चेतना अनलाइन
घोराही, २२ फागुन । दाङमा पछिल्लो समय ‘थ्रीडी’ बोर्डको प्रयोग बढेको छ । पछिल्लो समय व्यावसायिक प्रयोजनका लागि थ्रीडी बोर्डको प्रयोग बढेको फेलेक्स प्रिन्ट व्यवसायीहरू बताउँछन् । साधा होर्डिङ बोर्डको ठाउँमा थ्रीडीतर्फ व्यवसायीहरू आकर्षित भएको उनीहरूको भनाई छ ।
दाङको घोराहीस्थित स्वस्तिक एड्भरटाइजिङकी सञ्चालक आकृति शर्माका अनुसार थ्रीडी बोर्ड आकर्षक देखिने भएकाले व्यवसायीहरू त्यसतर्फ आकर्षित भएका हुन् । ‘अहिले हाम्रो पसलबाट मात्रै मासिक ३०/३५ ओटा थ्रीडी बोर्डहरु बनिरहेका छन्,’ उनले भनिन्, ‘तीन वर्ष पहिले हामीले थ्रीडी बोर्ड बनाउन शुरु गर्दा महिनामा दुईतीन ओटा बोर्ड मात्र बिक्री हुन्थ्यो ।’
पछिल्लो समय होटेल, डेन्टल, फेन्सी पसल तथा गाडीका स्वरुमहरुमा थ्रीडी बोर्डको प्रयोग भइरहेको शर्माको भनाई छ । साधा बोर्डको तुलनामा थ्रीडी बोर्ड निकै आकर्षक देखिने उनी बताउँछिन् । ‘रातको समयमा राम्रोसँग देखिने भएकाले पनि धेरै व्यवसायीहरूले थ्रीडी बोर्ड राख्न रुचाउँछन्,’ शर्माले भनिन्, ‘थ्रीडी बोर्डमा अक्षरहरू आकर्षक र टाढैबाट देखिन्छ ।’
स्वस्तिकमा एड्भरटाइजिङमा अहिले व्यवसायीहरूले १५ हजार रुपैयाँ देखि साढे तीन लाख रुपैयाँ सम्मका थ्रीडी बोर्ड बनाउने गरेको उनले जानकारी दिइन् ।
स्वस्तिकमा थ्रीडी बोर्ड प्रिन्ट बाहेक होर्डिङ बोर्ड, टूडी बोर्ड, स्टिकर, फ्लेक्स प्रिन्ट, वाल पेन्टको काम पनि हुन्छ । 

									
									
									
									
									
									

						


										
										
										
										
										





