असन्तुलित बसाइँसराइले नेपाली समाजमा पारेको प्रभाव

पाण्डव शर्मा

गत वर्ष म पारिवारिक कामले रोल्पा जिल्लाको साविक भावाङ गाविसमा गए । मेरो पुख्र्यौली थलो रुकुम पश्चिम भए पनि मेरो पिताजी केही समयका लागि रोल्पामा बसाइँसराइ गरेर जानुभएको थियो । त्यहाँ हामी केही वर्ष बस्यौं । हामी २०५३/०५४ सालतिर दाङ बसाइँसराई गरेर आएका हौं । म धेरै वर्ष पछि मेरो जन्मथलो गए । तर, अहिले र २८ वर्ष पहिलेको भावाङमा निकै परिवर्तन भइसकेको रहेछ ।

मैले त्यहाँ युवाहरु कमै मात्रामा देखेँ । गाउँमा युवाहरु भेट्न मुस्किल छ । गाउँमा सडक पुगेको छ । सुविधा पुगेको छ । तर, त्यो सडकमा ट्रकबाट बहुराष्ट्रिय कम्पनीहरुबाट उत्पादित बस्तु त्यहाँ पुग्छ । भावाङबाट दाङ फर्कदा त्यो ट्रक रित्तो फर्कन्छ । विद्यालयमा विद्यार्थीहरुले घरबाट खाजा लग्दैनन् । चाउमिन मोम, कोकाकाला, फेन्टा खान्छन् । मदिरा खानेहरुले पनि स्थानीय उत्पादित लोकल रक्सी खाँँदैनन् । बहुराष्ट्रिय कम्पनीबाट उत्पादित महंगा रक्सी र बियर खान्छन् । गाउँमा उत्पादन केही छैन । गाउँमा बृद्धबृद्धाहरु मात्र छन्, मलामी पुरुषहरु देखिदैनन् । विदेश गएकाहरुले पनि आफ्नो श्रीमती र छोरछोरीलाई पढाउनकालागि दाङ झारिसकेका छन् । गाउँमा पूर्वाधारको विकासले केही सहज त भएको छ तर, मान्छे विनाको विकास के काम ? यो मेरो अनुभवले पनि के बताउँछ भने हाम्रा ग्रामीण बस्तिहरु रित्तिदै गएको छ । युवाहरु गाउँमा बस्दैनन् ।

नेपालमा पछिल्लो समयमा बसाइँसराईको दर निकै धेरै बढेको छ । विशेषगरी हिमाल र पहाडबाट तीव्ररुपमा तराईमा बसाइँसराई भइरहेको छ । यसले नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा दीगो असर पारेको छ । ग्रामीण क्षेत्रबाट शहरमा बसाइँसराईको दर पनि तीव्र रुपमा बढ्दै गएको छ । नेपालको तीनवटा पछिल्ला जनगणनाहरुमा बसाइँसराईको तथ्यांक हेर्दा, २०५८ सालमा १५% जनसंख्या बसाइँसराई गरेका थिए भने २०६८ सालमा यो दर २०% पुगेको छ । २०७८ सालको जनगणनामा यो दर २५% भन्दा माथि पुगेको छ । यसले देखाउँछ कि नेपाली समाजमा बसाइँसराइको प्रवृत्ति तीव्र गतिमा अघि बढिरहेको छ ।

तराईमा बसाइँसराईले ग्रामीण क्षेत्रहरूलाई शून्य बनाउँदै लगेको छ । पहाडी र हिमाली क्षेत्रका धेरै गाउँहरुमा आज बृद्धबृद्धा मात्र बस्छन् । उत्पादनशील उमेरका मानिसहरु रोजगार र राम्रो जीवनस्तरको खोजीमा शहर र तराईको बाटो लिइरहेका छन् । गाउँमा रहेको जग्गाजमिन बाँझो बस्छ । कृषि उत्पादनमा कमी आउँछ । यसले दीर्घकालमा देशको खाद्यान्न सुरक्षामा खतरा उत्पन्न गर्ने निश्चित छ ।

शहरमा बसाइँसराइले त्यहाँको जनसंख्यामा वृद्धि भएको छ । यसले शहरीकरणलाई तीव्र बनाएको छ भने शहरी पूर्वाधारमा ठूलो चाप परेको छ । काठमाडौं, पोखरा, बिराटनगर, र अन्य ठूला शहरहरुमा बसाइँसराईको कारण जनसंख्या बढिरहेको छ । यसले यातायात, शिक्षा, स्वास्थ्य लगायतका सेवामा चाप बढाएको छ । दाङमा पनि जिल्लाको कुल जनसंख्याको आधाभन्दा बढी धेरै जनसंख्या घोराही, तुलसीपर, लमही र भालुवाङमा बस्ने गर्दछन् । बसाइँसराईको अर्को प्रभाव भनेको सांस्कृतिक ह्रास हो । गाउँबाट शहर आएका मानिसहरुले आफ्नो परम्परा, संस्कृति र चाडपर्वलाई बिस्तारै बिर्सिरहेका छन् । शहरीकरणको प्रभावले सांस्कृतिक विविधता हराउँदै गएको छ । असन्तुलित बसाइँसराईले सामाजिक संरचनामा पनि ठूलो परिवर्तन ल्याएको छ । गाउँमा युवाहरु नभएपछि सामाजिक कार्यहरुमा सक्रिय सहभागिता घटेको छ । मेलापात, परम्परागत खेती प्रणाली, सामाजिक एकता लगायतका पद्धतिहरु हराउँदै गएका छन् । गाउँमा बाँकी रहेका बृद्धबृद्धाहरुको हेरचाह गर्ने मानिसहरुको कमी भएको छ ।

नेपालको ग्रामीण क्षेत्रमा रित्तो घरहरुको संख्या पनि बढ्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार, नेपालमा झण्डै १५% घरहरु रित्तो छन् । विशेषगरी पहाडी र हिमाली क्षेत्रका गाउँहरुमा यो दर अझ बढी छ । यसले ग्रामीण क्षेत्रको आर्थिक क्रियाकलापमा ठूलो प्रभाव पारेको छ । ग्रामीण क्षेत्रबाट शहरमा बसाइँसराईको कारण शिक्षा क्षेत्रमा पनि ठूलो प्रभाव परेको छ । ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्यार्थीहरुको संख्या घटेको छ । शहरमा रहेका विद्यालयहरुमा भने विद्यार्थीहरुको संख्या तीव्र गतिमा बढेको छ । यसले शैक्षिक पूर्वाधारमा असमानता ल्याएको छ ।

असन्तुलित बसाइँसराईले स्वास्थ्य क्षेत्रमा पनि असर पारेको छ । शहरमा रहेका अस्पतालहरुमा सेवाग्राहीको संख्या बढेको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा भने सेवाग्राहीको कमी भएको छ । यसले स्वास्थ्य सेवाको असमानता बढाएको छ ।अर्थतन्त्रमा पनि बसाइँसराईको असर देखिएको छ । ग्रामीण क्षेत्रबाट शहरमा बसाइँसराई गर्नेहरुले आफ्नो कृषि व्यवसाय त्यागेर शहरी क्षेत्रमा रोजगारीको खोजीमा लाग्छन् । यसले देशको कृषि उत्पादनमा कमी ल्याएको छ । साथै, शहरमा बसोबास गर्नेहरुको जीवनस्तर पनि महंगो भएको छ । तराईमा बसाइँसराईले त्यहाँको जमिनको मूल्यमा वृद्धि गरेको छ । यसले स्थानीय किसानहरुलाई आफ्नो जमिन बेच्न बाध्य बनाएको छ । ठूला व्यापारीहरु र व्यवसायीहरुले तराईको जमिन किनेर कृषि उत्पादनमा लगानी गरेका छन् । यसले स्थानीय किसानहरुको जीविकोपार्जनमा असर पारेको छ । गाउँमा रहेका प्राकृतिक स्रोतहरुको उपयोग पनि कम भएको छ । बसाइँसराईको कारण गाउँमा मानव स्रोतको कमी भएको छ । यसले गाउँमा रहेका वनजंगल, पानीका स्रोतहरु लगायतका प्राकृतिक स्रोतहरुको उपयोग कम भएको छ ।

सरकारले बसाइँसराईलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरु लिनुपर्दछ । गाउँमा रोजगारको अवसर सिर्जना गर्न, कृषि उत्पादनमा वृद्धि गर्न र ग्रामीण क्षेत्रको पूर्वाधार विकास गर्न सरकारले ठोस कदम चाल्नुपर्ने देखिन्छ । असन्तुलित बसाइँसराईले नेपाली समाजमा ठूलो असर पारेको छ । यसले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा दीर्घकालीन असर पारेको छ । ग्रामीण क्षेत्रका विकासका लागि सरकार र नागरिक समाजले मिलेर काम गर्नुपर्ने आवश्यकता छ । गाउँमा रहेका स्रोतसाधनको उपयोग गरी रोजगारको अवसर सिर्जना गर्नुपर्छ । यसले मात्र नेपाली समाजमा असन्तुलित बसाइँसराईलाई रोक्न सकिन्छ र समाजको समग्र विकास गर्न सकिन्छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *