विपद्का कारण एक वर्षमा ५ सय ५ जनाले ज्यान गुमाए

चेतना अनलाइन

घोराही, २ बैशाख । विपद्का कारण एक वर्षमा झन्डै दुई अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वर्ष वैशाख एक गतेदेखि चैत मसान्तसम्ममा २ अर्ब ६२ करोड २८ लाख ६७ हजार ५ सय ७४ रुपैयाँ बराबरको क्षति भएको हो ।

सबैभन्दा धेरै क्षति आगलागीका कारण भएको छ । गएको वर्ष आगलागीबाट मात्रै झन्डै २ अर्ब २७ करोड बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । एक वर्षमा आगलागीमा परेर ९४ जनाले ज्यान गुमाएका छन् । यस्तै बाढी÷पहिरो, चट्याङ्ग, हावाहुरी, सर्पदंश, जनावरको आक्रमणलगायतका ३ हजार ९ सय ४ वटा घटनामा परि एक वर्षमा पाँच सय पाँच जनाले ज्यान गुमाएका छन् ।

७६ जना बेपत्ता छन् । यी घटनामा एक हजार ७ सय ७७ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ । विपद्का घटनाबाट ६ हजार एक सय ३८ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता डिजेन भट्टराईले जानकारी दिनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ ले विपद् व्यवस्थापनमा तीन वटै तहलाई जिम्मेवारी दिएको छ । जिम्मेवारी अनुसार विपद् जोखिम व्यवस्थापनमा साझा दायित्व लिएर काम गर्नुपर्नेमा प्रवक्ता भट्टराईको जोड छ ।

विपद् व्यवस्थापनको प्रमुख दायित्व पालिकामा रहेको र त्यसैअनुसार कार्ययोजना बनाएर समुदायमा लगानी र प्रभावकारी काम गर्न सके क्षति घटाउन सकिने उहाँको भनाइ छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *