बिकराल बन्दै नसर्ने रोग

डिल्लीराज आचार्य

पछिल्लो समय नेपालमा क्यान्सर, मधुमेश, मुटुरोग, मानसिक रोग लगायत नसर्ने रोगहरुबाट ज्यान गुमाउनेहरुको संख्या बढीरहेको छ । सरकारले सर्ने रोगहरु नियन्त्रणका लागि विभिन्न उपायहरु अवलम्वन गरेको देखिन्छ । तर, नसर्ने रोग कसरी नियन्त्रण गर्ने भन्ने विषयमा खासै अपेक्षाकृतरुपमा चासो र चिन्ताहरु व्यक्त हुन सकेका छैनन् ।

अहिले नसर्ने रोगहरुबाट कैयौं मान्छेहरुले युवा अवस्थामै ज्यान गुमाउनु परेको छ । यी रोगको उपचार निकै महंगो भएकाले आम विपन्नवर्गका नागरिकहरु उपचार गर्दागर्दै खर्च धान्न नसकेर बेघरबार हुनु परेको छ ।

एक व्यक्तिबाट अर्कोमा नसर्ने रोगलाई नन कम्युनिकेबल रोग अर्थात् नसर्ने रोग भनिन्छ । यो अस्वाभाविक जीवनशैलीका कारण लाग्ने भएका कारण यसलाई लाइफस्टाइल डिजिज पनि भनिन्छ । कुनै समय सरुवा रोगको खानी नै मानिएको एसिया पछिल्लो समय नसर्ने रोगबाट प्रताडित छ ।

नसर्ने रोगमा उच्च रक्तचाप, मधुमेह, हृदयाघात, क्यान्सरलगायतका रोग पर्छन् । जसको प्रकोप पछिल्लो समय नेपालमा निकै बढेको छ । समयको परिवर्तनसँगै नेपालीको जीवनशैली पनि सहज हुँदै गएको छ । तर, सुखी जीवनशैली अपनाउने क्रममा मानिसले प्राणघातक नसर्ने रोग पनि पाल्दै छन् ।

विश्वमा बर्सेनि नसर्ने रोगका कारण ५ करोड ७० लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । यो भनेको कुल मृत्यु संख्याको ६३ प्रतिशत बराबर हो । नेपालमा पनि नसर्ने रोगबाट मृत्यु हुनेको संख्या उत्तिकै छ ।

नेपालमा हुने कुल मृत्युको ५१ प्रतिशत मृत्यु नसर्ने रोगकै कारणले हुने गरेको विश्व स्वास्थ्य संगठनको एक अध्ययनले देखाउँछ । संगठनका अनुसार नेपालमा दुर्घटना तथा चोटपटकबाट ७ प्रतिशत, सरुवा रोग, कुपोषण, मातृ तथा बाल मृत्यु दरसमेत हिसाब गर्दा ४२ र नसर्ने रोगबाट ५१ प्रतिशत मानिसले ज्यान गुमाउने गरेका छन् ।

जसमा मुटु रक्तनलीसम्बन्धी रोगबाट २५ प्रतिशत, क्यान्सरबाट ११ प्रतिशत, श्वासप्रश्वाससम्बन्धी रोगबाट ५ प्रतिशत, मधुमेहबाट २ प्रतिशत बाँकी ८ प्रतिशत र बाँकी अन्य नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ ।

 

क्यान्सर

अहिले शहर बजारमा ज्यान बचाउनका लागि सहयोगको पत्र बोकेर हिड्नेहरुको भिड नै देख्न सकिन्छ । उनीहरु एउटा पत्र लिएर सहयोगको याचान सहित हिडिरहेका हुन्छन् । उपचार खर्च निकै महंगो हुने भएकाले आम मान्छेहरुले आफ्नो खर्चले उपचार गर्न नै सक्दैनन् ।

अन्तिमा उनीहरुको विकल्प भनेकै सडकमा कचौरा थापेर हिड्नु नै हुन्छ । तर, यी मध्ये धेरैको उपचार प्रकृया ढिलो भइसकेको हुनाले अन्तिममा अकालमै ज्यान गुमाउनुपर्छ । क्यान्सर आफैंमा ठूलो रोग होइन । तर, समयमै पहिचान भएन भने यसले ज्यानैसमेत लिन सक्छ ।

शरीर वृद्धि विकासको क्रममा कोषिकाहरुको अनियन्त्रित विकास अथवा धेरै कोषको उत्पादन हुँदा आउने समस्या क्यान्सर हो । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम नगर्दा पनि कोष अनावश्यक रुपमा वृद्धि हुने गर्दछ ।

अस्वस्थकर खानपान र जीवनशैली, वंशाणु रोग र निकोटिनको प्रयोगले क्यान्सर लाग्न सक्छ । यसका विभिन्न चरण हुन्छन् । समयमै उपचार गर्न सकेमा यो रोगबाट बच्न सकिन्छ । निरन्तर खोकी लाग्नु, कोठी बढ्नु, शरीरको कुनै भागमा गिर्खा आउनु, शरीरबाट रगत वा पीप आउनु, लामो समयसम्म घाउ निको नहुनु र तौल घट्नु यसका लक्षण हुन् ।

सबाट बच्न चुरोट, बिँडी, खैनी, सुर्ती, जाँड, रक्सी सेवन नगर्ने, बासी, सडेगलेको र ढुसी परेको खाना नखाने, पोलेर डढेको मासु र अन्य खानेकुरा नखाने, अखाद्य रंग, रासायनिक मल, कीटनाशक औषधि प्रयोग गरिएका खानेकुरा नखाने, धुलोधुवाँ तथा वातावरणीय प्रदूषणबाट जोगिने, महिलाले नियमित रुपमा गर्भाशय परीक्षण गर्ने, व्यायाम गर्ने र अनावश्यक मोटोपन घटाउनुपर्छ ।

उच्च रक्तचाप

नेपालमा पछिल्लो समय उच्च रक्त चापको औषधी सेवा गर्नेहरुको संख्या बढीरहेको छ । स्वास्थ्य संस्थाहरुमा पनि करिब ३० प्रतिशत बिरामीहरु उच्च रक्तचापको औषधी सेवन गर्ने आउँछन् ।

नेपालमा मात्रै होइन विश्वमा नै यसको बिकराल तथ्यांक रहेको छ । हाल विश्वका १ अर्ब मानिस यसबाट पीडित छन् । उच्च रक्तचापका कारण बर्सेनि ८० लाख मानिसको मृत्यु हुने गरेको छ । हृदयाघात र मस्तिष्कघातको प्रमुख कारण उच्च रक्तचाप नै हो । साथै उच्च रक्तचापले मुटुरोग, मिर्गाैला रोग र मधुमेहसमेत बढाउँछ । सामान्यतया उमेर बढ्दै जाँदा रक्तनलीमा आउने संरचनागत परिवर्तनले रक्तचाप बढ्छ ।

उच्च रक्तचाप भएका बाआमाबाट जन्मिएको बच्चामा पछि उच्च रक्तचाप बढ्ने सम्भावना ४५ प्रतिशत रहन्छ । रातो मासु, गालेको अचार, बोतलमा राखिएको दूध, सुकुटी, फास्ट फुड, मदिरा, नुन आदिको सेवनबाट उच्च रक्तचाप हुन्छ । चिकित्सकको सुझावअनुसार नियमित चेकअप गर्ने, फलफूल र सागपातको पर्याप्त सेवन गर्ने, मदिराजन्य पदार्थ र धूमपान नगर्ने, शरीरलाई आवश्यकताभन्दा बढी क्यालोरी सेवन नगर्ने जस्ता विधि अपनाएमा यसबाट बच्न सकिन्छ ।

मुटुरोग

नेपालमा २५ प्रतिशत अर्थात् ७६ लाख मानिसलाई कुनै न कुनै मुटुसम्बन्धी समस्या छ । र, बर्सेनि ३ हजार ३ सय ३८ जनाको मृत्यु मुटुसम्बन्धी रोगकै कारण हुने गरेको छ । मुटु रोगका कारण धेरैले आफ्नो रोगको पहिचान नहुँदै ज्यान गुमाउनु परेको छ ।

विगतमा बृद्ध अवस्थामा मुटुरोगी हुने गरे पनि पछिल्ला वर्षहरुमा युवाहरुमा मुटु रोगको समस्या निकै देखिएको छ । कतिपयलाई जन्मजात नै मुटुरोगको समस्या हुन्छन् । तर, उनीहरुलाई आँफूलाई मुटुरोग लागेको छ भनेर थाहा नै हुँदैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्सेनि २ करोड मानिसको मृत्यु मुटुसम्बन्धी रोगका कारण हुने गरेको छ । मुटुरोगीका संख्यामा नेपाल पनि अग्र पंक्तिमा छ ।

चिकित्सकका अनुसार धूमपान, मद्यपान, चिल्लो–पिरो, भुटेतारेका खानेकुरा आदिका कारण मुटुसम्बन्धी समस्या देखा पर्छ । यसबाट बच्न चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने वा त्याग्ने, सागसब्जी र फलफूलको सेवन बढाउने, चिल्लो, बोसोयुक्त खानेकुरा र जंकफुड नखाने, नियमित शारीरिक व्यायाम गर्ने, मानसिक तनाव कम गर्ने, तौल तथा पेट बढ्न नदिने, नियमित मुटु परीक्षण गराउनुपर्छ ।

 

मधुमेह

जीवनशैलीमा आएको व्यापक परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामीको संख्या बढ्दै गएको छ । मधुमेहको प्रमुख कारणमा मोटोपन देखिएको छ ।

मानिसको परिवर्तित जीवनशैली, नुनिलो, चिल्लो र गुलियोको बढी प्रयोग, खानामा कार्बोहाइड्रेटको मात्रा बढी हुनुजस्ता कारणले मोटोपन बढ्ने र मधुमेह हुने गरेको पाइएको छ । धेरै प्यास लाग्ने, पिसाब बढी हुने, भोक बढ्ने, शरीर दुब्लाउने, आँखा धमिलो देखिने, छातीको इन्फेक्सन हुने, छालामा पिलो आइराख्ने र हातखुट्टा झमझमाउने जस्ता यसका लक्षण हुन् ।

नियमित व्यायाममार्फत मोटोपन घटाउने, चिल्लो, नुनिलो र गुलियो सेवन कम गर्ने र तनाव कम लिने गरेमा यसबाट राहत पाउन सकिन्छ ।

मानसिक रोग

नेपालमा अहिले मानसिक रोगीहरुको संख्या भुसको आगो जसरी फैलिरहेको छ । गाउँगाउँमा कुनै न कुनै प्रकारको मानसिक रोग भएका मान्छेहरु देखिएका छन् । तर, उनीहरुलाई आँफूलाई मानसिक रोग लागेको छ भनेर थाहा हुँदैन । उनीहरुले लक्षण अनुसारको उपचार गर्नमै समय बिताउँछन् । उनीहरुको पैसा त्यसै खर्च हुन्छ ।

अन्तिम सम्म आउँदा उनीहरुसँग न पैसा बच्च न रोग नै निको हुन्छ । नेपालमा मानसिक रोगको पहिचान र उपचार गर्ने स्वास्थ्यकर्मी तथा डाक्टरहरुको संख्या निकै कम रहेको छ ।

ग्रामीण क्षेत्रमा मानसिक रोग सम्बन्धी परिक्षण र उपचार गर्न सक्ने डाक्टर नै छैनन् । सरकारले पनि मानसिक रोग सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गर्न सकेको छैन । पश्चिम नेपालमा बुटवल र नेपालगञ्जमा माात्रै मानसिक रोग विशेषज्ञ डाक्टर उपलब्ध छन् ।

बेरोजगारी, घरेलु हिंसा, खानपिनमा अस्वस्थता, लागुपदार्थको बढ्दो सेवन, जन्मजात मानसिक समस्या लगायतका कारणले मनोरोगीहरु बढिरहेका छन् । वंशानुगत मानसिक रोग पनि हुन्छन् ।

चोटपट, हर्मोनहरुमा गडबडि लगायतका कारणले गर्दा मानसिक रोग हुने गर्दछ । मानसिक रोग अन्तर्गत एन्जाइटी, डीप्रेशन, साइकोसि, लागुपदार्थ सेवनबाट हुने मानसिक रोगहरु, छारे रोग लगायत पर्दछन् ।

(आचार्य घोराही उपमहानगरपालिका स्थित नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्रको प्रमुख हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😃
खुसी
0%
😂
सार्है खुसी
0%
😍
मन पर्‍यो
100%
😮
अचम्मित
0%
😠
आक्रोशित
0%
😢
दुःखी
0%
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *