कठै मेरो देश नेपाल

डिल्लीराज धिताल
पूर्व शिक्षक

सृष्टिको सुरुवातदेखि नै सम्पूर्ण चराचर जगतमा दिन प्रतिदिन परिवर्तन एवं चेतनाले नयाँ नयाँ खोजको अनुसन्धान गर्दै जाँदा सम्पूर्ण जीवात्मामा हैसियत बमोजिम उपलब्धि प्राप्त हुँदै जाने तथ्य हो । यसै सन्दर्भमा जलमा विकसित अमिबाबाट विकसित हुँदै विशालकाय डाइनोसर जस्ता प्राणीहरूको अस्तित्व हुँदै र नासिदै आदिम जङ्गली मानवदेखि हाल मानव जातिको प्रादुभाव र विकास भएको वैज्ञानिकहरू र खोजकर्ताहरू बताउँछन् । आध्यात्मिक दृष्टिकोणबाट हेर्दा पनि सृष्टिको सम्बन्धी आफ्नो दृष्टिकोण त छँदै छ। तर, दुवैको समानात्मक अध्ययन र चिन्तनबाट यी दुवैमा कता-कता समानताका झलक पनि देख्न पाइन्छ । प्रसङ्गतिर जाँदै गर्दा नेपालको आध्यात्मिक र भौतिक इतिहास पनि कम महत्त्वपूर्ण र शिक्षाप्रद नभएको कहाँ हो र ? यहाँ आध्यात्मिक चिन्तक ऋषिहरूको जन्म र कर्मथलो भएको साथै भौतिक निर्माण र विकासमा तत्कालीन समाजको देनलाई कम आक्न सकिँदैन । त्यस्तै प्राकृतिक विनाश र विदेशी आक्रमण पनि नेपालले पटकपटक सामना गर्नुपरेको इतिहासमा हामी पढ्न पाउँछौं ।

आजका विश्वका अधिकांश देशहरू दिनप्रतिदिन विकास र चमत्कार गर्दै अगाडि बढ्दैछन् । त्यसको प्रतिफल सम्बन्धित देशका जनताले हासिल गर्दै आम जनताको जीवनस्तर सुध्रदै अगाडि बढेको देख्छौं । हाम्रै दक्षिण एसियाकै भारत र चीन हाम्रा छिमेकीहरू परतन्त्रमा जकडिएको वर्षौं वर्षपछि पनि हाल यस्तोमा आइसके । चीन आज विश्वको दोस्रो शक्तिशाली र विकसितबाट पहिलो अवस्थामा आउने र भारत विश्वकै पाँचौंबाट चौथो शक्तिशाली र विकसित देश हुने अवस्थामा आउँदा पनि हामी नेपालीहरूको तुलनामा अझै ७०/ ७५ वर्ष पछाडि छौं । जबकि नेपाल कहिले पनि विदेशीको दास भएन भन्छौं ।

त्यसैले देश हाँक्ने कुशल नेतृत्वको अभावमा नेपाली जनताले बरु पुरानै राजनीतिक व्यवस्था र अवस्था स्वीकार्न मन पराउन थालिसकेका छन् । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मनमोहन, मदन भण्डारीका विचारहरूको माला जपेर अहिलेका गणतान्त्रिक/लोकतान्त्रिक भनाउँदाहरू दुष्ट र भ्रष्टले सरकार चलाइरहेका छन् । अनि जनताले के राहत पाउनु ? के अगाडि बढ्नु ? जताततै लुट, भ्रष्टाचार, मानव बेचबिखन र तस्करहरु नै सरकारमा गएपछि देशमा, हत्या, बलात्का, चोरी, डकैतीजस्ता विकृतिले प्रसय पाउनु स्वभाविक होइन र ? विश्व बैंक र विश्व मानव अधिकारवादी संस्थाका नजरमा विश्व नै गरिब जनताका धनी नेता र विश्वकै तस्कर र भ्रष्ट र मानवअधिको देश भनेर नेपाल चिनिने भयो । जबकि १०० भन्दा बढी देशमा शान्ति क्षेत्र घोषित भइसकेको अवस्था हो ।

दुर्भाग्य आज हामी नेपाली जनताको पनि कमीकमजोरी प्रशस्तै छन् । अशिक्षा, भोकमरी, बेरोजगारीको सिकार भएका नेपाली जनता चुनावको बेला रक्सी, मासु र पैसामा बिक्दा आज देशले यो अवस्था भोग्नुपरेको मान्नै पर्छ । चुनाव पद्धति पनि उनै भ्रष्टाचारीहरूको अनुकूल बनाए । साधारण र असल मानिसको चुनावमा पहुँच नपुग्ने भयो । कुनै पनि राजनीतिक व्यवस्था खराब हुँदैन । किनभने यी दर्शन र विचारका स्रष्टाहरूलाई कम आत्म सकिँदैन । तर, ती विचारका सिद्धान्तलाई व्यवहारिक रुपमा इमानदारीपूर्वक जीवनमा लागू गर्न सकियो भने मात्र देशका जनताले विकास निर्माण पाई आफ्नो जीवनस्तर माथि उठाउन सक्छन् । अनि मात्र देश उभो गतितिर लाग्ने हो । देशमा आज यो कहाली लाग्दो अवस्थाको सिर्जनाकार यी अहिलेका सरकारमा बसी पालैपालो भागबण्डा गर्ने, मन नमिलेमा पुन अर्को दलसँग मिली सिद्धान्त विपरीत गठबन्धन गर्ने, देश बेच्ने, देश लुट्ने नै हुन् । यिनीहरुलाई नेपाली जनताले पाखा नलाएसम्म देशमा शान्ति मिल्ने छैन । अन्तमा राजनीतिक व्यवस्था त थोरै भएपनि राम्रै ल्याएका थियौँ । तर जनप्रतिनिधि भनाउँदा थोरै समय भएपनि सरकारमा गएपछि नयाँ गणतान्त्रिक लोकतान्त्रिक सोचको खडेरी परि पुरानै संस्कारका भए फलस्वरूप बोतल अलग भएपनि पानी उही फोरवाला खेल भयो । देश डामाडोल अवस्थामा गुज्रिरहेको छ । जनताको क्रय शक्ति निकै क्षीण भएको छ ।

सरकारको करले जनताको ढाड सेकिसक्यो । जनता सम्पूर्ण राज्य व्यवस्थाबाट प्रदत्त सुविधाबाट पूर्ण वञ्चित भई जनप्रतिनिधिलाई पालेर चुप लागि बस्नुपर्ने ? अराजक अवस्था नियन्त्रण गर्ने शक्ति नहुँदा बैंक वित्तीय संस्थाहरूले प्याज बढाई ऋण लिएका जनसाधारणका सम्पत्ति समेत लिलाम गरी जनतालाई उठीबास बनाई उनै अराजकतावादी दलाललाई सो सम्पत्ति उपलब्ध गराई मिली भगतमा लुटतन्त्र मच्चाउने ? अनि रातमा बार र फाइभ स्टार हाेटलमा सुरा र सुन्दरीमा रमाउनेलाई के भन्न बाँकी छ ?
अब साँच्चिकै देश बनाउने र विदेशीको अनुचित तारोबाट बच्न नेपाली जनताले बाध्य भई देशलाई सहि दिशामा ल्याउन फेरि जन आन्दोलनको आदिभेरी ल्याउनुपर्ने हो ? कि भने नेपाली जनताको नियती सदियाैैंसम्म पुस्ताैपुस्ता आन्दोलनमा हुमिनुपर्ने । कठै मेरो देश नेपाल। जय मातृभूमि । अहिलेलाई यत्ति ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *