शैक्षिक गुणस्तर बढाउन मूल्याङ्कन प्रक्रिया सुधार गर्दै उपमहानगरपालिका

पाण्डव शर्मा

घोराही, ४ चैत । आधारभूत तहको शिक्षालाई सुधार गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले घोराही उपमहानगरपालिकाले यस वर्ष कक्षा ८ को वार्षिक परीक्षामा नयाँ मूल्याङ्कन प्रणाली लागू गरेको छ । उपमहानगरपालिकाले १४ वटा परीक्षा केन्द्र निर्धारण गरी फरक विद्यालयका विद्यार्थीलाई अर्को विद्यालयमा परीक्षा केन्द्र तोक्ने व्यवस्था मिलाएको छ ।

परीक्षाको सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा गुणस्तर वृद्धि गर्ने उद्देश्यले यो निर्णय गरिएको सामाजिक विकास महाशाखा संयोजक एवं उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक विद्यालयका विद्यार्थीहरूलाई पायक पर्ने हिसाबले परीक्षा केन्द्र निर्धारण गरिएको छ । यसले विद्यार्थीहरूलाई निष्पक्ष र गुणस्तरीय मूल्याङ्कन प्रक्रियामा सहभागी गराउनेछ ।

सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको मूल्याङ्कनलाई समान बनाउन यस वर्षदेखि एउटै प्रश्नपत्र लागू गरिएको छ । विगतमा विद्यालयहरू आफैंले परीक्षा सञ्चालन गर्ने र उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था थियो । यसले मूल्याङ्कन प्रणालीमा विविधता ल्याएको र कतिपय अवस्थामा निष्पक्षता कायम हुन नसकेको गुनासो आउने गरेको थियो । यसपटकदेखि भने उपमहानगरपालिकाले विद्यार्थीहरूको मूल्याङ्कनलाई प्रभावकारी बनाउन र गुणस्तरीयता मापन गर्न उत्तरपुस्तिका परीक्षणको व्यवस्था परिवर्तन गरेको छ । अबदेखि उत्तरपुस्तिका सम्बन्धित विद्यालयका शिक्षकहरूले नभई फरक विद्यालयका शिक्षकहरूले परीक्षण गर्नेछन् ।

प्रवक्ता पाण्डेका अनुसार यो व्यवस्था लागू गरेपछि मूल्याङ्कन प्रक्रियामा पारदर्शिता आउनेछ र विद्यार्थीहरूको वास्तविक शैक्षिकस्तरको सही पहिचान गर्न सकिनेछ । उहाँले भन्नुभयो, “विद्यार्थीको मूल्याङ्कन निष्पक्ष र विश्वसनीय बनाउन हामीले यो कदम चालेका हौँ । शिक्षकहरूले पनि जिम्मेवारीपूर्वक मूल्याङ्कन गर्ने अवसर पाउनेछन्, जसले समग्र शिक्षा प्रणाली सुधार गर्न सहयोग पुग्नेछ ।”

कक्षा ८ को परीक्षा आइतबारदेखि सुरु भइसकेको छ । आधारभूत तहको पढाइ विद्यार्थीहरूको शैक्षिक जग भएकाले यसलाई बलियो बनाउनु अपरिहार्य रहेको पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार तल्लो तहबाट नै विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउन सकेको खण्डमा मात्र माथिल्लो तहमा विद्यार्थीहरूले राम्रो सिकाइ उपलब्धि हासिल गर्न सक्छन् ।

यस प्रणालीले विद्यार्थीहरूलाई परीक्षाको दबाबमुक्त वातावरण सिर्जना गर्न, सिकाइको प्रभावकारी मूल्याङ्कन गर्न र शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउन मद्दत गर्नेछ । उपमहानगरपालिकाले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विभिन्न सुधारका कार्यक्रम ल्याउने तयारी गरिरहेको पाण्डेले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीको भविष्य निर्माण गर्न शिक्षाको गुणस्तर सुधार्नु पहिलो प्राथमिकता हो र यो प्रक्रिया निरन्तर अगाडि बढाइनेछ ।

यस पहलले घोराही उपमहानगरपालिकाको शैक्षिक नीति सुधार गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले पनि यस निर्णयलाई सकारात्मक रूपमा लिएको उपमहानगरपालिकाले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *