चेतना अनलाइन
घोराही, ६ चैत । घोराही उपमहानगरपालिकाले आधारभूत तहको अन्तिम मूल्याङ्कन मानिएको कक्षा आठको परीक्षा चल्दा चल्दै उत्तर पुस्तिका परीक्षण प्रारम्भ गरेएको छ ।
उपमहानगरपालिकाले परीक्षा सकिएकै दिन सबै उत्तरपुस्तिकाहरु संकलन गरेर अर्को दिनबाट उत्तरपुस्तिका परीक्षण सुरु गरेको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका संयोजक एवं उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले विगतमा परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण फरक फरक ढंगले सञ्चालन हुने भएपनि यस वर्षदेखि फरक परीक्षा केन्द्र र फरक स्थानमा उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाएको छ ।
आधारभूत तहको पढाइ नै विद्यार्थीहरूको जग भएकाले यसको मूल्याङ्कन प्रक्रियालाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले यस्तो कदम चालेको पाण्डेले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले घोराहीको एक विद्यालयमा उपमहानगरपालिका भित्रबाट छनोट भएका उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकहरूबाट कापी जाँचको व्यवस्था मिलाएको छ ।
कक्षा ८ को परीक्षा आइतबारदेखि सुरु भइसकेको छ । आधारभूत तहको पढाइ विद्यार्थीहरूको शैक्षिक जग भएकाले यसलाई बलियो बनाउनु अपरिहार्य रहेको पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार तल्लो तहबाट नै विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउन सकेको खण्डमा मात्र माथिल्लो तहमा विद्यार्थीहरूले राम्रो सिकाइ उपलब्धि हासिल गर्न सक्छन् ।
यस प्रणालीले विद्यार्थीहरूलाई परीक्षाको दबाबमुक्त वातावरण सिर्जना गर्न, सिकाइको प्रभावकारी मूल्याङ्कन गर्न र शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउन मद्दत गर्नेछ । उपमहानगरपालिकाले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विभिन्न सुधारका कार्यक्रम ल्याउने तयारी गरिरहेको पाण्डेले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीको भविष्य निर्माण गर्न शिक्षाको गुणस्तर सुधार्नु पहिलो प्राथमिकता हो र यो प्रक्रिया निरन्तर अगाडि बढाइनेछ ।
यस पहलले घोराही उपमहानगरपालिकाको शैक्षिक नीति सुधार गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले पनि यस निर्णयलाई सकारात्मक रूपमा लिएको उपमहानगरपालिकाले जनाएको छ ।
शैक्षिक क्यालेण्डर अनुरूप समन्वय परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरिने उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख नारायण प्रसाद पौडेलले बताउनुभयो । “आधारभूत तहको पढाइ नै कमजोर भएको खण्डमा विद्यार्थीहरूले माथिल्लो तहमा राम्रो सिकाई उपलब्धि हासिल गर्न सक्दैनन्,” उहाँले भन्नुभयो, ” हामी विद्यार्थीको तल्लो तहदेखि नै शैक्षिक गुणस्तर बढाउनका लागि परेका छौं ।”