लिन सफल भएका छन्. । यस्तै, २०७८ को साउनमा १३० जना, भदौमा २२० जना, असोजमा ३ सय १६ जना, कार्तिकमा ३ सय ५५ जना, मंसिरमा ४ सय ८६ जना, पुसमा ५ सय ५४ जना, माघमा ४८८ जना, फागुनमा १ हजार ३९ जना र चैत्रमा १०५१ जनाले स्वास्थ्य बिमामार्फत सेवा लिएका छन् ।
यस्तै २०७९ बैशाखमा ७ सय ५८ तथा जेठ मसान्तसम्ममा १ हालसम्मकै सबैभन्दा धेरै १ हजार ३ सय ५० जनाले स्वास्थ्य बिमामार्फत सेवा लिएका उहाँले जानकारी दिनुभयो । २०७८ साउन ३ देखि २०७९ जेठ ३१ सम्म ७ हजार १ सय २२ जनाको स्वास्थ्य बिमामार्फत प्रतिष्ठानले दिएको स्वास्थ्य उपचारवापतको रकम भुक्तानीमा भने बिमा कम्पनीले ढिलाई गरेको छ ।
बिमा कम्पनीले हालसम्म करीव २८ लाख भुक्तानी गरेपनि १ करोड ३० लाख २९ हजार ७१ रुपैयाँ विमितको स्वास्थ्य विमावापत प्रतिष्ठानलाई बुझाउनु पर्ने भुक्तानी रकम निकाशा हुन नसकेको जानकारी गराइएको छ ।
स्वास्थ्य बिमाप्रति आम नागरिकको चासो बिस्तारै बढ्दै गएपनि यसबाट लिने सेवाका बारेमा अझै सेवाग्राही सचेत हुन नसक्दा व्यहारिक कठिनाई रहेको पाइएको छ ।
उपचारका लागि प्रतिष्ठान पुग्ने बिरामीले स्वास्थ्य बिमाको बारेमा स्पष्ट रुपमा नबुझि दिँदा अनेकन समस्या हुने गरेको प्रतिष्ठानले जनाएको छ ।
बिमा समिक्षा गोष्ठीमा श्रेष्ठले भन्नुभयो: बिमा वापतको रकम दावी गर्न धेरै समस्या छ, यसबारे बिमित नै जानकार छैनन् । बिल प्रिन्ट प्राप्त हुदैन, डाक्टरले पनि के को उपचार गरिएको हो, प्रष्ट नलेखि दिनु, कागजात जुटाउन असहज हुनु समस्या रहेका छन् ।
यस्तै, सोही शाखामा कार्यरत कम्प्युटर असिस्टेन्ट यज्ञबहादुर पुनले पनि काममा दवाव बढ्दो क्रममा रहेकाले सेवाग्राहीले सहज सेवा पाउन कठिन भएको बताउनुभयो ।
आगामि दिनमा सेवा सुलभ गराउन सबै निकायबाट भुमिका खेल्न आग्रह गर्दै नेपाल सरकारले दिने सेवामा सहज बनाउन सके सेवाग्राहीलाई सेवा पाउन कठिन नहुने अनुभव सुनाउनुभयो । यस्तै, बिमा बनाउने एजेन्टले बिमितलाई सहि सुचना र सचेतना दिनु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।
स्वास्थ्य बिमाप्रति आम नागरिकको चासो बिस्तारै बढ्दै गएपनि सोँचे जति काम हुन नसकेकाले यसबारे सचेतना बढाउन निकै आवश्यक रहेको प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले बताउनुभयो । प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउन आगामी दिनमा यसको दायरा अझ बढाउँदै लैजान सरोकार निकायसँग पनि परामर्श गर्ने जानकारी गराउनुभएको छ । समिक्षा गोष्ठीमा शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, मेडिकल निर्देशक रमेश कँडेल, स्वास्थ्य बिमा बोर्ड दाङका प्रमुख गोपिलाल वलि लगायत विभिन्न वार्डमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *